प्रचण्डविरुद्ध अमेरिकामा उजुरी, ‘नो इन्भेष्टिगेसन’ को सर्कुलर ! | Khabarhub Khabarhub

प्रचण्डविरुद्ध अमेरिकामा उजुरी, ‘नो इन्भेष्टिगेसन’ को सर्कुलर !



काठमाडौं– पत्नी सीता दाहालको उपचारका लागि गएका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध एक नेपालीले अमेरिकामा उजुरी गरेका छन् ।

सीताको उपचारका लागि प्रचण्ड नेपालबाट अमेरिका प्रस्थान गरेका दिन अमेरिका बस्दै आएका एक नेपालीले प्रचण्ड विरुद्ध उजुरी गरेका हुन् ।

हाल अमेरिका केन्टुकी स्टेट युनिभर्सिटीमा कार्यरत डा‍. तिलक श्रेष्ठले अमेरिकाको बाल्टिमोरस्थित अनुसन्धान सम्बन्धी संघीय ब्यूरोमा उजुरी गरेका छन् ।

प्रचण्ड नेपालबाट अमेरिका प्रस्थान गरेको दिन आइतबार श्रेष्ठले बाल्टिमोरको संघीय व्यूरोमा उजुरी पठाउँदै प्रचण्डको भ्रमणबारे अमेरिकाको अन्य निकायमा जानकारी गराउँन व्यूरोलाई अनुरोध समेत गरेका छन् ।

अमेरिकाले पूर्व आतंककारीको सूचीमासमेत राखेका प्रचण्ड, पत्नीको उपचारका लागि अमेरिका भ्रमण आउन लागेको भन्दै डा. श्रेष्ठले प्रारम्भिक उजुरी गरेका हुन् । उनले थप उजुरीका लागि कसरी पहल गर्ने भन्दै ब्यूरोलाई प्रश्न गरेका छन् ।

प्रचण्डको नेतृत्वमा भएको युद्धमा १७ हजार नेपालीको मृत्यु भएको उनले व्यूरोलाई पठाएको उजुरीमा उल्लेख गरेका छन् । अमेरिकाले आतंकवादलाई माफ नगर्ने र मानवीय कानूनमा प्रतिवद्ध रहेको उनले स्मरण गराएका छन् ।

डा. श्रेष्ठले प्रचण्डबारेको यो जानकारीलाई अमेरिकाको अन्य सम्बन्धित निकायमा पठाउन बाल्टिमोरस्थित अनुसन्धान सम्बन्धी संघीय ब्यूरोलाई आग्रह गरेका छन् ।

यसअघि नेपाली सेनाका महासेनानी कुमार लामालाई बेलायत गएको बेला यस्तै उजुरीका आधारमा सन् २०१३ मा पक्राउ गरिएको थियो ।

‘नो इन्भेष्टिगेशन’ को सर्कुलर !

अमेरिकी दुतावास स्रोतका अनुसार, प्रचण्डका लागि अमेरिकाले विशेष रुपमा जारी गर्ने ‘नो इन्भेष्टिगेशन’ भन्ने आन्तरिक सर्कुलर जारी गरेको छ । जुन भारतीय उच्च नेताहरु सोनिया गान्धी, नरेन्द्र मोदीलगाएत अन्तर्राष्ट्रिय नेताहरु अमेरिका भ्रमणमा जाने क्रममा जारी हुने गरेको छ ।

अमेरिका भ्रमणका क्रममा उत्पन्न हुन सक्ने कानूनी झमेला हटाउन विरलै मात्र यस्तो सर्कुलर जारी गरिन्छ । यस्तो सर्कुलर पछि अमेरिकी सरकारका कुनैपनि निकायले कारवाही अगाडि बढाउन मिल्दैन ।

प्रचण्डको भ्रमण अगाडि अमेरिकी राजदुत रेन्डी बेरीले प्रचण्ड निवासमै पुगेर भेट गरी अमेरिका भ्रमणका क्रममा कुनैपनि झमेला नहुनेमा विश्वस्त पार्दै भ्रमणका क्रममा अमेरिकाले विशिष्ट सम्मानका साथ स्वागत गर्ने बताएका थिए । लगत्तै दूताबासको सुरक्षा निकायले यस्तो खालको सर्कुलर जारी गरेको थियो । जुन इमिग्रेशन लगाएत सुरक्षा सम्बद्ध अमेरिकी सरकारी निकायहरुमा पुगिसकेको छ ।

प्रचण्ड किन गए अमेरिका ?

