विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित) | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित)


९ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज साउन ९, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार जुलाई २५, २०२२ । तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् :

अडियो सुन्नुहोस्-

नवनिर्वाचित भारतीय राष्ट्रपति मुर्मुद्वारा शपथ ग्रहण

नवनिर्वाचित भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले पद तथा गोपनीयताको शपथ लिएकीछिन् । उनलाई प्रधानन्यायाधीश एनभी रमानाले सोमबार आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

शपथ समारोहमा पूर्व राष्ट्रपति रामनाथ कोविन्द, निवर्तमान उपराष्ट्रपति एम वेंकैया नायडू, प्रधानमन्त्री नरेन्द्र मोदी र कांग्रेस अध्यक्ष सोनिया गान्धी उपस्थित थिए ।

कार्यक्रममा मुर्मुको गृहराज्य ओडिसाका मुख्यमन्त्री नवीन पटनायक लोकसभा अध्यक्ष ओम बिर्ला र विभिन्न दलका सांसदहरूको उपस्थिति थियो ।

६४ वर्षीय मुर्मु भारतको दोस्रो महिला र आदिवासी समुदायको पहिलो राष्ट्रपति हुन् । उनी भारतका १५औँ राष्ट्रपति हुन् ।

त्यस्तै, भारतमा निवर्तमान राष्ट्रपति रामनाथ कोविन्दको विदाइ गरिएको छ । राजधानी दिल्लीमा एक कार्यक्रमका बिच कोविन्दको विदाइ गरिएको हो ।

विदाइ कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताको लागि गर्ने काम सर्वोच्च प्राथमिकतामा हुनुपर्ने भन्दै राजनीतिक दलहरुको ध्यानाकर्षण गराए । संसदका दुबै सदनले आयोजना गरेको उनको विदाइ कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदी लगायतको सहभागिता थियो ।

समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भारतको लोकतान्त्रिक व्यवस्थालाई एक ठूलो परिवारको संज्ञा दिए । उनले आपसी मतभेद सुल्झाउनका लागि शान्ति, एकता र आपसी छलफललाई प्राथमिकता दिनुपर्ने बताए ।

श्रीलंकाली पूर्वराष्ट्रपति राजपाक्षेलाई पक्राउ गर्न माग

एउटा मानवअधिकारवादी समूहले देशबाट भागेर सिंगापुर पुगेका श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षेलाइ पक्राउ गर्न माग गरेको छ ।

दक्षिण एसियाली देश श्रीलंकाको लामो गृहयुद्धमा उनको भूमिकालाई लिएर पूर्वराष्ट्रपति राजापाक्षेलाई गिरफ्तार गर्न अन्तर्राष्ट्रिय सत्य र न्याय परियोजना (आईटीजेपी)ले माग गरेको हो ।

श्रीलंकामा राजापाक्षेको शासन कालमा भएका मानव अधिकार दुरुपयोग र दुर्व्यवहारबारे दस्तावेजसमेत तयार पारेको आईटीजेपीले सिंगापुरका महान्यायाधिवक्ताको कार्यालयमा राजापाक्षेविरुद्ध आपराधिक उजुरी दायर गरेको हो ।

सन् २००९ मा गृहयुद्धको समयमा राजापाक्षेले देशको रक्षा प्रमुख हुँदा जेनेभा महासन्धिको गम्भीर उल्लंघन गरेको उक्त समूहले आरोप लगाएको छ ।

गत जुलाई १३ मा देश छोडेर भागेको एक दिनपछि राजापाक्षेले सिंगापुरबाटै राष्ट्रपति पदबाट राजीनामा दिएका थिए । त्यसअघि सरकार विरोधी प्रदर्शनकारीहरू राष्ट्रपति र प्रधानमन्त्रीको कार्यालय र सरकारी निवासमा प्रवेश गरेका थिए ।

प्रदर्शनकारी प्रवेश गर्नअघि राजपाक्षे सेनाको सहयोगमा गोप्य स्थानमा लुकेका थिए । लगत्तै उनी माल्दिभ्स पुगेका थिए । माल्दिभ्सबाट उनी सिंगापुर भागेका थिए । सिंगापुरबाटै उनले राजीनामा दिएका थिए ।

उनको राजीनामापछि श्रीलंकामा नयाँ राष्ट्रपति र प्रधानमन्त्री चयन भइसकेका छन् । राष्ट्रपति विक्रमासिंघेले प्रदर्शनकारीविरुद्ध कठोर नीति अंगीकार गरेको विश्लेषण हुन थालेको छ ।

