दिनभर आज : विद्युतीय मतदानको आग्रह, देउवालाई झस्काउने शेखर गुटको बैठक | Khabarhub Khabarhub

दिनभर आज : विद्युतीय मतदानको आग्रह, देउवालाई झस्काउने शेखर गुटको बैठक


१६ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 8 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज दिनभर काठमाडौंमा नेपाली काँग्रेसका नेता शेखर कोइराला पक्षको बैठक भोलि पनि बस्ने, भारतीय राजदूत र राष्ट्रदेवीबीच भेटवार्ता, कर्मचारी बोकेको बस दुर्घटना लगायतका समाचार चर्चामा रहे ।

यी हुन् आज दिनभरका शीर्ष घटनाक्रमः

नेता शेखर कोइराला पक्षको बैठक भोलि पुनः बस्ने

नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षको बैठक भोलि पुनः बस्ने भएको छ । आज राजधानीको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बसेको कोइराला समूहको बैठक शुक्रबार दिउँसो २ बजेसम्मका लागि स्थगित भएको हो ।

आजको बैठकमा सभापति शेरबहादुर देउवाले पार्टीलाई विधानसम्मत चलाउन नसकेको निष्कर्ष निकालिएको छ । १४ औँ महाधिवेशनपछि पनि पार्टी विधान र विधिसम्मत ढङ्गले सञ्चालन हुन नसकेको भन्दै बैठकमा नेताहरूले असन्तुष्टि जनाएका थिए ।

नेताहरूले सभापति देउवाले पार्टीभन्दा सत्तालाई मात्रै केन्द्रमा राखेर काम गरेको आरोप लगाएका छन् । देउवाले स्थानीय चुनाव सकिएको लामो समय भइसक्दा पनि केन्द्रीय समिति बैठक नराखेको, भ्रातृ संस्थामा आफूखुसी नियुक्ति गरेको भन्दै असन्तुष्टि जनाएका थिए ।

विद्युतीय मतदान यन्त्र प्रयोगका लागि निर्वाचन आयोगको सरकारलाई आग्रह

निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि विद्युतीय मतदान यन्त्रको प्रयोगका लागि आवश्यक प्रबन्ध गरिदिन नेपाल सरकारलाई आग्रह गरेको छ ।

आयोगले नेपालमै निर्मित मेसिन तत्कालै उपलब्ध नहुने अवस्था आएमा आउँदो साउनसम्म विदेशबाट किनेरै भए पनि उपलब्ध गराउन आग्रह गरेको छ । यसका लागि आयोगले विद्युतीय मतदान यन्त्र प्रयोगसम्बन्धी अध्ययन प्रतिवेदन गृह मन्त्रालयमार्फत मन्त्रिपरिषदमा पेस गरिसकेको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आज एक विज्ञप्ति निकालेर जानकारी दिएका छन् ।

निर्वाचन आयोगले विद्युतीय मतदानका विषयमा अध्ययन गर्न एक अध्ययन समिति बनाएको थियो । सो समितिले विद्युतीय मतदान यन्त्र प्रयोगको विषयमा सुझावसहितको प्रतिवेदन पेश गरेको छ भने कार्यान्वयनका लागि गृह मन्त्रालयमार्फत मन्त्रिपरिषदमा पठाएको हो ।

विद्युतीय मतदान यन्त्रबाट मतदान गर्दा मत बदर हुने सम्भावना नरहेको पनि आयोगले स्पष्ट पारेको छ ।

मतपत्रमार्फत मतदान गर्दा पाँचदेखि आठ प्रतिशतसम्म मत बदर हुने गरेको पाइएकाले विद्युतीय मतदान मेसिनका सम्बन्धमा लामो समयदेखि चर्चा हुँदै आए पनि कार्यान्वयन भने भएको छैन ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन समयमै सम्पन्न हुन्छः देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन समयमा नै सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

६४ औं संसद दिवसको अवसरमा पूर्वसांसद मञ्चले आज सघीय संसद भवन नयाँ बानेश्वरमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणालीलाई बलियो बनाउन आवधिक निर्वाचनले महत्वपूर्ण भूमिका खेल्ने भन्दै निर्वाचन समयमै गरिने बताएका हुन् ।

