कुटनीतिक परिपक्वता देखाऊ | Khabarhub Khabarhub
Logo
२९ मंसिर २०७६, आइतबार

कुटनीतिक परिपक्वता देखाऊ



भेनेजुएलाको राजनीतिक संकटका बाछिटाले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्षबीचको मनमुटाब चुलिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका अर्का अध्यक्ष प्रचण्डले भेनेजुएलाको आन्तरिक मामिलामा अमेरिकाले हस्तक्षेप गरेको आरोप लगाउँदै पार्टीको तर्फबाट विज्ञप्ति जारी गरेदेखि कुटनीतिक सम्बन्धमा आएको चिसोपना हटाउन गरेको पहलकदमीको केही दिनभित्रै फेरि विबाद सतहमा आएको छ ।

अमेरिकाले दक्षिण अमेरिकी देश भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको वैधानिकता समाप्त भएको भन्दै विपक्षी नेता हुवान गुवाइदोलाई मान्यता दिएको केही दिनभित्रै नेकपाका अध्यक्षले विज्ञप्ति जारी गरी त्यसको भर्त्सना गरेका थिए । प्रचण्डको विज्ञप्तिलाई पार्टी र कुटनीतिक भाषामा परराष्ट्र मन्त्रालयले समेत स्वीकार गरिसकेको छ । अमेरिका यो प्रकरणमा सरकारसँग रुष्ट छ ।

भेनेजुएला प्रकरणले नेपाल–अमेरिका सम्बन्धमा आएको चिसोपना हटाउन प्रधानमन्त्री ओलीले कुटनीतिक पहलकदमी लिइरहेका छन् । ओलीले आफ्ना सल्लाहकारहरुसँगै पार्टीकै विश्वासिला नेताहरुलाई समेत परिचालन गरी अमेरिकासँगको कुटनीतिक सम्बन्धलाई पुनर्ताजकी गर्ने प्रयत्न गरेपनि सार्थकता नपाएपछि आफैंले पहलकदमी लिएका हुन् । अन्य सबैखाले कुटनीतिक पहल पार नलागेको अवस्थामा प्रधानमन्त्री आफैं अग्रसर बन्दै अमेरिकी राजदूत रेन्डी बेरीलाई बालुवाटार बोलाएर गोप्य तर खुल्ला छलफलबाटै विषय अन्त्यको प्रयत्न गरेका थिए ।

बालुवाटारको वार्ताले एकैपटक समाधान ननिकाले पनि विश्व महाशक्तिसँगको सम्बन्धमा आउन लागेको दरार हटाइ सिधा कुटनीतिक प्रयत्न गर्नु प्रधानमन्त्रीको जिम्मेवारी पनि हो । पार्टीका कारण सरकार कुटनीतिक दबाबमा पर्नु हुँदैनथ्यो तरपनि अझै समय बितिसकेको छैन । ओली प्रधानमन्त्री भएयता कुटनीतिक सम्बन्धलाई नयाँ आयाम दिएका छन् । शुरुमा छिमेकी देश भारत र चीनसँगको कुटनीतिक सम्बन्धलाई एक तहसम्म पुर्‍याएका ओलीले पछिल्लो समय संसारका धनी तथा लगानी गर्नसक्ने देशहरुसँगको सम्बन्धमा पहल गरिरहेका छन् ।

प्रधानमन्त्री ओलीकै पहलमा अमेरिकासँग लामो समयपछि राजनीतिक तहको सम्बन्ध गास्ने कोशेढुंगा खुलेको थियो भने यूरोपदेखि जापानसम्म आफ्नो कुटनीतिक सम्बन्धलाई उचाईमा पुर्‍याउने प्रयत्न भइरहेको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको अमेरिकी विदेशमन्त्री माइक पम्पेओसँगको छलफलपछि दुई देश नयाँ शिराबाट सम्बन्ध शुरुवातको पहलकदमी लिइरहेका थिए ।

ओलीले अमेरिकासँगको सम्बन्धलाई राष्ट्रिय हितका लागि दूरगामी कदमका रुपमा प्रयोग गर्न खोजेका थिए । उनले सम्बन्धलाई अमेरिका र उसका साझेदार देशहरुबाट लगानी बढाउनेदेखि राष्ट्रिय हैसियतलाई अझ उचाईमा पुर्‍याउने धेरैको अपेक्षा थियो । तरपनि भेनेजुएला प्रकरणमा नेपाल कुटनीतिक सन्तुलनमा चुकेको छ र यसलाई कुटनीतिक लचकताका साथ टुंग्याउन जरुरी छ ।

ओलीको कुटनीतिक पहलकदमी सरकारको लचकता र परिपक्वपनाबाट समाधान खोज्ने उपाए हो । नेपालसँग परम्परागत साइनो रहेको अमेरिकासँगको कुटनीतिक सम्बन्धका बहुआयामिक तथा दूरगामी महत्व छ । अमेरिकासँगको भरपर्दो कुटनीतिक सम्बन्धबाट नेपालले लाभ लिनसक्ने धेरै स्थानहरु छन् ।  एउटै पार्टी बनाएर देशमा राजनीतिक स्थायित्व दिने कसमसहित लामो यात्रा तय गरेका दुई अध्यक्षबीच परराष्ट्र मामिलामा साझा धारणा आउनुपर्छ ।

नेपालले आफ्नो सामर्थ्य अनुसार मात्र अन्तर्राष्ट्रिय घटनाक्रममा प्रतिक्रिया जनाउनुपर्दछ, त्यहीपनि बाध्यकारी अवस्थामा मात्र । अन्तर्राष्ट्रिय क्षेत्रमा धेरै घटनाक्रमहरु विकास भइरहन्छन् । त्यसमा हतास प्रतिक्रिया जनाउने र नेपालको राष्ट्रिय स्वार्थ नजोडिएका क्षेत्रहरुमा चासो राख्दा सन्तुलित कुटनीतिक सम्बन्ध र राष्ट्रिय स्वार्थको रक्षा हुँदैन । अमेरिका नेपालको सबैभन्दा धेरै वैदेशिक अनुदान दिने र सहयोग दिने दाता देश हो । दुई छिमेकीसँगको सम्बन्धमा कुनैबेला चिसोपना आउँदा अमेरिकासँगको आफ्नो विश्वासिलो सम्बन्धको माध्यमले राष्ट्रिय स्वार्थको रक्षा गर्न सक्छ ।

सबै क्षेत्रमा आफ्नै विशिष्ट साइनो रहेको विश्व महाशक्ति देश अमेरिकासँग तेस्रो देशको कारणले सम्बन्धमा चिसोपना आउनु सामन्य विषय होइन । भेनेजुएला प्रकरण आन्तरिक भएकाले नेपालले प्रतिक्रिया जनाइहाल्नु जरुरी थिएन तरपनि प्रचण्डको विज्ञप्तिपछि उत्पन्न घटनाक्रमको सुरक्षित अवतरणको सम्मुख फेरि यही विषयलाई सार्वजनिक टिकाटिप्पणी गरिनुले कुटनीतिक अपरिपक्वतालाई दर्शाउछ । विश्व महाशक्ति राष्ट्रहरुको लडाईमा परेको भेनेजुएलाको मामिलामा नेपालले खेल्नसक्ने भूमिका छैन र पक्ष/विपक्षले सैद्धान्तिक बाहेक अन्य कुनै भूमिका खेल्न सक्दैन ।

भेनेजुएलासँग नेपालको सैद्धान्तिक बाहेक खास सम्बन्ध छैन र उसले नेपालको बिकास र लगानीमा कुनै भूमिका खेल्न सक्दैन । कुटनीतिक विषयमा पार्टीभित्र विभिन्न नेताहरुको फरक दृष्टिकोण हुनु र आन्तरिक बहस हुनु कुनै अस्वभाविक विषय होइन बरु यसले पार्टीको लोकतान्त्रिक अभ्यासलाई अझ सशक्त बनाउँछ । तरपनि पार्टीको नेतृत्व तहबाटै मुलुकको संवेदनशील कुटनीतिक सम्बन्धमा असर पार्ने परस्परविरोधी धारणा आउनुले कुटनीतिक परिपक्वतालाई संकेत गर्दैन ।

स-साना सैद्धान्तिक विवादलाई लिएर नेपालका कम्युनिष्ट पार्टी चिरा परेको यर्थाथ विभिन्न चरणको एकता गरी एउटै पार्टी बनाउने दुई अध्यक्षलाई थाहा नभएको पक्कै होइन । सैद्धान्तिक भन्दा व्यवहारिक प्रयोगलाई जोड दिएकै कारण प्रचण्ड सशस्त्र संघर्षदेखि शान्तिपूर्ण निकास, गणतन्त्र स्थापनादेखि पार्टी एकतासम्म सफलतापूर्वक सम्पन्न गर्दै आइरहेका छन् । प्रचण्ड राजनीतिका चतुर खेलाडी रहेको यर्थाथ कसैबाट छिपेको छैन । प्रचण्डले पनि लामो समय शत्रुतापूर्ण सम्बन्ध रहेको अमेरिकासँगको आफ्नो सम्बन्ध शान्तिपूर्ण राजनीतिमा आएदेखिनै सुधार गर्न खोजेका हुन् ।

