महिला हिंसा रोक्न सफल भएन सरकारी अभियान | Khabarhub Khabarhub

महिला हिंसा रोक्न सफल भएन सरकारी अभियान


२० मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सिकुटे शरीर लामो केश । काखमा शिशु बोकिरहेकी अन्दाजी २० वर्षकी एक महिला । जसको अनुहार निकै थकित देखिन्थ्यो ।

उनी न्याय माग्दै महिला बालबालिका सेवा केन्द्र कालीमाटीको कार्यालयमा आइपुगेकी थिइन् । गहभरी आँसुसहित श्रीमानले दिने गरेको याताना उनले कार्यालयका कर्मचारीलाई सुनाउँदै थिइन ।

सिन्धुपाल्चोक घर भएकी अञ्जना घिमिरे (नाम परिर्वतन) । जसको बिहे भएको यही मंसिरमा १ वर्ष पुरा भयो । गाउँकै चिनजानका व्यक्तिसँग अञ्जनाका परिवारले बिहे गरिदिए ।

१९ वर्षको उमेरमा अपरिचित व्यक्तिसँग वैवाहिक सम्बन्धमा बाँधिएकी अञ्जना बिहेपश्चात काठमाडौंस्थित कालीमाटीमा श्रीमानसँगै डेरा लिएर बस्दै आएकी थिइन् । श्रीमानले हरेक दिन मदिरा पिउने र उनलाई अनेकन विषयमा तनाव दिइरहन्थे ।

श्रीमानले केही दिनअघि मात्र अर्को विवाह गरेको खबर उनको कानमा पर्‍यो । ‘दिनरातको पीडा र तनाव अनि टोकसो त सहकै थिएँ’ पीडा सुनाउँदै उनले खबरहबसँग भनिन्, ‘अहिले त अर्को विहे पनि गरे ।’

काखमा ६ महिनाको छोरालाई लिएर बहुबिवाहको मुद्दा दर्ता गर्न सेवा केन्द्र आइपुगेकी अञ्जनाको साथमा उनकी बहिनी पनि थिइन् ।

अञ्जनासँगै सेवा केन्द्र वरीपरी काठमाडौंका धेरै महिला पीडितहरु हिंसा परेको भन्दै गुनासो तथा उजुरी गर्न आएका थिए ।

महिला हिंसा दिनप्रतिदिन बढ्दै गइरहेको छ । महिलाहरु हिंसाको सिकार बनिरहेका छन् । शहरदेखि गाउँसम्म यस्ता घटनाले विकराल रुप लिएको छ ।

जसकारण आजपनि दाइजोप्रथा, बालविवाह, बहुविवाह, छवाछुत, बोक्सी लगायतका हिंसाबाट महिलाहरु पीडित बनिरहेका छन् । लैङ्गिक हिंसाको अन्त्यका लागि सरकारले जति पहल गरेपनि वास्तविक महिलाहरु हिंसाबाट प्रभावित बनिरहेकै छन् ।

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले हरेक वर्ष लैङ्गिक हिंसा सम्बन्धि १६ दिने अभियान सञ्चालन गर्ने गर्छ । अभियानले समाजमा हुने लैङ्गिक हिंसा घटनालाई घटाउने उद्देश्य राखेपनि घटनाहरु भने बढ्दै नै गइरहेका छन् ।

यसवर्ष पनि मंसिर ९ गतेदेखि देशभरि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान जारी छ । विभिन्न प्रदेशमा यो अभियान भइरहेको छ ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेकै बेला गत शनिवार बैतडीमा बोक्सीको आरोपमा महिलामाथि कुटपिट भयो ।

बैतडीस्थित ४० वर्षीया उत्तरा ढुंगालमाथि बोक्सीको आरोप लगाउँदै उनका देवरले कुटपिट गरे । घरकै सदस्यबाट अभद्र व्यवहार भएपछि उनलाई जिल्ला अस्पताल बैतडी पुर्‍याइयो ।

यस्ता थुप्रै घटनाहरु दिनहुँ घटिरहेकै छन् । जसलाई यस्ता अभियानले छुन सकेको छैन । रात दिन उनीहरु पीडा सहेरै पनि बसेका छन् । यौनजन्य तथा लैङ्गिकतामा आधारित हिंसाबाट बढि मात्रामा बालिका, किशोरी तथा महिलाहरु प्रभावित बनिरहेका छन् ।

महिनावारी, छाउपडी तथा सुत्केरी अवस्थामा छुन नहुने जस्ता विभेदपुर्ण कुरुती अझैपनि विद्यमान नै छन् । गर्भपतन, बालविवाह, बहुविवाह, घरेलु हिंसा, मानव बेचविखान तथा ओसारपसार, वैदेशिक रोजगारीका नाममा हुने महिला एवं किशोरीहरुको तस्करी लगायत लैङ्गिकतामा आधारित हिंसाहरु बढिरहेका छन् ।

१६ दिने अभियानमा के हुन्छ ?

