चाडपर्व सम्झँदा मस्ती : यात्रा गर्नेलाई सास्ती | Khabarhub Khabarhub

चाडपर्व सम्झँदा मस्ती : यात्रा गर्नेलाई सास्ती


१२ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अहिले सबै नेपालीको मुखमा झुण्डिएको शब्द हो दशैं । तपाईंले जसलाई भेटेपनि पहिलो प्रश्न हुन्छ, दशैंका लागि घर कहिले जाने ?

त्यसपछि अर्को प्रश्न थपिन्छ, टिकट भयो ? कहिलेको ? पाइयो ? यस्तै सम्बाद हुन्छ चिनेजानेका व्यक्ति बीच काठमाडौंमा भएको भेटघाटमा ।

यही भेटको सम्बादमा अधिकांशले टिकट नपाएको, बढि मूल्य तिर्नुपरेको, आफ्नो अनुकुल दिन टिकट नभएको गुनासो गर्ने गरेका छन् ।

सरकारले दशैंलाई लक्षित गरेर असोज ५ गतेदखि अग्रिम टिकट बुकिङ खुलाएपछि टिकटको अवस्था कस्तो छ भनेर हामीले बुझ्ने प्रयास गरेका छौं ।

सरकारले यातायात व्यवसायीसँग मिलेर दशैं मनाउन काठमाडौंबाट धेरै मानिस बाहिर जाने भएकाले यातायात सेवालाई व्यवस्थित बनाउन अग्रिम टिकट बुकिङ गर्ने गरेको छ ।

५ गतेदेखि शुरु भएको अग्रिम टिकट बुकिङका लागि काउन्टर पुग्ने यात्रुले सोहिदिन देखि टिकट नपाएको गुनासो गर्न थालेका छन् ।

वैदेशिक रोजगारीका क्रममा कतारमा रहेका झापाका जीवन लिम्बु दशैं मान्न कतारबाट काठमाडौं आए । पुनः श्रम स्वीकृति गराउने लगायतका काम सकेर घर जाने योजना बनाएका उनलाई कतारबाट नेपाल आउन भन्दा काठमाडौंबाट झापा जान सकस पर्‍यो ।

टिकट लिनकै लागि उनले २ दिन बसपार्क धाउनुपर्‍यो । सहज रुपमा टिकट नपाएपछि साविक मूल्यभन्दा ५ सय बढी तिरेर टिकट लिएको उनले सुनाए ।

‘विदेशबाट नेपाल आउँदा त्यति सास्ती भएको थिएन । घर फर्किन बसको टिकट पाउन त्यति गाह्रो भयो । चाँडपर्वको बेला घर जान्न र आउन नै सास्ती हुन्छ ।’ लिम्बुले भने, ‘विदेशमा जस्तो लामो दुरीको सवारीका लागि अनलाइनबाट टिकट लिन मिल्ने व्यवस्था गर्नुपर्छ ।’

यस्तै समस्या भयो धनगढीका भारत शाहीलाई पनि । उनले पनि बिहान बेलुकाको समय नभनि ३ दिन लाइनमा बसेपछि मात्र टिकट पाएको बताए ।

‘घर जान जसोतसो टिकट पाइयो अब फर्कन उस्तै समस्या हुन्छ । टिकट काउन्टरका कर्मचारी र होटलवालाको सिधै सम्पर्क हुँदा धेरै टिकट बिक्री हुँदो रहेछ । एउटा काउन्टरको एक कर्मचारीले १० वटा टिकट होटलवालालाई राख्दो रहेछ,’ टिकट नपाउनुको कारण उनले सुनाए ।

‘सरकारले ब्ल्याकमा टिकट बिक्री रोक्न भनेपनि खुल्लेआम यस्तो काम भइरहेको छ । होटलवाला र काउन्टरका कर्मचारीले सेटिङमा टिकट बिक्री भइरहेको छ’, सरकार र व्यवसायीले गरेको सम्झौताको काम छैन भन्दै उनले भने ।

यसैगरी, ताप्लेजुङका सविन अधिकारी गौशालाका विभिन्न काउन्टरमा २ दिनसम्म घुम्मेपछि मात्र झापासम्म जाने टिकट पाएको बताउँछन् । झापासम्मको टिकट त पाइयो अब बिर्तामोडबाट ताप्लेजुङ कसरी जाने भने चिन्ता भएको अधिकारीले बताए ।

देशभरका सबैभन्दा धेरै सवारी तथा यात्रुको चाप रहने नयाँ बसपार्कमा यात्रुहरुको बढी भीड दैनिक लागि रहेको छ । यसरी भीड लागेका यात्रुले चाडपवका बेला सवारी साधन नपाउदाँ घर आउदाँ जादाँ सास्ती ब्योहोर्नु परेको गुनासो गर्छन ।

यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले यात्रुलाई सहज हुनेगरि अनुगमन र टिकट लिने वातावरण मिलाइएको बताए। महानिर्देशक हमालले भने, जस्तो सहज तरिकाले यात्रुले टिकट पाएका छैन । तर महानिर्देशक हमालले भने आफना कर्मचारीलाई पनि लाइनमै राखेर टिकट बिक्रीमा समस्या छ की भनेर बुझिरहेको बताएका छन् ।

‘विभागले टिकट बुकिङमा अनियमितता रोक्न र यात्रुहरुको सहजताका लागि विभिन्न स्थानमा यात्रु सहायता कक्षसँग अनुगनम टोली खटाएको छ’, महानिदेशक हमालले भने, ‘देशभर यात्रुको यात्रालाई मध्येनजर गरेर सवारी साधनको व्यवस्था गर्ने यातायात व्यवसायीसँग सहमति भएको छ । चाँडपर्वको समय हो सामान्य समस्या त हुन्छ । अन्य समय जस्तो सहज हुँदैन ।’

यता कोटेश्वरमा रहेको इलामेली टिकट काउन्टरका शेखर अधिकारीले भने सबैलाई एकै दिनको टिकट चाहिएकाले व्यवस्थापन गर्न अफ्ठ्यारो भएको दुखेसो सुनाए । उनले भने, ‘सबैलाई एकै दिनको टिकट चाहिन्छ । त्यसले समस्या भएको छ । फूलपातीको अघिल्लो दिन र फूलपातीको दिनमा मात्रै टिकट खोज्ने धेरै छन् । त्यो भन्दा अघि पछिको भए व्यवस्थापन गर्न सजिलो हुन्थ्यो ।’

उनले दशैंमा घरजाने यात्रु धेरै भएको र २ दिनका लागि मात्र टिकट खोज्ने गरेकाले समस्या भएको बताए । यद्यपी घटस्थापनादेखि नवमीसम्म सञ्चालन हुने गाडीमा सबै जानसक्ने अवस्था रहेको उनले सुनाए ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले भने विगतमा जस्तो दशैंकै लागि भनेर नयाँ गाडीको व्यवस्था नगरिएको बताएका छन् ।

सडकको दूरावस्थाका बापजुत व्यवसायीले गाडी सञ्चालन गरेको भन्दै यसले जोखिम निम्तन सक्ने उल्लेख गरे । वर्षायाम तथा अन्य कारणले गर्दा देशभरका सडक बिग्रिएको भन्दै सिटौलाले दशैंको समय भएका कारण यात्रुलाई समस्या नहोस भनेर जबरजस्ती यातायात व्यवसायीले गाडी कुदाउन लगाएको बताए ।

‘सडक समयमै मर्मत गर्न सरकारले चासो दिनुपर्छ । यात्रुको समस्यालाई मात्र संम्बोधन गर्ने गरी लोकप्रिय हुन यातायता व्यवसायीलाई दोष लगाउन खोज्नु हुँदैन । सडकको हालत कस्तो छ दैनिक गाडी कुदाउन चालकलाई सोध्नुहोस,’ उनले भने ।

सरकारले नै जिम्मेवारी पूरा नगरेको भन्दै सिटौलाले काठमाडौंबाट सवारी बाहिरने नाकामै सडक बिग्रिएले समस्या आएको बताए ।

‘घण्टौंसम्म जाम हुन्छ । सेड्युल अनुसार गाडी कुदाउन सकिँदैन । अनि कसरी सबै भनेजस्तो हुन्छ । यो विषयमा सरकारले खोई बुझेको खोई ? भत्किएको सडकमा गाडी कुदाउदाँ बिग्रीयो भने, यसको जिम्मा कसले लिन्छ ?’ आक्रोशित हुँदै सिटौलाले सोधे ।

दशैंका लागि उपत्यका भित्रबाट मात्र अनुमानित १५ लाख अग्रिम टिकट बिक्री भइसकेको उनको भनाइ छ । देशभरबाट करिब ३० लाखभन्दा टिकट बिक्री भएको अनुमान महासंघको छ ।

गोंगबुस्थित नयाँ बसपार्क, कोटेश्वर, कलंकी, बल्खु, सुन्धारालगायत स्थानबाट टिकट बुकिङ गर्न सकिनेगरी व्यवस्था मिलाइएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जानकारी दिएको छ । तर, घटस्थापनाको दिन पनि सर्वसाधारण टिकटका लागि लाइन बस्नुपर्ने अवस्था छ ।

हरेक काउन्टरमा प्रहरी सहायता कक्ष राखिएरको प्रहरीले जनाएको छ । यसरी नै देशभरका बासपार्कमा अग्रिम टिकट लिनेको भीड लागेको छ ।

दशैं शुरु हुन एक सातामात्रै बाँकी रहँदा खुलाइएको टिकट बुकिङ काउन्टरहरुमा बिहानैदेखि यात्रुहरुको भिड नै लागिरहेको छ । जसका कारण पनि टिकट लिने यात्रुको भीड लागेको हो ।

गत वर्ष १० प्रतिशत भाडा बढाएर मात्रै बुकिङ खुल्ला गरिएको थियो । तर, यो वर्ष भने हाल कायम भएको भाडादरमै टिकटमा अग्रिम बुकिङ खोलिएको यातायात व्यवस्था विभागले जानकारी दिएको छ ।

दशैं मनाउन राजधानीबाट मात्र उपत्यकाबाट ३० लाखभन्दा बढी मानिस बाहिरिने गरेको आँकलन गरिएको छ । समयमा टिकट नपाउदाँ कतिपय सवसाधारण घर नजाने गरेका छन् ।

प्रकाशित मिति : १२ आश्विन २०७६, आइतबार  १० : १३ बजे

आफ्नै सन्तानको हत्या आरोपमा आमा पक्राउ

उर्लाबारी– मोरङको मिक्लाजुङमा नवजात शिशुको हत्या गरेको आरोपमा प्रहरीले एक

जाँगरिली दिलकुमारी : मकै पोलेको कमाइले छोरी युरोप पठाइन्

सिन्धुलीकी दिलकुमारी माझी (४५) ले मकै काठमाडौंमा मकै पोल्न थालेको

नेपाल र भारतका निजी क्षेत्रबीच बैठक, सहकार्यका सम्भावना खोजी

काठमाडौं – भारतीय राजदूतावासले नेपाल लगानी बोर्ड र नेपाल–भारत उद्योग

पूर्वाञ्चल र मध्यपश्चिममा उपकुलपति नियुक्त

काठमाडौं– प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई विश्वविद्यालयका

आम जनता पार्टीले वैशाख २० मा भन्सार विभाग घेराउ गर्ने

काठमाडौं– आम जनता पार्टी (आजपा)को काठमाडौं उपत्यका विशेष कमिटीको बैठक