दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू (अडियोसहित) | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू (अडियोसहित)


१२ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आज दिनभर महाभियोग सिफारिस समितिलाई बारले उपलब्ल गरायो जबराविरुद्धको प्रमाण, कांग्रेसले परिस्थिति नबुझे अर्को गठबन्धन बनाउने प्रचण्डको चेतावनी, निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई ओलीको निर्देशन, तत्काल राप्रपा नेपाललाई तीर चुनाव चिह्न नदिन सर्वोच्चको आदेश, नेविसंघले शिक्षा मन्त्रीलाई बुझायो २९ बुँदे ज्ञापन पत्र, भारतीय सेनाको ३१ सदस्यीय टोली नेपालमा, थप २ सय २ जनामा कोरोना संक्रमण पुष्टि लगायतका समाचारले प्रमुख स्थान पाए ।

यी हुन् आज दिनभरका मुख्य समाचारहरू:

महाभियोग सिफारिस समितिलाई बारले उपलब्ल गरायो जबराविरुद्धको प्रमाण

नेपाल बार एशोसिएसनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरामाथिको महाभियोग पुष्टि हुने ३४ बुँदे प्रमाण पत्र संसदको महाभियोग सिफारिस समितिलाई बुझाएको छ । बार अध्यक्ष गोपालकृष्ण घिमिरे र महासचिव अञ्जिता खनालले महाअभियोग पुष्टि हुने प्रमाण कागजात भन्दै समितिलाई आज ३४ बुँदासहितको पत्र बुझाएका हुन् ।

भदौ ९ गते महाअभियोग सिफारिस समितिले जबरामाथिको अभियोग पुष्टि गर्ने प्रमाण माग गर्दै बारलाई पत्र पठाएको थियो ।

बारका अध्यक्ष गोपालकृष्ण घिमिरे र महासचिव अज्जिता खनालले पठाएको पत्रमा चोलेन्द्रको बहिर्गमन किन भन्ने ५ पेज लामो सामाग्री छ । सहकारी ठगीका अभियुक्त इच्छाराज तामाङको मुद्दामा अधिवक्ता रुद्र पोखरेलले घुस बार्गेनिङ गरेको अडिओ पनि उपलब्ध गराइएको लगायतका ३४ बुँदे आरोपहरुसो पत्रमा उल्लेख गरीएको छ ।

कांग्रेसले परिस्थिति नबुझे अर्को गठबन्धन बनाउने प्रचण्डको चेतावनी
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा सत्तारुढ गठबन्धनको मुख्य घटक कांग्रेसले वर्तमान परिस्थिति नबुझे, शक्तिको सही मूल्याकंन नगरे अर्को गठबन्धन बन्ने चेतावनी दिएका छन् ।

माओवादीको वाग्मती प्रदेशमा कार्यरत केन्द्रीय सदस्यहरू र प्रदेश पदाधिकारीको संयुक्त बैठकलाई आज ललितपुरको सानेपामा सम्बोधन गर्दै दाहालले सकेसम्म आगामी चुनावमा सत्ता गठबन्धन कायमै रहने बताएका हुन् ।

निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई ओलीको निर्देशन
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीप्रतिको भ्रमलाई चिर्दै बहुमत आउने गरि निर्वाचनको तयारी गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन ।

ललितपुर च्यासलस्थित पार्टी मुख्यालयमा बसेको निर्वाचन परिचालन कमिटीको पहिलो बैठकमा बोल्दै ओलीले यस्तो नागरिकता लगाएतका बिषयमा एमालेप्रति गठबन्धन दलले भ्रम छर्ने प्रयास गरेको भन्दै भ्रमहरुलाई चिर्दे बहुमत आउने गरि निर्वाचनको तयारी गर्न निर्देशन दिएका हुन ।

उनले अहिले सत्ता गठबन्धनको ध्यान सरकारमा बसेर देशलाई लुटने र सत्ताको दुरुपयोग गरेर निर्वाचन जित्नेमा मात्रै केन्द्रीत भएको जिकिर गरे ।

