कान्ति लोकपथमा गएको पहिरोबाट ३० करोडको क्षति | Khabarhub Khabarhub

कान्ति लोकपथमा गएको पहिरोबाट ३० करोडको क्षति


१७ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्माणाधीन कान्ति लोकपथमा ठाउँठाउँमा गएको पहिरोका कारण रु ३० करोड क्षति भएको छ । गत असार र साउनमा परेको वर्षाका कारण कान्ति लोकपथमा गएको पहिरो अझै हटिसकेको छैन ।

ललितपुरको चापागाउँ हुँदै हेटौँडासम्म पुग्ने सडकमा बाँकी रहेको पहिरो आगामी दशैँसम्ममा हटाइसक्ने कान्ति लोकपथ योजनाले जनाएको छ । तत्कालका लागि पहिरो हटाएर एकतर्फी सडक सञ्चालन भइरहेको योजनाका सूचना अधिकारी अमिन्द्र खड्काले बताए । उनका अनुसार कतिपय स्थानमा माथिबाट आएको पहिरोका कारण सडक अवरुद्ध थियो भने कतिपय स्थानमा पहिरोले बाटो नै बगाएको थियो । ललितपुरतर्फ भालुखोला नजीकका स्थानमा र मकवानपुरतर्फ ठिङ्गनमा पहिरोले बाटो बगाएको थियो । उनले भने, “झण्डै ४ सय मिटर सडकमा ट्र्याक बगाएकामा अहिले निर्माणको काम शुरु भइसकेको छ ।”

अहिले निर्माणाधीन सडक भएकाले यो सडकमा वर्षाले बढी क्षति पुर्‍याएको सडक विभागले बताउँदै आएको छ । कतिपय स्थानमा अहिले काम गरिरहेका ठेकेदार कम्पनीले नै क्षतिबापत बीमाको दाबी गरेका छन् । तीबाहेकका सडकमा भने योजनाले नै बजेट दिएर काम गराउने खड्काले बताए । उनले भने, “पहिरोले क्षति पुगेका सडकमध्ये कतिपयमा पुरानै ठेकेदार त कतिपयमा नयाँ ठेक्का गरेर पनि काम हुनेछ ।” लोकपथमा अहिले ललितपुरतर्फको सडक सञ्चालन रहेको वाग्मती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले बताए । उनका अनुसार गत महिनाहरुमा सडक हप्तौँसम्म अवरुद्ध थियो । उनले भने, “ठाउँठाउँमा दोहोरो गाडी चल्न नसके पनि एकातर्फ चलिरहेको छ ।”

यो सडकआगामी वर्षसम्म निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । अहिलेसम्म सडकको ४५ किलोमिटर कालोपत्र र ३९ किलोमिटर सडक ग्राभेल सकिएको योजनाले जनाएको छ । अहिलेसम्म पाँच किलोमिटरमा मात्रै सडक स्तरोन्नतिको काम हुन सकेको छैन । विसं २०१६ मा नेपाली सेनाले निर्माण शुरु गरेपनि लामो समयसम्म यो सडक सरकारको प्राथमिकतामा परेको थिएन ।

निर्माण शुरु भएको छ दशकपछि लोकपथले पूर्णता पाउने अन्तिम चरणमा पुगेको सूचना अधिकारी खड्काले बताए । विसं २०७२/७३ पछि सडक सरकारको प्राथमिकतामा परेसँगै सडकको स्तरोन्नति भइरहेको छ । सरकारले यस सडकलाई पहिलो प्राथमिकतामा राखेसँगै योजना कार्यालयको स्थापना भएको हो । सरकारले एक दशकयता बर्सेनि सडकका लागि बजेट विनियोजन गर्दै आएको उनले जानकारी दिए ।

यो सडकमा निर्माण शुरु हुँदा लम्बाइ ९२ किलोमिटर रहेको थियो । चौडाइ कम हुँदा लम्बाइ बढी देखिएको र अहिले ९० किलोमिटर पुगेको छ । सडकको निर्माण सम्पन्न हुँदासम्म लम्बाइ त्यसभन्दा पनि कम हुने सूचना अधिकारी खड्काले बताए । नब्बे किलोमिटर लम्बाइमा ७९ किलोमिटर ललितपुरमा र २८ किमी मकवानपुर जिल्लामा पर्छ । मकवानपुरतर्फ डेढ किलोमिटर र ललितपुरतर्फको चार किलोमिटर सडकलाई फराकिलो बनाउन ढुङ्गा विस्फोटन गर्न आवश्यक रहेको बताइएको छ ।

यो सडकमा अहिले हलुका सवारी साधन हेटौँडा–काठमाडौँ आवतजावत गर्न थालिसकेका छन् । सडक चौडा र नाली बनाउने तथा कालोपत्रको काम भइरहेको छ । निर्माणाधीन यो सडकलाई हेटौँडाबाट मुग्लिन हुँदै काठमाडौँसम्मको २२६ किलोमिटर लम्बाइको हेटौँडाबाट पालुङ हुँदै काठमाडौँ आउने १३६ किमी सडकको विकल्पका रुपमा समेत हेरिएको छ ।

यो सडक निर्माण सम्पन्न गर्न मकवानपुरतर्फ करीब रु ८५ करोड र ललितपुरमा रु एक अर्बभन्दा बढी खर्च लाग्ने अनुमान छ।

प्रकाशित मिति : १७ भाद्र २०७६, मंगलबार  ९ : २४ बजे

३४६ वर्ष पुरानो थन्थु दरबारको पुन: शिलान्यास

भक्तपुर भक्तपुर दरबार क्षेत्रस्थित भक्तपुर नगरपालिकाको पुरानो भवन रहेको थन्थु

भारतमा आज तेस्रो चरणको मतदान हुँदै

काठमाडौं – भारतमा लोकसभा निर्वाचनअन्तर्गत तेस्रो चरणको मतदान मंगलबार हुँदैछ।

वायु प्रदूषणको प्रमुख कारण डढेलो

काठमाडौं – केही हप्तादेखि काठमाडौं उपत्यकामा वायु प्रदूषण बढिरहेको छ।

बेकरीबाट मासिक दुई लाख आम्दानी गर्दै धरानका दुई युवक

धरान–  ‘देशमा रोजगारीको अभाव र लगानीको वातावरण छैन’ भन्नेहरूका लागि

डाले घाँसको बीउ पाएपछि मटिहानीका किसान दंग 

महोत्तरी– आफ्नै घरआँगनमा डाले घाँसको बीउ पाएपछि मटिहानीका पशुपालक किसान