मनोहरा खोलाको कटानले बस्ती जोखिममा | Khabarhub Khabarhub

मनोहरा खोलाको कटानले बस्ती जोखिममा


१५ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- चाँगुनारायण नगरपालिका–१ दुवाकोट बेँसीमा मनोहरा नदीको कटानले नदी आसपासका बस्ती जोखिममा परेका छन् । हरेक वर्ष वर्षामा पानीको बहाव बढ्दै जाँदा बस्ती जोखिममा पर्दै आएको यस क्षेत्रमा दीर्घकालीन रूपमा समस्या समाधान प्रयास नहुँदा हरेक वर्ष बस्ती जोखिममा पर्दै आएका छन् ।

लामो समय बालुवा तस्करीले खोलाको बालुवा झिकेर बिक्री गरेपछि गहिरिँदै गएको नदीको बहाव नै परिवर्तन गर्दै काठमाडौँको सिमाना छाडेर भक्तपुरतर्फको जमिन कटान गर्दै आएपछि यहाँको बस्ती जोखिममा परेको स्थानीयवासीले बताएका छन् । केही वर्षयता नदीले आफ्नो धार परिवर्तन गर्दै भक्तपुरतर्फको सिमानामा फैलिँदै जमिन कटान गर्न थालेपछि कतिपयको जग्गा नै खोलामा परेको र बस्ती जोखिममा परेको स्थानीयवासीको भनाइ छ ।

नदी आसपासका क्षेत्रका करिब एक दर्जन घर टहरा जोखिममा परेका छन् भने यहाँको कुइँकेल गाउँसमेत जोखिममा परेको स्थानीयवासीले बताएका छन् । चाँगुनारायण–१ दुवाकोट र कागेश्वरी मनोहरा नगरपालिका मूलपानीको सिमाना भएर बग्ने मनोहरा नदीले भक्तपुरतर्फ कटान गरेपछि स्थानीयवासीले नदीको बहाव परिवर्तन गर्न खोज्दा मूलपानीका स्थानीयवासीले अवरोध गरेपछि काठमाडौँ र भक्तपुरका दुई नगरपालिकाका बासिन्दाबीच विवाद बढेको थियो । बस्ती जोखिममा परेपछि काठमाडौँ र भक्तपुरका तीन नगरका नगर प्रमुख र वडाध्यक्षले मनोहरा नदीको कटान क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् ।

चाँगुनारायणका नगर प्रमुख जीवन खत्री, मध्यपुरथिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ र कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीले संयुक्त रूपमा मनोहरा कटान क्षेत्रको स्थलगत निरीक्षण गरेका हुन् । नदीले बस्ती जोखिममा पारेपछि चाँगुनारायणका नगर प्रमुख खत्रीको संयोजनमा तीन वटै नगरपालिकाका प्रमुखले एकसाथ स्थलगत निरीक्षण गरी समस्याको स्थायी समाधान खोज्ने गरी छलफल भएको नगर प्रमुख खत्रीका स्वकीय सचिव गोकर्ण पुरीले जानकारी दिए।

नदी कटान क्षेत्रको चाँगुनारायणका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद चापागाईं, मध्यपुरथिमिका प्रमुख प्रशासकीय अधिकृत चुरामणि पन्थी, कागेश्वरी मनोहराका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरे, स्थानीय जनप्रतिनिधि, प्राविधिक, स्थानीय प्रशासन र सरोकारवाला पक्षले निरीक्षण गरी स्थायी समाधान खोज्नुपर्ने बताएका थिए । मनोहरा खोलाको तटबन्धन निर्माणसहित दिगो व्यवस्थापनका लागि तत्काल संयुक्त रूपमा आवश्यक पहल गर्नेबारे छलफल भएको चाँगुनारायणका प्रमुख खत्रीले जानकारी दिए।

निरीक्षणपछि तीन वटै नगरपालिकाका प्रमुखले संयुक्त रूपमा हस्ताक्षर गर्दै मनोहरा नदीले दुवैतर्फ जमिन कटान गर्दै बस्तीसमेत जोखिममा पारेकाले भौतिक तथा मानवीय क्षति हुनबाट रोक्न सचेतना अपनाउन अपिल गरेका छन् । अपिलमा तत्काल कुनै क्षति हुन नदिन सबैमा सचेत रहन आग्रह गर्दै अस्थायी समाधानका लागि आवश्यक पहल गर्ने र दीर्घकालीन समस्या समाधानका लागि तटबन्ध निर्माण गर्ने बारेमा तीन वटै नगरपालिकाबीच छलफल भएकाले सहयोग गर्नसमेत अपिल गरिएको छ ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  १ : १३ बजे

कांग्रेसले भन्यो : रविमाथि छानबिन गर्न समिति नबनेसम्म संसद् अघि बढ्दैन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगी प्रकरणबारे

सियरा लियोनमा विषाक्त खानाको कारण १०४ जना अस्पताल भर्ना

फ्रिटाउन – सियरा लियोनको राजधानी फ्रिटाउनमा एउटा कुकरी पसलबाट दूषित

प्रधानमन्त्रीलाई अघिल्लो पटकभन्दा बढी विश्वासको मत प्राप्त हुन्छ : माधव सापकोटा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले

आजका समाचार : संसदमा रविकाे जवाफ, विश्वासको मत रोक्न सर्वोच्चमा रिट

कांग्रेसलाई रविको प्रश्न : मैले गृहमन्त्री हुँदा नैतिकताको प्रश्न उठाउनेले

प्रादेशिक चलचित्र विकास बोर्ड गठन गर्छौँ : मुख्यमन्त्री कार्की

झापा– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चलचित्र क्षेत्रको समृद्धिका लागि