नयाँ वर्षमा घुम्न जाने योजनामा हुनुहुन्छ ? यी हुनसक्छन् उपयुक्त गन्तव्य | Khabarhub Khabarhub

नयाँ वर्षमा घुम्न जाने योजनामा हुनुहुन्छ ? यी हुनसक्छन् उपयुक्त गन्तव्य



काठमाडौं– नयाँ वर्षसँगै मानिसहरु नयाँ जोश, जाँगर र उमंगका साथ विभिन्न योजनाहरु बुन्छन् । त्यस्ता योजनाले सार्थकता पाउलान् वा नपाउलान् त्यो आफ्नो ठाउँमा छ । त्योभन्दा पहिले नयाँ वर्षको पहिलो दिन हरेक मानिस विशेष बनाउन चाहान्छन् ।

त्यो एक दिन हाँसी खुशी र रमाइलोसँग बित्यो भने वर्षभरी नै त्यही रमाइलो र सुखका साथ समय बित्छ भन्ने मान्यता पनि राख्छन् । कतिपय नयाँ वर्षको शुभकामना आदान–प्रदानकासाथै साथीभाइ, आफन्त तथा घरपरिवारसँग एकदिन भए पनि रमाइलोसँग कसरी बिताउने भन्ने द्विविधामा पनि हुन सक्छन् ।

व्यस्त जीवनशैली, कामको बोझबाट एकदिन भएपनि छुटकारा लिएर आराम लिनको लागि आफ्नो पायक पर्ने रमणीय क्षेत्रको घुमघाम नै उत्तम विकल्प हुन सक्छ ।

काठमाडौं उपत्यकामा बस्ने मानिसहरुका लागि वैशाख १ लाई विशेष बनाउने थुप्रै ठाउँ छन् । विशेष गरी युवा जोडी र पारिवारिक भ्रमणका लागि यी स्थानहरु उत्कृष्ट गन्तव्य हुन सक्छन् । जसको केही जानकारी यहाँ प्रस्तुत गरिएको छ ।

कालिञ्चोक

कालिञ्चोक भगवती दोलखा जिल्लामा अवस्थित धार्मिक पर्यटकीय स्थल हो । काठमाडौंदेखि चरिकोट १ सय ३२ किलोमिटर पर्छ भने सदरमुकाम चरिकोटबाट १५ किलोमिटर उत्तर कालिञ्चोक गाविसमा अवस्थित यो मन्दिर समुन्द्री सतहबाट ३ हजार ८ सय ४२ मिटरको उचाईमा छ ।

कालिञ्चोक भगवती जानका लागि काठमाडौंबाट जाँदा पुरानो बसपार्कबाट सदरमुकाम (चरिकोट) सम्म बसमा जान सकिन्छ । काभ्रे, सिन्धुपाल्चोकका रमणीय प्राकृतिक स्रोत अवलोकन गर्दै खोला–नाला, झरनाको दृश्यावलोकन गर्दै चरिकोट पुग्न सकिन्छ ।

सार्वजनिक सवारी साधनमा जाँदा ४ सय रुपैयाँ भाडा लाग्छ । काठमाडौंबाट ५ घण्टाको अवधिमा चरिकोट पुग्न सकिन्छ । चरिकोटबाट अर्को बसमा कुरीसम्म जानुपर्ने हुन्छ । बसले २ घण्टाको अवधिमा कुरिसम्म पुर्याउँछ । बस र जीप  कुरीसम्म आवतजावत गरिरहन्छन् ।

सवारी साधन रिर्जभ गरेर जाँदा एउटै सवारीमा कुरीसम्म पुग्न सकिन्छ । कुरीबाट केबलकारमा चढेर केही मिनेटमै कालिञ्चोक भगवती पुग्न सकिन्छ भने हिड्दै पनि जान सकिन्छ । हिड्नेहरु कुरीबाट डेढ घण्टामा मन्दिर पुग्छन् । कालिञ्चोक अर्को विशेषता भनेको पानी पर्दा र मौसम चिसो हुने बित्तिकै हिउँ पर्न शुरु हुन्छ ।

कालिञ्चोक डाँडाबाट रोल्वालिङ हिमश्रृङखला, जुगल हिमाल, गौरीशंकर हिमाल, गणेश हिमाल, शैलुङ डाँडाको दृश्यावलोकन गर्न सकिन्छ । यहाँ घुम्न जानेहरुका लागि चौरीको मासु, कुखुराको भाले, फापरको डिँढो, गुन्द्रुक लगायत विभिन्न खानाका परिकारहरु पनि विशेष हुन सक्छ ।

जिरी

दोलखाकै जिरी घुम्नका लागि अर्को आकर्षक गन्तव्य हुन सक्छ । जिरीलाई नेपालको स्वीजरल्याण्ड पनि भनिन्छ । काठमाडौंबाट १८४ किलोमिटरको दूरीमा रहेको जिरीको मनमोहक हरियाली र झरना तथा परम्परागत बस्ती पर्यटकका लागि विशेष आकर्षक हुन् ।

समुन्द्री सतहबाट १ हजार ९ सय ५ मिटरको उचाइमा रहेको छ । जिरीलाई सगरमाथाको प्रवेशद्वारका रुपमा पनि लिइन्छ । घुम्नका लागि रमणीय स्थानहरु भएको जिरीमा बस्नका उपयुक्त होटलहरुको पनि व्यवस्था छ ।

सामान्यतया दुई-तीन दिनको अवधिमा जिरी घुम्नका लागि पर्याप्त भएपनि निजी सवारी साधनमा जान सकेमा एक दिनको यात्रा पनि बन्न सक्छ । सार्वजनिक यातायातमा जाने हो भने काठमाडौंको पुरानो बसपार्कबाट जिरी जाने बस चढेर पनि पुग्न सकिन्छ ।

जिरी आसपासका चेर्दुङ र हनुमन्तेबाट रोल्वालिङ हिमालहरु, दोलखा र रामेछापका अधिकांश गाउँ तथा बस्तीको अवलोकन गर्न सकिन्छ ।

धुलिखेल

काभ्रेको धुलिखेललाई पर्यटकीय स्थलका रुपमा लिइन्छ । धुलिखेल जानेहरु विशेषगरी पिकनिक तथा घुम्नका लागि जाने गर्छन् । धुलिखेलका केही त्यस्ता प्रसिद्ध स्थानहरु पनि छन् जहाँ रमाइलो गर्नकै लागि आन्तरिक र बाह्य पर्यटकहरुको भीड लाग्ने गर्दछ ।

नमोबुद्ध: काठमाडौंबाट नमाेबुद्ध जाने हो भने पुरानो बसपार्कबाट बनेपासम्म गाडीमा जानुपर्छ । बनेपा बसपार्कबाट नमोबुद्ध जाने बस चढेपछि १ घण्टाको समयमा पुगिन्छ । यसको अधिकतम उचाइ १८ सय मिटरसम्म छ । नमोबुद्धबाट गौरीशंकर, लाङटाङ लगायतका हिमालहरुको मनोमोहक दृश्य नियाल्न सकिन्छ ।

हजार सिँढी: त्यस्तै धुलिखेलको अर्को प्रसिद्ध स्थल हो- हजार सिँढी । धुलिखेल चोकबाट हिड्दै जाँदा निकै मज्जा आउने ठाउँ । जसको छुट्टै पहिचान पनि छ । एक हजार सिढी उकालो चढ्दै त्यहाँ पुग्न सकिन्छ । सिँढीको अन्तिम विन्दुमा देवस्थल मन्दिर छ । मन्दिरबाट केही अगाडि एउटा ठूलो अग्लो ढुंगा छ ।

जहाँ आन्तरिक तथा बाह्य पर्यटकहरु ढुंगामा बसेर मनोरम दृश्य अवलोकन गर्नुका साथै तस्वीर खिच्नका लागि निकै रुचाउँछन् । ढुंगाबाट विभिन्न हिमश्रृंखला, पर्यटकीय नगरी धुलिखेलका प्राकृतिक दृश्य सजिलै देख्न सकिने भएका कारण नयाँ वर्षमा घुम्न जानेहरुका लागि यहाँ पनि विशेष हुनसक्छ ।

जीपलाइन:  काठमाडौंबाट ३३ किलोमिटर दूरीमा धुलिखेलको थाक्लेडाँडा छ । पछिल्लो समय यो डाँडाले आन्तरिक र बाह्य पर्यटक तानिरहेको छ । साहसिक खेल जीपलाईन खेल्न जानेहरुले यहाँ हावामा उडेर छुट्टै आनन्दको अनुभूति गर्छन् ।

यो खेलमा फलामले लठ्ठामा घिर्नीको सहयताले विशेष फित्तामा झुन्डिएर उडे जसरी अघि बढिन्छ ।  साहसिक खेल जीपलाइन तीन तरिकाले खेल्न सकिन्छ । क्लासिक जीपलाईन (एकल), कपल्स जीपलाइन (जोडी), सुपरम्यान जीपलाइन (सुतेर) यी खेलको मज्जा लिन सकिन्छ ।

काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–८ थाक्लेडाँडादेखि पाँचखाल नगरपालिका–५ खाँवासम्म ११ सय मिटरको दुरीमा जीपलाइनमा रमाउन पाइन्छ । हावामा उडिरहँदा अन्नपुर्ण, गणेश, लाङटाङ, फूर्बीच्याचु लगायतका हिमशृंश्रखलाको दृश्यावलोकन गर्न सकिन्छ ।

नगरकोट

काठमाडौं उपत्यकाबाट छोटो दूरीमै पुग्न सकिने प्रसिद्ध रमणीय स्थल हो–नगरकोट । राजधानी काठमाडौंबाट ३२ किलोमिटर उत्तरपूर्व र भक्तपुरबाट २० किलोमिटर पूर्वमा पर्दछ ।

हिमालको काखबाट निस्कने सूर्योदयको दृश्यवलोकनका लागि पनि प्रसिद्ध मानिन्छ– नगरकोट । समुन्द्री सतहबाट २ हजार ७५ मिटर उचाईमा रहेको नगरकोट गर्मी मौसममा पनि चिसो नै हुन्छ । नगरकोटबाट विभिन्न मनमोहक हिमश्रृंखला देख्न सकिन्छ ।

नगरकोटबाट धौलागिरि, कञ्चनजंघा हिमश्रृंखलाका मनास्लु, गणेश, लाङटाङ, गौरीशंकर, ल्होत्सेलगायतका हिमाल देखिन्छ । नगरकोट घुम्न जानेहरुका लागि नगरकोटमा खानपिनको लागि स–साना होटल देखि ठूला रेष्टुरेन्टहरुको पनि राम्रो व्यवस्था छ ।

नगरकोट जानका लागि रत्नपार्कबाट भक्तपुरसम्मको बसमा जान सकिन्छ । भक्तपुर बसपार्कबाट नगरकोट जाने बस पाइन्छ । बस भक्तपुरको कमलविनायक हुँदै १ घण्टाको अवधिमा नगरकोट पुग्छ ।

भोटेचौर

सिन्धुपाल्चोकको भोटेचौर गाँउपालिका अन्तर्गत पर्ने चिया बगान ‘मिनी इलाम’ नामले परिचित छ । काठमाडौंबाट ३८ किलोमिटर दूरीमा रहेको भोटेचौर प्राकृतिक सौन्दर्यतामा रमाउने र फोटो खिचेर आनन्द लिनेहरुका लागि प्रमुख गन्तव्य बन्न सक्छ ।

काठमाडौंको चावहिलबाट भोटेचौर जाने बस पाइन्छ । २ घण्टाको फरकमा भोटेचौर पुगिन्छ । भोटेचौरमा सुविधासम्पन्न होटलहरु छन् ।

चित्लाङ

मकवानपुरकोे चित्लाङ पनि घुम्नलायक र रमणीय स्थलका रुपमा परिचित छ । चित्लाङ पुग्नका लागि चार वटा रुटमा सवारी चल्ने गर्छन् ।

कलंकी, चन्द्रगिरी, थानकोट हुदैँ १० किलोमिटर दूरी, काठमाडौंबाट मातातिर्थ सःखेल हुदैँ करिब २७ किलोमिटर दूरी, दक्षिणकाली फर्किङ कुलेखानी भएर जाँदा ५२ किलोमिटर दूरी र थानकोट नौविसे टिस्टुङ हुदैँ ७५ किलोमिटरको दूरीमा चित्लाङ पुग्न सकिन्छ ।

चित्लाङ ऐतिहासिक स्थल, ग्रामीण वातावरण, वनजंगलको मनोमोहक दृश्यले भरिपूर्ण छ । चित्लाङमा विश्वकै दुर्लभ र एसियामा मात्र पाइने ‘अल्पाका’ जनावर रहेका छन् । तुलसीपछि अक्सिजनमा दोस्रो मानिने ओलिभ (जैतुन) फर्म यहाँको अर्को आकर्षणको केन्द्रविन्दु हो । थुप्रै ऐतिहासिक स्थलमध्यको अशोक चैत्य पनि रहेको छ । साथमा तालका छेउमा होमस्टेहरु रहेका छन् ।

चन्द्रागिरी

२ हजार ४ सय ७५ मिटर उचाईमा रहेको चन्द्रागिरी काठमाडौंको रमणीय स्थलका रुपमा चर्चित छ । चन्द्रागिरी जानका लागि सार्वजनिक सवारी साधनको राम्रो व्यवस्था छ । रत्नपार्कबाट सिधै चन्द्रागिरी यातायात लाग्छ । त्यस्तै थानकोटको बसमा जाँदा पनि ५ मिनेट हिड्दा चन्द्रगिरी पुग्न सकिन्छ ।

चन्द्रागिरीमा केबलकारको व्यवस्था भएसँगै आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल झन बढेको हो । नयाँ वर्षमा घुम्न जानको लागि यो ठाउँ पनि उपयुक्त हुन सक्छ ।

चन्द्रगिरी डाँडामा जानका लागि ७५० रुपैयाँमा केबलकारको टिकट लिन सकिन्छ । करिव ७ मिनेटको अवधिमा मन्दिरसम्म पुग्न सकिन्छ ।

भालेश्वर महादेवको मन्दिर, पृथ्वी नारायण शाहको शालिक, मनमोहक दृश्यावलोकन गर्न पाइने भ्यू टावर, होटलको व्यवस्था छ । साथमा बालबालिकाहरुका लागि फनपार्कको समेत व्यवस्था छ । चन्द्रगिरीबाट विभिन्न हिमालहरुको दृश्यावलोकन गर्न सकिन्छ ।

मनकामना मन्दिर

गोरखाको मनकामना मन्दिर पनि नयाँ वर्षमा घुम्न जानका लागि उपयुक्त स्थान हुनसक्छ । काठमाडौंबाट करिव ९० किलोमिटरको बसको यात्रापछि कुरिनटार पुगिन्छ ।

जहाँबाट मनकामनाका लागि केबलकारको व्यवस्था छ । हिडेर जानेहरुका लागि गारोटे बाटोको पनि छ तर उकालो बाटोको कष्ट व्यहोर्नुपर्छ ।

मनकामना मन्दिरु दर्शन गर्नाले मनले चिताएको पूरा हुने विश्वास राखिन्छ । यहाँ देश–विदेशबाट ठूलो संख्यामा श्रद्धालु भक्तजन आउने गर्छन् ।

सौराहा

घुम्न जानेहरुका लागि अर्को आकर्षक गन्तव्य साैराहा पनि हुन सक्छ । चितवनको सौराहा क्षेत्र वनजंगलले भरिएको छ । नेपालको आकर्षक पर्यटकीय गन्तव्यका रुपमा रहेको सौराहा चितवन राष्ट्रिय निकुञ्जमा पर्दछ । यहाँ हात्ती चढेर जंगल घुम्न पाउनु, वन्यजन्तु हेर्न, राप्ती नदीमा डुंगा सयर गर्नु र सूर्यास्त हेर्नु सौराहाका आर्कषण हुन् ।

आन्तरिक तथा बाह्य पर्यटकको केन्द्रविन्दूका रुपमा परिचित स्थान हो सौराह । सो निकुञ्ज वरीपरि वनजंगल अवलोकन गर्न हात्तीमाथि चढ्न पाइन्छ भने १२५० रुपैयाँ शुल्क लाग्नेछ ।

राति वास बस्नका लागि पनि सौराहा क्षेत्रमा राम्रा होटलहरु छन् । यसका साथै थारु सँस्कृतिको नाच हेर्न पाइन्छ ।
अहिले मुग्लिन चितवन सडक खण्डको अवस्था राम्रो भएका कारण काठमाडौंबाट चितवन पुग्न ३ देखि ४ घण्टामा पुग्न सकिन्छ।

प्रकाशित मिति : २८ चैत्र २०७५, बिहीबार  ४ : १६ बजे

‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी’ 

पाटन – ललितपुर महानगरपालिकालगायत विभिन्न चार स्थानीय तहका प्रमुखहरूले विपद्

पूर्वी रफाहका मानवीय क्षेत्र तत्काल खाली गर्न इजराइलद्वारा सूचना जारी

काठमाडौं– देशका रक्षामन्त्रीको तीव्र कारबाहीको चेतावनीपछि इजराइली सेनाले पूर्वी रफाहका

मुस्ताङका च्याङ्ग्राको भुवा परीक्षण

म्याग्दी– मुस्ताङका कृषकले पालेका च्याङ्ग्राको भुवाको गुणस्तर परीक्षण गरिएको छ

जसपा विभाजन भएको छैन : प्रवक्ता सुमन

काठमाडौं– जसपा नेपालले दल विभाजनको अवस्था नरहेको बताएको छ ।

निर्वाचन आयोगमा दर्ता भयो अशोक राई नेतृत्वको जसपा

काठमाडौं – निर्वाचन आयोगले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी