योगमाया आयुर्वेद विश्वविद्यालयका लागि जग्गा खरिद सुरु | Khabarhub Khabarhub

योगमाया आयुर्वेद विश्वविद्यालयका लागि जग्गा खरिद सुरु


१२ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर – ‘योगमाया आयुर्वेद विश्वविद्यालय’ निर्माणका लागि दुई सय रोपनी भन्दा बढी जग्गा प्राप्त भएको छ । सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ ढुङ्गाविसौना र षडानन्द नगरपालिका–६ बट्टार क्षेत्रबाट दुई सय रोपनी नौ आना तीन पैसा दुई दाम जग्गा विश्वविद्यालयको नाममा स्थानीयले पास गरिदिएका छन् ।

जग्गा खरिद प्रक्रियाका लागि संघीय सरकारबाट रु सात करोड रकम प्राप्त भएको षडानन्द नगरपालिकाका प्रमुख सरेन्द्रकुमार उदासले जानकारी दिए । उनले भने, ‘योगमाया आयुर्वेद विश्वविद्यालय निर्माणका लागि जग्गा खरिद प्रक्रिया सुरु भएको छ । हालसम्म दुई रोपनी बढी जग्गा विश्वविद्यालयको नाममा पास भएको छ । अन्य आवश्यक जग्गा पनि खोजी भइरहेको छ ।’

विश्वविद्यालयले निर्माणका लागि षडानन्दमा दुई सय ३३ रोपनी र खाँदबारी नगरपालिकामा तीन सय ७२ रोपनी जग्गा लिने मन्त्रिपरिषद्को निर्णय भएबमोजिम खोजी प्रक्रिया थालनी गरिएको उनले बताए ।

जग्गा खरिद गर्नका लागि रु सात करोड रकम सङ्खुवासभा जिल्ला प्रशासन कार्यालयमा आएको नगर प्रमुख उदासले जनाए । षडानन्दको तर्फबाट योगमायाको समाधिस्थल मझुवाबेँसीमासमेत आवश्यक जग्गा खरिद गरेर संरचना निर्माण गर्नुपर्ने माग रहेको उनले सुनाए ।

प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाकाअनुसार सङ्खुवासभामा पनि विश्वविद्यालयको नाममा जग्गा खरिद भइरहेको छ। पहिला भएको सम्झौताअनुसार सङ्खुवासभामा प्रतिरोपनी रु एक लाखका दरले जग्गा खरिद गरिएको थियो । भोजपुरका जग्गाधनीले भने प्रतिरोपनी रु ५० हजार पाउने गरी पहिला नै सम्झौता भएको उनको भनाइ छ ।

भोजपुरतर्फको दुई सय ३३ रोपनी र सङ्खुवासभाको तीन सय ७२ गरी ६०५ रोपनी खरिद गर्ने र अपुगमा सरकारी जमिनलाई पनि प्रयोगमा ल्याउने तयारी छ। दुवै जिल्लाको जग्गा खरिद प्रक्रिया सपन्न भएपश्चात विश्वविद्यालयको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेर निर्माण प्रक्रिया अघि बढ्ने उनले योजना सुनाए । डिपिआर बनेपछि कुन जिल्लामा कति र कस्ता संरचना बन्ने भन्ने टुङ्गो लाग्नेछ ।

‘दुई जिल्लाको समन्वयमा जग्गा खरिद प्रक्रिया भइरहेको छ । दुई जिल्लामा जग्गा खरिद गर्नुपर्ने भएकाले कुन क्षेत्रमा कति संरचना बन्छन् भन्ने यकिन भएको छैन । विश्वविद्यालयको पूर्ण विस्तृत परियोजना प्रतिवेदन बनेपछि निर्माणको प्रक्रिया सुरु हुन्छ । त्यसपछि कस्ता संरचना कतिवटा कहाँ बन्छन् भन्ने कुराको टुङ्गो लाग्छ ।’प्रजिअ खतिवडाले भने ।

को हुन् योगमाया ?

सतिप्रथाको अन्त्यका लागि लड्ने क्रान्ति योद्दा योगमायाको जन्म विसं १९१७ मा भोजपुरको षडानन्द –१ नेपालेडाँडामा भएको हो । देशमा जकडिएको सतिप्रथा अन्त्यका लागि पटक–पटक तत्कालीन राणा सरकारसँग माग गर्दा पनि कुनै निर्णय नभएपछि योगमायासहित ६८ जनाले समाधि लिएका थिए । सतिप्रथा, छुवाछूत प्रथा अन्त्यका लागि आफ्नो अभियानको नारा लगाउँदै विसं १९९८ असार २२ गते अरुण नदीमा योगमायासहित ६८ जनाले मृत्युवरण गरेका थिए । उनीहरूले समाधि दिएको ठाउँ षडानन्द–६ को मझुवाबेँसीमा पर्दछ ।

समाज सुधारका लागि कुरीति, अन्धविश्वासको विरोधको त्यो समयमा अभियान चलाउने साहसी महिलाका रूपमा योगमायालाई चिनिन्छ । काठमाडौँ पुगेर श्री ३ जुद्धशम्शेरसँग भेट गरी धर्म भिक्षा मागेका थिइन्। जुद्धशम्शेरबाट धर्म भिक्षाको वचन पाए पनि वचनअनुसार राणाहरूले कुनै काम नगरेपछि उनमा थप क्रान्तिको विजारोपण भएको पाइन्छ ।

राणाकालीन समयमा राणा शासनले अन्याय विरोधमा समाज परिर्वतनका लागि जीवन नै बलिदानी दिने साहसी महिला भए पनि राज्यले भने उचित सम्मान दिन सकेको छैन । शोषण, दमनको जीवन बिताइरहेका महिलाको आवाज खरोरूपमा उठाउने योगमाया न्यौपानेको योगदान आवश्यक प्रचारको अभावले पनि ओझेलमा परेको देन्खिन्छ । योगमायाको योगदानलाई बेवास्ता गरिएको महिला अधिकारकर्मी तथा समाजका अगुवाहरूले बताउने गरेका छन् ।

सतिप्रथा, दासप्रथा, जातपातको अन्त्य, न्याय, महिला मर्यादा, विधवा अधिकार र मानापाथी एकरुपतालगायतका राजनीतिक तथा सामाजिक परिर्वतन लागि उनी लागिपरेकी थिइन् । सामाजिक अन्धविश्वासका विरुद्धमा उनले चालेको कदम समाजका परिवर्तनको मेरुडण्डको रूपमा देखिएको छ ।

योगमायाको बिहे सात वर्षको उमेरमा भोजपुरको धोद्लेखानी अर्थात् हालको रामप्रसादराई गाउँपालिका–२ मा भएको थियो । इतिहासकारका अनुसार सानै उमेरमा बिहे भएको कारण घरमा खानलाउन नदिएपछि उनी तीन दिन लगाएर आफ्नो माइतीघर नेपालेडाँडा पुगेकी थिइन् । घर छाडी हिँडेकी र तीन दिन बाटो हराएकी भनी योगमायालाई घरकाले स्वीकार गरेनन् । माइतीले पनि हेलाँ गरे । त्यसपछि योगमायाको जीवनमा वैराग्य बढेकाले नेपाल फर्केर मझुवाबेँसीमा कठिन तपस्या गरिन् ।

योगमायाले श्रीमतीको मृत्युपछि श्रीमानले बिहे गर्न हुने तर श्रीमान्को मृत्युमा श्रीमतीले जिउँदै चितामा जल्नुपर्ने जनाउँदै यसको जवाफ तत्कालीन राणा सरकारसँग मागेकी थिइन् । त्यस्तै उनले श्रीमान्को मृत्यु भएको खण्डमा श्रीमती पनि अर्को विवाह गर्न पाउनुपर्ने भनी आवाज उठाएको बताइएको छ ।

यसको परिणामस्वरुप अहिले समाजमा धेरै नै परिवर्तन आएको देखिन्छ । पछिल्लो समय राज्यले दिएको आरक्षको व्यवस्थालाई यसैको उपजका रूपमा मान्न सकिने महिला अधिकारकर्मीको भनाइ छ । योगमायाले उठाएको समानताको क्रान्तिको अभियानले समाज रुपान्तरणका लागि निकै ठुलो योगदान पुगेको छ ।

योगमायालाई राष्ट्रिय विभूतिका रूपमा राज्यले घोषणा गर्नुपर्ने स्थानीयस्तरबाट आवाज पनि उठिरहेको छ । राज्यको तर्फबाट योगमायाको योगदानको कदर गर्दै राष्ट्रिय विभूति घोषणा गर्न स्थानीयवासीको माग छ । उनको योगदानको राज्यले उचित मूल्याङ्कन गर्न नसकेको स्थानीय जानकारहरूले बताउने गरेका छन् । अहिले राज्यले गरिरहेका काम मात्र योगमायाको योगदानका लागि पर्याप्त नभएको उनीहरूको भनाइ छ ।

षडानन्द नगरपालिकाका स्थानीय प्रकाश पौडेलले भने, ‘राज्यले योगमायाको योगदानको उचित ढङ्गले मूल्याङ्कन गर्न सकेको छैन । हामीले राष्ट्रिय विभूति घोषणा गर्न धेरैपटक आवाज उठाएको भए पनि राज्यले त्यसलाई सुनेन । उनलाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने हाम्रो जोडदार माग छ । राज्यले यो जे गरिरहेको छ यो मात्र पर्याप्त होइन् ।’

प्रकाशित मिति : १२ भाद्र २०७९, आइतबार  ८ : ३२ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल जेठ ३ गते बिहीबार तदनुसार

आज २०८१ साल जेठ ३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ३ गते बिहीबार तदनुसार

बागमतीमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय

काठमाडौं– बागमती प्रदेश सरकारले सामाजिक विकास मन्त्रालय विभाजन गरेकाे छ

धुञ्चे–गोसाइँकुण्ड केबलकार निर्माणमा सहयोग गर्ने मन्त्री जोशीको प्रतिबद्धता

काठमाडौं – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले धुञ्चे–गोसाइँकुण्ड

खेलाडीबाट अनुशासन सिक्नुपर्छः धनराज गुरुङ

कास्की – नेपाली कांग्रेसका उपसभापति एवम् प्रतिनिधिसभा सदस्य धनराज गुरुङले