अमेरिका–प्रचण्ड सम्बन्ध : उतारचढावका भित्री पाटा « Khabarhub
Logo
९ आश्विन २०७८, शनिबार

अमेरिका–प्रचण्ड सम्बन्ध : उतारचढावका भित्री पाटा



काठमाडौं–नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यतिबेला अमेरिका भ्रमणमा छन् ।

पत्नी सीता दाहालको स्वास्थ्य परीक्षणका लागि अमेरिका गएपनि राजनीतिक वृत्तमा प्रचण्डको अमेरिका भ्रमणका विषयमा विभिन्न टिक्का-टिप्पणी भइरहेका छन् ।

नेपालमा द्वन्द्वकालीन मुद्दाको किनारा लाग्न नसकेका कारणले पनि प्रचण्डको अमेरिका भ्रमण चासोको विषय बन्यो । बेलायत पुगेका नेपाली सेनाका तत्कालीन कर्णेल कुमार लामा बेलायतमै पक्राउ परेको घटना प्रचण्डको अमेरिका भ्रमणमा त दोहोरिने हैन भन्ने अड्कलबाजी भए पनि अमेरिकी सुरक्षा अधिकारीले नो इन्भेष्टिगेशन भनि जारी गरेको सर्कुलर बारेको समाचार खबरहबले खुलासा गरेको थियो ।

प्रचण्डले नरुचाएको अमेरिकी नीति र अमेरिकाले आतंकवादी घोषणा गरेको दलका नेता ‘प्रचण्ड’बीचको मेलमिलाप र नयाँ सम्बन्ध विस्तारको नालिबेली छोटो र अहिले सामान्य रुपमा आँकलन गरिएको जस्तो छैन । प्रचण्ड राजनीतिका चतुर खेलाडी हुन् र उनले शान्ति प्रक्रियामा आएदेखि नै अमेरिकासँगको सम्बन्धलाई विशेष महत्व दिएका थिए ।

तत्कालीन माओवादी शान्ति प्रक्रियामा आएदेखि अहिले पत्नी सीताको उपचार गर्न प्रचण्ड अमेरिका जानुअघिसम्म दुई पक्षबीचको सम्बन्ध सुधारका लागि धेरै प्रयास र छलफल भएका छन् । खबरहबले प्रचण्डविरुद्ध अ‍मेरिकामा उजुरी, ‘नो इन्भेष्टिगेसन’ को सर्कुलर शीर्षकमा प्रकाशित समाचारमा अमेरिकामा प्रचण्डले केके गर्ने छन् भन्ने कुरा उल्लेख छ ।

प्रचण्ड र अमेरिकाको सम्बन्ध सुधार गर्न प्रधानसेनापति पूर्णचन्द्र थापा, नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव विष्णु पौडेल, नेपालका लागि अमेरिकी राजदूतलगायतको सकारात्मक पहल नै सार्थक बनेको हाे ।

विज्ञप्तिपछि केही अर्थपूर्ण कदमहरु चालिने संकेत बुझेका प्रधान सेनापति थापाले विस्तारै सक्रियता बढाएर प्रचण्डप्रतिको अमेरिकाको धारणालाई सकारात्मक बनाउन पहल गरे

प्रधानसेनापतिको पहल

गत माघ ११ मा भेनेजुएला प्रकरणलाई लिएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकाको कडा आलोचना गरेपछि बिग्रेको सम्बन्धमा न्यानोपना आउन लागेको छ। अरु देशको उक्साहटमा अमेरिकाविरुद्ध यस्तो कठोर विज्ञप्ति आएको भन्दै अमेरिकी दूतावासले गम्भीरतापूर्वक लिएपछि सम्बन्धमा दरार आएको थियो ।

यो प्रकरणपछि प्रचण्ड र अमेरिकाबीचको सम्बन्ध सुधारका लागि नदेखिने गरी प्रधानसेनापति पूर्णचन्द्र थापाले निक्कै महत्वपूर्ण भूमिका खेलेका छन् । थापाकै पहलमा अमेरिकी अधिकारीहरु विश्वस्त भएका थिए भने प्रचण्डले अमेरिकासँगको सम्बन्ध पुन: सामान्य बनेको थियो ।  सेनापति थापाले प्रचण्डनिकट दोस्रो तहका नेताहरुलाईसमेत अमेरिकासँगको सम्बन्ध सकारात्मक हुनुपर्नेतर्फ सचेत गराएका थिए । विज्ञप्तिपछि केही अर्थपूर्ण कदमहरु चालिने संकेत बुझेका थापाले विस्तारै सक्रियता बढाएर प्रचण्डप्रतिको अमेरिकाको धारणालाई सकारात्मक बनाउन पहल गरे ।