जड्सूत्रीय सैद्धान्तिक विश्वासभन्दा माथि उठेर राष्ट्रिय हितका लागि कदम चाल्नु र गोप्य तर खुल्ला छलफलबाट समाधानको पहल लिनु कार्यकारी प्रधानमन्त्री ओलीको बुद्धिमानी कदम हो

प्रचण्डको पहललाई नर्वेजीयन कुटनीतिज्ञदेखि बेलायतीको पहलकदमी र वर्तमान सभामुख कृष्णबहादुर महराको विश्वासयोग्य पत्रले प्रत्यक्ष संवादको ढोका खुलेको हो । अमेरिकासँगको माओवादी सम्बन्ध तत्कालीन अमेरिकी राजदूत जेम्स एफ मोरियार्टीपछि नेपाल आएकी अमेरिकी राजदुत नेन्सी जे पावेलको पालाबाट शुरु भएको हो । प्रचण्डले नेपाली मध्यस्थकर्तामार्फत पार्टीको आधिकारीक पत्राचारबाटै माओवादी–अमेरिकाको सम्बन्धको शुरुवात गरेका हुन् । त्यसो त शान्तिवार्तामा आएयता प्रचण्डले बाबुराम भट्टराईमार्फत पश्चिमा देशहरुसँग गोप्य कुटनीतिक सम्बन्धलाई तीव्रता दिन सफल भएका थिए ।

अमेरिका र माओवादीबीच नेपालको शान्ति प्रक्रियादेखि नै संशयपूर्ण सम्बन्ध रह्यो तरपनि दुबैले एकअर्कालाई वेवास्ता गर्ने अवस्था रहेन । अमेरिकी सुरक्षा र कुटनीतिक स्वार्थलाई आँच नपुर्‍याउने विश्वसनीयतासंगै तत्कालीन माओवादीले अमेरिकासँगको कुटनीतिक सम्बन्ध सुधार स्थापना गरेको हो । प्रचण्डको त्यही चतुर कुटनीतिका कारण पनि नेपालको शान्ति प्रक्रियालाई निकास दिन अमेरिकाले दबाबमूलक भूमिका खेलेपनि निशेध गर्न सकेन ।

निकासको नजिक पुगेको समस्यालाई सार्वजनिक रुपमै छताछुल्ल पार्नुभन्दा कुटनीतिक पहलमै समाधान निकाल्नुपर्छ । भेनेजुएलाको मामिलाले अमेरिकासँगको कुटनीतिक सम्बन्धमा आँच पुर्‍याउनुहुन्न । नेपाललाई विदेशी लगानी भित्र्याउन, दाता राष्ट्रहरुको सहयोग बढाउन र लामो समदेखि अस्थिरतामा रहेकाले गुमेको राष्ट्रिय हैसियत तथा विश्वासलाई मजबुत बनाउन कुटनीतिक पहल नै सबैभन्दा भरपर्दो माध्यम हो ।

जड्सूत्रीय सैद्धान्तिक विश्वासभन्दा माथि उठेर राष्ट्रिय हितका लागि कदम चाल्नु र गोप्य तर खुल्ला छलफलबाट समाधानको पहल लिनु कार्यकारी प्रधानमन्त्री ओलीको बुद्धिमानी कदम हो । उनको यो कदमले अमेरिकासँगको अविश्वासमा परेको सम्बन्धलाई सुरक्षित अवतरण हुनेमा दुबै पक्ष आशावादी रहेकै बेला शीर्ष नेताहरुले संशय पैदा हुने सार्वजनिक अभिव्यक्ति दिनुहुँदैन ।

नेपालमा दूरगामी प्रभाव पार्ने साइनो नभएको भेनेजुएलाको विषयलाई लिएर नेपालमा दन्तबजान गर्नुको कुनै औचित्य छैन । नेपालले आफ्नो कुटनीतिक परिपक्वता देखाउँदै विश्व महाशक्ति अमेरिकासँगको सम्बन्ध सुधार गर्नु नै राष्ट्रिय हितको पक्षमा रहनेछ । अमेरिकाले पनि नेपालको भू–सामरिक संवेदनशीलता र सैद्धान्तिक नातालाई बुझेर दबाबबाट नभई रचनात्मक कुटनीतिक समाधानको बाटोबाट दुई देशको सम्बन्ध सुधारको सार्थक पहल थाल्नुपर्छ ।


भर्खर