अधिवेशनको प्रारम्भमै सत्ता र प्रतिपक्षबीच वादप्रतिवाद, कसले के भने ? | Khabarhub Khabarhub

अधिवेशनको प्रारम्भमै सत्ता र प्रतिपक्षबीच वादप्रतिवाद, कसले के भने ?


४ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-संघीय संसद्अन्तर्गत आज शुरु भएको राष्ट्रियसभाको हिउँदे अधिवेशनमा विभिन्न २७ विधेयकमाथि कारवाही हुने भएको छ ।

राष्ट्रियसभामा दर्ता भएका १०, समितिमा विचाराधीन १५ र प्रतिनिधिसभाबाट पारित भई राष्ट्रियसभामा पठाइएका दुई विधेयकले अन्तिम रुप पाउन लागेको हो ।

राष्ट्रियसभाको आजको बैठकमा सत्ता पक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दलका नेताले सरकारको बचाउ र विरोधमा वादप्रतिवाद गरे ।

सभाको पाँचौँ अधिवेशनको पहिलो बैठकमा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले राष्ट्रपतिबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाएपछि सत्तारूढ दल नेकपा संसदीय दलका नेता दीनानाथ शर्माले पाँचौं अधिवेशनको शुभकामनाका साथ स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

उनले केही महत्वपूर्ण विधेयकलाई निकास दिनुपर्ने भन्दै विगतका चार अधिवेशन नयाँ अनुभवको अवसर प्राप्त भएको बताए । उनले राष्ट्रियसभा विगतमा सत्तापक्ष र प्रतिपक्षका निम्ति सफल भएको उल्लेख गरेका थिए ।

विज्ञता र बौद्धिकतायुक्त सांसदलाई निकट भविष्यमा नै बिदाइ गर्नुपर्ने सन्दर्भ सुनाउँदै प्रमुख सचेतक शर्माले राष्ट्रियसभाको गरिमालाई उच्च राख्नमा सबै सांसदको सक्रियता रहने विश्वास व्यक्त गरे ।

सरकारले दुई वर्ष बिताउन लागेका बेला आर्थिक समृद्धितर्फको यात्रा क्रमशः अगाडि बढिरहेको, अन्तर्राष्ट्रिय रुपमा सार्वजनिक तथ्याङ्कले त्यस्तै देखाएको उनले बताए ।

राष्ट्रिय गौरवका केही आयोजना उत्साहप्रद रुपमा अगाडि बढेको तर सन्तोष गर्ने अवस्था नरहेको वास्तविकता चित्रित गर्दै सचेतक शर्माले १८ महिनाभित्रै पेट्रोलियम पदार्थ आपूर्ति गर्ने अत्याधुनिक पाइपलाइनको काम पूरा भएपछि ढुवानी खर्च बापतको रु १८ अर्ब राष्ट्रिय ढुकुटीमा बचत भएको जानकारी दिए ।

सरकार परिवर्तन भएको हो व्यवस्था होइन : नेता पाण्डे

सभामा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले विधेयक तर्जुमा गर्दा संविधानको भावनालाई ध्यान दिँदै अघि बढाउनुपर्नेमा सरकारले त्यसो गर्न नसकेको, सञ्चार क्षेत्रलाई सङ्कुचनको दायराभित्र ल्याउन मिडिया काउन्सिल, मानव अधिकार आयोगको विधेयक संविधानको भावनाअनुरुप प्रस्तुत नभएकाले तिनलाई फिर्ता लिन माग गरेका थिए ।

नेपाल विशेष सेवा गठनसम्बन्धी र अन्य केही विधेयक संविधानको भावना विपरीत आउन लागेको आरोप लगाउँदै उनले त्यसमा दलका तर्फबाट आपत्ति जनाए । लोकतान्त्रिक शासन व्यवस्थामा सहमति कायम गर्दै नेता पाण्डेले देश विकासको मार्गमा अघि बढ्ने वातावरण बनाउन आग्रह गरे ।

भारतले प्रस्तुत गरेको नक्सामा कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो भूभागमा पारेको विषय कूटनीतिक तवरले सुल्झाउन अन्य दलले सरकारलाई गरेको समर्थनका आधारमा केही काम हुन नसकेकामा काँग्रेसले विपक्षीको भूमिका निरन्तर सक्रिय भई निर्वाह गर्ने उनले चुनौती दिए ।

एशिया–प्रशान्त क्षेत्रको विकासका निम्ति अमेरिकी सरकारले रणनीतिक रुपमा अघि बढाएको मिलेनियम च्यालेञ्ज कर्पोरेशनअन्तर्गतका भौतिक पूर्वाधार विकासका बृहत् परियोजना कार्यान्वयन गर्न रु ५५ अर्ब अनुदान प्राप्त हुने रकम रोक्न नहुनेमा उनको जोड थियो ।

त्यस्तै राष्ट्रिय जनता पार्टीका वृषेशचन्द्र लालले परिणामुखी दिगो विकास कार्यमा आशातीत प्रगति हुन नसकेको र सत्कार्यका लागि सत्तापक्ष र प्रतिपक्षबीचको सहकार्यलाई अन्यथा लिन नहुने तर्क गरे । समाजवादी पार्टीका प्रमिला कुमारीले सरकारले आफ्नो पार्टीसँग गरेको संविधान संशोधनको सहमतिले मूर्तरुप पाउने विश्वास व्यक्त गरिन् ।

सभामा शून्य तथा विशेष समयमा प्रस्तुत हुने विषयको उचित सम्बोधन हुने अपेक्षा व्यक्त गर्दै उनले यस अधिवेशनमा मन्त्रीसँग सांसदको प्रश्नोत्तर कार्यक्रमलाई अनिवार्य गर्नुपर्ने आवश्यकता औँल्याइन् ।

प्रकाशित मिति : ४ पुस २०७६, शुक्रबार  ९ : ३० बजे

कसको गल्तीले रोकियो देशभरको इन्टरनेट सेवा? सरकार र सेवा प्रदायक आरोप-प्रत्यारोप

काठमाडौं- नेपालभर बिहीबार अपरान्हदेखि करिब ६ घण्टासम्म इन्टरनेट सेवा प्रभावित

सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित

वासिङ्टन – सात महिनाको युद्धपछि गरिबी दर बढेसँगै प्यालेस्टिनी अर्थतन्त्र

सांसद बस्नेत मुछिएको सहकारी प्रकरण छानबिन गर्न सरकारलाई राप्रपाको आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा सांसद गीता बस्नेत जोडिएको सहकारी

चिनियाँ राजदूत झी सहभागी कार्यक्रममा विरोध प्रदर्शन

ताइवान – ताइवानी र तिब्बती विद्यार्थीहरूले संयुक्त राज्य अमेरिकाका लागि

पर्यटकको आकर्षण बन्दै गुरुङगाउँको ‘अम्बोटे होमस्टे’

धादिङ – धादिङ जिल्लाको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिका–३ गुम्दीस्थित गुरुङगाउँको