प्रधानमन्त्री देउवाले मुलुकको शासन प्रणालीलाई बलियो बनाउँदै विकासको गतिमा अगाडि बढाउन सबैले भूमिका खेल्नुपर्ने धारणा राखे ।

उनले संसद र संसदीय समितिको निर्णयहरुलाई सरकारले प्राथमिकताका साथ कार्यान्वन गर्ने स्पष्ट पारे ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले दुई तिहाई मत प्राप्त सरकारले अपेक्षित काम गर्न नसकेको कारण जनतामा निराशा छाएको बताए ।

उनले देशको सामाजिक, आर्थिक तथा सांस्कृतिक रूपान्तरणका लागि संसद्लाई सम्मान ढंगका साथ अघि बढाउनुपर्ने जिकिर गरे ।

त्यस्तै काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसदीय प्रणालीलाई इमान्दारीतापूर्वक बलियो बनाउन सबै गम्भीर हुनुपर्ने बताए । उनले सांसदहरुले आफ्नो संसदको दायित्व निर्वाह गर्नुपर्ने समेत बताए ।

कार्यक्रममा कानुनमन्त्री गोविन्द शर्मा कोइरालाले संसदलाई मर्यादित बनाउनका लागि सांसदहरुको भूमिका महत्वपूर्ण हुने तर्क गरे ।

राष्ट्रिय सुरक्षामा बाह्य हस्तक्षेप बढ्योः भीम रावल

नेकपा (एमाले) का नेता डा. भीमबहादुर रावलले नेपालको राष्ट्रिय सुरक्षामा बाह्य हस्तक्षेप बढेको बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले बाहिरी हस्तक्षेप नरोके देशले कष्टकर दिन भोग्नुपर्ने समेत बताए ।

साथै रावलले नेपालले स्वतन्त्र र असंलग्न परराष्ट्र नीतिलाई बढावा दिनुपर्नेमा जोड दिए । रावलले एसपीपीमा नेपाल संलग्न नहुने भनेर सरकारले भनेपछि त्यस सम्बन्धमा लेखिएको पत्र सार्वजनिक गर्न माग गरे । उनले संसद् र संसद्को अन्तर्राष्ट्रिय समितिले एसपीपीबारेका दस्तावेज माग गर्दा पनि सरकारले उपलब्ध नगराएको भन्दै आपत्ति जनाए ।

रावलले नेपाललाई सैनिक अड्डामा परिणत गर्ने काम कसैबाट पनि हुन नहुनेमा जोड दिए ।

उनले सबै असमान सन्धि र सम्झौताबाट देशलाई मुक्त गर्नुपर्नेमा जोड दिए । यस्तै, रावलले आगामी आम निर्वाचनमा आफ्नो दल एक्लै निर्वाचनमा जाने स्पष्ट पारे ।

अनधिकृत व्यक्ति प्रवेश गरेकोबारे सीसीटिभी फुटेज हेर्नुपर्छः सुवास नेम्वाङ

नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले करका दर परिवर्तन गर्दा अनाधिकृत व्यक्ति अर्थमन्त्रालयमा प्रवेश गरेको विषयमा सीसीटिभी फुटेज हेरेर सरकारले स्पष्ट पार्नुपर्ने बताएका छन् ।

संसद दिवसका अवसरमा आज संसद भवन बानेश्वरमा आयोजित कार्यक्रममा नेम्वाङले अर्थमन्त्रालयमा अनधिकृत व्यक्ति गएर करको दायरा हेरफेर गरेको विषयमा प्रतिपक्षीले सदनमा आवाज उठाइरहेको भन्दै यस बिषयमा सीसीटीभी फुटेज हेरेर सरकारले जवाफ दिनुपर्ने बताएका हुन् ।

त्यस्तै उनले एसपीपीका बिषयमा पठाइएको पत्रका विषयमा प्रश्न उठेपछि रक्षा मन्त्रालय र सेनाले सो पत्र सदनमा पठाउनुपर्ने जिकिर गरे ।

सदनमा पत्र आएसकेपछि त्यसमा संलग्नका बारे स्पष्ट हुने र संसदको भूमिका पनि प्रभावकारी हुने उनले बताए ।

