दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू (अडियोसहित) | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू (अडियोसहित)


१५ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज दिनभर अर्थमन्त्री शर्माद्वारा शपथ ग्रहण,छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्चमा रिट, समितिलाई जनार्दन शर्माको कल डिटेल हेर्न नदिएकोमा ओलीको आक्रोश, फोहोर व्यवस्थापनमा केन्द्र सरकारले सहयोग नगरेको ६ वटै महानगरको आरोप, निर्मलराज काफ्ले ब्राजिलका लागि आवासीय राजदूतमा नियुक्त, १३ जना प्रहरी उपरीक्षकको काज सरुवा लगायतका समाचारले प्रमुख स्थान पाए ।

यी हुन् आज दिनभरका मुख्य समाचारहरू:

अर्थमन्त्री शर्माद्वारा शपथ ग्रहण
नेकपा माओवादी केन्द्रका नेता अर्थमन्त्री जनार्दन शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालयमा आज साँझ आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्री शर्मालाई शपथ ग्रहण गराएकी हुन् ।

यद्यपि अर्थ मन्त्रालयका सचिव मधु मरासिनी भने सो कार्यक्रममा अनुपस्थित थिए । शपथ ग्रहण पछि पद बहालीका क्रममा अर्थमन्त्री शमाले नेपाली अर्थतन्त्रलाई आर्थिक रुपमा आत्मानिर्भर बनाउन प्रतिबद्ध रहने बताए ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई आज अपरान्ह नै अर्थमन्त्रीमा नियुक्त गरेका थिए । नेपालको संविधानको धारा ७६ को उपधारा ९९० बमोजिम राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा शर्मालाई मन्त्री पदमा नियुक्त गरी हाल प्रधानमन्त्री देउवाले सम्हाल्दै आएका अर्थ मन्त्रालयको कार्यभार सम्हाल्ने गरी नियुक्ति एवं कार्यभार तोकेका थिए ।

आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई अर्थमन्त्रालयमा प्रवेर गराई करको दर हेरफेरको विषयमा छानबिन गर्न ससंदीय विशेष समिति गठन भएसगैँ , अर्थमन्त्री शर्माले गत असार २२ गते राजीनामा दिएका थिए । तर संसदीय विशेष समितिले गत शुक्रबार बजेट निर्माणको क्रममा अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेको नदेखिएको निस्कर्षसहितको प्रतिवेदन प्रतिनिधि सभाको सभामुख अग्नि प्रसाद सापकोटालाई बुझाएको थियो ।

छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्चमा रिट
संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्चमा रिट दायर भएको छ ।

उपभोक्ता हित संरक्षण मञ्चले बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको सन्दर्भमा छानबिन गर्न गठित संसदीय विशेष समितिको प्रतिवेदन कार्यान्वयन नगर्न आज रिट दायर गरेको हो ।

समितिले तयार बनाएको प्रतिवेदन लागू हुँदा यसले देशलाई अपुरणीय क्षति हुने मञ्चले दाबी गरेको छ । संविधानको धारा ९७, ११९,२०७, १३२ ९१०, प्रतिनिधि सभा नियमावली २०७५ को नियम १६९, १३८, १३९, विपरीतको प्रतिवेदन देखिएकोले रिट दायर गरिएको मञ्चका अध्यक्ष ज्योति बानियाँले बताए ।

आर्थिक वर्षमा करका दरहरु हेरफेर गर्ने सम्बन्धमा अनधिकृत व्यक्ती प्रवेश गरेको विषयबारे संसदीय छानविन नभई न्यायिक प्रकृतिको जाँचबुझ छानबिन र अनुसन्धान गर्नुपर्ने रिट निवेदनमा उल्लेख गरिएको छ । यस्तै नेकपा एमालेले अर्थमन्त्री शर्मामाथि अधिकार सम्पन्न अर्को संयन्त्रमार्फत छानबिन गर्न माग गरेको छ ।

सत्ता पक्षले बहुमतको आडमा संसदीय छानबिन समितिको अधिकार संकुचित गर्दा दोषीले उन्मुक्ति पाएको एमालेको दाबी छ । बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिको संलग्नताबारे अनुसन्धान गरि दोषीलाई कारबाही गर्न एमालेले अर्को अधिकारप्राप्त संयन्त्र माग गरेको हो ।

पूर्वअर्थमन्त्री शर्माबारे छानबिन गर्न गठित विशेष संसदीय समितिको अधिकार संकुचन गरेर गलत नजिर स्थापित गर्न खोजिएको भन्दै एमालेले समितिमा फरक मत राखेको हो ।

बागमतीको पानी सफा बनाउने योजना अनुसार काम भइरहेको छ : प्रधानमन्त्री देउवा
काठमाडौंको गुहेश्वरीमा फोहरपानी प्रशोधन केन्द्र सञ्चालनमा आएको छ । खानेपानी मन्त्रालयबाट निर्मित सो प्रशोधन केन्द्रको प्रधानमन्त्री शेर बहादुर देउवाले आज उद्घाटन गरेका हुन् ।

उपत्यकाको घरबाट निस्कने ढललाई सिधै खोलामा नमिसाई प्रशोधन गरेर मात्र खोलामा पठाउने योजनाअनुसार उक्त प्रशोधन केन्द्र सञ्चालमा आएको हो । कार्यक्रममा प्रधानमन्त्री शेर बहादुर देउवाले पशुपति क्षेत्रको उपल्लो क्षेत्रमा ३ करोड भन्दा बढि फोहर पानी संकलन गरेर बागमतीमा पठाउने योजना अनुसार फोहरपानी प्रशोधन केन्द्र निर्माण गरिएको बताए ।

उनले धार्मिक क्षेत्र पशुपति क्षेत्रमा धार्मिक कार्य गर्दा सफा पानीको प्रयोग गर्ने उदेश्य रहेको जानकारी दिए । बालकुमारी , सल्लाघारी र धोबीखोलामा छिटै फोहरपानी प्रशोधन केन्द्र सञ्चालनमा आउने उनको भनाई छ ।

कार्यक्रममा खानेपानी मन्त्री उमाकान्त चौधरीले बढ्दो शहरीकरणका बेला नदिहरुलाई स्व्च्छ राख्न ठूलो लगानीमा फोहरपानी प्रशोधन केन्द्र स्थापना गरिएको जानकारी दिए । काठमाडौं उपत्यकाभित्रका बागमती लगाएत अन्य सहायक नदिलाई स्वच्छ राख्न बिभिन्न स्थानमा स्थापना भइरहको प्रशोधन केन्द्र छिटै सञ्चालनमा आउने उनको भनाई छ ।

त्यस्तै काठमाडौं महानगरका प्रमुख बालेन्द्र साहले काठमाडौं उपत्यकालाई स्वच्छ तथा सफा राख्न बिभिन्न निकायबीच सहकार्य गर्दै अघि बढ्ने बताएका छन् ।

संसदीय विशेष समितिलाई जनार्दन शर्माको कल डिटेल हेर्न नदिएकोमा ओलीको आक्रोश
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका गतिविधिलाई प्रभावकारीरुपमा सञ्चालन गर्न केन्द्रीय विभागलाई निर्देशन दिएका छन् ।

एमालेको केन्द्रीय कार्यालय, च्यासलमा आज आयोजित केन्द्रीय विभागका प्रमुख, उपप्रमुख र सचिवहरुको बैठकमा अध्यक्ष ओलीले कार्ययोजना तयार गरी पार्टीसँग समन्वय गरेर आफ्नो विभागको कार्यक्षेत्रमा केन्द्रित भएर लाग्न तथा सरकारका गलत कामको विरोध र जनताका वास्तविक समस्यामा ध्यान दिन निर्देशन दिएका हुन् ।

यस्तै उनले तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको छानबिनका लागि गठित संसदीय विशेष समितिलाई कल डिटेल समेत हेर्न नदिएको भन्दै आक्रोश व्यक्त गरेका छन् । अध्यक्ष ओलीले समिति भित्रै रहेका सत्तारुढ दलका सांसदहरुले नै सो समितिलाई कल डिटेल हेर्न नदिएको जिकिर गरे ।

यसैबीच नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जनार्दन शर्मालाई अर्थमन्त्रीमा पुनर्नियुक्ति गरेर प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनताको संवेदनशीलतामाथि अपमान गरिएको बताएका छन् ।

बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई पहुँच दिएर करको दर हेरफर गरेको विषयमा छानबिन गर्न गठन गरिएको संसदीय विशेष समितिका सदस्यसमेत रहेका उपमहासचिव ज्ञवालीले गम्भीर प्रश्न उठेको व्यक्तिलाई पुनःनियुक्त गर्नु संवेदनशीलताको अपमान भएको उल्लेख गरे ।

आयल निगमलाई निजिकरण गर्ने भनि फैलाइएको हल्ला निराधार : उद्योग मन्त्री बडू
उद्योग, वाणिज्य तथा आपूूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले नाकाबन्दी हुँदा तत्कालिन सरकारले पेट्रोलियम पदार्थको कारोबार गर्न निजी क्षेत्रलाई अनुमति दिएको बताएका छन् ।

सिंहदरबारमा आज बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा मन्त्री बडूले नाकाबन्दी हुँदा नियमावलीका आधारमा केहि नीजि क्षेत्रलाई पेट्रोलियम पदार्थको आपूर्ति गर्ने जिम्मा दिएको बताएका हुन् ।

उनले कुन सरकारका पालामा कुनै नीजि क्षेत्रले कति पेट्रोलियम पदार्थको आयात गरेको छ भन्ने सार्वजनिक गर्ने बताए । अरवौंको चलखेलमा आयल निगमलाई निजिकरण गर्ने भनेर नेताहरुले नै निराधार भ्रमण फैलाउने काम गरेको उनको भनाई छ ।

मन्त्री बडूले अहिले पेट्रोलियम पदार्थको कारोबार निजी क्षेत्रलाई दिने सरकारको कुनै तयारी नरहेको स्पष्ट पारे । अहिलको मुख्य बिषय भने निगमभित्रको सुधार मात्रै भएको उनले बताए । उनले निगम अहिले पनि ५० करोड घाटामा रहेको र इण्डियन आयल कर्पोरेशनलाई २२ अर्व ४० करोड बुझाउन बाँकी रहेको जानकारी दिए ।

मन्त्री बडूले पेट्रोलियम पदार्थको ढूवानी नीजि क्षेत्रबाट हुने गरेको भन्दै ढूवानीको पैसा नपाएका कारण समस्या देखाउने गरेको जिकिर गरे । त्यस्तै मन्त्री बडूले यसअघि पेट्रोलियम पदार्थको मूल्य उच्च हुँदा पनि निगमले जनतालाई थप मार नपार्न अन्तराष्ट्रिय मूल्य बन्दा कममा बिक्रि गरेको जिकिर गरे । निगमलाई सरकारले सघाउने गरि नै काम गरेपनि केहि समस्या भने देखिएको उनको भनाई छ ।

फोहोर व्यवस्थापनमा केन्द्र सरकारले सहयोग नगरेको ६ वटै महानगरको आरोप 
देशका ६ वटै महागरपालिकाले फोहोर व्यवस्थापनमा संघीय सरकारले सहयोग नगरेको आरोप लगाएका छन् ।

पोखरामा भेला भएका ६ वटा महानगरका प्रमुख, उपप्रमुख तथा प्रशासकीय अधिकृतहरुको भेलाले महानगरको फोहोर व्यवस्थापनमा संघीय सरकारले सहयोग नगरेको आरोप लगाएको हो ।

पोखरामा सम्पन्न महानगरका मेयरहरुको सम्मेलनले आज ७ बुँदे पोखरा घोषणापत्र जारी गरेको छ । यस्तै, सम्मेलनका सहभागी मेयरहरुले महानगरका लागि आवश्यक छुट्टै ऐन माग गरेका छन् । ६ वटै महानगरपालिकाका मेयरले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ लगायत विभिन्न विद्यमान संघीय कानूनको परिमार्जनसँगै महानगरपालिकाका लागि छुट्टै ऐन बनाइदिन संघ सरकारसँग माग गरेका हुन् ।

निर्मलराज काफ्ले ब्राजिलका लागि आवासीय राजदूतमा नियुक्त 
ब्राजिलका लागि नेपालका आवासीय राजदूतमा निर्मलराज काफ्ले नियुक्त भएका छन् ।

संविधानको धारा २८२ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्या देवी भण्डारीले काफ्लेलाई आवासीय राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

काफ्लेको यसअघि नै संसदीय सुनुवाइ प्रक्रिया सकिएको थियो ।

१३ जना प्रहरी उपरीक्षकको काज सरुवा
प्रहरी प्रधान कार्यालयले १३ जना प्रहरी उपरीक्षकको काज सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालय अन्र्तगतको मानव स्रोत विकास विभागले आज एक विज्ञप्ति जारी गर्दै ४ जिल्लाका प्रहरी प्रमुख पनि परिवर्तन गरी काज सरुवा गरेको जनाएको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरमा ज्ञानेन्द्र प्रसाद फुयाल, सुनसरीमा प्रभुप्रसाद ढकाल, इलाममा दिलिप घिमिरे र नुवाकोटमा रमेश पण्डितलाई खटाउने निर्णय भएको छ ।

सीआईबीका प्रवक्ता समेत रहेका श्यामकुमार महतोको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुनसरी सरुवा भएको छ । सुनसरीमा कार्यरत संजयसिंह थापा सीआईबीमा सरुवा भएको छ ।

थप ६ सय २० जनामा कोरोना संक्रमण पुष्टि
नेपालमा थप ६ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ६ सय ५१ पिसिआर परिक्षणका क्रममा ४ सय ९६ जना र ३ हजार १ सय ९५ एन्टीजेन परिक्षणका क्रममा १ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप २ सय ९७ संक्रमित निको भएका छन् । हाल नेपालमा ४ हजार ५ सय ६७ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  ८ : ४६ बजे

अतिक्रमित जमिन खाली गराइने

बाँके– लामो समयदेखि अतिक्रमणमा परेको बाँकेको कोहलपुर नगर विकास समितिको

इंग्ल्याण्ड ‘सी’विरुद्ध नेपालले आज मैत्रीपूर्ण फुटबल खेल्दै

काठमाडौं– नेपाल र इंग्ल्याण्ड ‘सी’ बीचको मैत्रीपूर्ण फुटबल खेल आज

संरक्षण थालिएको ताल नै सुकेपछि…

बागलुङ– बागलुङको काठेखोला गाउँपालिका–४ तङ्ग्रामस्थित खोरताल पाँच वर्ष अगाडिसम्म पानीले

खडेरीले सुक्न थाले मकैका बोट

झापा– झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका किसान

आईपीएल : आज मुम्बई र सनराइजर्स भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इण्डियन्स र