पेस्तोल लिएर 'लाखौं' लुट्न हिँडेका डाँकुसँग ७० रुपैयाँ नगद ! | Khabarhub Khabarhub

पेस्तोल लिएर ‘लाखौं’ लुट्न हिँडेका डाँकुसँग ७० रुपैयाँ नगद !


९ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– जिल्ला प्रहरी कार्यालय धनुषाबाट जनकपुर बजार क्षेत्रमा गस्तीमा खटिएको प्रहरी टोली सधैंको जस्तै नगरको ‘परिक्रमा’ गरेर फर्किने क्रममा थियो ।

बिहीबार बिहान साढे ३ बजेतिर प्रहरीको गस्ती टोली जनकपुर उपमहानगरपालिकाको कार्यालय नजिक पुग्यो । पछिल्लो समय स्थानीय तह (गाउँपालिका र नगरपालिका)का कार्यलयमा आगजनी हुने घटना बढेपछि प्रहरीले स्थानीय तहका कार्यालयलाई केन्द्रित गरेर सुरक्षा सतर्कता बढाएको थियो । उपमहानगरपालिकाको कार्यालय नजिक पुग्नेवित्तिकै प्रहरीको गस्ती टोली ‘अलर्ट’ भयो ।

उपमहानगरपालिकाको गेट नजिकै कसैले केही चिजमा ठोकेको जस्तो आवाज आइरहेको थियो । गस्ती टोलीको आकलन थियो– कसैले उपमहानगरपालिकाको कार्यालयमा आक्रमण गर्न लाग्यो ।

तर, गेट नजिक पुग्नेवित्तिकै प्रहरी टोलीको आकलनले फेल खायो । आक्रमण उपमहानगरपालिकामा हैन, बरु उपमहानगरपालिका कार्यालयको गेटसँगै रहेको फर्निचर पसलमा भएको रहेछ ।

उपनगरपालिकाको गेट अगाडि रहेको दिपक बजाज र अमित अग्रवालको जानकी फर्निसिङ (फर्निचर) हाउसको सटरको ताला तोडिएको देखियो । सटरको ताला तोडेकाहरु पसलको भित्रै थिए । उनीहरु पसलको सेफ पोडेर नगद निकाल्ने प्रयास गर्दै थिए । प्रहरीले चेतावनी दिन ९ एमएमको पेस्तोलबाट १ राउण्ड गोली चलायो ।

चोरीमा संलग्नमध्ये १ जना हात उठाउँदै प्रहरीतर्फ आए । गस्तीमा रहेकामध्ये २ जना प्रहरीले उनलाई नियन्त्रणमा लिए । प्रहरीको ध्यान हात उठाएर आएका व्यक्तितर्फ केन्द्रित भएको थियो– लुटपाटमा संलग्नमध्येका ३ जनाले प्रहरीतर्फ नै पेस्तोल ताके ।

१ जनाले पेस्तोल ताक्दै ‘ज्यादा होशियारी मत करना…’ भन्दै थिए । २ जना व्यक्ति त्यहाँबाट भाग्न खोजे । गस्तीमा रहेका प्रहरीले गोली ताक्ने व्यक्तिकै खुट्टामा गोली हानी दिए ।

प्रहरीको गोली लागेर पेस्तोल ताकिरहेका व्यक्ति भूइँमा ढले । भाग्न खोजेका अन्य २ जनालाई पक्राउ गर्न पनि प्रहरीले थप २ राउण्ड गोली चलायो ।

फर्निचर पसल तोडेर नगद लुटपाटमा संलग्न ४ जना नै पक्राउ परे ।

पक्राउ पर्नेमा भारतीय राज्य विहारको सितामढीको पिप्राढी इसलामपुर बस्ने ४७ वर्षीय मोहम्मद इलयास, सोही ठाउँका ३९ वर्षीय ओजिर अन्सारी, रौतहटको वृन्दावन नगरपालिका–१ रमौली बैरिया घर भएका ३५ वर्षी गगन पटेल र रौतहटको गौर नगरपालिका–४ का ४५ वर्षीय विनोद प्रसाद सिंह छन् ।

प्रहरीका अनुसार रौतहटको गौर घर भएका विनोदको खुट्टामा गोली लागेको छ । उनको जनकपुर अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले उनीहरुको साथबाट कटुवा पेस्तोल १ थान र त्यसमा लाग्ने गोली २ राउण्ड बरामद गरेको छ । उनीहरुसँग ताल्चा काट्न प्रयोग हुने (कटर) १ थान र १ थान ‘ठूलो पेचकस’ पनि पनि बरामद भएको छ ।

प्रहरीका अनुसार उनीहरुले फर्निचर पसलबाट लाखौं लुटपाट गर्ने योजना बनाएका भए पनि सफल हुन सकेनन् । नगद राखिएको सेफ फुटाउन नपाउँदै प्रहरीको टोली पुगेका कारण फर्निचर पसलको रकम जोगिएको छ ।

साथमा पेस्तोल बोकेर लाखौं लुट्ने योजनाका साथ हिँडेका उनीहरुको साथबाट नगदका रुपमा नेपाली रुपैयाँ १० का ७ नोट फेला परेका छन् ।

प्रहरीले पक्राउ परेका चारै जनामाथि संगठित अपराध, डाँका तथा चोरी र हातहतियार तथा खरखजना मुद्दामा अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७६, बिहीबार  १ : २५ बजे

डढेलो परी बैतडीमा दुई महिला घाइते

बैतडी – बैतडीमा डढेलोमा परेर दुई महिला घाइते भएकी छन्

शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण

पोखरामा एक बालकको शव फेला

पोखरा – पोखराको फुस्रे खोलामा आज साँझ एउटा बालकको शव

हिउँद सुरु भएपछि आगलागीबाट ९६ जनाको मृत्यु, दुई अर्ब बढीको क्षति

काठमाडौं– हिउँद याम सुरु भएसँगै लामो समयसम्म वर्षा नभएपछि आगलागीका

सरकारविरुद्ध षड्यन्त्र रोक्न जसपा फुटायौं : मन्त्री साह (अन्तर्वार्ता)

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजित भएको छ