दक्षिणी युक्रेन पुन: कब्जा गर्ने युक्रेनको दृढता

युक्रेनमा जारी युद्धको सुरुवाती चरणमा रुसी सेनाको हातमा परेको युक्रेनका दक्षिणी क्षेत्र खेरसनलाई सेप्टेम्बरसम्म किभको सेनाले पुन: कब्जा गर्ने युक्रेनका एक अधिकारीले दाबी गरेका छन् ।

‘हामी भन्न सक्छौँ कि खेरसन क्षेत्र निश्चित रूपमा सेप्टेम्बरसम्म मुक्त हुनेछ र सबै कब्जाकर्ताहरूको योजना असफल हुनेछ’, खेरसन क्षेत्रका प्रमुखका सहयोगी सेर्गी खलानले युक्रेनी टेलिभिजनसँगको एक अन्तर्वार्तामा भने ।

युक्रेनी सेना पश्चिमा देशहरुले सहयोग गरेको लामो दूरीको तोपखानाका कारण उत्साहित बनेको र पछिल्ला सातामा दक्षिणी खेरसोन क्षेत्रको केही भाग उसले फिर्ता गरिरहेको छ ।

‘हामी भन्न सक्छौँ कि युद्धको मैदानमा एक मोड आएको छ । हामीले देख्छौँ कि युक्रेनको सशस्त्र बलहरू उनीहरूको सबैभन्दा भर्खरको सैन्य कारबाहीमा विजयी छन्’, खलानले भने ।

दक्षिणी खेर्सानका दुई प्रमुख पुल, रूसी हतियार भण्डारहरू र कमाण्ड पोस्टहरूमा युक्रेनी सेनाले हालै हमला गरेका थिए । ती हमला उक्त क्षेत्र फिर्ता गर्ने तयारीको हिस्सा भएको जनाइएको छ ।

म्यान्मारमा चार जनालाई मृत्युदण्ड

म्यान्मारको सैनिक सरकारले चारजना लोकतन्त्रवादी अभियानकर्मीहरुलाई मृत्युदण्ड दिएको छ । ‘आतंककारी कार्य’ मा संलग्न रहेको अभियोगमा दोषी ठहर भएका उनीहरुलाई मृत्युदण्ड दिइएको म्यान्मारको सैनिक सरकारलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

मृत्युदण्ड पाउनेमा अभियानकर्मी को जिम्मी भनिने क्याउ मिन यू र विधायक एवम् हिपहप कलाकार फ्यो जेया थव समेत रहेको बीबीसीले जनाएको छ । त्यस्तै, राजनीति एवम् लोकतन्त्रवादी अभियानको क्षेत्रमा खासै चर्चा नहुने ह्ला म्यो आङ र आङ थुरा जवले पनि मृत्युदण्ड पाएका छन् ।

उनीहरुलाई गत जनवरी र अप्रिल महिनामा गोप्य सुनुवाईका क्रममा मृत्युदण्डको फैसला सुनाइएको थियो । उनीहरुले मुलुकको सरकार चलाइरहेको सेना विरुद्ध लड्न विद्रोही लडाकुहरुलाई सहयोग गरेको आरोप लगाइएको थियो ।

मृत्युदण्ड दिइनुअघि उनीहरुलाई विश्वमै कुख्यात मानिने उपनिवेशकालीन इन्सेइन कारागारमा राखिएको जनाइएको छ ।

मुलुकको राष्ट्रिय सञ्चारमाध्यमले सोमबार मृत्युदण्डबारे समाचार प्रसारण गरेको थियो । पछि सैनिक सरकारका प्रवक्ता जाव मिन टुनले मृत्युदण्ड दिएको घटना पुष्टि गरेका थिए । यद्यपि उनीहरुलाई कुन समयमा मृत्युदण्ड दिइएको हो भन्ने अझै स्पष्ट नभएको रोयटर्सले जनाएको छ ।

म्यान्मारमा पछिल्लो केही दशकमा पहिलो पटक मृत्युदण्डको सजाय दिइएको हो । यसअघि त्यहाँ फासीमा झुण्ड्याएर मृत्युदण्ड दिइने गरिन्थ्यो । यद्यपि पछिल्लो पटक ती लोकतन्त्रवादी अभियानकर्मीहरुलाई कुन समयमा र कसरी मृत्युदण्ड दिइएको हो भन्ने स्पष्ट नभएको बीबीसीले जनाएको छ ।

मृत्युदण्ड दिइएको समाचार सार्वजनिक हुनासाथ उनीहरुका आफन्तहरु इन्सेइन कारागारअघि भेला भएका थिए । मृत्युदण्ड पाएका आफ्ना छोरासँग आफूले गत शुक्रबारमात्रै जुममार्फत् कुराकानी गरेको जेया थवकी आमाले जानकारी दिएको बीबीसीले उल्लेख गरेको छ ।

म्यान्मारमा मृत्युदण्ड दिइएको घटनालाई लिएर विश्वभर एवम् म्यान्मारभित्रै चर्को आलोचना भएको छ । म्यान्मारको छायाँ सरकारको भूमिका निभाइरहेको विपक्षी समर्थित राष्ट्रिय एकता सरकारले मृत्युदण्डको चर्को विरोध गरेको छ ।

मृत्युदण्डबाट स्तब्ध एवम् दुखी भएको एकता सरकारको भनाइ छ । त्यस्तै, म्यान्मारका लागि संयुक्त राष्ट्रसंघीय प्रतिनिधि टम एण्ड्रुजले पनि मृत्युदण्डको निन्दा गरेको बीबीसीले उल्लेख गरेको छ ।

म्यान्मारमा गत वर्षको फेब्रुअरी महिनामा कु गरी सेनाले सत्ता हत्याएको हो ।

बाढीमा परी अफगानिस्तानमा ५ जनाको मृत्यु

अफगानिस्तानमा आएको बाढीमा परी ५ जनाको मृत्यु भएको छ । मुलुकको पूर्वी नानगरहार प्रान्तमा आएको बाढीमा अरु १० जना घाइते भएको प्रान्तीय गभर्नरको कार्यालयले जनाएको छ ।

विनाशकारी बाढीले प्रान्तीय राजधानी जलालाबाद र प्रान्तका केही जिल्लाहरूमा तीन सय २० घर र सयौं एकड खेतबारी पनि बगाएको कार्यालयले विज्ञप्तिमा जनाएको छ ।

राजधानी काबुललाई पूर्वी प्रान्तसँग जोड्ने सडकमा रहेको एउटा प्रमुख पुल पनि बाढीले बगाएको विज्ञप्तिमा जनाएको छ । उक्त सडक अहिले बन्द गरिएको छ ।

दुई दिनअघि अफगानिस्तानको पञ्जशिर र तखार प्रान्तमा भारी वर्षा र बाढीले ठूलो धनजनको क्षति पुर्याएको थियो। यद्यपि, कुनै पनि मानवीय क्षतिको विवरण प्राप्त भएको छैन ।

अमेरिकामा पुन: गोलीकाण्ड

अमेरिकाको क्यालिफोर्निया राज्यस्थित लस एन्जलस सहरको एउटा पार्कमा दुई समूहबीच गोली हानाहान हुँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । स्यान पेड्रोको पेक पार्कमा चलिरहेको कार शोको क्रममा स्थानीय समयअनुसार आइतबार साँझ ४ बजे गोलीबारी भएको न्युयोर्क पोस्टले रिपोर्ट गरेको छ ।

पेक पार्कमा दुई पक्षबीचको विवादका कारण गोली हानाहान सुरु भएको लस एन्जलस प्रहरी विभागका क्याप्टेन केली मुनिजले एक पत्रकार सम्मेलनमा जानकारी दिए ।

‘हामी प्रमाण र सम्भावित थप पीडितहरूका लागि पार्क खाली गर्न जारी राख्छौं’ केलीको भनाई उद्धृत गर्दै सीएनएनले जनाएको छ । एक जनाभन्दा बढी मानिसले गोली प्रहार गरेको अनुमान गरिएको छ ।

प्रहरीले गोलाबारीबारे थप अनुसन्धान गरेको छ । अमेरिकामा बारम्बार गोली प्रहारका घटना हुने गरेका छन् । केही दिनअघि पनि दुई समूहबीच गोली हानाहान भएको थियो ।

मङ्कीपक्स सङ्क्रमण जनस्वास्थ्य आपतकाल घोषित

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले मङ्कीपक्स सङ्क्रमणलाई जनस्वास्थ्य आपत्कालका रूपमा घोषणा गरेको छ ।

बहुराष्ट्रिय प्रकोपको समीक्षा गर्न यही साउन ७ गते बसेको अन्तर्राष्ट्रिय स्वास्थ्य नियमन आपत्कालीन समितिको बैठकमा सङ्गठनका महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससले मङ्कीपक्स दु्रत गतिमा बढेकाले जनस्वास्थ्य आपत्कालको रूपमा घोषणा गरेका हुन्।

सङ्क्रमण बढ्न थालेपछि डब्लुएचओले दक्षिण–पूर्वी एसिया क्षेत्रका देशहरूलाई मङ्कीपक्सको निगरानी र जनस्वास्थ्यका उपायलाई सुदृढ बनाउन आह्वान गरेको छ ।

‘मङ्कीपक्स द्रुत गतिमा फैलिरहेको छ र यो पहिले नदेखिएका धेरै देशमा समेत फैलिरहेको छ । जुन ठूलो चिन्ताको विषय हो’, डब्लुएचओको जारी गरेको विज्ञप्तिमा दक्षिण–पूर्वी एसिया क्षेत्रका लागि निर्देशक डा पुनम खेत्रपाल सिंहले भने, ‘यद्यपि, पुरुषसँग यौनसम्पर्क गर्ने पुरुषको सम्बन्धमा भने जोखिममा रहेका जनसङ्ख्यामा केन्द्रित प्रयासमार्फत रोगको थप फैलावटलाई कम गर्न सम्भव छ ।’

डब्लुएचओका अनुसार विश्वमा ७५ देशहरूमा १६ हजारमा मङ्कीपक्सका सङक्रमण पुष्टि भएका छन् । दक्षिण–पूर्वी एसिया क्षेत्रमा, भारतमा तीन र थाइल्याण्डमा एक गरी जम्मा चार मङकीपक्सका सङ्क्रमण पुष्टि भएका डब्लुएचओले जनाएको छ ।

भारतमा मध्यपूर्वी देशबाट घर फर्केकामा र थाइल्याण्डमा भने त्यहीँ बसोबास गर्दै आएका एक विदेशी नागरिकमा मङ्कीपक्स सङ्क्रमण पुष्टि डब्लुएचओले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

‘विश्वव्यापीरुपमै र यस क्षेत्रमा मङ्कीपक्सको जोखिम मध्यम भए पनि अन्तर्राष्ट्रियस्तरमा यसको थप फैलावटको सम्भावना भने छ । साथै, भाइरसबारे अझै धेरै अनभिज्ञ छन् । मङ्कीपक्स सङ्क्रमण थप फैलनबाट रोक्नका लागि हामी सजग रहनुपर्छ र द्रुत प्रतिकार्यका लागि तयार हुनुपर्छ’, डा खेत्रपाल सिंहले भने ।

प्रकोप सुरु भएदेखि नै डब्लुएचओले जोखिम मूल्याङ्कन र जनस्वास्थ्यका उपायको सुरुआत गर्नका साथै यस क्षेत्रमा परीक्षण क्षमताको विकास गर्न पनि सहजीकरण गर्दै आएको जनाएको छ ।

मङ्कीपक्सको प्रतिकार्यका लागि प्रभावित समुदायलाई सहभागी बनाउनु र सुरक्षित गर्नु, निगरानी र जनस्वास्थ्यका उपायलाई तीव्र बनाउनु, स्वास्थ्यसंस्थामा उपचार व्यवस्थापन र सङ्क्रमण रोकथाम तथा नियन्त्रणलाई बलियो बनाउनु र खोपको प्रयोग, उपचार तथा अन्य उपायको अनुसन्धानलाई बढाउनु मुख्य उपाय हुन् ।

मङ्कीपक्स भाइरस सङ्क्रमित जनावरसँगको अप्रत्यक्ष वा प्रत्यक्ष सम्पर्कबाट मानिसमा सर्ने गर्दछ । सङ्क्रमित व्यक्तिको छाला वा बिमिरा र श्वासप्रश्वासका थोपाको प्रत्यक्ष सम्पर्कमा आएमा मानिसदेखि मानिसमा यो रोग सर्न सक्छ ।

हाल प्रकोप फैलिएका देशमा मङ्कीपक्स सङ्क्रमणमध्ये मुख्यरूपमा यौन सम्पर्कसहित नजिकको शारीरिक सम्पर्कमार्फत सङ्क्रमण भएको देखिएको डब्लुएचओले जनाएको छ । सङ्क्रमित छालाका कण भएका ओछ्यान, विद्युतीय उपकरण, कपडाजस्ता सङ्क्रमित सामग्रीबाट पनि रोग सर्न सक्छ ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  ८ : ०० बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी