नयाँ वर्षदेखि ‘स्मार्ट पार्किङ’, हट्ला त समस्या ? | Khabarhub Khabarhub

नयाँ वर्षदेखि ‘स्मार्ट पार्किङ’, हट्ला त समस्या ?



काठमाडौं– काठमाडौंका व्यस्त ठाउँमा पार्किङका लागि निश्चित स्थान नतोकिँदा अस्तव्यस्तता बढेको छ । अव्यवस्थित पार्किङले एकातिर सडक जामको समस्या निमत्याएको छ भने अर्कोतिर दुर्घटनाको जोखिम समेत बढाएको छ । अव्यवस्थित पार्किङले सडकमा हिड्ने पैदल यात्रुलाई मात्र होइन स्वयं सवारी धनीलाई समेत उस्तै समस्या पार्ने गरेको छ ।

काठमाडौंका बागबजार, सुन्धारा, न्यूरोड लगायतका व्यस्त सडकमा अव्यवस्थित रुपमा सवारी साधन पार्किङ गरिएका हुन्छन् । कतै मोटरसाईकल त कतै ट्याक्सी र कार । पर्याप्त पार्किङको सुविधा नहुँदा यो अवस्था सिर्जना भएको हो ।

कहीँ कतै नो पार्किङ लेखिएकै स्थानमा पनि पार्किङ गरिएको पाइन्छ । यसरी पार्किङ गरिएका ठाउँबाट कहिलेकाँही ट्राफिक प्रहरीले सवारी साधनलाई उठाएर लैजाने तथा ‘ह्वील लक’ गर्ने गरेको पाइन्छ ।

ट्राफिक महाशाखाले चालु आर्थिक वर्षको १० महिनामा यसरी पार्किङ गरिएक २० हजार सवारी साधनलाई कारवाही गरेको जानकारी दिएको छ ।

रिपोर्टिङका क्रममा पार्किङको समस्या तथा अस्तव्यस्तता सबैभन्दा बढी काठमाडौंको न्यूरोड क्षेत्रमा देखियो । न्यू–रोड गेट प्रवेश गरेपछि अलि अगाडि खिचापोखरी जाने सडक आउँछ । त्यहाँ लेखिएको थियो– दुई पांग्रे सवारी ‘एकलाई मात्र पार्किङ’ । जहाँ धेरै सवारी साधनहरु अव्यस्थित पार्किङ गरिएका थिए ।

‘कतिपय सवारीधनीहरु खिचापोखरीमा पार्किङ गरेर चालक तथा सवारी धनी दिनभरी घुम्न जान्छन् । कुन बेला आएर सवारी लिन्छन् अत्तोपत्तो हुँदैन, खाली ठाउँ भेटाउनका लागि कुर्नुपर्ने बाध्यता छ’ पार्किङकै लागि लाइनमा बसेका एक युवकले भने । उनले असान, ईन्द्रचोक, भोटाहिटी, मखनगल्ली, रत्नपार्क क्षेत्रमा व्यस्त रहने अधिकांशहरुले यस क्षेत्रमा पार्किङ गर्ने गरेको बताए ।

महानगरको स्मार्ट पार्किङ

सवारी साधन पार्किङलाई व्यवस्थित बनाउन अब काठमाडौं महानगरले स्मार्ट पार्किङको व्यवस्था पनि गर्ने भएको छ । आउँदो नयाँ वर्ष अर्थात वैशाखबाट नै काठमाडौंका निश्चित क्षेत्रमा स्मार्ट पार्किङको व्यवस्था गर्न लागिएको काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले बताए ।

उनले काठमाडौंको न्यू–रोड आसपासका ५ वटा ठाउँमा स्मार्ट पार्किङ् सेवा शुरु हुने  बताए । काठमाडौं महानगरले ‘ब्हिल्स ट्रुली योर्स प्रा.लि.’ र ‘एड गुरु’सँगको सहकार्यमा यो सेवा शुरु गर्न लागेको उनले जानकारी दिए ।

सवारी साधनको अत्याधिक चाप व्यवस्थापन हुन नसक्दा सामान्य जीवन पद्धति र सहरी सुविधाको उपलब्धतामा समस्या भएपछि महानगरले स्मार्ट पार्किङ योजना अघि सारेको हो । महानगरले विगतमा पनि स्मार्ट पार्किङको योजना अघि नसारेका भने होइन यद्यपि कामले तीव्रता लिन भने सकेको थिएन । तर अब भने वैशाखको सुरुवात सँगै स्मार्ट पार्किङको सेवा लिन पाउने कुरामा महानगर विश्वस्त छ ।

काठमाडौं सहरको चरित्र, सरल उपयुक्त र दीगो तथा प्रयोगकर्ताको आवश्यकता पूरा गर्ने पार्किङ व्यवस्थापनमा महानगरको प्राथमिकता रहेको काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बताए । ‘पार्किङ्लाई सहज बनाउन सकियो भने मात्र पनि सहरको यातायात प्रणालीमा ठूलो सुधार हुनेछ’ उनले भने ।

कुन–कुन स्थाननमा स्मार्ट पार्किङ ?

दरबारमार्ग, विशालबजार, इन्द्रचोक, पाको, प्युखा र खिचापोखरीमा नयाँ वर्षको सुरुवातसँगै स्मार्ट पार्किङ सञ्चालनमा आउने काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले बताए । ‘शुरुवातमा यी स्थानमा ल्याइएपनि विस्तारै अन्य स्थानमा पनि पार्किङको व्यवस्था हुनेछ’ उनले भने ।

यी स्मार्ट पार्किङ राखिने स्थानहरुमा एक पटकमा करिव ८ सय वटा मोटरसाइकल/स्कुटर र ४० वटा गाडी पार्किङ गर्न सकिने उनले बताए । प्रालिका सूचना प्रविधि इन्जिनियर हरिश अग्रवाल भन्छन् ‘त्यी स्थानमा स्मार्ट अटोमेटेड पार्किङ् सिस्टम शुरु हुनेछ ।’

स्मार्ट पार्किङ कस्तो हुनेछ ?

नेपालमै पहिलो पटक सञ्चालनमा ल्याउन लागिएको स्मार्ट पार्किङ अन्य पार्किङको तुलनामा निकै फरक हुन्छन् । त्यी क्षेत्रमा जानुअघि सवारी चालकले मोवाइलबाटै रियल टाइममा कुन ठाउँ खाली छ भनेर हेर्न र पार्किङ गर्ने ठाउँ बुकिङ् गर्न सक्ने समेत सुविधा पाउनेछन् ।

सेन्सरमा आधारित यस प्रणालीमा सवारी प्रवेश गरेको र निस्किएको रेकर्ड हुन्छ । रिजर्भ गरेको समय, पार्किङ गरिएको स्थान र समय, पार्किङ शुल्कजस्ता विवरण क्युआर कोडबाट पनि हेर्न सकिन्छ । यसका एप्लिकेसनहरु एन्ड्रोइड र आइओएस दुवैमा डाउनलोड गर्न सकिन्छ ।

ठाउँ रिजर्भ नगरी जानेहरुले अगाडि राखिएको स्क्रिन हेरेर पार्किङ गर्ने ठाउँ हेर्न सक्नेछन् । त्यस ठाउँको व्यवस्थापनका लागि ‘गोप्रो’ क्यामरा सहितका पार्किङ सहयोगी राखिनेछन् । क्यामरामा त्यस क्षेत्रमा भएका गतिविधि आवाजसहित रेकर्ड हुनेछन् ।

शुल्क कति लाग्छ ?

सो क्षेत्रमा पार्किङ गर्दा दुई पाङग्रे सवारीका लागि प्रति घण्टा करबाहेक २० रुपैयाँ लाग्नेछ । त्यस्तै चार पाङग्रेका लागि प्रति घण्टा ५० रुपैयाँ र ६ पाङग्रे वा सोभन्दा माथिका लागि प्रति घण्टा २ सय रुपैयाँ शुल्क लाग्नेछ ।

काठमाडौं महानगरले क्लिन द सिटी अभियान अन्तर्गत काठमाडौंलाई विश्वकै आकर्षक पर्यटकीय सहर बनाउने, नो माक्स सिटी बनाउने, स्मार्ट प्रतीक्षालय लगायतका विभिन्न स्मार्ट योजना ल्याएपनि कामले तीव्रता लिन सकेको छैन । यो अवस्थामा महानगरले ल्याएको स्मार्ट पार्किङको योजनाले कत्तिको मूर्तरुप पाउने हाे त्याे भने समयले देखाउने छ ।

प्रकाशित मिति : २६ चैत्र २०७५, मंगलबार  ५ : १९ बजे

पूर्वमन्त्री शेर्पा एमाले जिल्ला उपाध्यक्षमा पराजित, शेरधनले बनाए पकड

भोजपुर-तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको पालमा संस्कृति, पर्यटन तथा नागरिक उड्यन

झन्डै १३ प्रतिशत नेपालीको घर छैन, कति बस्छन् भाडामा ?

काठमाडौं– नेपालको कुल जनसंख्याको झन्डै १३ प्रतिशत नेपालीको आफ्नै घर

जसपा फुट्दै गर्दा अमेरिकाबाट कतार पुग्दैछन् उपेन्द्र यादव

काठमाडौं – आफू नेतृत्वको जनता समाजवादी पार्टी विभाजन हुँदै गर्दा

बस दुर्घटनामा परी त्रिविका प्राध्यापकको निधन

काठमाडौं– कीर्तिपुरमा बस दुर्घटना हुँदा त्रिभुवन विश्वविद्यालयका प्राध्यापकको निधन भएको

नेपालमा पहिलो पटक टेबल टेनिसको ओलम्पक छनोट हुँदै

काठमाडौं– आगामी जुलाईमा हुने पेरिस ओलम्पिक खेलका लागि टेबल टेनिसको