दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू (अडियोसहित) | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू (अडियोसहित)


१३ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 6 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  आज दिनभर प्रधानमन्त्री देउवा र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेटवार्ता, संसदीय छानबिन समितिले सभामुखलाई प्रतिवेदन बुझायो, तत्काल समाजवादी केन्द्र बन्ने कुनै सम्भावना नरहेको प्रचण्डको भनाइ, माओवादी केन्द्रको प्रदेश बैठकको मिति परिवर्तन, नेपालमा बाघको संख्या ३ सय ५५ पुग्यो, साढे दुई करोड रुपैयाँ बीमा रकम हत्याउन नक्कली बिहे गरेर श्रीमानको हत्या, हनी ट्रयापिङमा पारेर मोलमलाई गरेको अभियोगमा दुई जना पक्राउ लगायतका समाचारले मुख्य स्थान पाए ।

 

यी हुन् आज दिनभरका शीर्ष समाचारहरूः

प्रधानमन्त्री देउवा र विदेशमन्त्री लुबीच भेटवार्ता
प्रधानमन्त्री शेर बहादुर देउवासंग संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एशिया मामिलाका सहायक विदेशमन्त्री डोनाल्ड लुले शिष्टाचार भेटवार्ता गरेका छन् ।

बालुवाटारमा आज भएको भेटवार्तामा दुईपक्षिय सम्बन्धका बिषयमा कुराकानी भएको प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ । यसअघि आज नै विदेशमन्त्री लुले परराष्ट्रमन्त्री डा नारायण खड्कासंग पनि भेटवार्ता गरेका थिए ।

भेटका क्रममा उनीहरुबीच द्विपक्षीय आर्थिक र विकास सहयोग, खाद्य सुरक्षा, कोभिड–१९ विरुद्धको खोपलगायत सहयोगका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । यस्तै मन्त्री लुले नेपाल बसाईका क्रममा उद्योगी, नागरिक समाज र सरकारका नेतृत्वकर्तासँग भेट्ने अमेरिकास्थित नदूतावासले जनाएको छ ।

दूतावासले लुको नेपाल भ्रमण नियमित भएको पनि स्पष्ट पारिसकेको छ । तीन दिने नेपाल भ्रमणका लागि अमेरिकी मन्त्री लु हिजो दिउँसो काठमाडौं आइपुगेका थिए ।

संसदीय छानबिन समितिले सभामुखलाई बुझायो प्रतिवेदन

बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नतामा करका दर हेरफेर गरिएको भन्ने विषयमा छानबिन गर्न बनेको संसदीय छानविन विशेष समितिले करको दर निर्धारणमा अनधिकृत व्यक्ति प्रवेश गरेको नदेखिएको निष्कर्ष निकालेको छ ।

प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा बुझाइएको सो प्रतिवेदनमा सिसिटिभी फुटेजको अध्ययन गर्दा करको दर निर्धारणमा अनधिकृत व्यक्ति प्रवेश गरेको नदेखिएको उल्लेख छ । करका दरले अर्थतन्त्रमा पारेको प्रभावको नियमित अध्ययन, संसद्को विषयगत समितिले नै गर्ने हुँदा त्यसतर्फ यस समितिले थप केही गर्नुपर्ने नदेखिएको पनि प्रतिवेदनमा उल्लेख छ ।

अर्थ मन्त्रालयबाट ‘एनभिआर सिस्टम’ प्राप्त भएको र त्यसबाटसमेत समितिले खोजी गरेको मितिको फुटेज नभेटिएको समितिका सदस्य लक्ष्मणलाल कर्णले बताए ।समितिले अर्थ मन्त्रालयको सिसिटिभी जडान र अभिलेख निरीक्षण गरेको थियो । मन्त्रालय र मातहतको पदाधिकारीसँग छलफल गरिएको उनले जानकारी दिए ।

उनले फरक मतका साथ प्रतिवेदन तयार गरिएको बताए । सभामुख अग्नीप्रसाद सापकोटाले छानविन गर्ने जटिल कामलाई सम्पन्न गरेकोमा समिति सदस्यहरुलाई धन्यवाद दिए । प्रतिवेदनलाई सर्वसम्मत बनाउने प्रयास भए पनि कतिपय विषयमा सर्वसम्मत हुन नसकेकाले फरक मतका रुपमा प्रतिवेदनमा समेटिएको भने बिभिन्न सुझाव पनि दिइएको छ ।

संसदीय छानविन समिति गठन भएपछि अर्थमन्त्री शर्माले पदबाट राजीनामा दिएका थिए । गत असार २२ गते बसेको प्रतिनिधिसभा बैठकमा सभामुख सापकोटाले सो सम्बन्धमा छानबिन गर्न ११ सदस्यीय छानविन विशेष समिति गठन गरिने घोषणा गरेका थिए ।

प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १७७ बमोजिम सांसद कर्णको सभापतित्वमा गठित समितिमा सांसद खगराज अधिकारी, देवप्रसाद गुरुङ, पुष्पा भुसाल (गौतम), प्रदीपकुमार ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, लक्ष्मणलाल कर्ण, शक्तिबहादुर बस्नेत, सीताराम महतो, सरलाकुमारी यादव र सुरेन्द्रप्रसाद यादव रहेका थिए ।

संसदीय छानविन समितिले पूर्णरुपमा काम गर्न नसकेको टिप्पणी
नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले संसदीय छानविन समितिले पूर्णरुपमा काम गर्न नसकेको बताएका छन् ।

छानविन समितिका सदस्य समेत रहेका ज्ञवालीले आज संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै अर्थमन्त्रालयमा अनाधिकृत व्यक्ति प्रवेश गरेको बिषयमा सीसीटिभि बाहेक अन्य बिषयमा अनुसन्धान हुन नसकेको बताएका हुन् । उनले समितिमा रहेका सत्तापक्षका सांसदहरुका कारण छानविन पूर्ण हुन नसकेको आरोप समेत लगाए ।

अनधिकृत भनिएका व्यक्तिहरुको कल डिलेज लिने र लोकेशन लिने तथा सो समयमा मन्त्रालयमा रहेका व्यक्तिहरुको नाम संकलन गरेर सोधपुछ गर्ने काममा पनि समिति सफल हुन नसकेको उनको भनाई छ ।

अनुसन्धान पुर्ण हुन नसक्दा निष्कर्ष पनि पूर्णरुपमा पुग्न नसकेको भन्दै ज्ञवालीले आफु मन्त्रालयमा अनाधिकृत व्यक्ति प्रवेश गरेको भन्ने बिषय निराधार हो भन्ने अवस्थामा पुग्न नसकेको बताए । उनले अहिले व्यक्ति, पार्टी र सरकार भन्दा पनि पद्धती मुख्य बिषय भएको र समितिमा तथ्यमा नै पूर्ण रुपमा छलफल हुन नसकेको तर्क गरे । उनले समितिले बनाएको कार्यबिधि अनुसार पनि काम हुन नसकेको जिकिर गरे ।

तत्काल समाजवादी केन्द्र बन्ने कुनै सम्भावना नरहेको प्रचण्डको भनाइ
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले तत्काल समाजवादी केन्द्र बन्ने कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन् । काठमाडौंमा आज नेपाल प्रेस सेन्टरको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले अहिले नै समाजवादी केन्द्र बनिहाल्ने चर्चा चलेको भन्दै तत्काल समाजवादी केन्द्र बनाउनका लागि छलफल नै नभएको बताएका हुन् ।

प्रचण्डले गठबन्धनभित्र रहेका बिचार मिल्ने दलहरुबीच चूनावी मोर्चा बनाउन सकिन्छ कि भन्ने छलफल मात्र भएको जिकिर गरे । अध्यक्ष प्रचण्डले अहिले पनि गठबन्धनको आवश्यकता रहेको भन्दै प्रदेश र संघको निर्वाचनमात्रै नभई आवश्यकता अनुसार शान्ति प्रक्रिया टुङ्गोमा नपुगेसम्म र नयाँ परिस्थीति नवनेसम्म गठबन्धन कायमै रहने बताए ।

उनले स्थानीय निर्वाचनमा गठबन्धनबीच भएको चूनावी तालमेलको अनुभव मिठो नरहेको र प्रदेश र संघको निर्वाचनमा यसअघिको शिक्षा लिएर राम्रो तयारीका साथ जानुपर्ने बिषयमा गठबन्धनबीच छलफल भइरहेको धारणा राखे ।

प्रचण्डले यसअघि राष्ट्रवादी भन्ने दलहरुले नै एसपीपी जस्ता राष्ट्रघाति कामहरु भएको भन्दै एसपीपी खारेज गर्नुपर्छ भने आफुले नै सुरुमा आवाज उठाएको बताए । उनले वर्तमान सरकारले राम्रो काम गरेकै कारण अर्थमन्त्रीलाई बदनाम गर्न खोजिएको समेत बताए । उनले निर्वाचन नजिकिदै गएको अवस्थामा सरकार र माओवादीले गरेका राम्रा कामको प्रचार गर्न पनि पार्टी निकट पत्रकारहरुलाई आग्रह गरे ।

माओवादी केन्द्रको प्रदेश बैठकको मिति परिवर्तन
यसैबीच नेकपा (माओवादी केन्द्र) ले बिभिन्न प्रदेशका बैठकको मिति परितर्वन गरेको छ । पार्टी कार्यालय पेरिसडाडामा आज बसेको माओवादी स्थायी कमिटी बैठकले साउन २१ गतेदेखि प्रचण्डको जापान भ्रमण तय भएका कारण पूर्वनिर्धारित प्रदेशका बैठकहरुको मिति परिवर्तन गर्ने निर्णय गरेको हो ।

बैठकपछि माओवादी प्रवक्ता कृष्णबहादुर महराले साउन २९ गते तय भएको मधेश प्रदेशको बैठक भाद्र २ गते बस्ने, प्रदेश १ को बैठक साउन २६ गते, लुम्विनी प्रदेशको साउन २९ गते, कर्णाली प्रदेशको साउन ३१ गते र सुदूरपश्चिमको बैठक भाद्र चार गते बस्ने जानकारी दिए ।

त्यस्तै प्रवास कमिटीको बैठक ६ गते, विशेष प्रदेशको चार गते र सम्पर्क मञ्चको भाद्र ८ गते बैठक बस्ने प्रवक्ता महराले जानकारी दिए । स्थायी कमिटीको साउन १५ गते बस्ने बैठकले पदाधिकारीको टुङ्गो लगाउने उनले बताए ।

नेपालमा बाघको संख्या ३ सय ५५ पुग्यो

पछिल्लो समय बाघको सङ्ख्या वृद्धि भएर ३५५ पुगेको छ । विश्व बाघ दिवस २०२२ को अवसरमा आज राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो ।

राष्ट्रिय बाघ तथा आहार प्रजाति सर्वेक्षण प्रतिवेदन २०२२ का अनुसार बाघको सङ्ख्यामा चार वर्षमा ५१ प्रतिशत बृद्धि भएको हो । हाल नेपालमा ३ सय ५५ वयश्क बाघ रहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनअनुसार पर्सा राष्ट्रिय निकुञ्ज तथा वरपरको वन क्षेत्रमा ४१, चितवन राष्ट्रिय निकुञ्ज तथा वरपरको वन क्षेत्रमा १२८, बाँके राष्ट्रि निकुञ्ज र वरपरको वन क्षेत्रमा २५, बर्दिया राष्ट्रिय निकुञ्ज र वरपरको क्षेत्रमा १२५ र शुक्लाफाँटा लालझाडी जोगबुढाक्षेत्रमा ३६ गरी जम्मा ३५५ बाघ रहेको उल्लेख गरीएको छ ।

