विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


८ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : 6 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज साउन ८, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार जुलाई २४, २०२२ । तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् :

ओेडेसाको अनाज प्रशोधन केन्द्रमा रुसी मिसाइल हमला

रुसी मिसाइल आक्रमणले ओडेसास्थित अनाज प्रशोधन केन्द्रहरूलाई लक्षित गरेको युक्रेनी सेनाका प्रवक्ताले जनाएका छन् । बन्दरगाहबाट अन्न निर्यातका लागि युद्धरत पक्षबीच सहमति भइरहेका बेला रुसले प्रशोधन केन्द्रमा मिसाइल प्रहार गरेको हो ।

‘ओडेसा बन्दरगाहमा विशेष गरी खाद्यान्न ढुवानी भइरहेको ठाउँमा प्रहार भएको थियो । दुईवटा क्षेप्यास्त्रले बन्दरगाहको पूर्वाधारमा प्रष्ठसँग प्रहार गरेको थियो । प्रहार गरिएको ठाउँमा अनाज थियो’, सैन्य प्रवक्ता युरी इग्नाटले भने ।

युक्रेन र रुसले किभलाई ब्ल्याक सि हुँदै अन्न निर्यात गर्ने एउटा सम्झौतामा शनिबार हस्ताक्षर गरेका थिए । यो सम्झौतासँगै युद्धका कारण युक्रेनमा रहेको दशौँ लाख टन्न अन्न निर्यात गर्ने बाटो खुलेको छ ।

टर्कीले ब्ल्याक सी हुँदै युक्रेनबाट हुने अन्नको निर्यात पुनः सुरु गर्न रुससँग सम्झौता गरेको जनाएको छ । सम्झौतामा युक्रेन, रुस, टर्की र राष्ट्रसंघका महासचिवले इस्तानबुलमा हस्ताक्षर गरेका थिए ।

सहमतिअनुसार ढुवानी ट्रान्जिटमा हुँदा रसियाले बन्दरगाहहरूलाई निशाना बनाउने छैन । युक्रेनी जहाजहरूले मालवाहक जहाजलाई मार्गनिर्देशन गर्नेछन् ।

संयुक्त राष्ट्रसंघको सहयोगमा टर्कीले जहाजहरु को निरीक्षण गर्नेछ । त्यस्तै, ब्ल्याक सीमार्फत अन्न र मल को रूसी निर्यात को सुविधा गरिनेछ । युक्रेन संकटका कारण विश्वमा खाद्यान्न आपूर्तिमा अभाव देखिएको छ ।

अमेरिकामा फेरि गोलीकाण्ड

अमेरिकाको सिएटल शहरको बाहिरी क्षेत्रमा भएको गोलीकाण्डमा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् ।

वाशिंगटनको रेन्टन उपनगरमा सिएटलमा बन्दुकको धेरै आवाज सुनेपछि स्थानीयहरूले प्रहरी अधिकारीहरूलाई बोलाएका थिए ।

प्रहरीका अनुसार एक जनाको घटनास्थलमै मृत्यु भएको र अन्य पाँच जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

रेन्टन पुलिस विभागले पेस गरेको आधिकारिक विवरणअनुसार लोगान एभिन्यु साउथको १०० ब्लकमा उक्त घटना भएको हो ।

विवादपछि गोली हानाहान भएको थियो । आक्रमणकारीको पहिचान खुलाइएको छैन ।

अमेरिकाद्वारा निन्दा

अमेरिकाले युक्रेनी ब्ल्याक सी बन्दरगाहमा रूसी मिसाइल आक्रमणको निन्दा गर्दै खाद्यान्न निर्यात पुनः सञ्चालन गर्न युक्रेन र रुसबीच भएको सम्झौतामा रुसी प्रतिबद्धताप्रति गम्भीर शंका उत्पन्न भएको जनाएको छ ।

‘आक्रमणले हिजोको सम्झौतामा रुसी प्रतिबद्धताको विश्वसनीयतामा गम्भीर शंका उत्पन्न गरेको छ । विश्व बजारमा खाद्यान्न उपलब्ध गराउन संयुक्त राष्ट्र, टर्की र युक्रेनको कार्यलाई नजरअन्दाज गरेको छ’, अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले एक विज्ञप्तिमा भनेका छन् ।

रुसले ओडेसा बन्दरगाहमा रकेट प्रहार गरेको युक्रेनी सैन्य प्रवक्ता युरी इग्नाटले बताएका थिए । युक्रेन र रुसले किभलाई ब्ल्याक सि हुँदै अन्न निर्यात गर्ने एउटा सम्झौतामा शनिबार हस्ताक्षर गरेका थिए । यो सम्झौतासँगै युद्धका कारण युक्रेनमा रहेको दशौँ लाख टन्न अन्न निर्यात गर्ने बाटो खुलेको थियो ।

सम्झौतामा युक्रेन, रुस, टर्की र राष्ट्रसंघका महासचिवले इस्तानबुलमा हस्ताक्षर गरेका थिए ।

विश्व स्वास्थ्य संगठनद्वारा मङ्किपक्सको सङ्क्रमणलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा

विश्व स्वास्थ्य सङ्गठनले मङ्किपक्स भाइरसको सङ्क्रमणलाई विश्व स्वास्थ्य आपतकाल घोषणा गरेको छ ।

पछिल्लो समय विश्वका विभिन्न मुलुकमा मङ्किपक्स भाइरसको सङ्क्रमण तीव्र गतिमा फैलिन थालेको भन्दै विश्व स्वास्थ्य आपतकाल घोषणा गरिएको सङ्गठनले बताएको छ ।

सङ्गठनका महानिर्देशक डा. टेड्रोस एड्हनम घेब्रिसियसले विश्वका ७५ मुलुकमा १६ हजारभन्दा बढी मानिसमा मङ्किपक्स भाइरसको सङ्क्रमणको पुष्टि भएको बताएका छन् ।

हालसम्म मङ्किपक्स भाइरसको सङ्क्रमणका कारण ५ जनाको मृत्यु भइसकेको छ । अहिले दुई वटा विश्व स्वास्थ्य आपतकाल जारी छ । जसमा कोरोना महामारी र पोलियो रहेका छन् ।

डोनबासमा गुगलमाथि प्रतिबन्ध

पूर्वी युक्रेनको डोनबासमा क्रेमलिन समर्थक पृथकतावादीले विश्व प्रसिद्ध सर्च इन्जिन गुगलको पहुँच रोकेका छन् । टेक्नोलोजी कम्पनीले ‘रुसीविरुद्धको हिंसा’ प्रबद्र्धन गरेको उनीहरूले आरोप लगाएका छन् ।

विद्रोही नेता डेनिस पुसिलिनले सर्ज इन्जिनले पुटिनको सेनाको ज्यान जोखिममा पारेको आरोप लगाए । छिमेकी लुगान्स्क जनवादी गणतन्त्रले अमेरिकी साइट ब्लक गरेको एक दिन पछि डोनेत्स्क जनवादी गणतन्त्रका प्रमुखले गुगलको पहुँचमा रोक लगाइएको घोषणा गरेका हुन् ।

‘आज पश्चिम र युक्रेनले गणतन्त्रमाथि अभूतपूर्व दबाब दिइरहेका छन् र शारीरिक र मनोवैज्ञानिक सुरक्षामा खतरा खडा गरिरहेका छन्’, पुसिलिनले भने, ‘यो दबाबको उद्देश्य डोनेत्स्क जनवादी गणतन्त्रका बासिन्दाहरूलाई धम्की दिनु र उनीहरूको मनोबल तोड्नु हो ।’

उनले अगाडि थपे, ‘हामी पक्का छौं कि तिनीहरू सफल हुनेछैनन । किनभने रूसी भावनालाई तोड्न असम्भव छ, तर यस्तो अवस्थामा निष्क्रिय रहन पनि असम्भव छ ।’