नेकपा महासचिव पौडेलको भूमिका

यता दुई देशको सम्बन्धलाई असर हुन नदिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले आफ्नै प्रयासमा विभिन्न चरणका सघन भेटघाट गरेका थिए। कुटनीतिक छलफलका क्रममा अमेरिकी कुटनीतिज्ञहरु कडारुपमा प्रस्तुत भएका थिए । विभिन्न चरणको वार्तापछि पनि अमेरिकी कुटनीतिज्ञहरु आश्वस्त नहुनु र परराष्ट्र मन्त्रालयको विज्ञप्तिपछि अमेरिका थप बिच्किएपछि पौडेलकै पहलमा प्रधानमन्त्री केपी शर्मा ओलीले सिधै अमेरिकी राजदूत बेरीसँगै भेटेर समस्या सुल्झाउन पहल गरेका थिए। पछि वालुवाटारमा ओलीले बेरीलाई भेटवार्ता गरी चिसिएको सम्बन्धमा ‘ब्रेक थ्रु’ गरेका थिए ।

शान्ति प्रक्रियामा आएदेखि नै प्रचण्डले अमेरिकासँगको सम्बन्धलाई प्राथमिकता दिएका हुन् । तर दुबै पक्ष सार्वजनिक रुपमा भने एक अर्काको कटु आलोचक रहे

ओलीपछि प्रचण्डले पनि अमेरिकी राजदूतसँग भेटवार्ता गरेर भेनेजुएला बारेको विज्ञप्ति राजनीतिक रुपमा मात्र प्रेरित रहेको प्रष्ट्याएर सम्बन्ध सुधारको प्रयत्न गरेका थिए । भेनेजुएला प्रकरणपछि प्रचण्ड–बेरीबीचको गोप्य तथा खुल्ला छलफलपछि अमेरिकाले प्रचण्डलाई हेर्ने दृष्टिकोण बिस्तारै परिवर्तन हुँदै गयो।

सम्बन्ध सुधारकै प्रयासका क्रममा गत फागुन १४ गते ललितपुरको एक कार्यक्रममा प्रचण्डसँग एउटै मञ्चमा रहेकी चिनियाँ राजदूतले नेपाल चीन सम्बन्ध विगार्न अमेरिकाले भूमिका बढाएको प्रतिक्रिया दिएपछि अमेरिका सशंकित बनेको थियो । सात समुन्द्रपारीको मुलुकले सीमा जोडिएको छिमेकी देश चीनसँगको सम्बन्ध बिगार्न खोजेको भन्दै आपत्ति प्रकट गरेकी थिइन् ।

त्यसो त गत माघ १० गते काठमाडौंमा उपलब्ध पश्चिमा देशका राजदूतहरुको आकस्मिक बैठकपछि नेपालस्थित संयुक्त राष्ट्रसंघ, अमेरिका, ईयू, ब्रिटेन, अष्ट्रेलिया, फ्रान्स, नर्वे, जर्मनी, स्विट्जरल्याण्ड र फिनल्याण्डले संयुक्त विज्ञप्ति निकाल्दै संक्रमणकालीन न्यायका विषय पीडितलाई केन्द्रमा राखी टुंग्याउन माग गरे ।

त्यतिबेला स्वीट्जरल्याण्ड भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले त्यहीबाट विज्ञप्तिको खण्डन गरे । जुन घटनाले हाल नेकपामै आबद्ध पूर्वमाओवादी तथा द्वन्द्वकालमा सरकारको नेतृत्व गर्ने दल नेपाली कांग्रेसलाई पनि झस्कायो । यो घटनाले प्रचण्डलाई समेत पश्चिमा देशहरु द्वन्द्वकालीन मुद्दामा आफूविरुद्ध खेल्न खोजेको महशुस गरे । त्यसपछि पनि विभिन्न चरणमा कुटनीतिक छलफल भइरहेकै बेला भेनेजुएला प्रकरण आएपछि कुटनीतिक प्रयत्नमा गतिरोध आएको थियो ।