एकीकृत समाजवादी क्रान्तिकारी पार्टी भएकाे माधव नेपालकाे दाबी
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफ्नो पार्टी जनताको हितको रक्षा गर्ने क्रान्तिकारी पार्टी भएको बताएका छन् ।

काठमाडौंमा आज पार्टी निकट बिद्यार्थी संगठन अनेरास्ववियु केन्द्रीय कमिटीको प्रथम विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफ्नो पार्टी अन्याय, अत्याचार र थिचोमिचोमा परेका जनताको पक्षमा लड्न गठन भएको क्रान्तिकारी पार्टी भएको बताएका हुन् ।

उनले कम्युनिष्ट पार्टी जनताको निम्ती र समाजमा परिवर्तन गर्न गठन हुने भएकाले परिवर्तनका लागि जनताको हितमा काम गर्दै अघि बढ्न निर्देशन पनि दिए ।

तत्काल राप्रपा नेपाललाई तीर चुनाव चिह्न नदिन सर्वोच्चको आदेश
सर्वोच्च अदालतले कमल थापा नेतृत्वको राप्रपा नेपाललाई तत्काल तीर चुनाव चिह्न नदिन अल्पकालीन आदेश दिएको छ ।

न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले आज राप्रपा नेपालका अध्यक्ष कमल थापाको रिटमा सुनुवाइ गर्दै निर्वाचन आयोगका नाममा यस्तो आदेश जारी भएको हो ।

अन्तरिम आदेशका लागि भदौ १४ गते राप्रपा नेपाल र निर्वाचन आयोग दुबै पक्षलाई छलफलमा बोलाएको छ ।
आन्दोलनमा जाने  नेकपा बहुमतको चेतावनी
नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले सरकारले तीन बुँदे सहमति कार्यान्वयन नगरे आन्दोलनमा जाने चेतावनी दिएको छ । काठमाडौंमा आज पत्रकार सम्मेलन गर्दै नेकपा बहुमतले यसअघि सरकारले आफुहरुसंग गरेको सहमति राज्यपक्षबाट उलंघन भइरहेको भन्दै सहमति कार्यान्वयन नभए आन्दोलन गर्ने चेतावनी दिएको हो ।

पत्रकार सम्मेलनमा पार्टीका संयोजक धर्मेन्द्र बास्तोलाले तत्कालिन नेकपा र सरकारबीच भएको सहमतिप्रति सरकार गैरजिम्मेवार भएको पेश भएको बताए । उनले सरकारले सहमति कार्यान्वयन गर्नेभन्दा षड्यन्त्रमा लागेको बताउँदै सडक संघर्षमा जाने चेतावनी दिए ।

संयोजक बास्तोलाले सहमतिबाट पछि हटेर सरकारले ३ सय २२ मुद्धा फिर्ता लिन नसकिने बताएको जिकिर गरे । त्यस्तै उनले संयोजक बास्तोलाले प्रदेश र संघको चुनाव आफ्नो पार्टीले बहिस्कार गर्ने बताए ।

नेविसंघले शिक्षा मन्त्रीलाई बुझायो २९ बुँदे ज्ञापन पत्र
नेपाल विद्यार्थी संघले शिक्षा क्षेत्रको सुधारको माग राख्दै शिक्षा मन्त्रीलाई २९ बुँदे ज्ञापन पत्र बुझाएको छ । सिंहदरबारमा नेविसंघले आज समग्र शैक्षिक विकासका लागि केही तत्कालिक तथा संरचनागत सुधार गर्नुपर्ने माग राख्दै विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई ज्ञापनपत्र बुझाएको हो ।

विद्यार्थीहरुको शैक्षिक प्रमाणपत्र राखी विना व्याज शैक्षिक ऋण प्रदान गर्ने निर्णय यथाशीघ्र कार्यान्वयन गर्नुपर्ने, अस्वभाविक रुपमा बढाइएका शुल्क खारेज गर्नुपर्ने, विद्यार्थी भर्ना अभियानलाई प्रभावकारी बनाउनुपर्ने, शैक्षिक क्षेत्रको सुरुवातमा विद्यार्थी भर्नासंगै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुराउनुपर्ने माग नेविसंघको छ ।

त्यस्तै एस.ई.ई.परीक्षा उत्तिर्ण गरी कक्षा ११ मा भर्ना भएका सम्पुर्ण विद्यार्थीकको भर्ना शुल्क ५० प्रतिशतले मिनाहा गर्नुपर्ने, दैनिक मजदुरी गरेर जीविकोपाजर्न गर्दै आएका अभिभावकहरुको सन्तानले शैक्षिक संस्थामा सहुलियत शुल्कमा अध्ययन गर्न पाउने व्यवस्था मिलाउनुपर्ने आफुहरुको माग रहेको नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले जानकारी दिए ।

ज्ञापनपत्र बुझ्दै मन्त्री पौडेलले शैक्षिक क्षेत्रमा बढेको शुल्कका बिषयमा आफुले सर्वपक्षिय छलफल गर्ने बताए । बिद्यार्थीहरुले उठाएका मागहरु सकारात्मक भएको भन्दै बिशेष ध्यान दिएर आवश्यक नीति निर्माण गरिने उनले बताए

नागरिकता विधेयकमाथि छलफल गर्न संसदीय समितिको बैठक भोलि बस्ने
नागरिकता विधेयकमाथि छलफल गर्न संसदीय समितिले भोेलि बैठक बोलाएको छ । प्रतिनिधि सभाले जस्ताको त्यस्तै पास गरेको नेपाल नागरिकता विधेयक राष्ट्रिय सभाले विधायन व्यवस्थापन समितिमा पठाएको छ ।

समितिले भोली मध्यान्ह १२ बजे नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि छलफल गर्न बैठक बोलाएको हो । अब विषयगत समितिमा नागरिकता विधेयकमाथि दफावार छलफल हुनेछ । बैठकमा गृह मन्त्री बालकृष्ण खाँण, गृह मन्त्रालयका सचिव एकनारायण अर्याल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटालाई बोलाइएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनर्विचारका लागि १५ बुँदे सन्देशसहित फिर्ता भएको नागरिकता विधेयकलाई राष्ट्रियसभाको आज बसेको बैठकले छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको हो । अब विधायन व्यवस्थापन समितिले पारित गरेपछि मात्रै सो विधेयक राष्ट्रिय सभामा निर्णयार्थ प्रस्तुत हुनेछ ।

गृहमन्त्री खाणले नेपाल नागरिकता (पहिलो संशोधन ) विधेयक –२०७९ लाई पुर्नविचारका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भनी पेश भएको प्रस्ताव आजको बैठकबाट सर्वसम्मतले पारित . गरेको हो । राष्ट्रिय सभाको अर्को बैठक भदौ १६ गते बिहीबार दिउँसो ३ बजेका लागि बोलाइएको छ ।

भारतीय सेनाको ३१ सदस्यीय टोली नेपालमा
भारतीय वायु सेनाका उपप्रमुख तेजवीर सिंह नेपाल भ्रमणमा आएका छन । सिंह नेतृत्वमा नयाँ दिल्लीस्थित नेशनल डिफेन्स कलेजमा सञ्चालित नेशनल डिफेन्स कोर्ष–६२ मा सहभागी ३१ जना भारतीय सेना आज दिउँसो नेपाल आइपुगेका हुन् ।

उपप्रमुख सिंह नेतृत्वको टोली भदौ १६ गते सम्म नेपालमा रहने नेपाली सेनाले जनाएको छ । पाच दिने नेपाल भम्रणका क्रममासैनिक टोलीले भोलि रप्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा, परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

यस्तै सो टोलीले भोलि नै जंगी अड्डा भ्रमण गर्ने सैनिक प्रवक्ता सहायक रथी नारायण सिलवालले जानकारी दिए । टोलीले मंगलबार पोखरास्थित मध्यकमाण्ड हेडक्वार्टरको भ्रमण गर्नेछ। यस्तै भ्रमण दलले पशुपतिनाथ मन्दिर, काठमाडौं दरबार स्क्वायर, लुम्बिनी लगायत काठमाडौं र पोखराका पर्यटकीयस्थलहरुको अवलोकन गर्ने कार्यक्रम छ ।

