चिसो बढ्यो, मुस्ताङमा जम्यो ताल तथा खोलाको पानी | Khabarhub Khabarhub

चिसो बढ्यो, मुस्ताङमा जम्यो ताल तथा खोलाको पानी


२७ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चिसो बढेसँगै मुस्ताङका खोला तथा तालमा पानी जमेको छ । बुधबारदेखि मौसममा भएको बदलीसँगै बढेको चिसोका कारण जनजीवन प्रभावित भएको छ । चिसोका कारण उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङका खोला र धारामा पानी जमेको स्थानीयवासी तिलक विकले जानकारी दिए ।

विकका अनुसार उपल्लो मुस्ताङमा न्यूनतम तापक्रम माइनल १५ डिग्री सेल्सियस पुगेको छ । खाना पकाउन, गाईवस्तुलाई खुवाउन, सरसफाइ र घरायसी प्रयोजनका लागि आगो र ग्यासमा पानी तताउन थालिएको छ । पानी जमेर धारामा आउन छाडेको छ ।

यसैगरी सदरमुकाम जोमसोम नजिकै घरपझोङ गाउँपालिका–५ मा रहेको धुम्बा तालमा पनि पानी जमेको छ । तालमा पानी जमेको हेर्ने पर्यटकको चहलपहल बढेको वडाध्यक्ष वीरेन्द्र थकालीले बताए ।

बिहीबार रातिदेखि हिउँ पर्न थालेको छ । स्थानीयवासी चिसोका कारण घरबाहिरको काम गर्न सकेका छैनन् । गाईवस्तु गोठमै राखेर भण्डारण गरिएको सुख्खा घाँस खुवाइएको छ । जोमसोम–कोरला सडकलगायत विकास आयोजना चिसोले प्रभावित भएका छन् । उपकरण र मजदूरले काम गर्न सकेका छैनन् । जाडो छल्न लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका अधिकांश बासिन्दा पोखरा, काठमाडौँ, म्याग्दी, बुटवल, चितवनलगायत ठाउँमा गएका छन् ।

गाउँमा घर कुरुवा राखेर स्थानीयवासी न्यानो ठाउँमा गएका छन् । उनीहरु गर्मी बढेपछि फागुनमा मात्र घर फर्कने जनाइएको छ । स्थानीय तह, वडा र सरकारी कार्यालयका कर्मचारी, जनप्रतिनिधि पनि अधिकांश पोखरा गएका छन् । लोघेकर दामोदरकुण्ड गाउँपालिकाका कर्मचारीले पोखरामा सम्पर्क कार्यालय राखेर सेवा दिएका छन् । उपल्लो मुस्ताङका विद्यालयहरु पनि पोखरामा घुम्ती कक्षा सञ्चालन गरिएको छ ।

उच्च लेकाली क्षेत्रमा हिमपात

बुधबारदेखिको मौसममा आएको परिवर्तनका कारण डोटीलगायत यहाँका पहाडी तथा हिमाली जिल्ला बझाङ, बाजुराका उच्च लेकाली क्षेत्रमा हिमपात भएको छ ।

हिमपात भएसँगै चिसो बढेपछि यहाँको जनजीवन प्रभावित भएको छ । डोटीको खप्तडस्थित झिगराना, गोलादेउ, पानीखाल, नापानी, शिखर, गोवडालेक, बडीकेदारथानलगायत उच्च पहाडी क्षेत्रमा हिमपात भई चिसो बढेकाले गाईवस्तु चराउन समस्या भएको खप्तड क्षेत्रसँगै जोडिएको पूर्वीचौकी गाउँपालिकाका स्थानीयवासी जोगीसिंह विष्टले बताए ।

उनले भने, ‘गाईवस्तु चर्ने ठाउँ हिउँले ढाकेकाले वस्तुभाउ गोठबाहिर निकाल्नसमेत समस्या भएको छ ।’

हिउँदमा लगाएको अन्न बालीमा पर्याप्त मात्रामा पानी पुग्ने यहाँका लेकाली क्षेत्रमा अहिले हिउँ परेका कारण स्थानीय किसान भने हिउँ पर्दा हिउँदेबाली सप्रिने आशमा खुशी भएका छन् ।

यहाँका उच्च लेकाली भेगमा अहिले पनि हिमपात भइरहेको छ । हिमपातका कारण स्थानीयवासी घरबाहिर निस्किन नसकेकाले घरभित्रै आगो तापेर बस्न बाध्य भएको अर्का स्थानीयवासी ध्वजबहादुर विष्टले जानकारी दिए । हिमपातका कारण चिसो बढेकाले वृद्धवृद्धा तथा बालबालिका सबैभन्दा बढी प्रभावित भएका छन् ।