पत्नी सीता दाहालमा देखिएको रोगको उपचारका लागि आफू अमेरिका जान लागेको अमेरिका जानुपूर्व प्रचण्डले विमानस्थलमा सञ्चारकर्मीहरुसँग बताएका थिए ।

पत्नी सीतामा देखिएको पार्किन्सनको उपचारका लागि आफू अमेरिकाको बालटिमोर स्थित जनहप्किङ अस्पतालमा उपचार गर्न लागेको प्रचण्डको भनाइ थियो । ‘यसअघि सिंगापुरमा पनि उपचार भएको थियो केही हदसम्म यसले सहयोग गर्‍यो’ प्रचण्डले भनेका थिए,‘ अमेरिकामा यो सम्बन्धी पछिल्लो अनुसन्धान भइरहेको छ । ’

पत्नी सीताले एकपटक अमेरिका लैदिए राम्रो हुन्थ्यो भनेर जीकिर गर्न थालेपछि अमेरिका लाने प्रवन्ध गरिएको प्रचण्डको भनाइ थियो ।
अमेरिका जानका लागि नेपाल सरकार र परराष्ट्र मन्त्रालयले वातावरण बनाएर सहयोग गरेको र नेपालस्थित अमेरिकी राजदूत र अमेरिकास्थित नेपाली राजदूतले यसका लागि सहयोग गरेको प्रचण्डको भनाइ थियो ।

होला राजनीतिक वार्ता ?

भेनेजुएला प्रकरणपछि नेपालको सम्बन्ध अमेरिकासँग चिसिएको छ । अमेरिकासँगको सम्बन्ध चिसिएका बेला सत्तारुढ दल नेकपाका अध्यक्ष प्रचण्डको अमेरिका भ्रमणलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

पत्नी सीता दाहालको उपचारका लागि प्रचण्ड अमेरिका गएपनि उनले राजनीतिक भेटवार्ता गर्नसक्ने छन् । प्रचण्डका अनुसार नै सम्भव भयो भने दुई देशको सम्बन्धका बारेमा अमेरिकी अधिकारीसँग कुरा हुन सक्छ ।

अमेरिका जानु अघि प्रचण्डले भनेका थिए,‘परराष्ट्रले औपचारिक चिट्ठी पठाएका कारण अमेरिकाका अधिकारीहरुसँग औपचारिक अनौपचारिक छलफल हुन सक्छ ।’ प्रचण्डले आफू सातादेखि १० दिन भित्रमा स्वदेश फर्कने बताएका छन् ।

के भएको हो प्रचण्ड पत्नी सीतालाई ?

प्रचण्ड पत्नी सीता केही समय अघिदेखि नै पार्किन्सन रोगबाट पीडित छिन् । छोरा प्रकाश दाहालको निधन भएपछि उनमा यो समस्या थप बढेको छ । प्रचण्डका अनुसार पहिला पार्किन्सन भित्रको भनेर सामान्य मानिए पनि यो जटिल बनेको छ ।

पार्किन्सन भित्रको पनि प्रोग्रेसिभ सुप्रान्यूक्लियरपाल्सी भन्ने रोग सीतालाई लागेको प्रचण्डले जानकारी दिए । रोग अलि जटिल नै हुन थालेको र अमेरिकामा यसको पछिल्लो प्रविधि अनुसार उपचार हुने भएपछि आफू त्यसतर्फ जान लागेको प्रचण्डले बताएका थिए ।

प्रकाशित मिति : ५ चैत्र २०७५, मंगलबार  ५ : ०२ बजे

बढ्दै गर्मीको ग्राफ : अफ्रिकामा सहनै कठिन, एसियामा मनसुनको प्रतीक्षा

संसारमा आम स्थानमा अत्यधिक गर्मी भइरहेको समयमा भू–मध्य सागरीय क्षेत्र

सडक स्तरोन्नतिका लागि सम्झौता

तनहुँ– तनहुँको व्यास नगरपालिकाका चार वडा जोड्ने सडक स्तरोन्नतिका लागि

विपन्न विद्यार्थीलाई छात्रवृत्ति

ताप्लेजुङ– स्थानीय लालीगुराँस सेवा समाजले आर्थिक रूपले विपन्न चार विद्यार्थीलाई

आगालागीबाट दुई घर र ‘कृषि फार्म’ जलेर नष्ट

सर्लाही– जिल्लाको दुई छुट्टाछुटै स्थानमा भएको आगलागीमा दुई घर र

इलामको पाठ, सोह्र दुना आठ !

काठमाडौं- इलाम क्षेत्र नम्बर–२ मा सम्पन्न उपनिर्वाचनको नतिजा आइसकेको छ