साइकलमा इञ्जिन जोडेर आधुनिक मोटरसाइकल बनाएका होण्डाको सफलताको कथा | Khabarhub Khabarhub

साइकलमा इञ्जिन जोडेर आधुनिक मोटरसाइकल बनाएका होण्डाको सफलताको कथा



नेपालमा होण्डा कम्पनीको नाम नसुन्ने सायदै कोही होलान् । होण्डा नेपालमा मोटरसाइकलका लागि चर्चित नाम हो ।

जापानी अटोमोबाइल कम्पनी होण्डा हाल विश्व मोटरसाइकल मात्रै नभएर कार उत्पादनका क्षेत्रमा महत्वपूर्ण कम्पनी मानिन्छ । हरेक वर्ष होण्डा कम्पनीले विश्वभर लाखौं अटोमोबाइल विक्री गर्दै आएको छ भने प्रत्यक्ष र अप्रत्यक्ष गरी अरु लाखौं मानिसहरुलाई रोजगारी पनि दिँदै आएको छ । होण्डा कम्पनी विश्व बजारमा जति प्रभावशाली छ, होण्डा कम्पनी स्थापनाको गाथा पनि उत्तिकै रोचक छ ।

खासमा होण्डा कम्पनीको स्थापना सन् १९४८ मा जापानी मेकानिकल इन्जिनियर सोइचिरो होण्डाले गरेका हुन् । होण्डा कम्पनीका संस्थापक सोइचिरो होण्डाको जन्म लोहार परिवारमा सन् १९०६ मा जापानको हामामात्सुशहर नजिकै रहेको इवाता क्षेत्रमा भएको थियो ।

लोहार परिवारबाट आएका कारण सानैदेखि मेकानिकल इन्जिनियरिङ प्रति आकर्षित होण्डाले आफ्नो औपचारिक शिक्षा बीचैमा छाडेर अटोमोबाइल इन्जिनियरिङतर्फ लागे ।

शुरुमा उनले राजधानी टोकियोमा रहेको आर्ट सोखाई नाम गरेको कम्पनीमा अटोमोबाइल मिस्त्रीका रुपमा काम गरेका थिए । उनकै सहयोगमा आर्ट सोखाई कम्पनीका साकाकिबारा दाजुभाइले सन् १९२४ मा भएको पाचौं मोटर कार च्याम्पियनसिपको उपाधि जित्न सफल भए । मिस्त्री कामको अनुभव बटुलेर सन् १९२८ मा २२ वर्षको उमेरमा उनी आफ्नै शहर फर्के । उनले हामामात्सु शहरमा आर्ट सोखाईको शाखा खोले ।

यो समय उनमा मोटर रेसिङको ठूलो सोखको विकास भएको थियो । सोही अनुसार उनी सन् १९३६ मा तामागावा शहरमा आयोजना गरिएको पहिलो जापान अटोमोबाइल रेसिङमा भाग लिएका थिए ।

फोर्डको टर्बोचेन्ज मोटर हाँकेका उनी सोही रेसिङका क्रममा दुर्घटनामा परे भने उनको आँखामा चोट लाग्यो । सोही कारमा सवार उनका भाइ पनि घाइते भए । त्यसपछि उनले कहिल्यै मोटर रेसिङ गरेनन् ।

उसैपनि केही नौलो कुरा जान्न खोज्ने र नयाँ गर्न चाहने उनको बानी थियो । यसअघि सम्म उनी अटोमोबाइलको मर्मतमात्र गर्ने गर्थे तर ‘अब चाँही मर्मत मात्र होइन की, सामानको उत्पादन नै गर्नुपर्छ’ भन्ने ठानेर आर्ट सोखाई कम्पनीका साहूहरुसँग यो कुरा राखे । तर साहूहरुले होण्डालाई आफ्नो कम्पनी छाडेर जान दिएनन् ।

तैपनि उनले सन् १९३७ मा टोकाई सेइकी हेभी इण्डष्ट्रिजको स्थापना गरे । त्यहाँ उनले अटोमोबाइलमा प्रयोग हुने एअर पिस्टनको खोज र अध्ययनमा लागे । दिनभर उनी आर्ट सोखाईको कारखानामा अटोमोबाइलको मर्मत गर्थे भने रातिको समयमा एअर पिस्टनको अध्ययनमा लाग्थे ।

