आज यस्ता छन् तपाईँले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित) | Khabarhub Khabarhub

आज यस्ता छन् तपाईँले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित)


१५ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 6 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अडियो सुन्नुहोस्ः

१७ हजार रुसी सैनिक मारिएको युक्रेनको दाबी

युक्रेनमा जारी आक्रमणका क्रममा हालसम्म १७ हजार रुसी सैनिक मारिएको युक्रेनी सेनाले जनाएको छ । गत फेब्रुअरी २४ मा आक्रमण थालेयता १७ हजार रुसी सैनिक मारिएको युक्रेनी सेनाले सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी दिएको हो ।

त्यस्तै, रुसी सेनाको ५ सय ९७ ट्यांक, १ हजार ७ सय १० बख्तरबन्द गाडी, १ सय २७ लडाकु विमान, १ सय २९ सैनिक हेलिकोप्टर र सात पानीजहाज पनि ध्वस्त पारेको युक्रेनी सेनाले जनाएको छ ।

युक्रेनमा जारी आक्रमणका क्रममा भएका सैनिक हताहतीबारे दुई पक्षले फरक फरक तथ्यांक प्रस्तुत गर्दै आएका छन् । गत शुक्रबार रुसले युक्रेनमा आफ्ना केबल १ हजार ३ सय ५१ सैनिक मारिएको जनाएको थियो ।

यद्यपि यी दुवै दाबीको स्वतन्त्र पुष्टि भने नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

श्रीलंकाका अस्पतालमा औषधिसमेत छैन

सन् १९४८ मा स्वतन्त्रता पाएयताकै सबैभन्दा नराम्रो आर्थिक संकट झेलिरहेको श्रीलंकामा औषधिको अभावमा शल्यक्रिया नै स्थगित गरिएको छ । मध्य श्रीलंकाको केण्डीमा रहेको पेरादेनिया अस्पतालका निर्देशकले सोमबारमात्रै औषधिको अभावमा सबै शल्यक्रिया स्थगित गरिएको जनाएका थिए ।

अस्पतालले जारी गरेको निर्देशनमा भनिएको छ, ‘हाम्रो अस्पतालमा एनेस्थेसिया र शल्यक्रियाका लागि चाहिने धेरै औषधिहरू र उपचार सामग्रीको अभाव छ । नियमित शल्यक्रिया र यसअघि नै भर्ना भएका बिरामीको समेत शल्यक्रिया स्थगित गर्ने निर्णय गरिएको छ ।

यही क्रममा बिम्सटेकको बैठकमा सहभागी हुन श्रीलंकामा रहेका भारतीय विदेशमन्त्री एस जयशंकरले औषधिको समेत अभाव रहेको मुलुकलाई सहयोग गर्न राजधानी कोलम्बोमा रहेको भारतीय उच्च आयुक्तलाई आग्रह गरेको बताएका छन् ।

‘यो समाचारले निराश तुल्याएको छ । मैले उच्च आयुक्त बग्लेलाई भारतले कसरी सहयोग गर्न सक्छ भन्ने विषयमा सम्पर्क गरी छलफल गर्न भनेको छु ।’ जयशंकरले ट्विट गरेका छन् ।

रुसले किभमा आक्रमणको स्तरमा व्यापक कमी ल्याउने

रुसले युक्रेनको राजधानी किभ र उत्तरी शहर चेर्निभमा आक्रमणको स्तरमा ‘व्यापक कमी ल्याउने’ भएको छ । रुसी उप रक्षामन्त्री अलेक्जाण्डर फेमिनले किभको बाहिरी भाग र चेर्निभमा आक्रमण घटाउने बताएको रुसी समाचार संस्था तासले जनाएको छ ।

रुसी र युक्रेनी वार्ताकारबीच टर्कीको मध्यस्थतामा इस्तानबुलमा भएको प्रत्यक्ष शान्ति वार्तापछि उप रक्षामन्त्रीको यस्तो भनाइ आएको हो ।

एक महिनाभन्दा लामो समयदेखि युक्रेनमाथि आक्रमण गर्दै आएको रुसी फौजको गति सुस्ताएका बेला रुसी पक्षबाट आएको यस्तो भनाइलाई निकै महत्वका साथ हेरिएको छ ।

यद्यपि रुसले पहिलेपनि यस्तै बाचा गर्ने गरेको तर व्यवहारमा कार्यान्वयन नगरेको भन्दै आलोचनासमेत हुने गरेको छ ।

यसअघि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले किभको उत्तरपश्चिमी क्षेत्रमा रहेको इरपिन शहरबाट रुसी फौजलाई लखेटेको जनाएका थिए । यद्यपि इरपिनबाट रुसी फौज लखेटिएपनि त्यहाँ लडाइ जारी रहेको उनको भनाइ थियो ।

इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव

पाकिस्तानका विपक्षी सांसदहरूले प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव ल्याएका छन् । तल्लो सदन नेसनल एसेम्बलीमा विपक्षी नेता शहबाज शरिफले सोमबार खानविरुद्ध अविश्वासको प्रस्ताव पेस गरेका हुन् । उनको सरकारले देशको अर्थतन्त्र अव्यवस्थित गराएको विपक्षीहरूले आरोप लगाउँदै आएका छन् ।

‘यस सदनको विश्वास गुमाएपछि प्रधानमन्त्री पदमा रहनुहुन्न’ अविश्वास प्रस्तावमाथि बोल्दै शरिफले भने ।

विपक्षी सांसदहरूको गठबन्धन पाकिस्तान डेमोक्रेटिक मुभमेन्टले खानको गठबन्धनका साझेदारहरूलाई आफ्नो पक्षमा पार्ने प्रयास गरिरहेको छ । सत्ता गठबन्धनका केही सदस्यहरू खानको विपक्षमा उभिन सक्ने चर्चा समेत रहेको पाकिस्तानको डन अखबारको अनलाइन संस्करणले जनाएको छ ।

३ सय ४२ सिट रहेको तल्लो सदनमा खान सरकारलाई हटाउन आफूहरूलाई आवश्यक १७२ सदस्य रहेका विपक्षीले जनाएका छन् । यसअघि गत शुक्रबार अविश्वासको प्रस्ताव दर्ता हुने कार्यक्रम थियो । यद्यपि हालैका दिनहरूमा केही संसाद् एवम् शीर्षस्थ नेताको मृत्यु भएपछि शोक मनाएर शुक्रबारको बैठक स्थगित गरिएको थियो ।

अविश्वासको प्रस्तावमाथि बिहीबारबाट बहस सुरु हुने र सात दिनभित्र मतदान हुने डनले जनाएको छ । पछिल्लो घटनाक्रमलाई पूर्व क्रिकेटर समेत रहेका इमरान खानको राजनीतिक जीवनको सबैभन्दा कठिन चुनौतीका रूपमा हेरिएको छ ।

राजनीतिक संकटबीच आफूविरुद्ध अविश्वासको प्रस्ताव पारित हुने भए त्यसअघि नै खानले पदबाट राजीनामा दिन सक्ने चर्चा समेत रहेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।

यद्यपि, खानले भने आफू नेतृत्वको पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) पार्टी र अन्य राजनीतिक दलहरूको सहयोगमा अविश्वासको प्रस्ताव विफल पार्ने बताउँदै आएका छन् ।

रुसी फौजको नियन्त्रणबाट इरपिन मुक्त

राजधानी किभनजिकैको इरपिन शहरलाई युक्रेनी फौजले रुसी सेनाबाट मुक्त गरेका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले नियमित भिडियो सन्देश मार्फत यस्तो बताएका हुन् ।

‘किभ र इरपिन कब्जा गर्नेहरूलाई खेदाइएको छ । तर हाम्रो क्षेत्रको यो भागमा अहिले नै सुरक्षाको कुरा गर्न निकै हतारो हुनेछ । लडाइ जारी छ ।’ उनले भिडियो सन्देशमा भनेका छन् ।

‘रुसी फौज किभको उत्तरी क्षेत्रमा छन्, उनीहरूसँग जनशक्ति र श्रोत छ । उनीहरू ध्वस्त भएका एकाइ पुनर्निर्माण गर्ने प्रयासमा छन् ।’ जलेन्स्कीको भनाइ छ ।

रणनीतिक रूपमा इरपिन शहरलाई किभ क्षेत्रको निकै ठूलो महत्व रहेको बताइन्छ । किभको उत्तर पश्चिम दिशामा रहेको यो शहरलाई रुसी फौजले कब्जा गरेको खण्डमा मुलुकको पश्चिमलाई किभसँग जोड्ने प्रमुख नाका बन्द हुने जनाइएको छ ।

यो शहरलाई नियन्त्रणमा लिन लामो समयदेखि रुसी र युक्रेनी फौजबीच भीषण लडाइ भइरहेको थियो ।

रोम अब्रामोभिचलाई विषको लक्षण देखिएपछि…

वार्ताका क्रममा इङ्ल्याण्डको चेल्सी क्लबका मालिक एवम् रुसी धनाढ्य रोमन अब्रामोभिच संदिग्ध विष आक्रमणको शिकार भएको खुलासा भएको छ । उनको निकटस्थ स्रोतलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार यही महिनाको शुरुमा बेलारुसको सीमामा शान्ति वार्ताका क्रममा उनले विष आक्रमणको लक्षण देखाएका थिए ।

बीबीसीले जनाएअनुसार उनको आँखा रातो भएको थियो भने उनको छाला पनि फुटेको थियो । यही वार्ताका क्रममा युक्रेनका दुई प्रतिनिधिले पनि यस्तै किसिमको लक्षण महसुस गरेको बीबीसीले जनाएको छ । यहीबेला उनीहरू पीडादायी रुपमा रोइरहेको समेत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यता अमेरिकाबाट प्रकाशित हुने वालस्ट्रिट जर्नलले भने विष खुवाउने यो षड्यन्त्र शान्तिवार्ता विफल बनाउन चाहने रुसका कट्टरपन्थीले रचेको जनाएको छ । यद्यपि अमेरिकी गुप्तचर अधिकारीले समाचार संस्था रोयटर्सलाई बताएअनुसार उनको लक्षण विष सेवनबाट भन्दा पनि वातावरणीय कारणले देखिएको हो ।

रुसमाथि विष खुवाएर राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक र विरोधीहरूको हत्या गर्ने गरेको आरोप लाग्ने गरेको छ । सन् २०२० मा रुसी विपक्षी नेता अलेक्सेई नभाल्नीमाथि पनि विष खुवाएर मार्ने षडयन्त्र भएको थियो ।

त्यस्तै सन् २०१८ मा पुटिनका आलोचक सर्गेई स्क्रिपाल र उनकी छोरीलाई पनि बेलायतमा विष खुवाइएको थियो । त्यसअघि सन् २००६ मा बेलायतमा बस्ने अलेक्जाण्डर लित्भिनेन्कोको पनि विष खुवाएर हत्या गरिएको थियो ।

केही नखान नपिउन युक्रेनी विदेशमन्त्रालयद्वारा वार्ताकारलाई सचेत गराइयाे

शान्ति वार्ताका क्रममा दिइएको खानेकुरा र पेय पदार्थ सेवन नगर्न आफ्ना वार्ताकारलाई युक्रेनी विदेशमन्त्रीले सचेत गराएको छ ।

‘म रुसी वार्ताकार हरूसँगको छलफलमा सहभागी जो कोहीलाई केही पनि नखान वा नपिउन र कुनै सतहमा नछुन समेत सल्लाह दिन्छु ।’ युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले राष्ट्रिय टेलिभिजनमा अन्तर्वार्ता दिँदै बताएका छन् ।

चेल्सी क्लबका मालिक एवम् रुसी धनाढ्य रोमन अब्रामोभिचले शान्ति वार्ताका क्रममा विष सेवन गरेको लक्षण देखाएको भन्ने समाचार आएपछि युक्रेनी विदेशमन्त्रीले आफ्ना वार्ताकारलाई सचेत गराएको हो ।

यही मार्च महिनाको शुरुमा बेलारुसमा भएको शान्ति वार्ताका क्रममा अब्रामोभिचले विष सेवन गरेको लक्षण देखाएका थिए । उनको आँखा रातो भएको र छालासमेत फुटेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यसबाहेक केहीसमय सम्म उनमा अन्धोपन समेत देखिएको जनाइएको छ ।

हाल टर्कीको इस्तानबुल शहरमा रुस र युक्रेनका वार्ताकार हरूबीच युद्ध अन्त्य एवम् शान्ति सम्झौताका विषयमा छलफल भइरहेको छ ।

अमेरिकाले जर्मनीमा थप ६ लडाकु विमान परिचालन गर्ने

अमेरिकाले जर्मनीस्थित नेटो सैन्य आधारमा थप ६ लडाकु विमान तैनाथ गर्ने भएको छ । अमेरिकी रक्षा प्रशासन पेन्टागनका प्रवक्ता जोन किरबीले नेटोको रक्षा सतर्कता बढाउन जर्मनीको स्पाङडाहलेम हवाई अखडामा थप ६ नेभी ईए–१८ जी लडाकु विमान परिचालन गर्न लागेको बताएका हुन् ।

यसले ‘सतर्कता बढाउन र नेटोको सामूहिक रक्षा तयारी र हाम्रा साझेदार मुलुकहरूबीच हवाई एकात्मकतालाई थप मजबुत बनाउनका लागि’ सहयोग पुग्ने उनको भनाइ छ ।

किरबीलाई उद्धृत गर्दै जर्मनीको डीडब्लू टेलिभिजनको अनलाइन संस्करणले जनाएअनुसार लडाकु विमानका साथै पाइलट र मर्मत सम्भार गर्नका लागि थप २४० सैनिक पनि परिचालन गरिनेछ ।

यद्यपि यो तैनाथी युक्रेनमा रुसी फौजविरुद्ध लक्षित नभएको र नेटोको पूर्वी मोर्चालाई सशक्त बनाउनका लागि मात्रै यो निर्णय लिइएको उनले स्पष्ट पारेका छन् ।

बोइङ कम्पनीद्वारा निर्मित यो लडाकु विमानलाई विद्युतीय उपकरणलाई निष्कृय बनाउन एवम् जमिन र समुद्रमा सुरक्षा प्रदान गर्न प्रयोग गरिदै आइएको डीडब्लूले जनाएको छ ।

पुटिनलाई रुसी जनताको पूर्ण साथ छ – क्रेमलिन

राष्ट्रपति भ्लादिमिर पुटिनलाई जनताको पूर्ण समर्थन रहेको रुसी प्रशासन क्रेमलिनले जनाएको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रुसी जनता पुटिनको पक्षमा रहेको जनाएका हुन् ।

रोयटर्सले जनाएअनुसार मत सर्वेक्षणबाट सार्वजनिक तथ्यांकमा पुटिनको लोकप्रियता बढेको पेस्कोभको भनाइ छ । यद्यपि कुन मत सर्वेक्षणले यस्तो देखाएको भन्नेबारे पेस्कोभले केही खुलाएका छैनन् ।

युक्रेनमा आक्रमण गर्ने निर्णय गरेसँगै रुसका विभिन्न शहरमा व्यापक प्रदर्शन भएपछि युक्रेनमाथिको आक्रमणले पुटिनको लोकप्रियता कमजोर बनाएको विश्लेषण हुँदै आएको थियो । केही दिनअघिमात्रै युरोप भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनले पुटिन सत्तामा टिकिरहन नसक्ने टिप्पणी गरेका थिए ।

‘ईश्वरका लागि यो मानिस सत्तामा टिकिरहन सक्दैन ।’ बाइडेनको भनाइ थियो । यही क्रममा उनले पुटिनलाई ‘कसाई’ को समेत संज्ञा दिएका थिए ।

मारिउपोलमा ५ हजार मारिएको मेयरको भनाइ

रुसी फौजको चौतर्फी घेराबन्दीमा परेको दक्षिणी युक्रेनको मारिउपोल शहरमा ५ हजार जनाको मृत्यु भएको त्यहाँका मेयरले जनाएका छन् । मारिउपोल शहरका मेयर भ्लादिम बोइचेन्कोलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएअनुसार मारिनेमा २१० बालबालिका छन् ।

मेयर बोइचेन्कोका अनुसार रुसी फौजको आक्रमणका कारण मारिउपोल शहरका ९० प्रतिशत भवन क्षतिग्रस्त भएका छन् भने ४० प्रतिशत भवन ध्वस्त भएका छन् । ध्वस्त भएका भवनमा विद्यालय, अस्पताल र उद्योगहरू समेत छन् ।

मारिउपोलको नगरपरिषद्का अनुसार रुसी आक्रमणअघि १ लाख ४० हजार जनाले शहर छाडेका थिए भने रुसी आक्रमणयता अरु १ लाख ५० हजार त्यहाँबाट भाग्न सफल भएका छन् । अझै पनि उक्त शहरमा १ लाख७० हजार मानिसहरू फसिरहेको बताइएको छ ।

हाल शहर बाहिर रहेका मेयर बोइचेन्कोले सोमबारमात्रै राष्ट्रिय टेलिभिजनमार्फत मारिउपोलमा अझै १ लाख ६० हजार आम नागरिक फसिरहेको जानकारी दिएका थिए ।

‘मानिसहरूले मानवीय विनाशको लक्ष्मणरेखा पार गरेका छन् ।’ उनले भने, ‘हामीले मारिउपोललाई खाली गर्नुपर्छ ।’

युक्रेनले निरन्तर रुसी आक्रमणका कारण उक्त शहरबाट मानिसहरूलाई बाहिर निकाल्न सुरक्षित करिडोर बनाउन असम्भव रहेको बताएको थियो ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ८ : ५७ बजे

भेरी करिडोरका निर्माणाधीन पुलको अनुगमन

सुर्खेत– कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढाले

२१४ विद्यार्थीलाई छात्रवृत्ति

स्याङ्जा– स्याङ्जाको गल्याङ नगरपालिकाले आर्थिक अभावका कारण उच्च शिक्षा अध्ययनबाट

संसदीय उपसमितिद्वारा मेलम्ची आयोजनाको अनुगमन

सिन्धुपाल्चोक– संसद्को पूर्वाधार विकास समिति अन्तर्गतको खानेपानी उपसमितिले राष्ट्रिय गौरवको

प्रधानमन्त्रीले कांग्रेस नेताहरुसँग छलफल गर्दै

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेसका नेताहरुसँग छलफल सुरु गरेका

आईपीएल : आज चेन्नई र राजस्थान तथा बैंगलुरु र दिल्ली भिड्ने

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) मा आज दुई खेल हुँदैछन्