प्रचण्डको प्राथमिकतामा अमेरिका

शान्ति प्रक्रियामा आएदेखि नै प्रचण्डले अमेरिकासँगको सम्बन्धलाई प्राथमिकता दिएका हुन् । तर दुबै पक्ष सार्वजनिक रुपमा भने एक अर्काको कटु आलोचक रहे। प्रचण्डलाई आफ्नै पार्टीको हार्ड लाइनलाई ‘म्यानेज’ गनुपर्ने चूनौती रह्यो भने आफैले आतंकबादी घोषणा गरेको पार्टीसँग सम्बन्ध सुधार गर्न अमेरिकाका लागि पनि सहज थिएन । प्रचण्ड–अमेरिका नियमित रुपमा सिधा सम्पर्कमा नरहेकाले पनि बीचमा खेल्नेहरुले दुबै पक्षलाई उत्तेजित बनाउने काम गरे । शान्ति प्रक्रियाकै दौरानमा अमेरिका र प्रचण्ड एकअर्काका लागि आवश्यकता महशुस हुन थाल्यो ।

द्वन्द्वकालदेखि नै प्रचण्डलाई शंकाको नजरले हेर्ने अमेरिकी दृष्टिकोणमा अहिले धेरै परिवर्तन आइसकेको छ । २०५८ सालपछि अमेरिकामा भएको आतंकवादी हमलापछि अमेरिकी नीतिमा परिवर्तन ल्याउँदै  अमेरिकाले आतंकवादविरुद्ध विश्वव्यापी युद्धमा होमिएको थियो । ठिक त्यहीबेला नेपालमा माओवादीहरुको चरम युद्ध चलेको थियो । माओवादीले अमेरिकालाई साम्राजीवादी घोषणा गर्दै अमेरिकी दूतावासमा कार्यरतमा दुई नेपाली सुरक्षागार्डको हत्या गरिएपछि अमेरिका नेपालमा पनि माओवादीविरुद्ध सक्रियरुपमा लाग्यो । अमेरिकी विदेशमन्त्री कोलिन पावेल माओवादी विरुद्ध नेपाली सेनाकाे कारबाहीलाई समर्थन गर्दै विमानस्थलबाट सोझै सैनिक मुख्यालय भद्रकाली पुगेर माओवादीविरुद्ध लड्नका लागि आवश्यक चाहिने सामग्रीको लिस्टिङ गरेका थिए ।

अमेरिका पुगेका प्रचण्ड । साथमा श्रीमती सीता र अन्य सदस्य । तस्वीर : सामाजिक सञ्जाल

नेपाली सेनाले पावेललाई खुशी बनाउन विदेशी राष्ट्र प्रमुखलाई मात्र दिइने ‘गार्ड अफ अनर’  दुई पटकसम्म दिएको थियो । पावेलकै पहलमा माओवादीविरुद्ध युद्ध लड्न तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यू बुसलाई नै भेटेका थिए । त्यसपछि अमेरिकाले सेनालाई हतियार, तालिम लगायत विभिन्न सहयोग गरेको थियो । युद्धकालभरी नै अमेरिकाले माओवादीलाई आतंकवादी नजरले मात्र हेर्‍यो । तर, शान्ति प्रक्रियाको सुरुवातसँगै अमेरिका-माओवादी सम्बन्ध फेरबदल आयो ।

माओवादी शान्तिपूर्ण राजनीतिमा आएदेखि नै अमेरिकाले शंकाको दृष्टिले हेरेको थियो । तत्कालीन अमेरिकी राजदूत जेम्स एफ मोरियार्टीले शान्ति प्रक्रियामा माओवादी आएयता तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र भारतीय राजदूत शिवशंकर मुखर्जीलाई पटक-पटक भेटी अमेरिकी कुटनीतिज्ञ र नागरिक सुरक्षाका लागि सरकारी तयारीबारे जानकारी लिने गरेका थिए भने सुरक्षा दिन नसके अमेरिका आफैले कारबाही गर्ने चेतावनी दिएका थिए ।

मोरियार्टीले माओवादीमा अमेरिकाप्रति ठूलो घृणा रहेको, साना हातहतियारसहित ठूलो संख्यामा माओवादी कार्यकर्ता काठमाडौं भित्रिएको, केही तल्लो तहकै माओवादी कार्यकर्ताले अमेरिकी कुटनीतिज्ञलाई राजधानीमै आक्रमण गर्नसक्ने लगायतबारे सचेत गराउँदै तत्कालीन प्रधानमन्त्री कोइरालालाई बताउने गरेका थिए ।

तत्कालीन प्रधानमन्त्री कोइराला र कांग्रेस नेता शेखर कोइरालाले अमेरिकी दबाब बारे प्रचण्डलाई पटक पटक जानकारी गराउँदै पार्टीभित्र व्यवस्थापन गर्दै अमेरिकी सुरक्षालाई हानी नगर्न  सुझाउँने गरेका थिए। दबाबपछि प्रचण्डले अमेरिकी कुटनीतिज्ञमाथी माओवादीले केही नगर्नेमा विश्वस्त पारेका थिए भने तत्कालीन उच्च कमाण्डरहरुलाई समेत त्यस्तो व्यवहार नगर्न निर्देशन दिएका थिए।

यी घटनाले शान्ति प्रक्रिया नै विथोलिने अवस्था आउनसक्नेतर्फ सचेत हुँदै प्रचण्डले अमेरिकीविरुद्ध आक्रमण नगर्न र कुनैपनि अमेरिकी चासोमा हानी नगर्न आफ्ना सम्पूर्ण कार्यकर्तालाई कडा निर्देशन दिएका थिए ।

तर सार्वजनिक कार्यक्रमहरुमा भने प्रचण्ड अमेरिका बिरोधी देखिने तथा अमेरिकाले पनि आफ्नो बाटो परिवर्तन नगरेपछि दूरी नजिकिन सकेको थिएन । दुवैबीचको वैमनस्यता कायम रहे पनि तत्कालीन प्रधानमन्त्री कोइरालाले मध्यमार्गी भूमिका खेलिरहेकै थिए ।

अमेरिकी राजदूतलाई माओवादीले ढुंगा हानेपछि…

२०६४ जेठमा झापामा माओवादी कार्यकर्ताले अमेरिकी राजदूत मोरियार्टीलाई ढुंगा हानेपछि सम्बन्धमा ठूलो दरार आयो । तर जेठ २२ गते तत्कालीन माओवादी नेता डा. बाबुराम भट्टराइले तत्कालीन बेलायती दूतावासका उपप्रमुख पर्ल बुटलाई सम्पर्क गरी घटनामा दुःख व्यक्त गर्दै आक्रमण पार्टी योजनाविपरीत भएको,  घटनाको निश्पक्ष छानविन हुने, दोषीलाई कारबाही गरिने र  अब यस्ता गतिविधि नदोहोर्‍याउने बताउँदै आफ्नो सन्देश अमेरिकी कुटनीतिज्ञहरुसमक्ष पुर्‍याइदिन आग्रह गरेका थिए। लगतै उनले अमेरिकी अधिकारीहरुलाई भट्टराइको सन्देश पुर्‍याउदै थप कदम नचाल्न आग्रह गरेका थिए।

अमेरिकी कुटनीतिज्ञ घाइते हुने गरी आक्रमण भएमा कठोर सैन्य कारबाहीको विकल्प नरहेको भन्दै अमेरिकी राजदूतले चेतावनी दिएका थिए भने अमेरिकी सुरक्षाकर्मीहरु समेत उच्च सर्तकताका साथ परिचालित थिए । यदी अमेरिकी कुटनीतिक अधिकारीहरुमाथी ठूलै हमला भएमा तत्कालै जवाफ फर्काउने अमेरिकी तयारी बुझेको सरकार र माओवादीले अर्को निर्णय नलिँदा शान्तिकालभरी नै वाकयुद्धबाहेक सम्बन्ध बिग्रने केही गतिविधि भएन।

२०६६ पुसबाट प्रचण्डले नेता कृष्णबहादुर महरा (अहिलेका सभामुख)लाई नै खटाएर अमेरिकासँग नियमित सम्पर्कमा रहने व्यवस्था मिलाए

२०६३ फागुन २४ मा प्रचण्डले राजावादीहरुले अमेरिकी कुटनीतिज्ञको हत्या गरी माओवादीलाई दोषारोपण गर्ने र शान्ति प्रक्रिया भाड्न लागेको आरोप लगाएपछि अमेरिका क्रोधित बन्यो। चैत ४ गते तत्कालीन अमेरिकी राजदूत जेम्स एफ मोरीयार्टीले तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौला र गृहसचिव उमेश मैनालीलाई संयुक्तरुपमा भेटेर माओवादीले किन भ्रम फैलाइरहेका छन् ? त्यस्तो सुचना हो भने प्रमाण खोइ ? माओवादीले अमेरिकालाई किन खेल ठट्टा सम्झिरहेको छ भन्दै आक्रोस पोखेका थिए ।

सिटौलाले तत्कालै प्रचण्डलाई भेटेर आफूले सम्झाउने भन्दै थप कदम नचाल्न मोरीयार्टीलाई सुझाए। अमेरिकीहरु आक्रोशित बनेपछि तत्कालीन अनमिन प्रमुख इयान मार्टिनले समेत प्रचण्डलाई भेटी अमेरिकालाई उत्तेजित पार्ने गतिविधि नगर्न र सार्वजनिक मन्तव्यमा पनि केही गम्भीर बन्न सुझाव दिएका थिए । वाम बुद्धिजीवी पद्मरत्न तुलाधारलगायतले पनि प्रचण्डलाई भेटी अमेरिकालाई चिढाएर शान्ति प्रक्रियाको पार नलाग्ने सुझाएका थिए। प्रचण्डले अमेरिकी दूतावासनिकट केही व्यक्तिहरु सम्बन्ध सुधारका लागि  पहल थालेपछि विस्तारै यो विवादको विषय अन्यत्र मोडिएको थियो ।

महरालाई खटाएर नियमित सम्पर्क

२०६६ पुसबाट प्रचण्डले नेता कृष्णबहादुर महरा (अहिलेका सभामुख)लाई नै खटाएर अमेरिकासँग नियमित सम्पर्कमा रहने व्यवस्था मिलाए। महरासँगको नियमित भेटमा संसद नछोड्न र दबाबै दिनुपर्ने भए दुबै ठाउँबाट गरिरहन अमेरिकीहरुले सुझाउने गर्थ्ये। केही वर्षको संगतपछि माओवादीहरु लोकतान्त्रिक प्रक्रिया छाड्दैनन् भन्नेमा अमेरिकी अधिकारीहरु विश्वस्त रहे ।

अमेरिकाबाट आएको उच्चस्तरीय टोलीहरुलेसमेत लोकतान्त्रिक प्रक्रियामा रुपान्तरण हुँदै गइरहेको र केही समय लाग्ने भन्दै प्रचण्डसँगको सम्बन्धलाई टुटाउन नहुने प्रतिबेदनहरु तयार पार्न थाले। अनमिन, ब्रिटीस र नर्वेजीयन दूतावासका अधिकारीहरुले अमेरिकालाई लगातार प्रचण्डसँग सम्बन्ध बढाउन सुझाब भने दिइरहेका थिए।

प्रचण्ड–अमेरिका सम्बन्धको औपचारीक शुरुवात भने एउटा पत्रमार्फत भयो। तत्कालीन अमेरिकी राजदूत नेन्सी जे पावेललाई सम्बोधन गरी तत्कालनी नेकपा माओवादीको लेटरहेडमा लेखिएको २ पाने पत्रमा अमेरिकी चासोको संरक्षण गर्ने माओवादी प्रतिबद्धता थियो।

महरानिकट काठमाडौंका व्यापारी दिनेश मानन्धरलेसमेत अमेरिकी अधिकारीहरुलाई पटक पटक भेटेर माओवादीले साच्चै नै शान्ति प्रक्रिया आउने भएकाले सम्बन्धमा हिचकिचाउन नपर्ने सुझाएका थिए।

क्रिस्चियन धर्मगुरु केबी रोकालगायत केहीले अमेरिकी अधिकारीहरुलाई माओवादीसँग राम्रो सम्बन्ध नभएपनि औपचारिक बनाउन सुझाउने गर्थे। संयोग त्यतिबेला माओवादीसँगको सम्बन्ध सुधारका लागि पहल गर्ने सबैले मोरीयार्टीलाई नभएर हालका राजदूत बेरीलाई नै भन्ने गर्थे।

अमेरिकी राजदूत नेन्सी जे पावेललाई लेखिएको पत्र

प्रचण्ड–अमेरिका सम्बन्धको औपचारीक शुरुवात भने एउटा पत्रमार्फत भयो। तत्कालीन अमेरिकी राजदूत नेन्सी जे पावेललाई सम्बोधन गरी तत्कालीन नेकपा माओवादीको लेटरहेडमा लेखिएको २ पाने पत्रमा अमेरिकी चासोको संरक्षण गर्ने माओवादी प्रतिबद्धता थियो। २०६४ साउन २९ गते पार्टीको केन्द्रीय सदस्यको हैसियतमा पठाइएको पत्रमा तत्कालीन सञ्चारमन्त्री कृष्णबहादुर महराले हस्ताक्षर गरेका थिए।

पत्र डा. केबी रोकायले दूतावासका अधिकारीलाई हस्तान्तरण गरिदिएका थिए। रोकायको डा. बाबुराम भट्टराइसँगको सम्बन्धले दुई पक्षलाई औपचारिक सम्बन्धलाई प्रवेश गराउन काम गरेको थियो। पत्रमा द्वन्द्वकालमा अमेरिकाविरुद्ध भएको गतिविधिप्रति क्षमा मागिएको थियो भने दूतावासका २ सुरक्षागार्डको हत्याको अनुसन्धान गर्ने प्रतिबद्धतासमेत जनाइएको थियो।

त्यसअघि माओवादी भातृ संगठनका नामबाट केही पत्र पुगेपनि विश्वसनीय व्यक्तिले हस्तान्तरण नगरेको र झुक्याउने खेला हुनसक्ने ठानेर अमेरिकी अधिकारीहरुले रेकर्ड नै नराखी च्यातेरै फालिदिने गरेका थिए ।

नयाँ राजदूतको काठमाडौं आगमन र तत्कालीन उच्च सैन्य अधिकारीरुले सम्बन्ध बिगार्न मलजल गरिरहेका बेला त्यो पत्रले ‘यू टर्न’ लियो। त्यसपछि दूतावासले थप सुनिश्चितता माग्दै अर्को पत्र काट्यो भने जवाफमा माओवादीले पनि पत्राचार गर्‍यो। त्यसपछि पहिलोपटक अमेरिकी राजदूत र प्रचण्डबीच प्रत्यक्ष भेटवार्ताको ढोका खुल्यो।

२०६४ सालको संविधानसभा निर्वाचनपछि माओवादी सबैभन्दा ठूलो दलका रुपमा उदायो र  प्रचण्ड प्रधानमन्त्री भए । सम्बन्धले गति लिइसकेपनि प्रचण्डको संयुक्त राष्ट्रसंघका जाने प्रक्रियामा नयाँ झञ्झट आइलाग्यो। अमेरिकाले केही अपहरणका घटनामा वाइसीएलको हात रहेको भन्दै बिघटन हुनुपर्ने अडान लियो । पछि मध्यममार्गी बाटो अपनाएर प्रचण्डको अमेरिका भ्रमण खुलेको थियो ।

अमेरिकीहरु यतिबेला प्रचण्ड पूर्ण रुपमा लोकतान्त्रिक बाटोतर्फ मोडिइसकेकाले अरु नेताभन्दा फरक व्यवहार गर्नु नपर्ने निष्कर्षमा पुगेका छन् । शान्ति प्रक्रिया टुंग्याउन प्रचण्डले गरेको पहल र चुनावी प्रक्रियामा होमिएपछि प्रचण्डले विस्तारै अमेरिकीको विश्वास जित्दै गएका छन् । सम्बन्धले कस्तो गति लिने हाे त्यो हेर्न भने केही महिना कुर्नै पर्नेछ । तर शक्तिशाली देशहरुको कुटनीतिमा व्यवहारिक भन्दापनि रणनीतिक स्वार्थहरुले बढी काम गरेको हुन्छ र त्यसैमा आधारित रहेर सम्बन्धमा उतारचढाव आउँछ ।

यो पनि पढौं

प्रचण्डविरुद्ध अमेरिकामा उजुरी, ‘नो इन्भेष्टिगेसन’ को सर्कुलर !

कुटनीतिक परिपक्वता देखाऊ

८ वर्षपछि उच्च अमेरिकी अधिकारी नेपालमा

मुस्ताङमा नेपाल र अमेरिकी सेनाको संयुक्त सैन्य अभ्यास

 


भर्खर

0