यहाँका उच्च लेकाली भेगमा बाक्लो हिमपात भइरहेको छ भने दिपायल, सिलगढी लगायतका ठाउँहरुमा मसिनो पानी परिरहेको छ । पानी र हिमपातका कारण यहाँको तापक्रम निकै घटेको छ ।

चिसोका कारण विभिन्न रोग तथा समस्याले सताउने भएकाले चिसोबाट बच्न उच्च सर्तकता अपनाउनुपर्ने शैलेश्वरी अस्पताल दिपायल पिपल्लाका निर्देशक तथा चिकित्सक आइजङ्ग कुँवरले सुझाएको छ ।

रुकुमपूर्वका हिमशृंखला सेताम्मे

बिहीबारको हिमपातले रुकुमपूर्वका हिमशृंखला सेताम्मे बनेका छन् ।

प्रदेश नं ५ को एक मात्र हिमाली जिल्ला रुकुमपूर्वको उच्च हिमाली क्षेत्रमा बिहीबार हिमपात हुँदा पत्थर देखिने पुथा आसपासका साना हिमाल र सिस्ने हिमाल सेताम्मे बनेका हुन् ।

चार/पाँच वर्ष अघिसम्म सेताम्मे देखिने यहाँका हिमाल पछिल्लो समय भने जलवायु परिवर्तनका कारण हिउँ पग्लिएर पत्थर मात्र देखिने गरेको थियो । तर बिहीबार परेको हिउँले सिस्नेलगायत हिमाल सेताम्मे देखिएका छन् ।

हिमपात भएसँगै चिसो बढेको छ । चिसोले नागरिकको जनजीवन प्रभावित बनेको छ । हिमपातसँगै आकाशमा लागेको बादलको कारणले गर्दा रुकुमपूर्वलगायत आसपासका क्षेत्रमा टेलिफोन सेवामा पनि अवरुद्ध भएको छ । घामको भरमा सञ्चालन हुने रुकुमपूर्वका टावर आकाशमा बादल लाग्ने वित्तिकै फोनले काम गर्न छोड्छ ।

लामो समयपछि रुकुमपूर्वको उच्च हिमाली क्षेत्र सिस्ने र पुथा हिमाललगायत ती आसपासका क्षेत्रमा हिमपात भएको हो । रुकुमपूर्वलगायत अन्य जिल्लामा पनि बिहीबार हिमपात भएको छ ।

हिमपातकै कारण लामो समयसम्म पत्थर मात्र देखिने हिमाल सेतै देखिएका छन् । तर जिल्लामा चिसो बढ्दा नागरिकको जनजीवनमा असर परेको छ । रुकुमपूर्वलगायत अन्य जिल्लामा पनि बिहीबार हिमपात भएको छ ।

हिम सुन्दरताले मोहनी

बिहानी पखको झुल्के घामसँगै रुकुमपूर्वका अग्ला डाँडाबाट सुन्दर हिमशृंखलाले मोहनी लगाएका छन् । बिहीबार हिमपात हुँदा हिमालले मुस्कान दिइरहेका छन् । खडेरीको वेला सुख्खा देखिने यहाँका हिमाल आजभोली भने हिउँले निकै सुन्दर देखिएका छन् ।

डाँडाकाँडामा हिमपात भएपछि निकै सुन्दर देखिन थालेका छन् । यहाँका हिउँले भरिएका सेता हिमालका चुचुरा नियाल्दा आनन्द मिल्ने गरेको छ । यहाँका स्थानीयवासीसँगै बाहिरबाट आएका आन्तरिक पर्यटक हिउँसँगै लुकामारी गरिरहेका छन् ।

यहाँका हिमशृंखलासँग स्थानीयवासी र बाहिरबाट आएका आन्तरिक पर्यटक चिसोलाई भुलेर पनि रमाइ रहेका छन् । हिउँले टलक्क टल्केका हिमालतर्फ मुस्कुराउँदै धेरैले सुन्दरताको बयान गर्ने गरेका छन् ।

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार  ९ : ५० बजे

राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार विकास समितिको म्याद एक वर्ष थप्ने सरकारको निर्णय

काठमाडौं– सरकारले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार विकास समितिको म्याद एक

एकीकृत समाजवादीले भन्यो : हाम्रा कुनै सांसद यताउता भएका छैनन्, पार्टी फुट्दैन

काठमाडौं- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजित भएपछिको

फिल्म ‘गाउँ आएको बाटो’को टिजर सार्वजनिक

काठमाडौं– नवीन सुब्बाको निर्देशन रहेको फिल्म ‘गाउँ आएको बाटो’को टिजर

गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर र प्रभु बैंक बीच सम्झौता

ललितपुर– गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर ललितपुर-१ महालक्ष्मिस्थान

सेनवंशी राजाले प्रयोग गरेको तोप संरक्षणको पर्खाइमा

दमौली– तनहुँको व्यास नगरपालिका–११ स्थित ऐतिहासिक तनहुँसुर दरबारमा रहेको तोप