कांग्रेस छाडेर आए माओवादीसँग एकता हुन सक्छ | Khabarhub Khabarhub

कांग्रेस छाडेर आए माओवादीसँग एकता हुन सक्छ


१० श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- निर्वाचन आयोगका पदाधिकारीले गत असार २२ गते प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेर मंसिर २ गते एकै चरणमा संघ र प्रदेशको निर्वाचन गर्न १२० दिन अगाडि नै मिति तोक्ने सुझाव दिएका थिए । आयोगको सुझाव अनुसार ४ महिना अगाडि अर्थात् २ साउनसम्म निर्वाचनको मिति घोषणा हुनु पर्ने थियो । तर निर्वाचन मिति कहिले घोषणा हुन्छ त्यो अझै अनिश्चित छ । सरकार धमाधम संसदबाट विधेयक पारित गर्ने तयारीमा छ । तर निर्वाचनको मिति घोषणा गर्ने कुनै तयारी गरेको पाइँदैन । निर्वाचनको मिति घोषणा नै नहुँदा दलहरू गठबन्धन बनाउन तम्सिरहेका छन् । वाम गठबन्धन बनाउनेदेखि समाज केन्द्र बनाउने सम्मका रस्साकसी भइरहेको छन् । यस्तोमा प्रतिपक्षी दल एमाले भने अब कसरी अगाडि बढ्छ भन्ने चासो सर्वत्र छ । यसै सन्दर्भमा एमाले सचिव योगेश भटट्राईसँग धीरज बस्नेतले गरेको कुराकानीको सम्पादित अंश:

सरकारले निर्वाचनको मिति तोक्न ढिलाइ गर्दा पनि एमाले किन नबोलेको यो विषयमा ?
नेकपा एमालेले संसद्मा प्रतिनिधि सभाको निर्वाचन तत्काल घोषणा गर्नु पर्नेमा बारम्बार सरकारको ध्यानाकर्षण गरेको छ । प्रतिनिधि सभामा हाम्रो पार्टीका सांसदले शून्य समयमा वा विशेष समयमा निर्वाचनको मिति तोक्न पटक–पटक सरकारलाई ध्यानाकर्षण गरेका छौँ । तर सरकारले अहिलेसम्म तोकेको छैन ।

निर्वाचनको मिति तोक्न ढिला भयो भनेर स्वयंम प्रधानमन्त्रीलाई नै भन्नु भएन ?
संसदमा सार्वजनिक तरीकाले बोल्नु भनेको नै सबैको ध्यानाकर्षण गर्नु हो । संसद् भनेको संसदीय व्यवस्थामा सबै कुराहरू राख्ने थलो हो । त्यहाँ सरकार प्रधानमन्त्री सबैको ध्यानाकर्षण हुन्छ ।

नेकपा एमाले आगामी निर्वाचनमा कुनै दलसँग तालमेल गरेर अगाडी बढ्छ की ?
नेकपा एमालेको गठबन्धन मुख्य उद्देश्य हैन । आउने निर्वाचनमा आफ्नो पार्टीका सामर्थ्य र शक्तिबाट आफ्नो पार्टीको सिद्धान्तका आधारमा चुनाव लड्ने नेकपा एमालेको नीति हो ।

राप्रपादेखि सिके राउतसम्म तयारी गर्ने भन्ने भित्री कुरो छ नि हो ?
नेकपा एमालेको घोषित रूपमा त्यस्तो कुनै नीति छैन । अहिले प्रदेशगत रूपमा पार्टीको आन्तरिक भेला बैठक र प्रशिक्षणमा लागेर चुनावको तयारी गर्दै आएका छौँ । स्थानीय रूपमा केही तालमेल भएछ भने त्यो स्थानीय पार्टी कमिटीको विशेष अधिकारको कुरा हो । केन्द्रीय रूपमा नेकपा एमाले तालमेलको नीतिमा छैन ।

माओवादी र एकीकृत समाजवादी एमालेसँग मिल्नका लागि तयारी गरेका छन् । एमालेले पनि त्यो संकेत देखाएको छ, भनिएको छ । यसमा कत्तिको सत्यता छ ?
त्यो खालको वास्तुगत अवस्था बनेको छैन । माओवादीले नेपाली काँग्रेससँगको सम्बन्ध छोड्नु पर्‍यो र त्यो भयो भने एमालेले उहाँहरूसँग एकता गर्दछ । नेकपा एमाले परिवर्तनको पक्षधर पार्टी हो । मुलुकको आर्थिक समृद्धिमा काम गर्ने पार्टी हो । समाजवादी पार्टी हो । देशभक्तहरूको पार्टी हो । नेकपा एमालेको अगाडी लोकतान्त्रिक समाजवादी एक दुई वटा पोलहरू निर्माण हुन्छ ।

कांग्रेस भनेको पुँजीपति वर्गको पार्टी हो । यथास्थितिवादी पार्टी हो । त्यसैले नेपाली कांग्रेसको अगाडी पुँजीपति वर्गका प्रतिनिधिहरूको पोल त्यही खडा हुन्छ । मूल त नेपाली राजनीतिमा यी नै दुई वटा ध्रुवहरू हुन् । अन्य दलहरू अलग अलग अस्तित्वमा रहने सम्भावना रहँदैन । आफ्नो अस्तित्व जोगाउने हो भने उहाँहरू कि त नेकपा एमालेको छाताभित्र या नेपाली काँग्रेसको छाताभित्र बसेर जोगाउनु पर्दछ । आज उहाँहरू नेपाली कांग्रेसको छाता भित्र हुनुहुन्छ । र, त्यो एउटा असंवैधानिक गठबन्धन हो । किनभने प्रचण्ड र माधव कुमार नेपालहरूले आफूलाई समाजवादी, कम्युनिस्ट, प्रगतिशील भन्नुहुन्छ तर कांग्रेसको छाता भित्र बस्नु भएको छ । साँच्चै उहाँहरू समाजवादी, कम्युनिस्ट, प्रगतिशील हो भने त्यो छाताबाट निस्केर एमाले जस्तो प्रगतिशील पार्टीसँग मिलेर अगाडि बढाउनुपर्छ ।

कांग्रेससँगको सम्बन्ध तोडेपछि तपाईंहरुसँग सहकार्यको लागि तपाईंहरुको पावर माथि हुने भएर त्यस्तो भनेको हो कि ?
कांग्रेस सभापति शेरबहादुर देउवाले चलाएको बसका यात्री उहाँहरु हुनुहुन्छ । त्यसबाट कसरी केपी ओलीले चलाएको बसमा आउनु हुन्छ, उहाँहरु । त्यसैले सही दिशामा जाने र सही बाटोमा आउने हो भने त्यहाँबाट निस्केर आउनुपर्‍यो । त्यो भनेको कांग्रेससँगको सम्बन्ध छाडेर आउँदा माओवादीसँग एकता हुन सक्छ ।

वामदेव गौतमसँगको छलफललाई कसरी लिनु भएको छ ?
एउटा जिम्मेवार पार्टीको नाताले सबै दलहरूसँग सहकार्य गर्दछौँ । नेपाली कांग्रेससँग पनि कतिपय कुराहरूमा सहकार्य गर्छाै । तर चुनावमा कतिपय दलहरूले विभिन्न दलहरू बटुलेर गठबन्धन बनाउने जस्ता कुरामा हामी लागेका छैनौँ ।

नागरिकता विधेयक पारित हुँदा मौन बस्नु भयो । बाहिर यसले देश बर्बाद बनाउँछ भनेर टिप्पणी गर्नु भयो भन्ने कुरा बाहिर आएको छ नि के हो ?
३१ जना मान्य सदस्यहरूले विभिन्न विषयमा ४५ वटा भन्दा बढी संशोधन प्रस्ताव नागरिकता दिने सन्दर्भमा प्रतिनिधि सभामा राख्नु भएको थियो । त्यसलाई सभामुखले प्रस्तुत गर्दा हामीले हुन्छ भनेर मतदान गरेका थियौँ । त्यसलाई कसरी मौन भन्ने मिल्छ ।

तपाईंहरुको असहमति के–के कुरामा हो ?
हामीले उठाएको विषय भनेको वैवाहिक अंगीकृतको सवालमा हो । वैवाहिक अंगीकृतमा पनि नागरिकता दिनु हुन्न भन्ने हाम्रो पार्टीको सवाल हैन । आजको भोलि नै नागरिकता कुनै पनि देशमा पाइँदैन । कुनै बाहिरको व्यक्तिले विवाह गरेर आउँछ भने उसले केही न केही समय त्यो देशमा बस्नु पर्दछ । त्यहाँको भाषा सिक्नु पर्दछ । रहनसहन सिक्नु पर्दछ अनि मात्र त्यहाँको नागरिकता पाउँछ । हरेक देशका त्यही हो ।

भारतमा विवाह गरेर जाने कुनै पनि महिलाले ७ वर्ष नभई पाउँदैन। बंगलादेशमा पाँच वर्ष कम्तीमा हुनै पर्छ । माल्दिभ्समा नागरिकता नै दिँदैन । भुटानमा उसको बाबुआमालाई बच्चा नभएसम्म पाउँदैन । बच्चाले पाउँछ अनि मात्र बाबु आमाले पाउँछन् भने हामीले पनि कुनै नियम बनाऊ भनेर २२ महिना छलफल गरेका हौँ । प्रतिनिधिसभामा यो प्रस्ताव राखेका हौँ ।

नेपाल एउटा खुला सिमाना भएको राष्ट्र हो । दुई विशाल जनसंख्या भएका राष्ट्रहरूले घेरेको राष्ट्र हो । नागरिकता जस्तो संवेदनशील विषयमा हामीले राष्ट्रिय सहमति बनाउनु पर्दछ भन्ने हाम्रो धारणा हो । सत्तापक्षले एक चोटि पनि कसरी अगाडि बढ्ने भन्ने बारेमा सोधेन । कतिपय अवस्थामा भोलि संविधान संशोधनको माग पनि गर्न सक्छ, नागरिकताले । अर्को देशको नागरिकता लिनको लागि केही समय कुर्नै पर्दछ ।

यो चुनावको मुखमा केही फण्डा गर्न खोजिएको हो कि भन्ने केहीले त तर्क पनि गरेका छन् ?
यस्तो कुरालाई चुनावको मुद्दा बनायो भने मुलुकको राष्ट्रियता भङ्ग हुन्छ । राष्ट्र भक्तिप्रतिको भावना कमजोर हुन्छ । आफ्नै मुलुकमा आफ्ना नागरिकहरू अल्पमतमा परे भने भोलिको अवस्था कस्तो हुन्छ ? त्यो कुरा हामीले उठाएका हौँ। चुनावमा त केही हुँदैन, एउटा गए अर्को आउँछ ।

मतादाता थपिने भए नि त ?
त्यसका लागि अस्थायी प्रबन्ध निकाल्न सकिन्छ । अन्य उपायहरू निकाल्न सकिन्छ । जो विवाह गरेर आएका छन्, उनीहरूलाई अस्थायी बसोबास कार्ड दिनु पर्दछ भनेका छौँ । त्यो दियो भने त उसले चुनावमा पनि मतादाता नामावलीमा नाम लेख्न पाउँछ । जग्गा किनबेच गर्न पाउँछ, शिक्षा आर्जन गर्न, व्यापार व्यवसाय गर्न पाउँछ । (प्रस्तुति : पुष्पाञ्जली बस्नेत)

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलबार  १ : १२ बजे

नेपाली सेनाले ऐतिहासिक गोलकोत घरको जिर्णोद्धार गर्दै

बागलुङ– बागलुङको गलकोट नगरपालिका– ३ मा रहेको ऐतिहासिक तथा धार्मिक

पोखरामा आजदेखि एसिया कप ट्रायथोलन प्रतियोगिता हुँदै

कास्की– देशको पर्यटकीय राजधानी सहर पोखरामा आजदेखि ‘एसिया कप तथा

२६१ रन बनाएको कोलकाताविरुद्ध पञ्जाबले निकाल्यो आठ विकेटको ऐतिहासिक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार सन्