वन्यजन्तुको आक्रमण: काभ्रेलीको दीर्घकालीन समस्या | Khabarhub Khabarhub

वन्यजन्तुको आक्रमण: काभ्रेलीको दीर्घकालीन समस्या


१५ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– मण्डनदेउपुर नगरपालिका–९ स्थित रायोबारीमा आज बिहान चितुवाले फार्मका ३५० कालिज मारेको छ । स्थानीय पुण्यप्रसाद नेपालको योगगङ्गा वाइल्ड एण्ड च्याटलका ६५० कालिजमध्ये केही चितुवाले खाएको हो । बिहान ३ बजे कालिज मार्दै खाँदै गरेपछि स्थानीयवासीले देखेर चिच्याउँदा चितुवा भागेको थियो । मारेको ३५० मध्ये चितुवाले ६० वटा कालिज खाएको नेपालले बताए । उनले भने, ‘फार्मका हेरालुले सुरुमा बिरालो भन्ठानेछन्, पछि कालिज मार्दै खाँदै गएपछि चितुवा भन्ने थाहा पाएर चिच्याएपछि जुन ठाउँबाट छिरेको त्यहीँबाट भागेछ ।’ उक्त फार्ममा बाख्रा, टर्की र कुखुरापालन गरिएको छ ।

भाले कालिज बिक्री गर्ने गरिन्छ भने पोथी चल्ला उत्पादनका लागि पालन गरिएको नेपालले बताएका छन् । उनका अनुसार एउटा भाले कालिन रु दुई हजार देखि दुई हजार ५०० सम्ममा बिक्री गर्ने गरिन्छ । ‘आठ लाखभन्दा बढीको क्षति भयो’, नेपालले भने। उनले सरोकारवाला निकायलाई घटनाबारे जानकारी गराइ चितुवा नियन्त्रणको माग गरिएको बताए । 

यसअघि सोही नगरको १ नं वडास्थित नगरकोट हलेदेमा गतवर्ष बँदेलले सयौँ रोपनी जमिनको मकै खाँदै फाँडेर सखाप पारेको थियो । बँदेलबाट अन्नबाली जोगाउन स्थानीयवासी रातभरि आलोपालो कुरुवासमेत बसेका थिए । स्थानीयवासी दीपक बस्ताकोटीका अनुसार बँदेल आतङ्कले गाउँलेसमेत घरमा बस्न डराएका थिए । ‘त्यतिबेला अन्नबालीमात्र होइन, मानिससमेत डराउनुपर्ने अवस्था सिर्जना भएको थियो, यसपालि पनि त्यही हुने हो कि, मकै फल्ने बेला हुन लाग्यो’ उनले भने। उनका अनुसार विशेषगरी राति समूह समूहमा आएका बँदेलले फल्न थालेको मकैबाली सखाप पारेका थिए ।

अघिल्लो वर्ष पनि नगरको १२ वडामध्ये आठ र नौ बाहेक सबैमा बाँदरले खेतबारीको बालीमा क्षति पुर्‍याएको थियो । त्यतिबेला नगरले पहिलो चरणमा १२ नं वडाका स्थानीयवासीलाई सामूहिक रूपमा प्रयोग गर्न बाँदर धपाउने १५ यन्त्र दिएको थियो । घटनाक्रमले काभ्रेपलाञ्चोकमा केही वर्षदेखि जङ्गली जनावरको आतङ्क बढ्दै गएको पाइएको छ । जसका कारण जङ्गल नजिक बस्तीका किसानका बाली नष्ट भएका छन् भने यदाकदा, चितुवाजस्ता हिंस्रक जनावरको आक्रमणले जनधनको क्षति हुँदा मानिससमेत त्रसित अवस्थामा बस्नुपर्ने बाध्यता देखिन्छ ।

पाँचखाल नपा–१३ कोसीदेखिका बासिन्दा तीन वर्षदेखि बँदेल र बाँदरले बालीमा पुर्‍याउँदै आएको क्षति सहँदै तिनका आतङ्कले निकै आजित छन् । स्थानीयवासी यमलक्ष्मी थपलियाले भने ‘बँदेल र बाँदरले कटहर र अदुवाबाहेक सबै खान्छन्, अझ केही बाली त, रोपेकै दिनदेखि उखेलिदिन्छन् ।’ यहाँका बासिन्दा जङ्गली जनावरबाट मानिस र बाली जोगाउन आग्रह गर्दै आएका छन् । 

उनीहरू जङ्गली जनावरको आतङ्क नरोकिए विस्थापित हुनुपर्ने बाध्यता रहेको स्थानीय जनप्रतिनिधिसँग दुःखेसो पोख्छन् । ‘बँदेलको दुःख त छँदैछ, गाउँमा बाँदर पस्न थालेको पनि तीन वर्षभयो, हामीले नेतासँग हारगुहार माग्दै आएका छौँ’ पाँचखालका एक स्थानीय भन्छन् ‘नगरप्रमुखलाई पटकपटक भेट्दा आश्वासन मात्र पाइन्छ ।’ नगरप्रमुख महेश खरेलले भने जङ्गली जनावरको आतङ्कलाई दीर्घकालीन समस्या समाधानको बाटो खोजिरहेको प्रतिक्रिया दिए । 

बनेपा नपा–३ काँक्रेका किसान गोकुल बजगाइँ वन बाक्लिँदा जङ्गली जनावर पनि बढ्दै गएकाले मानिसका लागि थप चुनौती बन्दै गएको बताए। उनले भने ‘वनमा बँदेलको सङ्ख्या बढ्दा आलुलगायतका खेतीबाली नष्ट हुँदै गइरहेका छन् ।’ उनका अनुसार प्रत्येक वर्ष बँदेलले खेतबारीमा लगाएको आलु रोपेकै दिन हुँडलेर सखाप बनाइदिन्छन् ।  घोरासैनीका अनुसार दुम्सी ओढारमा लुक्ने र कोही नभएको बेला बारीमा आएर काँक्रो तथा अन्य बालीको उम्रिएका बोट उगेलेरै फाल्ने गर्दछन् । गतवर्ष पनौती नगरको कुशादेवी क्षेत्रमा पनि समूह समूहमा आएको बाँदरले स्थानीयवासीलाई निकै दुःख दिएका थिए । 

काभ्रेपलाञ्चोकमा वन क्षेत्रमा जोडिएर रहेका बस्तीमा जङ्गली जनावरले बाली तथा घर पालुवा जनावरलाई समेत क्षति पुर्‍याएपछि समाधानका लागि छलफल पनि चलाउने गरिन्थ्यो । जिल्लास्थित संवाद समूहले केही महिनाअघिसम्म विभिन्न स्थानीय तहमा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे विभिन्न चरणमा सरोकारवालासँग संवाद गर्दा अधिकांश किसानले बँदेल र बाँदरको समस्या देखाउँदै आएका थिए ।

डिभिजन वन कार्यालय धुलिखेलका वनअधिकृत देवीचन्द्र पोखरेल जिल्लाका अधिकांश वनभित्र आवश्यक सङ्ख्याभन्दा बढी बँदेल भइसकेकाले किसानसँग द्वन्द्व बढ्ने खतरा बढेको बताउँछन्। उनी भन्छन् ‘कति सङ्ख्यामा कलिङ गर्ने भनेर नीतिमै परिवर्तन नगरेसम्म जङ्गली जनावरको आतङ्क न्यूनीकरण गर्न सकिँदैन ।’ पोखरेलका अनुसार कार्यालयसँग वन्यजन्तु न्यूनीकरणका लागि कुनै योजना नबनाए पनि क्षति भएपछि क्षतिपूर्ति दिने काम भइरहेको छ । ‘एक वन–एक घाँसे मैदान र एक पोखरी भन्ने सचेतना अभियानमा लागिरहेका छौँ’, उनले भने।

उनका अनुसार वन्यजन्तुको आतङ्क रोक्न प्राकृतिक रूपमा वनमै वन्यजन्तुको आहारको व्यवस्थापन गर्नुपर्ने आवश्यकता देखिन्छ । डिभिजन वन कार्यालयका अनुसार बितेको १३ वर्षमा काभ्रेपलाञ्चोकमा जङ्गली जनावरको आक्रमणबाट १४ जनाको मृत्यु र आधा दर्जनको सङ्ख्यामा घाइते भएका छन् । कार्यालयमार्फत मानव मृत्यु तथा घाइते तथा वर्षैपिच्छे अन्नबाली क्षति, घरपालुवा जनावर तथा पशुपक्षीको क्षतिपूर्ति दिँदै आइएको छ । गत आर्थिक वर्षमा १४१ जनालाई अन्नबाली र चौपायामा पुगेको क्षतिको रु १६ लाख बराबरको राहत दिएको थियो । सरकारको प्रावधानअनुसार मृतकका प्रतिपरिवारलाई रु १५ लाख तथा घाइतेको अवस्था हेरी उपचार खर्च दिइन्छ । -रासस

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  ४ : ४४ बजे

ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– टर्कीएका लागि नेपालका गैरआवासीय राजदूत तापस अधिकारीले त्यहाँका राष्ट्रपति

बेँसीसहर-खुदी सडक कालोपत्र सम्पन्न

लमजुङ– मनाङ र लमजुङ जोड्ने बेँसीसहर–चामे सडक कालोपत्र सम्पन्न भएको

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौं– दुग्ध विकास संस्थान (डिडिसी)ले  किसानलाई ४८ करोड भुक्तानी गरेको

तान्जानियामा बाढीमा परी १५५ को मृत्यु

 काठमाडौं– तान्जानियामा भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी

व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहको निर्देशन

काठमाडौं– गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४