बैंक ह्याकिङसँगै नाइजेरियन ‘काले’को ठगी धन्दा– फेसबूकमा आउँथ्यो 'करोडौं जितेको' म्यासेज | Khabarhub Khabarhub

बैंक ह्याकिङसँगै नाइजेरियन ‘काले’को ठगी धन्दा– फेसबूकमा आउँथ्यो ‘करोडौं जितेको’ म्यासेज



काठमाडौं– करिब २ हप्ता अगाडि महानगरीय अपराध मशाखामा एक महिला ‘अनलाईन’बाट ठगिएको भन्दै गुनासो गर्न आइन् ।

‘मलाई अनलाईनमा करोडौंको चिठ्ठा पर्‍यो भनेर पैसा जम्मा गर्न लगाए । उनीहरुले भनेको बैंक खातामा पैसा जम्मा पनि गरे । तर, उनीहरुले मैले जितेको पैंसा दिएनन्,’ अपराध महाशाखामा पुगेकी ती महिलाले आफ्नो गुनासो सुनाइन् ।

करौडौं रुपैयाँको चिठ्ठा परेको भनेपछि आफूले एकजना व्यक्तिको बैंक खातामा ७ लाख ४० हजार रुपैयाँ जम्मा गरेको पनि ती महिलाको भनाइ थियो । प्रहरीले पैसा जम्मा गरेको भौचर माग्यो । उनले भौचर प्रहरीलाई दिइन् ।

भौचरमा खातावालको नाम थियो, रमेश खड्का । उमेरले ५२ वर्ष पुगिसकेका खड्काले देखिने पेसाका रुपमा काठमाडौंको ठमेलमा एउटा होटेल सञ्चालन गर्छन् । तर, उनको भित्री धन्दा अर्कै रहेछ ।

अपराध महाशाखाको टोलीले महिलाबाट उजुरी लिएकै साँझ खड्कालाई ठमेलबाटै पक्राउ गर्‍यो ।

प्रहरीलाई दिएको प्रारम्भिक बयानमा खड्काले आफ्नो ‘अनलाईन विजनेश’मा अन्य २ जना पनि ‘सहयोगी’ रहेको बताए ।

खड्काले भनेका ती सहयोगी थिए– नवलपरासीको रामग्राम नगरपालिका–१७ का ३७ वर्षीया विशेश्वर प्रसाद तिवारी र १९ वर्षीय संदीप कलवार ।

अनलाईन ठगी तथा बैंक ह्याकिङ प्रकरणमा पक्राउ गरी बुधबार सार्वजनिक गरिएका ३ जना

खड्कालाई पक्राउ गरेको ३ दिनपछि तिवारी र कलवार पनि पक्राउ गरे । त्यसपछि तीनैजनाविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमार्फत ‘केही सार्वजनिक अपराध’को मुद्दामा म्याद थप गरेर अनुसन्धान शुरु गरियो ।

करिब १२ दिनको अनुसन्धानपछि अपराध महाशाखाले पक्राउ परेका ३ जनालाई बुधबार सार्वजनिक गरेको छ ।

बुधबार सार्वजनिक गरिएका ३ जनाले आफूहरु ‘विदेशी’का लागि काम गर्ने गरेको बताएका छन् ।

प्रहरीका अनुसार पक्राउ परेका ३ जनाले नेपालका १६ बैंकको खाता प्रयोग गरी १४ करोड ६७ लाख ९१ हजार रुपैयाँको कारोबार गरेका छन् । यो रकम उनीहरुले १६ वटा बैंकको खाताबाट विदेश पठाएका देखिएको अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शहकुल थापाले जानकारी दिए ।

थापाका अनुसार उनीहरुको पहिलो धन्दा थियो– फेसबूक, भाइबर, ईमो, ह्वाट्सएप लगायत सोसल मिडिया र अनलाईनको प्रयोग गरी नेपाली नागरिकलाई प्रलोभनमा पार्ने । यसरी प्रलोभनमा पारिसकेपछि उनीहरुले ‘तपाईंको नाममा चिठ्ठा आएको छ, यति रकम (रकम तोकेरै) दिएपछि त्यो चिठ्ठा तपाईंले पाउनुहुन्छ’ भन्दै म्यासेज पठाउँदै । उनीहरुले म्यासेजमै बैंक खाता समेत दिएर पैसा जम्मा गर्न लगाउँथे ।

पहिले नेपाली ‘एजेन्ट’हरुले नै नेपालीलाई सम्पर्क गरेर चिठ्ठा परेको ‘जानकारी’ दिन्थे । त्यसपछि, ‘हाम्रो अफिस बेलायत’मा पनि छ भन्दै विदेशीलाई कुरा गर्न लगाउँथे । विदेशीले नै कुरा गरिसकेपछि पीडित नेपालीहरु छिटो ‘कन्भिन्स’ हुनेगरेको अनुभव पनि उनीहरुले बयानका क्रममा प्रहरीलाई सुनाएका छन् ।

पीडित नेपालीसँग कुरा गर्ने विदेशी हुन्थे, बेलायती नागरिक स्मिथ मोरिस र नाइजेरियन नागरिक पिटर हर्मन असेंगा । कतिपय नेपालीसँग भारतीय नागरिकहरुले ‘हिन्दी’ र नेपालीमा पनि कुरा गर्थे । अपराध महाशाखाले यस्तो ठगीमा संलग्न १० जना भारतीय भएको यकीन गरेपनि उनीहरुको पहिचान भने गर्न सकेको छैन ।

प्रहरीका अनुसार नेपालमा मात्रै उनीहरुको ४० जना ‘एजेन्ट’ क्रियाशील छन् । अपराध महाशाखाका प्रमुख एसएसपी थापा ठगीमा संलग्न ४० जना नेपालीको पहिचान भइसकेको बताउँछन् ।

अहिलेसम्म ठगहरुले १५ जना नेपालीलाई ठगेको विवरण प्राप्त भएको थापाले बताए । ‘अहिलेसम्म यो समूहबाट ठगिएको भनेर १५ जना नेपालीको विवरण प्राप्त भएको छ । अनलाईनबाट ठगिएको भनेर परेका अन्य उजुरीमाथि पनि छानबिन चलिरहेको छ । सायद यसरी ठगिएका नेपालीको संख्या अझै बढी हुन सक्छ,’ थापा भन्छन् ।

पिटर ‘काले’को योजना– अनलाईन ठगीसँगै बैंक ह्याकिङ

अपराध महाशाखाले नै असोज पहिलो साता कृषि बिकास बैंकको ह्याकिङमा संलग्न भन्दै १२ जनालाई पक्राउ गरेको थियो ।

कृषि विकास बैंक ह्याकिङ प्रकरणमा गत असोजमा पक्राउ परेकाहरु

उनीहरुले कृषि विकास बैंकको बैंकिङ प्रणालीमै ‘अट्याक’ गरेर मास्टर खाताबाट ४ करोड ७३ लाख ९६ हजार रुपैयाँ लुटेका थिए ।

पक्राउ पर्नेमा कृषि विकास बैंकका कर्मचारीदेखि भारतीय नागरिक समेत थिए । ह्याकिङमा संलग्न भएकाहरुले प्रहरीसँगको बयानका क्रममा आफूहरु ‘पिटर काले’को योजनाअनुसार परिचालन भएको बताएका थिए ।

कृषि विकास बैंकको ह्याकिङ प्रकरणका मुख्य योजनाकार पिटर (केहीले उनलाई कालेको रुपमा पनि चिन्छन्) अहिले पनि नेपालका बैंकहरु ह्याक गर्नमा सक्रिय रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले अहिले ‘पिटर’को वास्तविक नाम र उनी बस्ने ‘लोकेशन’, उनको तस्वीर पनि पत्ता लागिसकेको बताएको छ । अनलाईन ठगीमा पक्राउ परेर बुधबार सार्वजनिक गरिएका ३ जनाले पनि आफूहरु ‘पिटर’को ‘समूह’का ‘सदस्य’ भएको बताएका छन् ।

बैंक ह्याकिङदेखि अनलाईन ठगीको ‘मास्टरमाइन्ड’ भनिएका नाइजेरियन नागरिक ‘काले’ भनिने पिटर

