'सगरमाथा जस्ता अटल हिमाललाई हेरेर दृढ बन्न सिक्नुपर्छ' | Khabarhub Khabarhub

‘सगरमाथा जस्ता अटल हिमाललाई हेरेर दृढ बन्न सिक्नुपर्छ’



काठमाडौं-याङ्दी शेर्पा एक अनुभवी ट्रेकिङ गाइड हुन्। साहसिक काम गर्न रुचाउने उनी हिमाल आरोही पनि हुन् । सन् २०१२ देखि गाइडका रुपमा काम गर्दै आएकी उनी धेरै पटक सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा पुगेकी छन् ।

विश्वको छानाका रुपमा रहेको प्रकृतिको अनुपम उपहार सगरमाथाको काखमा लुटपुटिँदै शिखर चुम्न पनि याङ्दी सफल भइन् । सगरमाथाको काख र आधार शिविरमा आफ्नो कामकै शिलशिलामा पुगेकी उनी सन् २०१८ मे १६ मा सफल सगरमाथा आरोहीको सूचीमा पनि सुचिकृत भईन ।

ट्रेकिङ गाइडका रुपमा नेपाली महिलाले काम गर्नु कम चुनौतिपूर्ण छैन । विभिन्न मुलुकका पर्यटकसँग आफ्नो घर र गाउँठाउँबाट धेरै दिन बिताउनु पर्ने भएकाले मानिसहरु कुरा काट्छन् । याङ्दीले सबै भोगेकी छिन् । यसलाई लैंगिक विभेद भन्छन् भन्ने उनलाई थाहा छ । यो उनीमात्र होइन पर्यटकका लागि काम गर्ने महिला भरियाहरुले पनि यस्तै विभेद भोग्दै आएका छन् ।

‘हाम्रो आफ्नै मुलुक र समुदायमा मजस्ता महिलाहरु हाम्रा आफ्नै मानिसहरुबाट आक्रमणको तारो बन्दै अएका छौं । उनीहरुले हामीलाई यसरी हेर्छन् कि मानौ हामीले केही गलत गरिरहेका छौं । वा हामीले कसैको सम्पत्ति चोरेका हौं ।’ उनी प्रश्न गर्छिन्, ‘हामी काम गरेर कमाइ गरिरहेका छौं । किन यसलाई गलत नजरले हेरिन्छ ?’ उनी भन्छिन्, ‘महिला हुन् कि पुरुष सबैले लामो समयसम्म घर बाहिर काम गर्न जानुपर्ने मजस्ता महिलासँग यस्तो व्यवहार देखाउँछन् । हाम्रो कामको आलोचना गर्छन् । यस्ता मानिसहरुले न त कसैलाई जागिर दिन सक्छन् । हामीले मेहनत गरेर पैसा कमाउँदा पनि आलोचना गर्छन् । मजस्तै धेरै महिलाहरुले यही व्यवहार भोगेका छौं ।’

आफ्नै मानिसहरुबाट आलोचना र दुर्व्यवहारको शिकार भएपनि उनले जस्तोसुकै प्रतिकूल परिस्थितिको सामना गरिरहेका सगरमाथा जस्ता हिमाललाई हेरेर पाठ सिकिरहेकी छिन् । उनी पनि आफ्नो काममा सगमाथाजस्तै अटलताका साथ दृढ छिन् । जस्तोसुकै आलोचना वा नकारात्मक बचन आइपरे पनि उनी निडर भएर आफ्नो काममा लागिपरेकी छिन् । उनी आफ्नो पेशाप्रति प्रतिबद्ध छिन् । उनलाई परिवारको पूर्ण साथ छ । त्यसैले उनलाई आफ्नो पेशामा दृढ रहन हौसला मिल्दै आएको छ । आफ्नो पेशा कै कारण अब त उनी सगरमाथा आरोही पनि बनिसकेकी छिन् । उनी आफूसँग रहने पर्यटकहरुबाट समेत हौसला पाउँछिन् । पर्यटकहरु महिला वा पुरुष जो भएपनि ट्रेकिङ गाइड पेशाको उत्तिकै सम्मान गर्छन् ।

आफ्नो पेशाको प्रकृतिका कारण उनी हिमाल आरोहणका विभिन्न अवसरहरु पनि पाउने गरेकी छिन् । आफ्नो कामका क्रममा उनले मेरा पिक (६,४७६ मिटर), आइल्याण्ड पिक (६,१८९ मिटर), रामडुङ पिक (५,९२५ मिटर) को आरोहण गरिसकेकी थिइन् । उनका लागि यी हिमाल आरोहण चाहिँ सगरमाथा आरोहण गर्नका लागि मानसिक रुपमा तयार हुनका लागि थियो ।

अन्ततः उनले सन् २०१८ मे १६ का दिन सगरमाथाको शिखरमा पाइला राखिन् । उनका लागि यो निकै रोमाञ्चक अनुभव थियो । उनी भन्छिन्, ‘जब म सगरमाथाको शिखरमा थिएँ, मलाई स्वर्गजस्तै लागेको थियो । मेरो खुशीको सीमा थिएन । म आफ्ना हातले बादल समात्न सक्थेँ ।’

उनले सगरमाथा आरोहणका क्रममा घटेको एक महत्वपूर्ण घटना सुनाइन्, ‘सगरमाथाको शिखरमा मेरो खुट्टा चिप्लेका बेला साथीले मलाई नसमातेको भए म आफ्नो कहानी सुनाउँन यहाँ हुन्नथेँ होला ।’

उनी सगरमाथाको शिखरमा पुगेकोमा निकै नै खुशी थिइन् । त्यसैबेला उनको खुट्टा चिप्लिन पुग्यो । धन्न उनका एकजना साथीले बेलैमा उनलाई समातेर उनलाई तल खस्न दिएनन् । यो भोगाइबाट यो पेशा कति जोखिमपूर्ण छ भन्ने स्पष्ट हुन्छ ।

महिला हुनुका नाताले लैंगिक समानता र लैंगिक अधिकार उनका लागि निकै महत्वपूर्ण छन् । समाजमा आफ्नो हक अधिकारका लागि लड्ने महिलाप्रति आफ्नो सगरमाथा आरोहण समर्पित रहेको उनी सुनाउँछिन् । उनी आफ्नो सोलुखुम्बु जिल्लाका अरु दुई साथीहरुसँग मिलेर सथरमाथा आरोहण गरेकी थिइन् ।

आफ्नो गाउँबाट सगरमाथा आरोहण गर्ने उनी पहिलो महिलासमेत बन्न सफल भइन् । उनको आरोहण दलमा पासाङ ल्हामू गाउँपालिका १ कि पासाङ ल्हामू शेर्पा, पासाङ ल्हामू गाउँपालिका ३ कि ल्याक्पा याङ्गी शेर्पा र दुधकुण्ड नगरपालीकाकी याङ्दी शेर्पा सामेल थिए । उनीहरु सबै ट्रेकिङ गाइडका रुपमा काम गर्ने महिलाहरु हुन ।

उनका अनुसार सरकारले डोरी टाँगेका कारण सगरमाथा आरोहण सहज नै छ । तैपनि आरोहीहरुले सगरमाथा आरोहणका लागि शारीरिक संघर्ष भने धेरै नै गर्नुपर्ने उनको अनुभव छ । उनी भन्छिन्, ‘मलाई सगरमाथाको शिखरमा पुग्छुजस्तो लागेको थिएन । तर, जब म बिना अक्सिजन नै ७ हजार मिटरको उचाईमा पुगेँ, त्यसपछि मेरो आत्मविश्वास बढ्यो । यसले मलाई अझै पनि उर्जा दिन्छ ।’

याङ्दी हिमाल र सगरमाथा बिना बाच्न सक्दिनन् । उनको जीवन यसैले धानेको छ । उनले अझै धेरै हिमाल आरोहणको योजना बनाएकी छिन् ।

प्रकाशित मिति : २५ श्रावण २०७६, शनिबार  ९ : १७ बजे

व्यक्ति विशेष संसदीय छानबिन समिति असम्भव : सचेतक बर्तौला 

काठमाडौं –नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कांग्रेसले व्यक्ति विशेष

पर्यटकलाई राम्रो होटल मिलाइदिन्छु भन्दै बार्गेनिङ गरेको आरोपमा पाँच जना पक्राउ

पोखरा– पोखरामा सर्वसाधारण नागरिक तथा पर्यटकहरूलाई दुःख हैरानी दिएको अभियोगमा

रविलाई लेखकले भने, ‘राम्रो नेता प्रश्नले घेरिनुहुँदैन, छानबिन समिति बन्नुपर्छ’ 

काठमाडौं–नेपाली कांग्रेसका प्रमुख प्रमुख सचेतक रमेश लेखकले सहकारी ठगीमा मुछिएका

काफल बेचेर मनग्य आम्दानी

दाङ– दाङको तुलसीपुर उपमहानगरपालिका–५ की ४२ वर्षीय गीता वादी हिजोआज

सदन रोकटोकबिना लैजाने आधार बनेको छ : सभामुख घिमिरे

काठमाडौं–सभामुख देवराज घिमिरेले कुनै रोकटोकविना सदन चल्ने बताएका छन् ।