उनले सांसदहरुले उठाएका प्रश्नको स्पष्ट जवाफ आउन नसके सदन कमजोर हुने धारणा राखे ।

नेम्वाङले प्रतिपक्षीलाई बाहिर राखेर छलफल गर्ने कुरा संसदीय अभ्यासभित्र नपर्ने भन्दै यसमा सबैले ध्यान दिनुपर्ने उल्लेख गरे ।

उनले अहिले पनि उपसभामुख र राष्ट्रियसभा उपाध्यक्षको पद खालि रहेको भन्दै यसको जिम्मेवारी सवै दलले लिनुपर्ने बताए ।

मुलुकको आर्थिक विकासमा जोड दिनुपर्छः कार्की

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दक्षिण एसियाकै धनी पुस्ताको रुपमा अगाडि बढाउने गरी मुलुकको आर्थिक विकास गर्नुपर्नेमा जोड दिएका छन् ।

चलचित्र विकास बोर्डको २२औँ वार्षिकोत्सवको अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री कार्कीले सबै क्षेत्रको योगदानबाट मुलुकलाई १० बर्षभित्र दक्षिण एसियाकै धनी पुस्ताको रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिएका हुन् ।

कार्कीले चलचित्र क्षेत्रलाई विशिष्ट उद्योगको रुपमा विकास गर्ने उद्देश्यअनुरुप मन्त्रालयले त्यससँग सम्बन्धित आवश्यक संरचना तयार गरिरहेको जानकारी दिए ।

चलत्रिच क्षेत्रले आर्थिक, सामाजिक र सांस्कृतिक विकाससँगै समृद्ध मुलुक निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने मन्त्री कार्कीको भनाइ थियो । कार्यक्रममा ‘उत्कृष्ट कर्मचारी सम्मान–२०७७’ कार्यालय सहयोगी हरिबहादुर केशी र सहायक खरिदार सिर्जना रायमाझीलाई प्रदान गरिएको थियो । पुरस्कारको राशि क्रमशः १५ र २५ हजार रुपैयाँ रहेको छ ।

बोर्डले भुवन केसी, डा भोला रिजाल, सानुकुमार ताम्राकार, राजाराम पौडेल, शिव ढकाल र किरणकुमार केसीलगायत ६२ जना चलचित्रकर्मीलाई विशिष्ट चलचित्र परिचयपत्र प्रदान गरेको छ ।

जसपाले बोलायो केन्द्रीय कार्यसमितिको बैठक, बाबुराम भट्टराई अलग हुने

जनता समाजवादी पार्टीले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

पार्टीभित्रको विवाद चुलिएपछि केन्द्रीय कार्यसमिति बैठक असार २७ गतेका लागि बोलाइएको हो ।

बैठक यसपटक मधेस प्रदेशको वीरगन्जमा बोलाइएको केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले जानकारी दिए ।

पार्टी अध्यक्ष उपेन्द्र यादवले हालै सरकारबाट मन्त्री फिर्ता बोलाउने निर्णय गरेका थिए । नयाँ मन्त्रीलाई पठाउने गरी मन्त्री फिर्ता बोलाएका यादवले कारवाहीको अधिकार पनि आफैँले राखेका थिए ।

यादवको निर्णयप्रति बाबुराम भट्टराई खेमाका नेताहरुले विरोध गर्दै आएका थिए । यादवको निर्णयप्रति असन्तुष्ट रहनुभएका भट्टराईले पार्टीबाट अलग हुने घोषणा गरिसकेका छन् ।

ग्रामीण क्षेत्रमा डाक्टर र नर्स पठाउन समस्या भएको छः स्वास्थ्यमन्त्री

स्वास्थ्यमन्त्री भवानी प्रसाद खापुङले गाँउ क्षेत्रमा डाक्टर र नर्स पठाउन समस्या भएको बताएका  छन् ।

नेपाल स्वास्थ्य प्राविधिक संघको ४४ औं स्थापना दिवसका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री खापुङले बिभिन्न जिल्लाबाट डाक्टर र नर्स पठाउनुपर्ने भन्दै गुनासो आएको तर कोहि जान तयार नरहेको बताएका हुन् ।