प्रहरीका अनुसार कृषि विकास बैंकको ह्याकिङ प्रकरणका ‘मास्टरमान्ड’ पिटरको वास्तविक नाम ‘पिटर हर्मन असेंगा’ हो । उनी नाइजेरियन नागरिक हुन् । उनले भारतको दिल्ली तथा मुम्बई, पाकिस्तान, चीन, तान्जानिया र इथोपियामा आफ्नो ‘बेस’ बनाएका छन् । जहाँबाट उनले आफ्ना ‘एजेन्ट’हरुलाई परिचालन गर्छन् ।

उनको मुख्य ‘अड्डा’ भने बेलायतमै रहेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार बेलयातमा उनका अर्का ‘पार्टनर’ पनि छन्– स्मिथ मोरिस ।

पिटर र स्मिथले नै अनलाईन ठगीका लागि पनि नेपाली परिचालन गरेको देखिएको अपराध महाशाखाका एसएसपी थापा बताउँछन् । उनीहरुले नेपालमा एजेन्ट परिचालन गरेर केही नेपालीसँग चिठ्ठा परेका भन्दै कुराकानी समेत गर्ने गर्थे ।

नेपालमा परिचालन हुने एजेन्टहरुलाई उनीहरुले ‘कामअनुसार’ १५ देखि २० प्रतिशतसम्म कमिशन दिने गर्थे । बाँकी रकम नेपाली एजेन्टहरुले पिटरकै खातामा पठाइदिन्थे ।

‘पिटरको समूह पहिले बैंक ह्याकिङमा संलग्न देखिएको थियो । अहिले अनलाईन ठगीमा पनि यो समूह सक्रिय छ,’ थापा भन्छन्, ‘यो समूहले अनलाइन ठगीसँगै बैंकिङ प्रणाली ह्याकिङ गर्ने गरेको देखिएको छ ।’

थापाका अनुसार यो समूहले अहिलेसम्म कृषि विकास बैंक र पानस रेमिट ह्याक गरेको पृष्टि भइसकेको छ । उनीहरुले बाँकी १६ वटा नेपाली बैंकहरुमा आफ्ना एजेन्टहरुलाई खाता खोल्न लगाएर कारोबार गर्न लगाएका छन् । जसका आधारमा उनीहरुले अन्य बैंक पनि ह्याक गरेको हुनसक्ने थापाको भनाइ छ ।

‘यो समूहले कारोबार गरेका १६ वटै बैंकमा उनीहरुले ह्याक गरेका छन् कि भन्ने हाम्रो आशंका छ,’ थापा भन्छन्, ‘अहिले हामीले बैंकका सीईओसहित उच्च तहका कर्मचारीलाई उहाँहरुको प्रणालीबारे भेरिफिपकेशन गर्न भनेका छौ । उहाँहरुले भेरिफिकेशनका क्रममा कुनै कैफिपयत फेला पार्नुभयो भने हामीले थप अनुसन्धान गर्छौं । यसका लागि राष्ट्र बैंकसँग पनि परामर्श गर्छौं ।’


तस्वीर– अदिप श्रेष्ठ/खबरहब


विदेशी ह्याकरका ४० नेपाली एजेन्टले गरे १४ करोड ६७ लाखको कारोबार, तीन जना पक्राउ


नेपाली बैंकबाट ५ अर्ब लुट्ने ह्याकर ‘काले’को योजना– आमादेखि मामासम्म संलग्न


कृषि बिकास बैंक ह्याकिङ– चेकबाट पैसा साटेर ह्याकरलाई पठाउँथे नेपाली नागरिक

प्रकाशित मिति : २५ मंसिर २०७६, बुधबार  ५ : १९ बजे

राजनीतिक घुम्ती परिवर्तन गर्ने सोचमा छौँ : भीम रावल

काठमाडौं– नेकपा एमालेका नेता भीम रावलले राजनीतिको घुम्ती परिवर्तन गर्ने

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

काठमाडौं – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

‘बजेट ल्याएर निजी क्षेत्रको मनोबल उठाउँछु’- अर्थमन्त्री

काठमाडौं – अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन

मोहन वैद्य र सन्तबहादुरबीच पार्टी एकता गर्ने सहमति

काठमाडौं– मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल र सन्तबहादुर

मोदी र गान्धीलाई आचारसंहिता उल्लङ्घन गरेको आरोपमा नोटिस जारी

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र कांग्रेस नेता राहुल गान्धीको