‘कबड्डी ३’ समीक्षा: सरल कथा, सटिक प्रस्तुति | Khabarhub Khabarhub

‘कबड्डी ३’ समीक्षा: सरल कथा, सटिक प्रस्तुति



मुस्ताङको नौरीकोटमा बस्ने वीरकाजी शेरचनको जीवन यतिबेला फिक्का छ । किनकि, उसले माया गरेकी मैयाँ गौचनले काजीलाई छोडेर गइसकेकी छ ।

वीरकाजीले लामो समय मैयाँको माया पाउन कसरत गरिसकेको छ । अर्कैसँग भागेर गइसकेकी मैयाँ फर्केर आउनेमा अझै पनि उत्तिकै विश्वास र आशक्ति छ वीरकाजीको ।

वीरकाजी र मैयाँको यो कथा हो, चलचित्र ‘कबड्डी’ को । ‘कबड्डी’ हेरेका दर्शकलाई मैयाँ र वीरकाजीको कहानी पक्कै याद छ ।

चलचित्र ‘कबड्डी’ को तेस्रो सिक्वेलसम्म आइपुग्दा वीरकाजी शेरचन (दयाहाङ राई) ले बल्ल बुझेको छ, माया जबरजस्ती नहुने रहेछ । बल प्रयोग गरेर माया पाइने रहनेछ ।

जबरजस्ती कसैलाई आफ्नो बनाउने चेत वीरकाजीमा पलाए पनि मैयाँकै बाटो कुरेर बसेको छ ऊ। मैयाँको माया पाउन मरिहत्ते गरेको काजीको सिद्धान्त त्यतिबेला डगमग गर्छ, जब उसको जीवनमा काँशी (उपासनासिंह ठकुरी) को इन्ट्री हुन्छ।

अघिल्ला दुई सिरिज सुपरहिट भएपछि त्यसको निरन्तरता दिँदै उही चरित्र र कथावस्तुको उठान गरेर चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ को कथा उनिएको छ । केन्द्रीय भूमिकामा वीरकाजी नै छ । थप, कथामा केही नयाँ ट्वीस्ट र पात्र थपिएका छन् । सोल्टिनीको हक जमाउने नयाँ काजी धनकाजी थपिएका छन् ।

‘कबड्डी’ को पहिलो र दोस्रो सिक्वेल हेरेका दर्शकलाई काजी र मैयाँको चरित्र थाहै छ । तेस्रो सिक्वेलमा आइपुग्दा मैयाँको मायामा डुबेको काजी आफ्नो मायाको सिद्धान्तमा धरमर हुन्छ ।

बाआमा उमेर ढल्किसकेको छोराको बिहेका लागि केटीको खोजी गरिरहेका हुन्छन् । यता वीरकाजी बिहे नगर्ने बरु शहरमा गएर व्यापार गर्ने सोचमा अडिग हुन्छ । परिवारले दयाहाङलाई दबाबमा पारेर बिहे गर्न कर लगाइरहन्छ।

वीरकाजीको जीवनमा काँशीको प्रभाव परेपछि अगाडि बढ्ने घटनाक्रम नै फिल्मको कथानक हो । के काजीले काँशीको माया पाउँछ? कि छोडेर गएकी मैयाँ फेरि फर्केर आउँछे? यस्तै प्रश्नमाथि चलचित्रको कथा घुमेको छ ।

वीरकाजीको भूमिका निभाएका दयाहाङ राईको अभिनय पात्र सुहाउँदो छ । अघिल्ला सिक्वेलमा झैँ यसमा पनि दयाहाङले अब्बल अभिनय गरेका छन् । उनले पात्रको मनोविज्ञानलाई अभिनयमा दुरुस्तै उतारेका छन् ।

दोस्रो चलचित्रसम्म आइपुग्दा उपासना सिंह ठकुरीले उत्तिकै दमदार अभिनय गरेकी छिन् । गाउँले युवतीदेखि शहरीया युवतीसम्मको भूमिकामा प्रस्तुत भएकी काँशीको पात्रमा पाइने सोझोपना, पात्रको मनोविज्ञान र बाध्यात्मक परिस्थितिले सिर्जना गरेको परिवेशलाई उपासनाले जस्ताको तस्तै पर्दामा उतारेकी छिन् । उनको काम तारिफयोग्य छ । यता धनकाजीको भूमिकामा देखिएका विल्सनविक्रम राई भने त्यति ‘दमदार’ लाग्दैनन् । भलै उनको चरित्रमा काजीको दम्भ देख्दै नदेखिने होइन ।

यस्तै चलचित्रमा शीर्ष भूमिका निभाएका माओत्से गुरुङ, पुष्कर गुरुङ, विजय बराल, लुनिभा तुलाधर, बुद्धि तामाङ लगायत अन्य कलाकारले पनि सशक्त अभिनय गरेका छन् । कुशल कथा र पात्रको अभिनयको संयोजनले चलचित्रले दर्शकको ध्यान तान्न सफल हुन्छ ।

चलचित्रको सबैभन्दा बलियो पक्ष यसको स्किृप्ट हो । उपेन्द्र सुब्बा र रामबाबु गुरुङले चलचित्रको कथा र संवादको संयोजन पात्र सुहाउँदो बनाएका छन् ।

प्लटकै कारण चलचित्रले शुरुदेखि अन्तिमसम्म दर्शकलाई बाँधेर राख्छ । सँगसँगै दर्शकलाई पात्रको परिस्थितिसँग पनि साक्षात्कार गराइदिन्छ । जसले गर्दा दर्शकलाई आफू सोही गाउँमा पुगेको अनुभूति हुन्छ ।

चलचित्रको छायांकन र ध्वनि संयोजनले दर्शकलाई खल्लो बनाउँदैन । छायांकन पक्षलाई प्रभावकारी रुपमा चलचित्रमा उतारिएको छ ।

मुस्ताङका सुन्दर दृश्यभन्दा पनि कथाले खोजेको दृश्य चलचित्रमा देख्न सकिन्छ । यस्तै ध्वनि संयोजन र गीतले पनि चलचित्र स्तरीय बनाउन थप बल पुर्‍याएको छ ।

यति हुँदाहुँदै पनि चलचित्रमा केही पक्ष भने अस्पष्ट छन् । जस्तो कि, काँसीका प्रेमी ध्वाँसे (कर्मा) को भूमिकाबारे चलचित्रमा देखाइएको छैन ।

केही संवादमार्फत महिलाप्रति सहानुभूति दर्शाइए पनि चलचित्रमा काँशीको भूमिका निरीह देखाइएको छ । काँशीले बारम्बार ‘मर्छु’ भनेर जिद्दी गर्ने युवकलाई कसरी चोखो माया गर्छे?

सधै ‘रिजेक्ट’ गरिरहने युवतीका लागि किन ध्वाँसे गाउँसम्म पुग्छ? युवकको काँशीतर्फ एकतर्फी आशक्ति देखिन्छ । तर, त्यही युवती उही प्रेमीसँग भाग्नका लागि एकैछिनमा तयार हुन्छे ।

चलचित्रको परिवेश नयाँ गाउँमा सेट गरिएको छ । कथाले दर्शकलाई नयाँ ठाउँमा लैजान्छ । नयाँ पात्रसँग साक्षात्कार गराउँछ । तर, क्लाइमेक्समा पुनः उही नदीको बगरमा कथा अल्झिन्छ । यसले दर्शकलाई मोनोटोनस गराइदिन्छ ।

यद्यपि घरेलु दर्शकका लागि यो चलचित्र यस वर्षको हेर्नुपर्ने चलचित्रमध्ये एक हो । मौलिक भाषा र सटिक प्रस्तुतिमा कथा प्रस्तुत गरी दर्शक हँसाउनमा निर्देशक गुरुङ माहिर देखिएका छन् ।

चलचित्रमा उनले कमेडी मात्र प्रयोग गरेका छैनन् । समाजमा चलिआएका कतिपय विकृत्तिको विरुद्धमा पनि आवाज उठाएका छन् । समाजको कथालाई हेर्न चाहने दर्शकका लागि यो चलचित्र राम्रो रोजाइ हो ।

यो चलचित्रले जबरजस्ती दर्शक हँसाउनुपर्छ भन्ने मान्यतालाई तोडेको छ । चलचित्र हेरिसक्दा पात्रले दिमागमा छाप छोड्न सफल हुन्छन् । अर्को कुरा, ‘कबड्डी ३’ हेर्ने दर्शकलाई यसको अर्को सिक्वेलको प्रतीक्षा भने अवश्य गराउने छ ।

प्रकाशित मिति : ४ आश्विन २०७६, शनिबार  ७ : ४१ बजे

स्वास्थ्य संस्था कानुनअनुसार सञ्चालन गर्न मन्त्रालयको निर्देशन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियम विपरीत स्वास्थ्य सेवा सञ्चालन

आँबुखैरेनीमा ‘नमुना युवा संसद्’अभ्यास सुरु

दमौली– तनहुँको आँबुखैरेनी गाउँपालिकामा नमुना युवा संसद् अभ्यास तथा नमूना

भारतमा लोकसभा निर्वाचन अवलोकन गर्न २३ देशका प्रतिनिधि उपस्थित

नयाँ दिल्ली– भारतको निर्वाचन आयोगले २३ देशका ‘निर्वाचन व्यवस्थापन निकाय’हरू

मधेस प्रदेशमा आगलागीबाट ४६ करोडको क्षति

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा आगलागीबाट विगत १० महिनामा रु

राजदरबार संग्रहालय हेर्ने अधिकांशको प्रश्न- राजारानीको हत्या गरेको ठाउँ खै?

काठमाडौं- दाङका ८५ वर्षीय मानबहादुर बुढाथोकी अत्यन्त हर्षित देखिए ।