एकपछि अर्को प्राविधिक असफलताकै कारण एअर पिस्टनको अध्ययनकै लागि उनी केही समय हामामात्सु इण्डट्रियल इन्स्टिच्युटमा पार्ट टाइम विद्यार्थीका रुपमा भर्ना भए । दुई वर्ष लामो गहन अध्ययन र कठोर परिश्रमपछि उनले अन्ततः सन् १९३९ मा आर्ट सोखाईको आफ्ना प्रशिक्षार्थीलाई जिम्मा दिएर आफ्नो ध्यान टोकाई सेइकी कम्पनीलाई दिन थाले ।

यही बीचमा उनले त्यसबेलाको प्रभावशाली जापानी अटोमोबाइल कम्पनी टोयोटाका लागि पिस्टन बनाउने ठेक्का पाएका थिए । तैपनि प्राविधिक जटिलताका कारण उनले बुझाएका ५० मध्ये केबल ३ पिस्टन मात्र टोयोटाबाट स्वीकृत भए ।

त्यसपछिका दुई वर्ष अझ धेरै विश्वविद्यालय र जापानका विभिन्न अटोमोबाइल कारखानाको को भ्रमण गरी प्राप्त भएको ज्ञानपछिमात्र उनी औद्योगिक स्तरमा गुणस्तरीय एअर पिस्टन निर्माण गर्न सफल भए । उनले यस्ता पिस्टन र अन्य अटोमोबाइल उपकरण टोयोटा कम्पनी र नाकाजिमा हवाई कारखानालाई बेच्ने गर्थे ।

त्यसपछि जापान प्रशान्त क्षेत्रमा दोश्रो विश्वयुद्धमा होमियो । यससँगै टोकाई सेइकी कम्पनी जापानको हतियार मन्त्रालय अन्तर्गत रहन गयो । केही समयपछि नै टोकाई सेइकी कम्पनीको ४० प्रतिशत टोयोटा कम्पनीले लियो ।

उनी यसअघि त्यस कम्पनीको प्रमुख रहेकोमा उनको पद घटाएर वरिष्ठ प्रबन्ध निर्देशक बनाइए । दोश्रो विश्वयुद्धका क्रममा उनका अधिकांश कर्मचारी सेनामा बोलाइएका कारण उनको कारखानामा केबल महिला र अनुभवहीन विद्यार्थीमात्र काम गर्ने गर्थे । तैपनि उनले हिम्मत नहारी पिस्टन उत्पादनलाई सक्दो सरल बनाउनेतर्फ लागे ।

उनले साइकलमा इन्जिन राखेर आधुनिक मोटरसाइकल बनाउने र त्यसको व्यापक उत्पादन गरी प्रचलनमा ल्याउनेबारे परिकल्पना गरेका थिए

दोश्रो विश्वयुद्धकै क्रममा जापानमा अमेरिकी हवाई आक्रमण तीब्र बन्दै गयो । अमेरिकी हवाई आक्रमणको मुख्य निशानामा जापानका औद्योगिक क्षेत्र पर्ने गर्थे ।

सोही अनुसार हामामात्सुमा रहेको कारखाना अमेरिकी हवाई आक्रमणमा ध्वस्त भयो । यहीबीचमा सन् १९४५ मा जापानमा शक्तिशाली भूकम्प गयो । त्यस भूकम्पमा परी इवातामा रहेको अर्को कारखाना पनि नष्ट भयो । युद्धमा जापानको पराजयसँगै टोकाई सोइकी कम्पनीको बाँकी रहेको सम्पत्ति टोयोटा कम्पनीलाई केबल ४ लाख ५० हजार येनमा बेचेर होण्डा टेक्निकल रिसर्च इन्स्टिच्युट नामक संस्था स्थापना गरे ।

यसअघिको सफलताबाट उत्साहित भएका उनले मोटरसाइकलको अध्ययनप्रति नै उनले बढी जोड दिन थाले । यही इन्स्टिच्युटमा उनले साइकलमा इन्जिन राखेर आधुनिक मोटरसाइकल बनाउने र त्यसको व्यापक उत्पादन गरी प्रचलनमा ल्याउनेबारे परिकल्पना गरिरहेका थिए ।

यससँगै उनले अब आफ्नै कम्पनी स्थापना गर्ने निधो गरे । सन् १९४८ मा उनले अटोमोबाइलाको उत्पादन गर्नका लागि कम्पनीको स्थापना गरेर उनले मोटरसाइकलको व्यापक उत्पादन शुरु गरे । विशाल बजारीकरण अभियान र वृहद उत्पादनका कारण केही समयभित्र जापानमा होण्डा कम्पनीको प्रभाव शुरु भयो ।

यससँगै होण्डा कम्पनी कार उत्पादनतर्फ पनि उत्तिकै लागिप¥यो । होण्डा कम्पनी छोटो समयमा नै प्रभावशाली अटोमोबाइल कम्पनी भएर उदायो । होण्डा कम्पनीले आफ्ना उत्पादनमा केही नयाँ प्रयोग गरिरह्यो ।

त्यसबेला जापानका दुई ठूला अटोमोबाइल कम्पनीहरु टोयोटा र निसानबीच तीब्र प्रतिस्पर्धा भइरहेको थियो । यसैलाई मध्यनजर गर्दै उतिबेलाका सरकार अन्य स–साना कम्पनीहरु एकजुट भई तेश्रो ठूलो कम्पनी स्थापना गरी निसान र टोयोटाको प्रतिस्पर्धा तोडुन् भन्ने चाहन्थ्यो । तर, होण्डा कम्पनीले एस ५०० नामक सानो र सस्तो स्पोर्टस कारको उत्पादन गरेपछि भने यसबाट प्रभावित भएर जापान सरकारले थप कारखाना स्थापना गर्न अनुमति दियो ।

यससँगै होण्डा कम्पनीले एकपछि अर्को गर्दै नयाँ किसिमको कार र मोटरसाइकलको खोज तथा विकासमा ध्यान बढाउँदै गयो भने नयाँ किसिमका अटोमोबाइलको उत्पादनमा जोड दिन थाल्यो भने आफ्नै शैलीको स्पोट्स कारको उत्पादनलाई पनि उत्तिकै महत्व दियो । उपभोक्ताको चाहना र रुचीलाई मध्यनजर गर्दै एकपछि अर्को अटोमोबाइलको विकासले होण्डा कम्पनी जापानकै प्रभावशाली अटोमोबाइल उद्योगका रुपमा स्थापित भयो ।

सन् १९७० को र ८० को दशकमा होण्डा कम्पनीले आफ्नो व्यापारलाई अन्तर्राष्ट्रिय स्तरमा लैजान थाल्यो । सोही अनुसार होण्डा कम्पनीले अमेरिका, युरोप, दक्षिण एशिया लगायतका क्षेत्रमा एकपछि अर्को कारखाना खोल्दै आफ्नो बजारलाई विस्तार गर्दै लग्यो ।

हाल होण्डा कम्पनी विश्वको एक महत्वपूर्ण अटोमोबाइल कम्पनीका रुपमा स्थापित भइसकेको छ । होण्डा कम्पनीका सवारी चढ्ने विश्वमा दशौं लाख मानिसहरु छन् । होण्डा कम्पनीले विश्वभर लाखौं मानिसहरुलाई रोजगारी समेत दिएको छ भने यसको लोकप्रियता पनि दिन प्रतिदिन बढ्दै गइरहेको छ ।

प्रकाशित मिति : २५ जेठ २०७६, शनिबार  ७ : ०७ बजे

संविधानलाई पूर्ण बनाएर सफल कार्यान्वयन गर्नुपर्छ : मन्त्री शर्मा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले संविधानलाई पूर्ण

उपनिर्वाचनको दिन मतदान केन्द्रसम्म सार्वजनिक गाडी चलाउन पाइने 

काठमाडौं– निर्वाचन आयोगले शनिबार हुने इलाम र बझाङको उपनिर्वाचनको मतदानको

ओलीसँग नेपाल आक्रोशित, सत्ताको घमण्ड बढ्दै गए सिद्धिने चेतावनी

काठमाडौं – सत्ता साझेदार नेकपा एकीकृत समाजवादी पार्टीका अध्ययक्ष माधवकुमार

भयावह बन्दै आगलागी : ५० जिल्लाका वन प्रभावित

गण्डकी– वन तथा भू–संरक्षण विभागका अनुसार बिहीबारसम्ममा ५० जिल्लाका वन

लक्ष्मी बर्देवा : ‘ब्याकग्राउन्ड डान्सर’देखि अभिनय र निर्देशनसम्मको यात्रा !

काठमाडौं– लक्ष्मी बर्देवा केवल नायिका मात्रै होइनन् । धेरैले नजरअन्दाज