बाघको सङ्ख्या एकिन गर्न तराई आर्क ल्याण्डस्केप अन्तर्गतका १५ जिल्लामा अकुपेन्सी सर्वेक्षण गरिएको वन तथा वातावरण मन्त्रालयका सचिव डा पेमनारायण कँडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

अविलम्ब संसदीय चुनावको मिति घोषणा गर्नुपर्ने राप्रपाको माग
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले अविलम्ब संसदीय चुनावको मिति घोषणा गर्न माग गरेका छन् ।

मोरङको विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले सङ्घीय संसद् र प्रदेशसभा सदस्य पदका लागि मङ्सिरमा निर्वाचन गर्न र निर्वाचनको मिति अविलम्ब घोषणा गर्न माग गरेका हुन् ।

एक प्रश्नको जवाफमा अध्यक्ष लिङ्देनले मुलुकको परराष्ट्र नीति सन्तुलनमा राख्न असंलग्न परराष्ट्र नीतिका आधारमा अघि बढ्न सुझाव दिए । वर्तमान गठनबन्धन सरकारले दलीय एवं व्यक्तिगत स्वार्थ त्यागी जनतालाई सर्वोपरि ठानेर महँगी नियन्त्रणलगायतका काम गर्न पनि उनले आग्रह गरे ।

साढे दुई करोड रुपैयाँ बीमा रकम हत्याउन नक्कली बिहे गरेर श्रीमानको हत्या

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले वीमा वापतको ठूलो रकम भुक्तानी लिन विवाह दर्ता गरी सवारी दुर्घटना गराएको अभियोगमा ६ जनालाई पक्राउ गरि अनुसन्धान सुरु गरेको छ ।

व्युरोले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बाँकेको कोहलपुर बस्ने २१ वर्षीय सर्जन बिकको सवारी दुर्घटना गराएर हत्या र हत्यापश्चात् बीमा रकम असुल गरिएको सम्बन्धमा ६ जनालाई पक्राउ गरी संगठित अपराध र ठगीमा म्याद थप गरी अनुसन्धान सुरु गरेको जनाएको हो ।

पक्राउ परेका बाँके कोहलपुरका सपना मल्ल, सञ्जीव अर्याल, सरदार अहमद खाँ, टोपबहादुर राना, दीपक केसी र ललिता सापकोटा रहेका छन् । उनीहरुले गत २ गते कोहलपुर नगरपालिकामा २१ वर्षीय सर्जन विकको योजनाबद्ध दुर्घटना गराई साढे २ करोड बराबरको बीमा रकम लिएको अनुसन्धानबाट खुलेको व्युरोका प्रहरी अतिरिक्त महानिरिक्षक उत्तम राज सुवेदीले जानकारी दिएका छन् ।

उनीहरुले सवारी दुर्घटना गराएर बीमा रकम दावी गर्ने उद्देश्यले सपना मल्लसँग सर्जनको विवाह दर्ता गराएका थिए । दुर्घटनामा सर्जनको मृत्यु भएपछि गत साउन १४ गते रिलायन्स लाइफ इन्स्युरेन्सबाट सपनाले बीमा रकम बुझेर कामना सेवा विकास बैंक कोहलपुरको खातामा जम्मा गरेको देखिएको छ । उनीहरुले ग्राण्ड डिजाइनमा योजना बुनेको प्रहरी अतिरिक्त महानिरिक्षक सुवेदीले बताए ।

हनी ट्रयापिङमा पारेर मोलमलाई गरेको अभियोगमा दुई जना पक्राउ
हनी ट्रयापिङमा पारेर मोलमलाई गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोलुखुम्बुका २४ वर्षीय शेखर बाँस्तोला र उनकी पत्नी २० वर्षीया रोजिना राउत रहेका छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरका एसपी कृष्णप्रसाद कोइरालाका अनुसार उनीहरुले सामाजिक सञ्जालको माध्यमबाट चिजनान भएका पुरुषसँग अश्लिल कुराकानी गरेर फसाइदिने भन्दै मोलमोलाई गर्ने गरेका थिए ।

पक्राउ परेका दुवैले काठमाडौं उपत्यकाको विभिन्न स्थानमा अपराधिक लाभ लिने उद्देश्यले योजनावद्ध तरिकाले सामाजिक सञ्जाल फेसबुकमा महिला परिचालन गरेर फोनको आदानप्रदान गरी सम्पर्क समन्वय गराएर झुटा मुद्दा लगाएर फसाउने डर धम्की देखाउने गरेको पाइएको प्रहरीले जनाएको छ ।

यस्तै पक्राउ परेका बास्तोलाले आफु साइबर ब्युरोको प्रहरी निरीक्षक भनेर परिचय गराउने गरेको पाइएको पनि प्रहरीको भनाइ छ । ब्याल्क मेल गरेर रकम असुल गरेको उजुरी प्राप्त भएपछि प्रहरीले उनीहरूलाई बानेश्वरबाट पक्राउ गरेको हो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ ।

महोत्तरीको गौशालामा छुरा प्रहार गरेर पाँच लाख लुटियो
महोत्तरीको गौशालामा छुरा प्रहार गरेर पाँच लाख रुपैयाँ लुटिएको छ । गौशाला नगरपालिका वडा नं. २ बाट आज दिउँसो रामगोपालपुर नगरपालिका– ७ सहसौलाका ३५ वर्षीय अरुण कुमार चौधरीमाथि छुरा प्रहार गरि सो रकम लुटिएको हो ।

प्र. २–०२–००४ प ३३४७ नम्बरको मोटरसाइकलमा सम्सीतर्फ गइरहेको समयमा चौधरीको बाँया तिघ्रामा छुरा प्रहार गरि घाइते बनाएर अज्ञात व्यक्तिहरूको एक समुहले सो रकम लुटेको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा घरतर्फजाने क्रममा ,मोटरसाइकलमा रहेका तीन जनाको अपरिचित समूहले मोटरसाइकलबाट झरेर आफूमाथि चक्कू प्रहार गर्दै पाँच लाख रुपैयाँ लूटेर फरार भएको पीडित चौधरीले प्रहरीसमक्ष बताएका छन् ।

छुरा प्रहारबाट घाइते भएका चौधरीको गौशाला पोली क्लिनिकमा उपचार भइरहेकोे छ । लुटपाटमा संलग्न व्यक्तिको खोजी कार्य भइरहेको छ । घाइते चौधरीम गाउँमा मनि ट्रान्सफर संचालन गर्दै आएका प्रहरीको भनाइ छ ।

थप ५ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि
नेपालमा थप ५ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ४ सय ७४ पिसिआर परिक्षणका क्रममा ३ सय ९१ जना र १ हजार ८ सय ८ एन्टीजेन परिक्षणका क्रममा १ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ । त्यस्तै थप २ सय ६९ संक्रमित निको भएका छन् । हाल नेपालमा ४ हजार ३ सय ५६ सक्रिय संक्रमित आइशोलेशनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  ९ : ५५ बजे

आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुदै

महानगरले माग्यो नीति तथा कार्यक्रमका लागि सुझाव

काठमाडौं– काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८१-८२ को नीति तथा कार्यक्रम

कराँतेमा नेपाल किन कमजोर ?

काठमाडौं- क्रिकेटमा नेपाली खेलाडीहरुले विश्वमा राम्रो छवि बनाउन सफल भएता

प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही जेठ ७ गते विश्वासको

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं– संघीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक बस्दैछ। बैठक दिउँसो सवा १