दिनभर आजः मन्त्रिपरिषद् पुनर्गठन, सिरहामा गोली चल्दा एक जना घाइते | Khabarhub Khabarhub

दिनभर आजः मन्त्रिपरिषद् पुनर्गठन, सिरहामा गोली चल्दा एक जना घाइते


१२ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : 6 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज दिनभर नेपालमा मन्त्रिपरिषद् पुनर्गठन, नेकपा एकीकृत समाजवादीका मन्त्रीहरुको राजीनामा लगायका विषयले चर्चा पाए । यी हुन् आजका शीर्ष समाचारहरुः

प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपतिले गरिन् मन्त्रिपरिषद् पुनर्गठन

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् पुनर्गठन गरेकी छिन् । उनले आज पाँच जना मन्त्री फेरबदल गरेकी हुन् ।

एकीकृत समाजवादी पार्टीको सिफारिसमा प्रधानमन्त्रीले त्यही पार्टीका नयाँ मन्त्रीको नाम पठाएका थिए । मन्त्रीहरूको शपथ ग्रहण भोलि सोमवार हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।

पर्यटनमन्त्री आलेले दिए राजीनामा, रामकुमारी झाँक्री भावुक

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले मगरले राजीनामा दिएका छन् ।

मन्त्रालयमा आज पत्रकार सम्मेलन गरेर मन्त्री आलेले आफ्नो कार्यकालमा भएका कामको बारेमा सुनाउँदै राजीनामा दिएका हुन् ।

उनले आफ्नो कामबाट ९० प्रतिशत सन्तुष्ट रहेको दाबी समेत गरे । यस्तै उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न हुनु, त्रिभुवन विमानस्थलमा निःशुल्क बस सेवा सञ्चालन गरिनु उपलब्धिमूलक भएको बताए । आफू मन्त्री हुँदा दर्जनौँ दबाब र आर्थिक प्रलोभन आउँदा पनि आफू प्रभावमा नपरेको उनको दाबी थियो ।

आलेले आफुलाई मन्त्री भन्ने कुरा ठूलो नभएको भन्दै पार्टीमा आउँदा पनि मन्त्रीको बार्गेनिङ नगरेको तर्क गरे । उनले पार्टी अध्यक्ष माधवकुमार नेपालसमक्ष आफूले असार १० गते शुक्रबार नै राजीनामा बुझाएको जानकारी पनि दिए ।

आलेले २०७८ सालको असोज २२ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको जिम्मेवारी पाएका थिए । यस्तै सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले पनि पदबाट राजीनामा घोषणा गरेकी छिन् ।

मन्त्रालयमा आज साँझ आयोजित पत्रकार सम्मेलनका क्रममा राजीनामाको घोषणा गर्ने क्रममा उनी भावुक भएकी थिइन् ।

पेट्रोलियम पदार्थमा दिइएको कर छुटले जनतालाई राहत हुने उद्योगमन्त्रीको विश्वास

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थमा दिइएको कर छुट र मूल्य कटौतीले सर्वसाधारणलाई राहत मिल्ने दावी गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक महत्वका विषयमा वक्तव्य दिँदै उनले दैनिक उपभोग्य वस्तुमा मूल्य सरलीकरण र कर घटाउने गरी गरिएको मूल्य समायोजनले सरकारले जनताको चासो र हितमा सदैव गम्भीर रहन्छ भन्ने पक्षलाई ध्यान दिएको स्पष्ट गरे ।

उनले पेट्रोलियम पदार्थमा मूल्य समायोजन, निगमको व्यवस्थापनलगायत समग्र पक्षमा अध्ययन गर्न उच्चस्तरीय कार्यदल गठन गरिएकाले सोको प्रतिवेदन आएपछि थप निर्णय लिइने बताए ।

मन्त्री बडूले अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि हुँदा नेपालमा पनि मूल्य बढ्ने र घट्दा घटाइने प्रणालीलाई निरन्तरता दिइएको उल्लेख गरे ।

सदन, सडक र जनस्तरबाट आएको आवाजलाई सम्बोधन गरेर पछिल्लो समयमा वृद्धि भएको पेट्रोलको मूल्यमा करको दर घटाएर प्रतिलिटर रु २० घटाइएको उनले बताए ।

साथै उनले सर्वसाधारण जनताले प्रयोग गर्ने ग्यासमा सहुलितयत दिने र मूल्य घटेपछि उपभोग्य वस्तुमा मूल्य घटाउन सम्बन्धित मन्त्रालयका तर्फबाट तत्काल पहल गरिने पनि बताए ।

न्यायपालिकाभित्र हुने राजनीतिक नियुक्तिलाई अन्त्य गर्नुपर्छ: गोविन्दप्रसाद शर्मा कोइराला

कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले न्यायपालिकाभित्र हुने राजनीतिक नियुक्तलाई अन्त्य गर्नुपर्ने बताएका छन् ।

राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री कोईरालाले विभिन्न प्रतिवेदनका आधारमा न्यायपालिकाभित्र राजनीतिक नियुक्ति हावी हुने देखिएकाले यसलाई अन्त्य गर्नुपर्ने बताएका हुन् ।

उनले न्यायाधीशको नियुक्ति राजनीतिक भागबण्डाभन्दा पनि निष्पक्ष र स्वतन्त्ररुपमा योग्यता तथा क्षमताका आधारमा हुनुपर्ने धारणा राखे । उनले न्याय प्रणालीलाई सर्वसुलभ बनाउने र न्यायमा समान पहुँचका निम्ति सरकारले कानूनी सहायता कार्यक्रमलाई लामो समयदेखि सञ्चालन गर्दै आएको पनि बताए ।

उनले केही दिनअघि न्यायाधीशको अडियो प्रकरण सार्वजनिक भएलगतै छानविन समिति गठन गरिएको जानकारी गराए ।

त्यस्तै विनियोजन विधेयकमाथि आफ्ना मन्त्रालयमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले पाठ्यपुस्तकको अभाव हटाउनका लागि नियमित अनुगमन भइरहेको जानकारी दिए ।

पार्टीभित्र व्यक्तिको मुल्याङ्कनमा वेवास्ता भएपछि विद्रोह गर्नुपर्‍यो: माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीभित्र व्यक्तिको मुल्याङ्कनमा वेवास्ता भएपछि विद्रोह गर्नुपरेको बताएका छन् ।

काठमाडौंमा आज अखिल नेपाल महिला संघको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले केपी ओलीको व्यक्तिवादी प्रवृतिबिरुद्ध विद्रोह गर्न निकै गारो भएको समेत बताए ।

विद्रोह गर्ने बेलामा आफ्नो पक्षमा केही अनुकूलता सिर्जना भएकाले सफल भएको उनले बताए।

एमाले र माओवादी मिल्दा पार्टीमा वैचारिक मतभेद नभए पनि त्यसपछि भने ओली दक्षिणपन्थतिर भासिन थालेको उनले बताए ।

अध्यक्ष नेपालले अहिले नयाँ पार्टी गठन गरेपछि छोटो समयमा नै लोकप्रिय भएको दावी समेत गरे ।

स्थानीय निर्वाचनमा मतपत्रमा कमजोरी हुँदा अधिकांश स्थानमा पार्टीले हार व्यहोर्नुपरेको उनले बताए ।

आफ्नो पार्टीलाई अवमूल्यन र अपमान गरे पनि गठबन्धनलाई निरन्तरता दिने पक्षमा आफूहरु रहेको भन्दै अध्यक्ष नेपालले केही समस्या भए छलफल गरेर अघि बढ्ने बताए । उनले अहिलेको उपलब्धिलाई सानो ठान्न नहुने धारणा राखे।

त्यस्तै अध्यक्ष नेपालले स्थानीय निर्वाचनमा महिलालाई उम्मेदवार बनाउँदा कतिपय ठाउँमा विद्रोह नै गर्नुपरेको जिकिर गरे ।

नागरिकता लगायतका महत्त्वपूर्ण विधेयकहरू संसदबाट पारित गर्नुपर्छ: सभामुख सापकोटा

सभामुख अग्नि सापकोटाले नागरिकता लगाएतका महत्वपूर्ण बिधेयकहरु संसद्को चालु अधिवेशनबाट पारित गर्नुपर्ने बताएका छन् ।

संसदीय मामिला पत्रकार समाजले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सभामुख सापकोटाले नागरिकता विधेयक अड्किएका कारण धेरै गुनासो आएको भन्दै नागरिकता लगायतका प्रतिस्थापन विधेयक चालु अधिवेशनबाट पास गर्नुपर्ने बताएका हुन । उनले गुणस्तरीय कानुन बनाउनु मुख्य दायित्व भएको र देशको सुशासन कायम गर्ने कानुन निर्माण गर्ने बाहेक कुनै स्वार्थ नरहेको धारणा राखे ।

भ्रष्ट्राचार भनेको कुनै बजेट र आर्थिकसँग मात्रै सम्बन्धित कुरा मात्रै नभएको भन्दै उनले सुशासन कायम गर्दै सबै क्षेत्रमा हुने भ्रष्ट्राचार नियन्त्रण गर्नुपर्ने जिकिर गरे ।

सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित

सुदूरपश्चिम प्रदेश सभाको बैठक अगामी असार १६ गतेसम्मका लागि स्थगित गरिएको छ ।

सरकारको आग्रहमा प्रदेशसभा सचिवालयले सूचना टाँस्दै १६ गतेसम्म बैठक स्थगित गरिएको जनाएको हो ।

गत असार १ गते आर्थिक मामिला मन्त्री प्रकाशबहादुर रावलले प्रदेशसभामा अगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटमा असन्तुष्टि जनाउँदै संशोधन गर्न सांसदहरूले माग गरेका छन् ।

बजेटमा सरकारविरूद्ध सत्तारूढ र विपक्षी दलका सांसद एकजुट भएपछि प्रदेशसभाको बैठक चल्न सुचारु हुन सकेको छैन ।

सांसदहरूको अवरोधकै कारण कारण ८ गतेका लागि बोलाइएको बैठक १२ गतेसम्म सारिएको थियो ।

तर सामाजिक विकास मन्त्री गोविन्द बोहरासहित नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्यहरू बजेट संशोधनको माग गर्दै काठमाडौं आइपुगेका छन् ।

इलामको माङसेबुङमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु

इलामको माङसेबुङ गाउँपालिका २ दहगाउँमा बोलेरो जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पाँचथर मिक्लाजुङ गाउँपालिका ५ का ६५ वर्षीय हिमप्रसाद लावती, सोही ठाउँका पदम कुमारी लावती र इलाम माङसेबुङ ६ का ५० वर्षीय प्रकाश भनिने जयराम राई रहेका छन् ।

आज दिउँसो करिब १२ बजे पाँचरको रविबाट झापाको दमक आउँदै गरेको मे १ ज ४८७ नम्बरको बोलेरो जीप आफैँ अनियन्त्रित भई सडकबाट दुईसय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी हिमप्रसाद र प्रकाशको घटनास्थलमै मृत्यु भएको थियो भने पदमकुमारीको उपचारका लागि दमक अस्पताल लाँदै गर्दा मृत्यु भएको प्रहरीले भनाइ छ ।

चालक भने समान्य घाइते भएको प्रहरीले जनाएको छ ।

सिरहामा गोली चल्दा एक जना घाइते

सिरहाको लहान नगरपालिका–२२ मा गोली चल्दा एक जना घाइते भएका छन् ।

लहान नगरपालिका–२२ म बेलीजटियाही टोलस्थित रविन्द्र चौधरीको घरको माथिल्लो तल्लामा आज बिहान गोली चल्दा स्थानिय दिलिप मुखिया घाइते भएका हुन् ।

रविन्द्रको घरमा स्थानीय १९ वर्षीय सुशान्त चौधरी, १५ वर्षीय सुरज मुखिया र १८ वर्षीय दिलिप बसिरहेका थिए । सोही क्रममा सुशान्तले ख्याल–ख्यालमै गोली चलाउँदा दिलिपको पेटमा गोली लागेको प्रहरीले जनाएको छ ।

खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय लहानको प्रमुख डिएसपी कुमारप्रसाद मैनाली घटनास्थल पुगेर छानबिन गरिरहेको छ ।

प्रहरीले सुशान्त र सुरजलाई नियन्त्रणमा लिएको छ । भने घाइते दिलिपलाई उपचारको लागि धरान पठाइएको छ ।

घटनास्थलबाट प्रहरीले कटुवा पेस्तोल १ थान, ७.६५ एमएम लेखिएको गोली ५ राउन्ड, म्यागजिन १ थान, गोलीको खोखा एक थान बरामद गरेको छ ।

नेपालमा थप २९ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ७७ पिसिआर परिक्षणका क्रममा २१ जना र ६ सय ५३ एन्टीजेन परीक्षणका क्रममा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै थप १७ संक्रमित निको भएका छन् । हाल नेपालमा १ सय ९२ सक्रिय संक्रमित आइशोलेशनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

ललितपुर महानगरपालिकामा पानीपुरी बेच्न नपाइने

ललितपुर महानगरपालिकाले हैजा नियन्त्रणका लागि पानीपुरी बिक्री वितरणमा रोक लगाएको छ ।

काठमाडौँ उपत्यकामा हैजा देखिएकाले ललितपुर महानगरको २९ वटै वडामा फैलिन नदिन पानीपुरीमा रोक लगाइएको हो ।

बाटोबाटोमा ठेला गाडामा पानीपुरी, चटपटे तथा पानी खाँदा रोग फैलने हुँदा नियन्त्रणका लागि ठेलागाडा पसल सञ्चालनमा रोक लगाइएको नगर प्रहरी प्रमुख सीताराम हाछेँथुले बताए ।

एक सातामा रोग नियन्त्रणमा नआए पानीपुरी विक्रिवितरणमा थप कडाइ गरिने हाछेँथुले जानकारी दिए ।

हवाई इन्धनको मूल्य घटाउन सरकारको ध्यानाकर्षण

नेपाल वायुसेवा सञ्चालक संघले हवाई इन्धनको पनि मूल्य घटाउन सरकारको ध्यानाकर्षण गराएको छ ।

सरकारले आइतबार पेट्रोलमा डिजेल/मट्टीतेलमा मूल्य घटाएसँगै हवाई इन्धनको मुल्य घटाउन सरकारको ध्यानाकर्षण गराएको हो ।

संघका प्रवक्ता योगराज कंडेल शर्माले आज विज्ञप्ति जारी गर्दै हवाई इन्धनको खुद्रा मूल्यमा सरकारी राजस्व घटाएर नेपाल आयल निगमले प्रतिलिटर १० रूपैयाँभन्दा बढी मुनाफा नहुने गरी मूल्य समायोजन गर्न अनुरोध गरेको जानकारी दिए ।

अन्तरराष्ट्रिय बजारबमोजिम इन्डियन आयल कर्पोरेशनले निगमलाई रक्सौलमा उपलब्ध गराउने करमुक्त खरिद मूल्यमा सरकारको अत्यधिक राजस्व तथा निगमको अत्यधिक नाफाका कारण नेपालमा हवाई इन्धनको मूल्य छिमेकी मुलुकको तुलनामा निकै महँगो रहेको संघको दाबी छ ।

नेप्से परिसूचक उच्च अंकले वृद्धि

साताको कारोबारको पहिलो दिन आज सेयर बजार परिसूचक नेप्से उच्च अंकले वुद्धि भएको छ ।

नेप्से आज ९४ दशमलव ९२ अंकले बढेर १ हजार ९ सय ५६ दशमलव ९८ विन्दुमा पुगेको हो । आज कारोबार रकमा पनि बढेको छ ।

आज २३० कम्पनीको ६३ लाख ६३ हजार ५ सय ९० कित्ता शेयर कुल २ अर्ब १९ करोड ६१ लाख ४१ हजार ८ सय ४९ रुपैँयामा कारोबार भएको छ ।

आज सबै उपसमूहको शेयरमा सकरात्मब सर्किट लागेको छ । आज झण्डै ३ दर्जन कम्पनीको मूल्य १० प्रतिशत बढेको छ ।

आज पाँचवटा कम्पनीको शेयर मात्र सामान्य अकंले घटेको छ । कारोबार रकमका आधारमा कुमारी बैंक, हिमालयन डिस्टिलरी, ङादी ग्रुप, नबिल बैंक र शिवम् सिमेन्ट क्रमशः अगाडि रहेका छन् ।

अन्तर प्रदेश चल्ने सार्वजनिक सवारीको भाडा दर घट्यो

सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक सवारीको भाडा दर घटाएको छ ।

यात्रुबाहक सवारी साधन को भाडा ५.४१ प्रतिशत, पहाडी बाटोमा चल्ने मालबाहक सवारीको भाडा ६.९७ प्रतिशत कायम भएको छ ।

यस्तै तराईको बाटोमा चल्ने मालबाहक सवारीको भाडा ७.६८ प्रतिशतले घटेको यातायात व्यवस्था विभागले जनाएको छ ।

गए रातिबाट पेट्रोलियम पदार्थको मुल्यमा प्रतिलिटर २० रुपैँया र डिजेलको मुल्यमा २८ रुपैँयाले घटेसगैँ सरकारले सार्वजनिक सवारीको भाडादर घटाएको हो ।

वैज्ञानिक भाडादर समायोजन गर्ने प्रणाली अनुसार स्वचालित रुपमा अन्तरप्रदेश चल्ने सार्वजनिक सवारीको भाडा दर घटाइएको विभागले जनाएको छ ।

 

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  ११ : ०० बजे

बुटवल उपमहानगर पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा

काठमाडौं– बुटवल उपमहानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गरिएको छ

नहरमा डुबेर कैलालीका एक युवक बेपत्ता

धनगढी– नहरमा डुबेर कैलालीमा एक युवक बेपत्ता भएका छन् ।

कोशी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले लिए शपथ

विराटनगर– कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका

कांग्रेसको एकपक्षीय अडानका कारण संसदीय समिति गठन हुन सकेन : मनिष झा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मनिष झाले कांग्रेसको एकपक्षीय अडानका

इतिहासकार ज्ञानमणिको योगदान अविस्मरणीय : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली इतिहास, साहित्य र शिक्षा क्षेत्रमा