सत्याग्रह सुरु गर्ने डाक्टर केसीको चेतावनी
डाक्टर गोविन्द केसीले स्वास्थ्य क्षेत्रको सुधारका लागि अघि सारेको माग पुरा नभए भाद्र २७ गतेदेखि सत्याग्रह सुरु गर्ने चेतावनी दिएका छन् ।

काठमाडौंमा आज पत्रकार सम्मेलन गर्दै केसीले वर्तमान सरकारले स्वास्थ्य र मेडिकल शिक्षा क्षेत्रलाई थप अस्तव्यस्त पार्ने कदमहरु चालेको भन्दै यस क्षेत्रको सुधारका लागि आफुले अघि सारेका ६ बुँदे माग पुरा नभए सत्याग्रह सुरु गर्ने चेतावनी दिएका हुन् ।

उनले बिभिन्न बिषयमा आफुहरुले सरकारको ध्यानाकर्षण गराउदा पनि कुनै सुनुवाई नभएकाले अव धैर्य गर्न सक्ने अवस्थामा नरहेको बताए । त्यस्तै उनले जनसंख्या वृद्धि अनुसार सरकारी स्वास्थ्य केन्द्र र अस्पतालहरुको निर्माण, स्तरोन्नति र गुणस्तर वृद्धि सुनिश्चित गर्नुपर्ने बताए ।

आधारभूत स्वास्थ्य सेवा निःशुल्क गरिनुपर्ने, स्थानीय निकायको बजेटको आधा हिस्सा स्वास्थ्य क्षेत्रमा लगानी गरिनुपर्ने, सार्वजनिक पदमा बस्नेहरुको स्वार्थको द्धन्द्ध रोक्न तत्काल कानूनी व्यवस्था गर्नुपर्ने लगाएतमा माग अघि सारिएको उनको भनाई छ ।

महानगरपालिका भित्रका ३२ वटै वडामा एमडीजीपी डाक्टरको प्रस्ताव
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले ३२ वटै वडामा एमडीजीपी डाक्टर र नर्स राख्ने प्रस्ताव गरेका छन् । नगर कार्यपालिकाको आजको बैठकमा उहाँले ३२ वटै वडामा वडा क्लिनिक सञ्चालनका लागि ३२ जना एमडीजीपी डाक्टर र ३२ जना नर्स करार सेवामा राख्ने प्रस्ताव गरेका हुन् ।

यस्तै महानगरका अस्थायी कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने प्रस्ताव गरिएको छ । महानगरका सामुदायिक विद्यालयमा पूर्व प्राथमिक तहदेखि कक्षा ८ सम्म दिवा खाजाको व्यवस्था गर्ने भएको छ । सरकारले कक्षा ६ सम्मका लागि दैनिक १५ रुपैयाँका दरले दिवा खाजाको व्यवस्था गरेको छ ।

थप २ सय २ जनामा कोरोना संक्रमण पुष्टि
नेपालमा थप २ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको २ हजार ६४ पिसिआर परिक्षणका क्रममा १ सय ६४ जना र १ हजार ७ सय ६९ एन्टीजेन परिक्षणका क्रममा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ ।यस्तै थप ४ सय ६२ संक्रमित निको भएका छन् । हाल नेपालमा ३ हजार ३ सय १३ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

 

अडियाे सुन्नुहाेस् :

प्रकाशित मिति : १२ भाद्र २०७९, आइतबार  ९ : १४ बजे

मादी नदीमा बालकको शव भेटियो

तनहुँ – तनहुँको व्यास नगरपालिका–३ स्थित मादी नदी किनारमा आज

विश्व सम्पदास्थल स्वयम्भूमा सरसफाइ

काठमाडौं – विश्व सम्पदास्थल स्वयम्भूमा सरसफाइ गरिएको छ । यही

प्रकृतिको संरक्षण भएमात्र मानव सुरक्षित हुन्छ : अध्यक्ष बस्नेत

रौतहट –प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले प्रकृतिको संरक्षण भएमात्र

गाजाबाट १७ अमेरिकी डाक्टरको उद्धार

वासिङ्टन – इजरायलले राफाहबाट इजिप्ट जाने सीमा बन्द गरेपछि गाजामा

राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन

कास्की – पोखरामा आज सम्पन्न राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि