चुनावमा ‘आयाराम गयाराम’को बाह्रमासे दाउ | Khabarhub Khabarhub

चुनावमा ‘आयाराम गयाराम’को बाह्रमासे दाउ



काठमाडौँ – नेपालको चुनावी राजनीतिमा यतिबेला ‘आयाराम र गयाराम’ प्रवृत्ति मौलाएको छ । चुनाव जित्न दल बदल्ने मात्र हैन, टिकट नपाए दललाई लात मारेर बागी हुनेहरू कम छैनन् । आयाराम गयारामहरूका लागि दल बदल्नु बाह्रमासे दाउ सरह भएको छ ।

‘आयाराम र गयाराम’ प्रवृत्तिले नेपालको मात्र हैन, भारतको राजनीतिमा धेरै पहिलेदेखि लोकतन्त्रको नै धज्जी उडाइरहेको छ । भारतमा दल बदलुहरूलाई ‘आयाराम र गयाराम’को संज्ञा हरियाणाको राजनीतिले दिएको हो ।

यो सन् १९६७ को प्रसङ्ग हो । इन्दिरा गान्धीको नेतृत्वमा कांग्रेस पहिलोपटक सबैभन्दा कम सिट (५२० मा २८३) जितेर सत्तामा पुगेको थियो । बिहार, उत्तरप्रदेश, राजस्थान, पञ्जाव, हरियाणा, पश्चिम बंगाल, उडिसा, मद्रासका विधान सभामा कांग्रेसलाई ठूलो झट्का लागेको थियो ।

सन् १९६६ मै हरियाणा पञ्जावबाट अलग भएर नयाँ राज्य बनिसकेको थियो । हरियाणाको पहिलो विधानसभा चुनावमा कांग्रेसले ८१ मध्ये ४८ सिट जितेर निकै कम बहुमतको सरकार बनाएको थियो । यही चुनावमा भारतीय जन संघले १२, स्वतन्त्र पार्टीले ३ र रिपब्लिकन पार्टीले २ सिट जितेका थिए । १६ सिटका साथ निर्दलीय सांसदहरूको अर्को ठूलो समूह थियो ।

काँग्रेसका तर्फबाट भगवत दयाल शर्माले मुख्यमन्त्रीका रुपमा सन् १९६७ मार्च १० मा सपथ लिएका थिए । एक साताभित्रै पार्टीका १२ जना विधायकले दल बदल गरेपछि हरियाणामा कांग्रेसको सरकार ढल्यो । नेपाली कांग्रेसका कुनै बेलाका ‘छत्तीसे समूह’ भने झैं ती १२ विधायकले ‘हरियाणा कांग्रेस’का नामबाट अलग समूह बनाएका थिए ।

निर्दलीय विधायकहरूको पनि ‘यूनाइटेड फ्रन्ट’ नामको अर्को समूह थियो । अन्ततः यूनाइटेड फ्रन्ट अन्तर्गतका सांसदहरूको संख्या ४८ सम्म पुग्यो । विपक्षी दलहरूले मिलेर संयुक्त विधायक दल नै बनाए । फलस्वरुप राव विरेन्द्र सिंह संयुक्त विधायक दलका तर्फबाट हरियाणाको मुख्यमन्त्री बने । हुन त रावले कांग्रेसकै टिकटमा पटौदी क्षेत्रबाट चुनाव जितेका थिए ।

सत्ता समीकरणको यो खेलमा एकजना ‘गया लाल’ नामक विधायक थिए, जसले पूरै भारतको ध्यान आकर्षित गरे । गया लाले एकै दिन तीनपटक दल बदले । पहिला उनी कांग्रेस छाडेर जनता पार्टीमा लागे । केहीबेरमै उनी ‘हरियाणा कांग्रेस’मा फर्किए । करीब ९ घन्टापछि उनको हृदय परिवर्तन भयो र पुनः जनता पार्टीमै गए । गया लालको हृदय परिवर्तनको सिलसिला यति मै थामिएन । फेरि त्यसै दिन उनी कांग्रेसमै फर्किए ।

कांग्रेसमा फर्किएपछि पार्टीका तात्कालीन नेता राव वीरेन्द्र सिंहले उनलाई लिएर चण्डीगढ गए । त्यहाँ एक पत्रकार सम्मेलनमा सिंहले भने, ‘गया राम अब आया राम भएका छन् ।’

यही घटनापछि भारतीय राजनीतिमा मात्र हैन, भारतीय समाजका हरेक सन्दर्भमा आफ्नो कित्ता परिवर्तन गर्ने दल बदलुलाई ‘आयाराम गयाराम’ भन्न थालियो । त्यसपछि पनि गया लालको दल बदलु रवैया जारी रह्यो ।

यूनाइटेड फ्रन्टपछि गया लाल आर्य सभा नामक पार्टीमा गए । दुई वर्षपछि उनले चरण सिंहको नेतृत्वमा रहेको लोकदल रोजे । त्यसपछि सन् १९७७ मा उनी जनता दलको टिकटमा चुनावमा लडे र जिते । गया लालले आफ्ना अन्तिम चुनाव सन् १९८२ मा स्वतन्त्र उम्मेदवारका रुपमा लडेका थिए, तर त्यो चुनावमा चाहिँ उनी हारे । सन् २००९ मा गया लालको निधन भयो ।

हरियाणाको राजनीतिमा आयाराम र गयारामको सिलसिला जारी छ । सन् १९८० मा भजन लाल जनता पार्टी त्यागेर ३७ सांसदसहित कांग्रेस प्रवेश गरे र मुख्यमन्त्री नै भए । सन् २०१६ मा पिपुल्स पार्टीका ४३ मध्ये ३३ सांसद भाजपामा सहभागी भए । पहिला कांग्रेसका सांसद पिपुल्स पार्टीमा गएका थिए भने पछि भाजपामा गए । सन् २०१८ मा गोवामा कांग्रेसका दुइ सांसद भाजपामा सामेल भएका थिए ।

नेपालका आयाराम गयाराम

बितेको तीन दशकको राजनीतिक परिवेश हेर्ने हो भने हामीकहाँ पनि आयाराम र गयारामहरूको कमी देखिँदैन । तीमध्ये चार-पाँच जना त यस्ता छन्, जसको धन्दा नै दल बदल्नु हो । उदाहरणका लागि हृदयेश त्रिपाठीलाई लिऊँ, उनले मन्त्री या सांसद बन्न हालसम्म पटक–पटक दल बदल गरेका छन् ।

त्रिपाठीको राजनीतिक जिवन कम्युनिष्ट पार्टीबाट प्रारम्भ भएको हो । पाल्पाबाट माध्यमिक तहसम्म पढेका उनले नेकपाका तत्कालीन नेता केशरजंग रायमाझीमार्फत रुसमा गएर उच्च शिक्षा अध्ययन गरे । रुसबाट पढेर फर्कदासम्म उनी कम्युनिष्ट राजनीतिबाट विमुख भइसकेका थिए ।

वि.सं. २०४३ सालको राष्ट्रिय पञ्चायत चुनाव लडेर हारेका त्रिपाठी २०४७ सालमा बहुदल आएपछि नेपाल सदभावना पार्टीमा आवद्ध भए । सदभावना पार्टीबाट बारम्बार मन्त्री र सांसद भए । २०६३ सालमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सरकारमा उनी मन्त्री थिए । त्यसैबेला मन्त्री पदबाट राजीनामा दिएर उनी महन्थ ठाकुरको नेतृत्वमा गठित तराई मधेश लोकतान्त्रिक पार्टीको सह–अध्यक्ष बने ।

अहिले काठमाडौँको मेयरका उम्मेदवार स्थापितले कुन घाटको पानी खाएनन् ? कम्युनिष्टदेखि दरबारसम्म, माओवादीदेखि प्रजा परिषदसम्म, जताततै चहार्न भ्याए ।

तत्कालीन तमलोपाबाट २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा सांसद बनेका त्रिपाठी २०७० को दोस्रो संविधानसभामा भने पराजित भए । २०४७ पछि पहिलोपटक निर्वाचन हारेका त्रिपाठीलाई अब जसरी पनि सांसद बन्नु थियो । अनि उनले अपनाए ‘आयाराम गयाराम’को तिकडम ।

तमलोपा लगायत मधेसवादी दलको एकीकृत समूह ‘राष्ट्रिय जनता पार्टी’ बनिसकेको थियो, तर त्रिपाठी चाहिँ वि.सं. २०७४ को निर्वाचनताका नेकपा(एमाले)तिर लहसिए ।

उनी एमाले प्रवेश गर्ने हल्ला चल्यो । एमाले प्रवेश गर्ने भएकाले उनले स्वतन्त्र राजनीतिक विचार समूहका नाममा नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ बाट सूर्य चिह्न लिएरै लड्न पाए । सूर्य चिह्नबाट चुनाव जितेका त्रिपाठीलाई एमालेले संघीय मामिला तथा सामान्य प्रशासन र स्वास्थ्य तथा जनसंख्या मन्त्री पनि बनायो । तर, उनी एमाले प्रवेश भने गरेनन् । बरु, उनले ‘जनता प्रगतिशील पार्टी, नेपाल’ नामक पार्टी बनाएका छन् ।

त्रिपाठीको आयाराम गयाराम चरित्रबारे अग्निवर्षक लेखक खगेन्द्र संग्रौलाले हालै ‘शिलापत्र’को एक लेखमा उल्लेख गरेका छन्, ‘हृदयेश बाबुले जति दल बदले, त्यति नै हरेक पछिल्लो दलमा यिनले स्वागत र सम्मान, माला र सलामी एवम् पद र पुरस्कार पड्काए । लोकबोलीको सिको गर्दै प्वाक्क भनूँ भने दल बदल्नु यिनको लत हो, र यो लतको पुल तरेर पद पड्काउनु यिनको बाह्रमासे दाउ हो ।

आखिर मन्त्री पद नै किन ? जनजनका घरदैलोमा सेवा आपूर्ति गर्न ? देशको प्रगति र उन्नतिद्वारा जनजनका घरदैलामा सुख–शान्ति वितरण गर्न ? लोकबोली भन्छ– भन्नलाई मुखले जे भने पनि यो मन्त्री पद खासमा आफैँलाई सेवा आपूर्ति गर्न, आफ्नै वैभव र सुख–शान्ति विस्तार गर्न र एकबारको जुनीमा असीम मोजमस्ती गर्नलाई हो ।’

राजनीतिका अर्का आयाराम र गयाराम हुन्, केशव स्थापित । अहिले काठमाडौँको मेयरका उम्मेदवार स्थापितले कुन घाटको पानी खाएनन् ? कम्युनिष्टदेखि दरबारसम्म, माओवादीदेखि प्रजा परिषदसम्म, जताततै चहार्न भ्याए ।

वि.सं. २०५१ मा एमालेको नौ महिने मनमोहन अधिकारीको सरकारका पालामा स्थापित राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव बने । वि.सं. २०५४ सालको स्थानीय चुनावमा उनलाई काठमाडौं महानगरपालिकाको मेयर बनायो । एमाले विभाजित भएपछि स्थापित वामदेव गौतम र सीपी मैनालीले स्थापना गरेको नेकपा(माले)मा गए ।

विसं २०६० मा राजा ज्ञानेन्द्रबाट काठमाडौंको मनोनित मेयर बने । शाही शासन ढलेपछि उनी प्रजा परिषदमा लागे । केही समयपछि माओवादीतिर लहसिए र तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको कृपामा काठमाडौं उपत्यका विकास प्राधिकरणको प्रमुख भए । वि.सं. २०७० मा उनी फेरि एमाले फर्किए । तर, त्यसबेला काठमाडौं क्षेत्र नम्बर ६ बाट एमालेले टिकट नदिएपछि संघीय समाजवादी फोरमका तर्फबाट चुनाव लडे । चुनाव हारेपछि उनी पुनः एमालेमा फर्किएका हुन् । अहिले उनलाई काठमाडौंको मेयर उम्मेदवार बनाइएको छ ।

जब विचार, सिद्धान्त र आदर्शको ठाउँमा सत्ता र पदीय स्वार्थ हावी हुन्छ, तब भारतको हरियाणामा झैं नेपालमा पनि आयाराम गयारामहरूको उदय भइरहन्छ ।

स्थापितबारे लेखक संग्रौलीको टिप्पणी पनि कम रोचक छैन । संग्रौला लेख्छन्, ‘नित्य चटके र बतासे कुरा गरेर ओछ्यान फेर्दै पार्टीसत्ता वा राज्यसत्तामा उक्लेर सत्ताको सुस्वाद तर मार्न मिस्टर स्थापित जति स्थापित छन्, त्यति अरु को छ ? अहिले यी आफूजस्तै चटके चिन्तन, चटके कथन एवम् चटके परिकल्पनाका औधी धनी मान्यवर खड्गप्रसाद शर्मा ओलीका कृपाले काठमाडौं महानगरिपालिकाको मेयरका उम्मेदवार बनेका छन् ।’

एमाले प्रवेश गरेको चौबीस घण्टा नबित्दै रातारात माउपाटीमै फर्किने धादिङ, बेनिघाट रोराङ गाउँपालिकाका निवर्तमान अध्यक्ष माओवादी केन्द्रका नेता पित्तबहादुर डल्लाकोटी, चुनावको मुखमा एमाले प्रवेश गर्ने माओवादी केन्द्रका कर्णाली प्रदेश सभा सदस्य ठम्मरबहादुर बिष्ट मात्र हैन, राजावादी, गणतन्त्रवादी, नेमकिपा, एमाले र माओवादी हुँदै अहिले एमालेमा प्रवेश गरेका पूर्वमन्त्री प्रेमबहादुर सिंहदेखि कांग्रेस, तमलोपा, संघीय समाजवादी फोरम हुँदै एमाले प्रवेश गर्ने कपिलवस्तुका मंगलप्रसाद गुप्ता पनि नेपाली राजनीतिका आयाराम गयारामहरू हुन् ।

तत्कालीन संघीय समाजवादी फोरमबाट वीरगञ्जका मेयर बनेका विजय सरावगी यसपालि एमालेबाट मेयर उम्मेदवार छन् । उनको नाम पनि आयाराम गयारामको कोटीमा पर्छ । अनि चालिस वर्षसम्म कम्युनिष्ट पार्टीमा सक्रिय भएर हालै कांग्रेस प्रवेश गरेका सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्री पनि यही कोटीमा पर्छन् ।

लामो समय माओवादीमा रहेर अहिले एमाले भएका रामबहादुर थापादेखि टोपबहादुर रायमाझीसम्मको यात्रा पनि आयामराम गयारामतर्फ नै उन्मुख देखिन्छ । एमालेमा यथोचित सम्मान नपाएको दिन फुत्त यिनले माओवादी केन्द्रमा प्रवेश गरेको खबर सुन्नुपर्नेछ । जब विचार, सिद्धान्त र आदर्शको ठाउँमा सत्ता र पदीय स्वार्थ हावी हुन्छ, तब भारतको हरियाणामा झैं नेपालमा पनि आयाराम गयारामहरूको उदय भइरहन्छ ।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  ७ : ५७ बजे

भारतीय चुनाव : आज दोस्रो चरणको मतदान

काठमाडौं– भारतीय लोकसभाका लागि उधुम गर्मीका बाबजुद आज बैशाख १४

गर्मी बढेपछि बङ्गलादेशका सबै विद्यालय बन्द : तीन करोड बढी विद्यार्थी प्रभावित

काठमाडौं – बङ्गलादेशमा अत्यधिक गर्मी भएपछि तीन दिनको लागि सबै

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौँ– जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक

कुकुरले किन खुट्टा उचालेर पिसाब फेर्छ ? यस्तो छ कारण

कुकुरले एउटा खुट्टा उचालेर पिसाब फेरेको त हामी धेरैले देखि

आजको मौसम : चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव