विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


८ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : 6 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज भदौ ८ २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार अगष्ट २४, २०२२ । तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् :

कोरोना अपडेट

भारतमा पुनः एकै दिनमा कोरोना सङ्क्रमितको सङ्ख्या दश हजार भन्दा बढी भएको छ । यहाँ २४ घण्टाको समयावधी अर्थात मङ्गलबार मध्यरातिसम्म दश हजार छ सय ४९ जना कोरोना सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य मन्त्रालयले बुधबार सार्वजनिक गरेको छ ।

यसैसँगै भारतमा चार करोड ४३ लाख ६८ हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमित भएका छन् । भारतमा एक दिन अगाडी अर्थात मङ्गलबार प्रकाशित तथ्याङ्कअनुसार एक दिनमा आठ हजार पाँच सय ८६ जनामा सङ्क्रमण देखापरेको थियो ।

दैनिक सङ्क्रमितको सङ्ख्यामा उतारचढाव भइरहेको छ । भारतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या ९६ हजार चार सय सय ४२ जना रहेका छन् ।

गत २४ घण्टाको समयावधीमा कोरोना सङ्क्रमणबाट यहाँ ३६ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोना सुरु भएबाट हालसम्म पाँच लाख २७ हजार चार सय ५२ भन्दा बढीको मृत्यु भएको छ ।

भारतमा हिजो एक दिनमा दश हजार छ सय७७ जना कोरोना मुक्त भएका छन् । यसैसँगै कूल चार करोड ३७ लाख ४४ हजार तीन सय एक जना कोरोनामुक्त भएका छन् ।

नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमित घटेका छन् । भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो ।

सो समयबाट हालसम्म दुई अर्ब दश करोड २५ लाखभन्दा बढी मात्रा खोप लगाइएको छ । भारतमा कोरोना सुरु भएयता हालसम्म ८८ करोड ६ भन्दा बढीको कोरोना भाइरस परीक्षण भएको जनाइएको छ ।

यसैबीच पाकिस्तानमा २४ घण्टाको समयावधी अर्थात मङ्गलबार मध्यरातिसम्म दुई सय ७८ जना कोभिड–१९ नयाँ सङ्क्रमित देखा परेको स्वास्थ्य मन्त्रालयले बुधबार जानकारी दिएको छ ।

नयाँ सङ्क्रमित थपिएपछि देशभर कुल सङ्क्रमितको सङ्ख्या १५ लाख ६७ हजार एक सय ४७ पुगेको मन्त्रालयले जनाएको छ । कोभिड–१९ शुरु भएबाट हालसम्म यहाँँ सङ्क्रमणको कारण कुल ३० हजार पाँच सय ५९ जनाको मृत्यु भएको छ ।

श्रीलङ्काका सबै विश्वविद्यालयहरू सेप्टेम्बरदेखि पुनः सञ्चालनमा आउने

श्रीलङ्काको विश्वविद्यालय अनुदान आयोगले देशका सबै विश्वविद्यालयहरू सेप्टेम्बरदेखि पुनःसञ्चालनमा आउने घोषणा गरेको छ।

आयोगका अधिकारीहरू र विश्वविद्यालयका उपकुलपतिहरूबीचको बैठकमा उक्त निर्णय गरिएको आयोगका अध्यक्ष सम्पथ अमरतुङ्गाले बताएका छन् ।

अमरतुङ्गाले कोभिड–१९ महामारीका कारण सन् २०२० मा विश्वविद्यालय बन्द भएको र अनलाइन कक्षा सञ्चालन भइरहेको बताएका हुन् ।

‘भौतिकरूपमा कक्षा र अतिरिक्त क्रियाकलाप शुरु गर्ने समय आएको छ । विद्यार्थीहरूले पनि सोही कुराको माग गर्दै आएका छन्,’ उनले भने।

अमरतुङ्गाका अनुसार लगभग सबै विद्यार्थीहरूले कोरोना विरुद्धको खोपको दुई डोज प्राप्त गरिसकेका छन् ।

साथै विश्वविद्यालयका उपकुलपतिहरूले पनि महामारी अघि शैक्षिक र अतिरिक्त पाठ्यक्रम गतिविधिहरू आयोजना गर्न सकिने कुरामा सहमत भएका छन् । प्रत्यक्ष कक्षामा उपस्थित हुन नसक्ने विद्यार्थीहरूले अनलाइनमार्फत जोडिन सक्ने पनि अमरतुङ्गाले बताएका छन् ।

पाकिस्तानमा १ करोड महिला मतदाता थपिए

विश्व आर्थिक मञ्चले सार्वजनिक गर्ने विश्वव्यापी लैङ्गिक समानता सूचकमा पाकिस्तान पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

पाकिस्तानबाट प्रकाशित हुने द नेशन पाकिस्तानका अनुसार यस सूचक सार्वजनिक भएसँगै त्यहाँ लैङ्गिक असमानताको विषयमा चर्चा सुरु भएको छ ।

यद्यपि केही क्षेत्रमा भने पाकिस्तानमा महिलाको सहभागिता सुधारोन्मुख रहेको पाइएको छ । हालै पाकिस्तानको राष्ट्रिय तथ्यांक एवम् दर्ता प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकमा सन् २०१८ मा भएको आम निर्वाचनयता १ करोड महिलाले मताधिकार पाएको द नेशनले जनाएको छ ।

यससँगै पाकिस्तानमा महिला मतदाताको संख्या झण्डै ५ करोड ७० लाख पुगेको छ । सन् २०१७ मा पाकिस्तानको तथ्यांक एवम् दर्ता प्राधिकरण एवम् निर्वाचन आयोगले लैङ्गिक असमानता न्यूनीकरणका लागि थालेको अभियान अनुसार महिला मतदाताको संख्या बढेको द नेशनले जनाएको छ ।

यद्यपि नयाँ मतदाताका रुपमा दर्ता भएका महिलाहरुले निर्वाचनका दिन मत हाल्न आउनसक्ने वातावरण भने अझै बनिनसकेको जनाइएको छ । परिवारले बाहिर जान नदिने एवम् अन्य कुप्रथाका कारण अझै पनि पाकिस्तानमा महिलाहरु म्तदान अधिकारबाट बञ्चित रहँदै आएका छन् ।

पाकिस्तानको संविधानको धारा २५ ले सबै नागरिकलाई कानूनका अगाडि समान मानेको छ । त्यसैगरी सन् २०१७ को निर्वाचन ऐनमा १० प्रतिशत महिला मतदाताको संख्या नपुगेको खण्डमा मतदान नै रद्द हुने प्रावधान रहेको छ ।

थाइल्याण्डको संवैधानिक अदालतद्वारा प्रधानमन्त्री प्रयुत निलम्बित

थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चालाई संवैधानिक अदालतले निलम्बन गरिदिएको छ । विपक्षी दलहरुले उनका विरुद्धमा सोमबार दायर गरेको मुद्धाका आधारमा अदालतले निलम्बन गर्ने फैसला गरेको हो ।

उनको कार्यकालका बारेमा विपक्षी दलहरुले मुद्धा दायर गरेपछि प्रधानमन्त्रीको कार्यकालका बारे अनिश्चितता उत्पन्न भएको थियो ।

विपक्षीले दिएको मुद्धा हेर्न बसेको नौ जनाको इजलासमा पाँच जनाले प्रधानमन्त्रीलाई निलम्बन गर्नुपर्ने राय राखेका थिए । उनी थाइल्याण्डमा सन् २०१४ मा सैन्य कु भएदेखि प्रधानमन्त्री छन् ।

उनले संविधान संशोधन गरेर सरकार र संसदमा सैन्य सहभागीता बढाएका थिए । सैन्य सहभागीता बढेपछि कानुन पनि त्यही अनुसार बनाउदै उनले निरंकुशता लादेको विपक्षीहरुको आरोप छ ।

विपक्षीहरुले उनको कार्यकाल सन् २०१४ को अगस्ट देखि नै गणना गर्नुपर्ने दाबी गरेका छन् भने प्रधानमन्त्री प्रयुत र सत्तारुढ दलले भने सन् २०१९ मा भएको आम निर्वाचनपछि मात्रै उनको कार्यकाल गणना हुने तर्क गरेका छन् । त्यो भन्दा अगाडि उनी अन्तरिम प्रधानमन्त्रीका रुपमा रहेको उनीहरुको तर्क छ ।

युरोपको दुई तिहाई भूभागमा खडेरी हुने

युरोपको दुई तिहाइ भूभागमा कुनै न कुनै प्रकारको खडेरी हुने एक अध्ययनले चेतावनी दिएको छ । यो खडेरी ५ सय वर्ष यताकै खराब हुने पनि अध्ययनले देखाएको छ ।

ग्लोबल ड्राफ्टेड अब्जर्भेटरीको पछिल्लो प्रतिवेदनले महाद्वीपको ४७ प्रतिशत भागमा खडेरीको चेतावनी दिएको बीबीसीले समाचार लेखेको छ ।

जमिन सुख्खा भएसँगै उत्पादनमा असर गर्ने तथा दक्षिणी युरोपका केही जङ्गलमा आगो लागेर महिनौसम्म निभाउन नसकिने अवस्थामा पुग्ने चेतावनीसमेत अध्ययनले दिएको छ ।

युरोपमा यो वर्षसमेत खडेरी देखा परेको थियो ।

आँधीका कारण फिलिपिन्सको जनजीवन प्रभावित

आँधीको खतराका कारण फिलिपिन्सका धेरै ठाउँमा विद्यालयका कक्षा कोठा र सरकारी कार्यालयहरू बन्द गरिएको छ ।

फिलिपिन्सका राष्ट्रपति फेर्डिनान्ड रोमाल्डेज मार्कोसले मेट्रो मनिला र अरु छ प्रान्तमा मङ्गलबार र बुधबार कक्षा तथा कार्यालय बन्द गर्ने निर्देशन जारी गरेका छन् ।

सञ्चार सचिव रोज बेट्रिक्स क्रुज एन्गेल्सले लगुना, रिजाल, बुलाकान, काभित, जाम्बालीज र बतान प्रान्तमा अध्ययन अध्यापन र कार्यालयको काम बन्द गरिएको जानकारी दिए ।

अत्यधिक वर्षापछि ठूलो आँधी समेत आउने प्रक्षेपण गरिएकाले स्थानीय बासिन्दालाई बाहिर ननिक्लिन बिदा दिइएको उनको भनाई छ ।

उनका अनुसार स्वास्थ्य सेवाका कर्मचारी तथा कार्यालय र अन्य अत्यावश्यक सेवा भने बन्द गरिएको छैन ।

मङ्गलबार आएको वर्षा र आँधीले धेरै मानिसलाई प्रभावित पारेको मौसम विभागका अधिकारीहरूले जानकारी दिएका छन् ।

स्थानीय समय अनुसार मङ्गलबार बिहान १०.३० मा देशको उत्तरी क्षेत्रबाट आँधी आएको थियो । शक्तिशाली हावाहुरी र वर्षाले केही भौतिक क्षति गराएको छ भने मानवीय क्षतिको विवरण प्राप्त नभएको विभागले जनाएको छ ।

प्रतिघण्टा ११०देखि १८५ किलोमिटरको गतिमा झण्डै चार घण्टा आँधी आएको अधिकारीहरूले जानकारी दिएका छन् ।

मौसमविद र सरकारी अधिकारीहरूले आँधीबाट बच्नका लागि उच्च सतर्कता अपनाउन सबैलाई अनुरोध गरेका छन् ।

आँधीका कारण लुजन क्षेत्रका झण्डै पाँच सय मानिस विस्थापित भएका छन् । उनीहरूलाई अस्थायी आश्रयको व्यवस्था गरिएको सरकारको प्रकोप व्यवस्थापन निकायका अधिकारीहरूले जानकारी दिएका छन् ।

फिन्निस प्रधानमन्त्रीप्रति ऐक्यबद्धता जनाउन विश्वका महिलाद्वारा सामाजिक सञ्जालमा नाचेको भिडियो सार्वजनिक

फिनल्यान्डकी प्रधानमन्त्री सान्ना मारिन यस हप्ता आलोचनामा परेपछि विश्वभरका महिलाहरूले सामाजिक सञ्जालमा ऐक्यबद्धता देखाउँदै आफूले नाचिरहेको भिडियो सेयर गरेका छन् । उनी साथीहरूसँग मातेको अवस्थामा नाचेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनको समर्थनमा प्रधानमन्त्रीको नक्कल गर्दै विभिन्न देशका महिलाले भिडियो बनाएका हुन् ।

उनको भिडियो सार्वजनिक भएपछि प्रधानमन्त्रीले लागू औषध सेवन गरेको हुन सक्ने भन्दै त्यसको परीक्षण गर्न माग गरिएको थियो । परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । सन्ना मारिनको ड्रग टेस्टमा नेगेटिभ रिपोर्ट आएपछि धेरै महिलाहरूले ’सन्नासँग एकता’ ह्यासट्यागको साथ भिडियोहरू पोस्ट गरे । केही विरोधीले बहालवाला प्रधानमन्त्री उक्त बानीको आलोचना गरे पनि यसप्रति सामाजिक सञ्जालमा महिला उनको पक्षमा उभिएका छन् ।

भिडियोमा महिलाहरूले आफ्ना घर वा सार्वजनिक स्थानमा नृत्य गरेको देखिन्छन् । एक प्रयोगकर्ता सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियो क्याप्सनले प्रधानमन्त्रीप्रति ऐक्यबद्धता गरेको पुष्टि हुन्छ । ‘हामी सबैले अलि बढी नाच्नु पर्छ१ म सन्नासँग एकतामा खडा छु।’ सान्ना मारिनलाई समर्थन जनाउने विभिन्न देशका महिला राजनीतिज्ञ पनि छन् ।

अस्ट्रेलियाकी संसद सदस्यले नृत्य गरेको तस्बिर ट्विटरमा पोस्ट गर्दै लेखेकी छन्, ‘यदि पार्टीमा बाफ छोड्नु तपाईँको प्रधानमन्त्रीले गरेको सबैभन्दा नराम्रो काम हो भने, तपाई धेरै भाग्यशाली हुनुहुन्छ ।’

युरोपेली संसद्की सदस्य, टिली मेट्जले पनि मारिनसँग ऐक्यबद्धता जनाउँदै सार्वजनिक वातावरणमा नाचिरहेको भिडियो सेयर गरेकी छिन् । ‘राइट टु डान्स’ र ‘राइट टु डिसकनेक्ट’ ह्यासट्यागको साथमा उनले भनिन्, ‘महिला राजनीतिज्ञ आफ्नो सप्ताहन्तमा साथीहरूसँग नाच्दा तपाईँलाई समस्या छ भने तपाईँमा समस्या हो, राजनीतिज्ञमा होइन, हामी अझ बढी नाच्नु पर्छ ।’

साउदी अरबले कृत्रिम बुद्धिमत्ता सम्मेलनको आयोजना गर्ने

साउदी अरबले विश्वव्यापी कृत्रिम बुद्धिमत्ता अर्थात् ग्लोबल आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्मेलन गर्ने भएको छ ।

साउदी अरबको समाचार समिति साउदी प्रेस एजेन्सीले दिएको जानकारीअनुसार साउदी अरेबियाले आगामी सेप्टेम्बर महिनामा दोस्रो विश्व सम्मेलन गर्न लागेको हो ।

‘असल मानवीयताका लागि आर्टिफिसियल इन्टेलिजेन्स’ भन्ने विषयमा केन्द्रित रहेर सो विश्व सम्मेलन गर्न लागिएको साउदी प्रेस एजेन्सीले जानकारी दिएको छ ।

सो सम्मेलनमा आर्टिफिसियल इन्टेलिजेन्समा काम गरिरहेका विश्वका एक सय जना विज्ञ सहभागी हुने र आफ्नो विशेषज्ञताका विषयमा कार्यपत्र पनि प्रस्तुत गर्ने जनाइएको छ ।

सो सम्मेलनमा स्मार्ट सिटी, मानवीय क्षमताको विकास, स्वास्थ्य क्षेत्र, यातायात, संस्कृति तथा सम्पदा, उर्जा आदिका क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्सले गर्नसक्ने कामहरुका बारेमा पनि छलफल गरिने छ ।

मानिसको सहयोगी एवं मानवीय सेवा र जनशक्तिको पूर्तिका क्षेत्रमा यस आर्टिफिसियल इन्टेलिजेन्सले गर्नसक्ने कामका बारेमा सो सम्मेलनमा छलफल गरिने जनाइएको छ ।

हाल विश्वमा प्रयोगमा आइरहेको आर्टिफिसियल इन्टेलिजेन्स विषयमा आवश्यक मात्रामा परामर्श र छलफल गरी यसको प्रयोगमा देखा परिरहेका चुनौती र त्यसको समाधानका उपायहरुका बारेमा पनि सो सम्मेलनमा छलफल हुने बताइएको छ ।

मानवीय सेवाका क्षेत्रमा बढीभन्दा बढी यो आर्टिफिसियल इन्टेलिजेन्सलाई के कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा पनि सो सम्मेलनमा यसका विज्ञहरुका बीचमा छलफल हुने सो समाचारमा जनाइएको छ ।

नाइजेरियामा कुपोषणको मात्रा बढ्दै गएको संयुक्त राष्ट्रसङ्घको चेतावनी

संयुक्त राष्ट्रसङ्घले अफ्रिकी मुलुक नाइजेरियामा निकै द्रुत मात्रामा कुपोषणको मात्रा बढ्दै गएको जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायतासम्बन्धी निकायले हालै एक विज्ञप्तिमार्फत् सो कुराको जानकारी गराएको हो ।

खासगरी नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा कुपोषणका बालबालिकाको संख्या विगतका तुलनामा बढेकाले सो क्षेत्रमा उपचारका साथै आवश्यक पोषण तत्वको उपलब्धताका लागि संयुक्त राष्ट्रसंघले आग्रह गरेको छ ।

सन् २०२१ को यो अवधिका तुलनामा यस वर्षको सुरुका सात महिनामा कुपोषित हुने बालबालिकाको संख्या निकै ठूलो सङ्ख्यामा बढेको पाइएको संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायतासम्बन्धी एजेन्सीले जानकारी दिएको छ ।

सो क्षेत्रमा अहिले नै कम्तीमा पनि ४० लाख मानिसलाई खाद्यान्नको अभाव भएको छ । साथै यो वर्षभरिमा सो क्षेत्रमा ८० लाख मानिसलाई खाद्यान्न अभाव हुने अनुमान गरिएको पनि बताइएको छ ।

सो क्षेत्रमा संयुक्त राष्ट्रसङ्घीय निकायहरु समेत गरी अन्य विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरु गरी ११४ ले खाद्यान्न लगायतका मानवीय सहायताका सामग्रीहरु वितरण गर्दै आएका छन् ।

अझै पनि सो क्षेत्रमा खाद्यान्नको अभाव रहेको पाइएको पनि समाचारमा जनाइएको छ । खाद्यान्न एवं अत्यावश्यकीय मानवीय आवश्यकताका वस्तुहरुको यहाँ दिन प्रतिदिन खाँचो बढ्दै गएको पनि पाइएको छ ।

नाइजेरियामा आन्तरिक द्वन्द्व एवं खडेरीका कारण केही वर्ष यतादेखि समस्या उत्पन्न हुदै आएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७९, बुधबार  ८ : ०८ बजे

आइएसएसआर नीति बहस : बजेट आकारदेखि युवा पलायनसम्मका समस्या मन्थन

काठमाडौं – इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसिओ–इकोनोमिक रिसर्च (आइएसएसआर) र

औषधिको अवैध कारोबार गरेको आरोपमा मेडिकल सञ्चालक पक्राउ

लुम्बिनी – बुटवलमा मेडिकल पसल राखेर चिकित्सकको सिफारिसबिना अवैधरूपमा औषधिको

गण्डकीमा बर्सेनि बढ्दै सवारी दुर्घटना

गण्डकी – कास्कीमा आव २०७७/७८ मा ६४ सडक दुर्घटना भए

दुई क्विन्टल गाँजासहित एक जना पक्राउ

विराटनगर – मोरङ प्रहरीले दुई क्विन्टल गाँजासहित एक जनालाई पक्राउ

निर्माणाधीन धरान बसपार्कको काम अन्तिम चरणमा

धरान – धरान उपमहानगरपालिका–८ मा निर्माण भइरहेको धरान स्मार्ट बसपार्कको