अभियानमा घरेलु हिंसा, अन्धविश्वास र कुरुतीबाट हुने हिंसा, वैदेशिक रोजगारसँग सम्बिन्धत हिंसा, मनोरञ्जन क्षेत्र, कार्यस्थलका साथै सामाजिक सञ्जालको दुरुपयोगबाट हुने हिंसालाई सम्बोधन गरिने मन्त्रालयले जनाएको छ ।

राजनीतिक क्षेत्र, सार्वजकि स्थल र एसिड आक्रमणबाट भएका हिंसा पनि यसमा समेटिनेछन् । प्रदेशबाट शुरु भएको १६ दिने अभियान स्थानीय तहसम्म पुग्ने छ ।

वि.स. २०७६ जेठ ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले जेठ १६ मा राष्ट्रिय महिला अधिकार दिवस मनाउने र ०७६/७७ को वर्षलाई लैङ्गिक हिंसाविरुद्धको अभियान वर्षका रुपमा मनाउन संघ, प्रदेश र स्थानीय तहले अभियान कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको थियो ।

सोही निर्णयाअनुरुप ‘लैङ्गिक हिंसामुक्त देश निर्माण’ भन्ने नारासाथ अभियान वर्ष मनाउन लागिएको मन्त्रालयका सचिव चन्द्र कुमार घिमिरेले खबरहबलाई जानकारी दिए ।

५ वटा प्रदेशमा अभियान सम्पन्न

मंसिर ९ गतेबाट देशव्यापी रुपमा सञ्चालन भइरहेको अभियान हालसम्म ५ वटा प्रदेशमा सम्पन्न भइसकेको छ ।

घिमिरेकाअनुसार प्रदेश नम्बर १, २, ५, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशमा अभियान सकिएको र प्रदेश नम्बर ३ र गण्डकी प्रदेशमा अभियान बाँकी रहेको उनले बताए ।

‘२२ गते ३ नम्बर प्रदेशमा अभियान गर्ने तयारी छ’ उनले भने ‘२४ गतेलाई गण्डकी प्रदेशमा गर्ने तयारी भइरहेको छ ।’

हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्भर १० सम्म अन्तराष्ट्रिय अभियानका रुपमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान मनाउने गरेको छ ।

राष्ट्रिय कार्ययोजना प्रत्येक स्थानीय स्तरमा

महिला हिंसा विरुद्धको वर्ष मनाउने तयारीका साथ केही समयअघि मन्त्रालयले राष्ट्रिय कार्ययोजना सार्वजनिक गरेको थियो । जसमा प्रदेश सरकार र सबै स्थानीय तहले आफ्ना क्षेत्रमा महिला हिंसा विरुद्धका कार्ययोजनाहरु बनाउने भनिएको थियो ।

महिला हिंसामुक्त समाज निर्माणका लागि अभियान वर्षभरि जारी रहने उनले बताए ।

प्रदेश सरकार, स्थानीय तह, किशोरी सञ्जाल, जिल्ला विकास समिति, विभिन्न महासंघलाई भेटेर यो अभियानबारे प्रचारप्रसार गरिरहेको बताउँदै उनी भन्छन्, ‘समुदाय तहसम्म स्थानीय तहले पनि पुर्‍याउँछ । हाम्रो उद्देश्य भनेको आफ्नो समाज तथा क्षेत्रभित्र महिला हिंसामुक्त समाज बनाउनुपर्छ भन्ने हो ।’

‘आफ्नो प्रदेश र स्थानीय क्षेत्रमा यी समस्या नहुने वातावरण सिर्जना गराउन हामीले यो कार्ययोजना बनाएर पठाएका हौं’ घिमिरेले खबरहबसँग भने ‘यो १६ दिन मात्र होइन सधै काम भइरहोस भनेर कार्ययोजना पठाएको र अन्य वर्षको भन्दा फरक अभियान हो यो ।’

वर्षेनि बढ्दै महिला हिंसा

सरकारले महिलालाई हिंसाबाट पीडित नहुन तथा हिंसा हुन नदिनका लागि हरेक वर्ष यस्ता कार्यक्रमहरु गर्दै आइरहेको छ । तर हिंसा भने झनै बढ्दै गइरहेको छ ।

प्रहरी प्रधान कार्यालयको तथ्याङ्कअनुसार प्रत्येक वर्ष महिला हिंसाका घटना बढ्दै गइरहेको देखिन्छ ।

आर्थिक वर्ष २०७४/२०७५ १ हजार ४ सय ८० जना बलात्कृत भएका छन् । त्यस्तै ३ सय ८ जना मानव ओसारपसारमा परेका छन् ।

१८ गर्भपतन, ६ सय २ वटा बहुविवाह, ६२ वटा बालविवाहका घटना भएका छन् ।

त्यसैगरी १२ हजार २ सय २५ घरेलु हिंसा भएका छन् भने ४८ वटा बोक्सीका घटना घटेका थिए ।

त्यस्तै आर्थिक वर्ष २०७५/२०७६ मा बलात्कारका घटना २ हजार २ सय ३३, मानवओसार पसार २ सय ४७, गर्भपतन २३, बहुविवाह १ हजार २, बालविवाह ८७, घरेलु हिंसा १४ हजार ७ सय ७७ र बोक्सीका आरोपमा ४५ महिला पीडित बनेका छन् ।

कार्यालयको तथ्याङ्कअनुसार हरेक वर्ष घरेलु हिंसा बढ्दै गइरहेको छ ।

महिला हिंसामुक्त देश निर्माण गर्न चुनौती

१६ दिने अभियान चलिरहेकै बेला विभिन्न जिल्लाहरुमा महिला हिंसा बढिरहेका छन् । अभियानले किन प्रभाव पार्न सकेन भन्ने प्रश्नमा सचिव घिमिरे जवाफ दिन्छन्, ‘तत्काल हिंसामुक्त समाज निर्माण गर्न ठूलो चुनौती छ ।’

‘समाजमा पितृसतात्मक सोच अझै हट्न सकेको छैन’ घिमिरेले भने ‘भेदभावजन्य कुरुती, समाजको संरचनामा समस्या लगायतका कुराहरु चुनौतीका रुपमा रहेका छन् ।’

जुन कुरा सदिँयौदेखि भइरहेको छ त्यसलाई यो अभियानले हटाउँदै जानेमा उनी विश्वस्त छन् ।

‘संविधान, कानून र नीति प्रगतिशिल बनाएका छौं जहाँ स्थानीय तहमा ४१ र संघीय तहमा ३३ प्रतिशत प्रतिनिधित्व भएको छ,’ उनले भने ‘यतिहुँदा हुँदै पनि देशभरि हिंसा बढिरहेकै छ यसलाई तत्काल न्यूनिकरण गर्न नसके पनि केही हदसम्म घट्नेछ ।’

प्रकाशित मिति : २० मंसिर २०७६, शुक्रबार  १२ : ४२ बजे

मकैमा कीराको सङ्क्रमणले किसान चिन्तित

राँझा– बाँकेमा लगाइएको मकैबालीमा रोग तथा कीराको प्रकोप बढ्दै गएपछि

यस्तो छ ‘मनसरा’ को गीत ‘एक तार मनको’

काठमाडौं- प्रदर्शनरत फिल्म ‘मनसरा’को गीत ‘एक तार मनको’ सार्वजनिक भएको

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युत आयोजनाको निर्माण प्रभावित

काठमाडौं– प्राथमिक (आईपीओ)रहकप्रद शेयर निष्कासनका लागि आवेदन दिएका २७ सहित

पानी नपर्दा अदुवा उत्पादक कृषक मारमा

तनहुँ– समयमा नै पानी नपरेपछि समय घर्किने भयले अदुवा उत्पादक

सरकारसँगको प्रतिबद्धतापछि रुसी सेनामा कार्यरत नेपाली परिवारको अनसन स्थगित 

काठमाडौं– रुसी सेनामा रहेका आफन्त फिर्ता ल्याइदेऊ भन्दै आमरण अनसन