डाक्टर र नर्स जान नमानेका कारण नै केहि जिल्लामा चिकित्सको अभाव भएको उनले बताए ।

उनले सरकारले पठाएको जुनसुकै स्थानमा पनि जानका लागि चिकित्सकहरुले मानसिकता बनाउनुपर्ने धारणा राखे ।

मन्त्र खापुङले समायोजनको बिषयमा पनि कर्मचारीहरुबाट अनेक समस्या आएको उल्लेख गरे । कार्यक्रममा संघले बिभिन्न व्यक्तिहरुलाई सम्मान गरेको थियो ।

बागमती प्रदेशको बजेट बहुमतले पारित

प्रदेश सञ्चालनका लागि बागमती प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रदेशसभाबाट आज बहुमतले पारित भएको छ ।

विगत जस्तै असार १ गते प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट बागमती प्रदेशसभाको आज बसेको बैठकबाट बहुमतले पारित भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकटेलले पेश गर्नुभएको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक सर्वसम्मतबाट तथा बजेट विनियोजन विधेयक, २०७९ बहुमतले पारित भएको हो । बै

ठकमा बजेटको पक्षमा सतापक्ष गठबन्धनका सांसदहरु उभिएका थिए । प्रदेशसभामा रहेका १ सय ७ प्रदेशसभा सदस्यमध्ये गठबन्धनसँग ५९ सदस्य रहेका छन् ।

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ७० अर्ब ९३ करोड ९२ लाखको बजेट ल्याएको थियो । प्रदेश सरकारले आज पारित गरेको बजेट चालु आर्थिक वर्षकोभन्दा रु १३ अर्बले बढी छ ।

यसैबीच बाग्मती प्रदेश सभाबाट बजेट पास भएसँगै मुख्यमन्त्री परिवर्तन गर्न सत्तारुढ गठबन्धनकै नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदहरुको हस्ताक्षर संकलन सुरु गरिएको छ ।

वाग्मती प्रदेशका मुख्कयमन्त्री राजेन्द्र पाण्डेले केन्द्रको निर्देशन बिना सहजै मुख्यमन्त्रीको पद परित्याग नगर्ने बताएपछि कांग्रेस र माओवादीले आफ्ना सांसदहरुको हस्ताक्षर संकलन गर्न सुरु गरेको हो ।

भारतीय राजदूत र राष्ट्रपतिबीच भेटवार्ता

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज नेपालका लागि मित्रराष्ट्र भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवले आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित सो अवसरमा परराष्ट्रमन्त्री डा नारायण खड्कासहित नेपाल सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति रहेको थियो । आजै राजदूत श्रीवास्तवले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

सो अवसरमा उनले हालै प्रधानमन्त्री देउवाको भारत भ्रमण र प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ तुल्याएको बताउँदै भारत–नेपाल सम्बन्धलाई अझ सुमधुर बनाउन आफू क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरेको यहाँस्थित भारतीय राजदूतावासले जनाएको छ ।

तीन जना चिनियाँ नागरिक पक्राउ

कास्कीको पोखराको ड्यामसाइडमा चिनियाँ नागरिकहरुले सञ्चालन गरेको कम्पनीमा अवैध गतिविधिको आशंकामा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

अवैध गतिविधि गरेको आशंकामा प्रहरीले आज दिउँसो छापा मारी ३ जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको हो ।

ती चिनियाँहरुले सूचना प्रविधि (आइटी)सम्बन्धी कम्पनीमार्फत् मानिसहरुलाई जागिर लगाइदिने प्रलोभन देखाएर ठगी गर्दै आएको प्रहरीले जनाएको छ । उनीहरु अन्य अवैध गतिविधिबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

कास्की प्रहरी प्रमुख एसपी रमेश थापाले ३ चिनियाँ नागरिकलाई सोधपुछ तथा थप अनुसन्धानका लागि नियन्त्रणमा लिएको जानकारी दिए ।

काभ्रेमा कर्मचारी बोकेको बस दुर्घटना हुँदा ४० जना घाइते

काभ्रेमा अपांग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्रका कर्मचारी बोकेको बस दुर्घटना हुँदा ४० जना घाइते भएका छन् ।

कर्मचारी बोकेर निस्केको बनेपा–१० स्थित अस्पतालको बा१ज ५७४७ नम्बरको मिनिबस बाइकलाई साइड दिने क्रममा सडकको डिल भासिएपछि खसेको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक राजेश सिलवालले जानकारी दिए ।

घाइतेको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

नेपालमा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ५ सय ३२ पिसिआर परीक्षणका क्रममा ३६ जना र १ हजार १ सय ६६ एन्टीजेन परिक्षणका क्रममा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै थप १७ संक्रमित कोरोनामुक्त भएका छन् ।

हाल नेपालमा २ सय ८० सक्रिय संक्रमित आइशोलशेनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

१४ वर्षीया किशोरीको शव प्रहरीको नियन्त्रणमा

पर्साको बहुदरमाई नगरपालिका–७ बिश्रामपुरबाट जलाउँदै गरेको अवस्थामा १४ वर्षीया किशोरीको शव प्रहरीले नियन्त्रणमा लिएको छ ।

छपकैयास्थित आर्यघाटमा आधा जलेको शव प्रहरीले नियन्त्रणमा लिएको हो । शंकास्पद रुपमा मृत्यु भएकी १४ वर्षीया महिमा कुमारीको शव प्रहरी र गाउँलेलाई जानकारी नै नदिई परिवारले अन्त्येष्टि गरेका थिए ।

परिवारले घरमै विष सेवन गरेर उनले आत्महत्या गरेको बताएका छन् ।

घटनाबारे अनुसन्धानका लागि मृतकको दिदी, आमा र ठूलीआमालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक प्रल्हाद कार्कीले जानकारी दिए ।

खबर पाए लगत्तै प्रहरी परिचालन गर्दा पनि शरीरको ५० प्रतिशत भाग जलिसकेको उनको भनाइ छ ।

सो घटना आत्महत्या हो या हत्या गरेर जलाउन खोजिएको हो ? भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मलामी गएका केही मानिस प्रहरीलाई देखेपछि भागेका थिए ।

निजगढ विमानस्थलको माग राखेर गरिएको अनशन स्थगित

बाराको निजगढमा निर्माणाधीन विमानस्थल सरोकार समितिले,विमानस्थल निर्माणको माग राखेर विगत २४ दिनदेखि जारी गरेको अनशन स्थगित गरेको छ ।

जेठ १२ गते निजगढ विमानस्थल बारे सर्वोच्च अदालतबाट भएको निर्णयको पूर्णपाठमा भने निजगढमा बन्ने भनिएको विमानस्थल निर्माणमा रोक नलगाएको हुँदा अनशन स्थगित गरेको हो ।

सर्वोच्च अदालतले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न रोक लगाएको विरोधमा निजगढस्थित सहिद चोकमा गत जेठ २४ गतेबाट सुरु भएको रिले अनशनको २४ औं दिनमा पूर्व मन्त्री पुरुषोत्तम सोत्तम पौडेलले जुस पिएर अनसन तोडेका हुन् ।

१ अर्ब २२ करोड ७१ लाखको मास्क आयात

नेपालमा चालु आर्थिक वर्षको ११ महिना (साउन–जेठ)को अवधिमा १ अर्ब २२ करोड ७१ लाख रुपैयाँको मास्क आयात भएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार सो अवमिा १४ करोड ९७ लाख ६० हजार गोटा मास्क नेपाल भित्रिएको छ । यसबाट सरकारले ८ करोड ५२ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

यद्यपि मास्क आयात गतवर्षको यसै अवधिको तुलनामा कम हो । गत वर्षको ११ महिनामा २ अर्ब ४ करोड ७२ लाख मूल्यको २४ करोड २९ लाख गोटा मास्क आयात भएको थियो ।

चालु आर्थिक वर्षको पहिलो ११ महिनामा नेपालबाट ११ लाख ८९ हजार वटा मासक निर्यात पनि भएको छ । करिब १० लाख ८१ हजार मूल्यको मास्क निर्यात भएको हो । मास्कमा मात्रै नेपालको व्यापार घाटा १ अर्ब २२ करोड ७० लाखभन्दा बढी छ ।

नेपालमा चीन, भारत, दक्षिण कोरिया, बंगलादेश, अमेरिका, बेलायत, थाइल्यान्ड, स्वीटजरल्यान्ड लगायतका देशबाट मास्क आयात हुने गरेको छ । यो वर्ष ११ महिनाको अवधिमा फेस मास्क उत्पादन गर्ने २१ वटा मेसिन नेपाल भित्रिएको छ ।

यस्तै ३ करोड २४ लाख ३६ हजार मूल्यका मेसिन आयात भएको देखिन्छ ।

शेयर बजार दोहोरो अंकले बढ्यो

शेयर बजार आज पनि दोहोरो अङ्कले बढेको छ । नेप्से आज ७४ दशमलव ९३ अङ्कले बढेर २ हजार ३७ दशमलव ६४ विन्दुमा पुगेको हो ।

आज सबै समूहको शेयर बढेर बजार हरियाली छाएको छ । नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । दुई सय २७ वटा कम्पनीका ७२ लाख ५४ हजार कित्ता शेयर दुई अर्ब ४५ करोड ८६ लाख १९ हजार ४ सय ९५ रुपैयाँमा कारोबार भएको छ ।

आज नेपाल फाइनान्स, मैलुङखोला जलविद्युत्, न्यादी हाइड्रो, सीवाईसी नेपाल लघुवित्त, आँधीखोला लघुवित्त र सूर्योदय ओमी लघुवित्तको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । आज ६ वटा कम्पनीको शेयर मात्रै सामान्य घटेको छ ।

कारोबार रकमका आधारमा आज शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी, एसियन लाइफ, अरुणकाबेली पावर, लाइफ इन्स्योरेन्स कर्पोरेसन क्रमशः अगाडि रहेका छन् ।

बेलायतले युद्धग्रस्त युक्रेनलाई थप १० अर्ब पाउन्ड स्टर्लिंग सहायता उपलब्ध गराउने

बेलायतले युद्धग्रस्त युक्रेनलाई थप १० अर्ब पाउन्ड स्टर्लिंग सहायता उपलब्ध गराउने भएको छ ।

रुससँग जारी युद्धमा युक्रेनको सैनिक क्षमतालाई विस्तार गर्न थप १० अर्ब पाउन्ड सहयोग उपलब्ध गराउने भएको हो ।

योसँगै किएभलाई सैन्य सहायताका लागि बेलायतले २ अर्ब ३० करोड पाउन्ड र मानवीय सहायताका लागि १ अर्ब ५० करोड पाउन्ड उपलब्ध गराएको छ ।

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले सो सहायताले युक्रेनको प्रतिरक्षा क्षमता अभिवृद्धि गर्ने दाबी गरेका छन् ।

युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले नाटोको शिखर सम्मेलनमा क्रममा सहयोग गर्न अपिल गर्नुभएपछि बेलायतले पुन सहयोग प्रदान गर्ने भएको हो ।

यता अमेरिकाले पनि युक्रेनको लागि ३३ अर्ब अमेरकी डलर सहायताको घोषणा गरिसकको छ ।

गत फेब्रुअरी २४ देखि रुसले युक्रेनमा आक्रमण जारी राखेको छ ।

प्रकाशित मिति : १६ असार २०७९, बिहीबार  ९ : १८ बजे

सांसद्‌हरू भन्छन्‌ – ‘विद्युत प्रसारणलाइनमा पनि निजी क्षेत्रलाई संलग्न गराऔं’

काठमाडौं – विद्युत प्रसारणलाइन विस्तारमा पनि  निजी क्षेत्रलाई भूमिका दिनुपर्ने

चेपाङ आवास कार्यक्रम : इच्छाकामनामा २२ घर निर्माण

भरतपुर– चेपाङ आवास कार्यक्रमअन्तर्गत इच्छाकामना गाउँपालिकामा २२ घर निर्माण भएका

काठमाडौँमा फेरि बढ्यो वायु प्रदूषण

काठमाडौं– काठमाडौँ उपत्यकाको वायु प्रदूषण फेरी बढेको छ । मुलुकको

मल ल्याउने ठेक्का भारतीय कम्पनीलाई, किसानको सास्ती हट्ला ?

काठमाडौं – सरकारले बर्खेखेतीका लागि ३० हजार टन युरिया मल

ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– टर्कीएका लागि नेपालका गैरआवासीय राजदूत तापस अधिकारीले त्यहाँका राष्ट्रपति