चन्द्रशमशेरसँग तीहारमा पासा खेल्न जमिन्दारहरु लाखौंका सिक्का बोकेर पुग्थे दरबार ! | Khabarhub Khabarhub

चन्द्रशमशेरसँग तीहारमा पासा खेल्न जमिन्दारहरु लाखौंका सिक्का बोकेर पुग्थे दरबार !


१२ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दशैं तथा तिहारमा मानिसहरु ठूलाे मात्रामा जुवातास खेल्छन् । जुवातास खेल्न र खेलाउन कानूनले अपराध मानेपनि लुकीछिपी सानाे खाल मात्र हाेइन ठूला-ठूला खालहरु समेत खेलाउने गरिएको पाइन्छ ।

केही दिन अघिमात्र प्रहरीले काठमाडौंमा झण्डै तीन करोड नगद सहित जुवातास खेल्ने र खेलाउनेलाई पक्राउ  गर्‍यो । जुवातास खेल्ने खेलाउने विरुद्धको अभियानलाई प्रहरीले मुलुकभर तीव्र बनाइरहेको छ ।

त्यसो त यस्तो जुवातास अहिले मात्र होइन राजा महाराजाका पालामा समेत प्रचलनमा थियो । कहिले सकुनी पासा, कहिले कौडा हुँदै अचेल तीनपत्ती सम्म पुगेको छ ।

राणाकालमा  यमपञ्चक अबधिभर चन्द्रशमशेरले ऐयासी, विलासी, कुलिन, घरानियाँ र साहु, महाजन तथा जमिन्दारका लागि जुवा खेल्न आफ्नो बैठककक्ष खुला गर्ने गर्दथे ।

देशभरका गनिएका घरानियाँ जुवाडेहरु श्री ३ को दर्शन भेट पनि गर्ने र त्यही मौकामा जुवा पनि खेल्ने भनेर आउँथे । उति बेलाका समयमा पनि ती धनाढ्य तथा जमिन्दारहरुले लाखौंका सिक्का भरिया लगाई बोकाएर चन्द्र शमशेरकहाँ आउने गरेका थिए ।

श्री ३ को दरवारमा पुगेपछि नाम टिपाएर ‘फलाना मानिस, फलाना ठाउँबाट, यति दिनको बाटो हिंडेर आई जुवा खेल्नका लागि श्री ३ सरकारको हुकुमको प्रतिक्षा गरेर बसिरहेको छ’ भनेर सूचना दरवारभित्र पुर्याइन्थ्यो ।

उनीहरुलाई क्षणभरमा बोलाहट हुन्थ्यो । गएका सबैलाई दरवारभित्रै खाना र नास्ताको व्यवस्था हुने गर्दथ्यो । बढी रकम लिएर गएकाहरुको त शान नै छुट्टै । उनीहरुको तारिफ र बखान पनि चन्द्र शमशेर cfफैले गर्ने गर्दथे । उनी भन्थे, ‘हेर भाइभारदार ! उनी भनेका यस्ता उस्ता… आदिआदि’ ।

दरवारका सुसारेहरुमध्ये केही यिनै जुवाडेका स्याहारसुसारका लागि खटाइएको हुन्थे । खानाका लागि चौरासी व्यञ्जनका परिकारहरु तयार पारिन्थे । बट्टाइको सेकुवा, प्युराको झोल, बँदेल र खसीबोकाको कवाब, जरायोको सुकुटी र बम्बैबाट ल्याइएका माछाको विभिन्न परिकार तयार पारिएका हुन्थे ।

आफै त दरबारिया परिकार, त्यसमा पनि दरवारका सुन्दरसुन्दरीहरुले ‘टक्र्याउँदा’ जुवाडेहरु बेहोशै हुने । ‘राज होस्’, ‘ज्युनार होस्’, ‘मर्जी होस्’, ‘सुकला होस्’, ‘हुकुम होस्’, ‘आज्ञा शीरोपर’ र ‘हस् हजुर’ भन्दा अर्को जवाफ नआउने यिनीहरुको सेवाले जुवाडेहरु भुतुक्कै हुने ।

त्यसमाथि दरवारमा पुगेपछि थोरै भए पनि प्रसादका रुपमा लिनु पर्ने ‘सोमरस’ ले त उनीहरुलाई बेहोसै बनाइदिने । अत्तरको बासनाले कोठै मगमगाउने र विभिन्न बत्तिहरुको प्रकाशले वैठक हल नै जगमगाउने ।

सेवाले प्रफुल्ल र सोमरसले झुल्ल परेपछि निश्चित संख्याका आधारमा खेलिने जुवाको आहालमा सजाइएको मुख्य आसनमा चन्द्र शमशेरको आगामन हुँदा उपस्थित सबै भूईंमा घोप्टो परी साष्टांग दण्डवत् प्रणाम गर्थे । चन्द्र शमशेर पछिको स्थान र रोहमा सबैभन्दा बढी पैसा लिएकाहरु बस्दथे । कम पैसा भएकाहरुका लागि अलि टाढाटाढा गोलोघेरामा बसाइ मिलाइएको हुन्थ्यो ।

दरवारिया गुरुहरुको मन्त्र वाचनसँगै शंखनादका साथ रणमैदान जस्तो गरी घण्ट र बाजाहरु बजाउँदै खेल उद्घाटन गरिन्थ्यो । यसका लागि उपस्थितहरुले आफूहरुसँग रहेको निस्चित रकम स्वागत नजराना चढाउँथे श्री ३ लाई । चमचमाउँदा दाँत भएका चन्द्र शमशेर ‘हा हा हा’ गरेर हाँसेभने मानिसहरुको मुटु नै थर्कादिने । आफै त श्री ३, त्यसमाथि उनको त्यो अट्टहास !

यति गरिसकेपछि श्री ३ को गौरव र गरिमाले हल छपक्कै छोप्ने गर्दथ्यो । यही मौका पारेर श्री ३ चन्द्रशमशेरले खेलको उद्घाटन गर्ने भन्दै हातमा कौडा लिंदै गर्दा उपस्थितहरुले ‘श्री ३ को जय होस्’ भन्दै लगाएको कर्तलध्वनीका माझ उनले नैनसूतको सेतो कपडामाथि कौडा फ्याँक्दै गर्जन्थे– ‘मार्रा !’ उनी गर्जदासम्म पूर्व सहमति अनुसार दाउँ लगाउने पैसा भोटे कम्मलमाथि थुपारिइसकेको हुन्थ्यो ।

सबैका आँखा नैनसूतको कपडामाथि फ्याँकिएका कौडाहरुमाथि स्वतः पर्थे । तर कौडा भने श्री ३ ले भनेजस्तो बाजी मार्ने गरी फर्किएका हुँदैन थे । धेरै त घोप्टो परेका हुन्थे । बाजी नपरेको देखेपछि चन्द्रशमशेर अरु नबोल्दासम्म चूप रहन्थे । लामो सास फेर्दै अरु कसैले ‘बाजी परेन के गरौं सर्खार’ भनेपछि उनले भन्ने गर्थे– ‘मेरो हुकुम हो, मार्रा भनेर बोलिसके, गोटी पल्टा न त ।’

नजिकमा रहेकाहरुले जित्ने गरी गोटी पल्टाइदिन्थे । यसपछि चन्द्रशमशेर फेरि मर्नेगरी हाँस्थे– ‘हा हा हा !’ यसपछि शंखघण्ट बजाइन्थे । उनले सबैको अनुहार नियाल्दै जनादेश माग्थे– ‘गोटी पल्टिए, जीत मेरै भयो, फेरि हानौ ?’ जितेको मानिसलाई कसरी नहान भन्नु, त्यसमाथि श्री ३, देशका हर्ताकर्ता ।

उनले कौडा हातमा लिंदा फेरि शंखघण्ट बजाइन्थे । उनको बोली फेरि फुट्थ्यो– ‘मार्रा !’ यस पटक पनि गोटी उसै गरी पल्टिएका हुन्थे, जसरी अघिल्लो पटक पल्टिएका थिए । फेरि चूप रहन्थे उनी । कसैकसैबाट ‘सोधनी’ हुन्थ्यो– ‘के गरौं सरकार ?’ फेरि उनको मुखबाट आउँथ्यो– ‘हुकुम हो फिर्ता लिन बनेन, पल्टाइदेऊ न गोटी ।’ फेरि गोटी पल्टाइन्थे र चन्द्रशमशेर फेरि अट्टहासको हाँसो हाँस्थे ।

पासा वा कौडा खेल्न गएकाहरुको पैसा नसकिँदासम्म यही प्रक्रिया दोहरिइरहन्थ्यो । यस्तो रित तिहारको यमपञ्चकभर खुल्ला हुन्थ्यो र श्री ३ को दरवारमा कौडा वा पासा खेल्न जानेहरुको भीड नै लाग्दथ्यो । त्यति बेलाको मान्यता थियो श्री ३ सँग पासा खेल्नु भगवान विष्णुसँग पासा खेल्नु बराबर हो, यसले सबै पाप नष्ट हुन जान्छ र मोक्ष प्राप्ती वा स्वर्गको ढोका खुल्छ ।

पैसा त सबै श्री ३ ले खाइदिए भनेर यदि कसैले भन्यो भने यो त विष्णुका अवतारलाई चढाएको भनी प्रशन्न मुद्रामा जवाफ दिने गर्दथे, जुवा खेल्न दरवार पुगेकाहरु !

प्रकाशित मिति : १२ कार्तिक २०७६, मंगलबार  ५ : ४७ बजे

प्रदेशको गौरव सडकमा कालोपत्र अन्तिम चरणमा

तनहुँ– गण्डकी प्रदेशको गौरव मानिएको कोरोला–त्रिवेणी सडक आयोजनाअन्तर्गत तनहुँको घिरिङ

धरान : तिर्खाएको काकाकुल !

सुनसरी- धरानमा खानेपानी ढुवानी गर्ने कुनै पनि ट्याङ्कर व्याबसायीलाई तपाईले

सप्तरीका अग्निपीडितलाई राहत वितरण

सप्तरी– आगलागीबाट घर नष्ट भएका सप्तरी चिम्टीका अग्निपीडितलाई राहत सामग्री

राजस्वको दुरुपयोग रोक्नुपर्नेमा सांसद साहको जोड

काठमाडौं– आम जनता पार्टी पार्टीका एवं सांसद प्रभु साहले मुलुकमा

गण्डकीका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार (भोलि) विश्वासको मत