पाकिस्तान पनि श्रीलंकाकै बाटोमा : इमरान खान

पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तेहरिक–इ–इन्साफ (पीटीआई)का अध्यक्ष इमरान खानले पाकिस्तान श्रीलंकाको अवस्थाभन्दा टाढा नभएको बताएका छन् । सर्वसाधारण मानिस असिफ जर्दारीले नेतृत्व गरेको ‘माफिया’ विरुद्ध ‘हकीकी आजादी’को लागि सडकमा उत्रनेसमेत उनले चेतावनी दिएका छन् ।

पूर्वक्रिकेटरसमेत रहेका खानले आसिफ जर्दारी र शरीफ परिवारको नेतृत्वमा रहेको माफियाले अवैध रूपमा जम्मा गरेको सम्पत्ति जोगाउन तीन महिनामा देशलाई राजनीतिक र आर्थिक रूपमा तहसनहस पारेको आरोप लगाए ।

‘हामी श्रीलंकाको अवस्थाभन्दा टाढा छैनौं जब हाम्रा जनता सडकमा उत्रनेछन्’, खानले भने । पाकिस्तानको ३० वर्षसम्म लुटेर अवैध रूपमा जम्मा गरिएको सम्पत्ति बचाउनको लागि तीन महिनामा जरदारी – शरीफको माफियाले देशलाई राजनीतिक र आर्थिक रूपमा देशलाई घुँडा टेकाएको छ ।

खानले यसअघि आफू सत्ता ढल्नुमा अमेरिकालाई दोष लगाएका थिए ।

भारतमा २० हजार भन्दा धेरैमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

भारतमा पछिल्लो २४ घण्टामा २० हजार दुई सय ७९ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको त्यहाँको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । यसअघि भारतमा लगातार तीन दिनसम्म कोभिड सङ्क्रमितको सङ्ख्या २१ हजारभन्दा माथि पुगेको थियो ।

हाल भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या चार करोड ३८ लाख ८८ हजार पुगेको छ भने एक लाख ५२ हजार दुई सय सक्रिय सङ्क्रमित छन् । सोही अवधिमा १८ हजार एक सय ४३ सङ्क्रमणमुक्त भएका छन् ।

योसँगै कोरोना सङ्क्रमणमुक्त भएकाको सङ्ख्या चार करोड ३२ लाख १० हजार पाँच सय २२ पुगेको छ

मन्त्रालयले जारी गरेको पछिल्लो विवरण अनुसार कोरोना सङ्क्रमणबाट ३६ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोनाबाट पाँच लाख २६ हजार ३३ जनाको मृत्यु भएको छ । महामारी शुरु भएयता ८६ करोड ८९ लाखभन्दा बढीको परीक्षण गरिएको छ ।

सन् २०२१ को जनवरी १६ देखि देशभर कोभिड–१९ विरुद्ध खोप अभियान जारी छ । सोहीक्रममा हालसम्म दुई अर्ब ९१ लाख मात्राभन्दा बढी खोप लगाइएको छ ।

मलेसियामा झण्डै ५ हजार नयाँ कोरोना भाइरसका सङ्क्रमित थपिए

मलेसियामा पछिल्लो २४ घण्टामा झण्डै ५ हजार नयाँ कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । पछिल्लो विवरणअनुसार देशका विभिन्न भागमा चार हजार आठ सय १६ जना कोभिड–१९ का नयाँ बिरामी थपिएका छन् भने नौ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशमा कोरोनाबाट पीडितको सङ्ख्या ४६ लाख ४८ हजार नौ सय ३१ पुगेको छ भने ३५ हजार नौ सय ११ जनाले ज्यान गुमाएका छन् ।

यसैबीच, न्युजिल्याण्डमा पाँच हजार पाँच सय ३५ जनामा सङ्क्रमण पुष्टि भएको तथा हालसम्म एक हजार नौ सय ९० जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति निकालेर जनाएको छ ।

दिल्लीमा मंकीपक्सका नयाँ संक्रमित फेला

दिल्लीमा मंकीपक्सका नयाँ संक्रमित भेटिएका छन् । दिल्लीका ३१ वर्षीय पुरुषमा आइतबार मंकीपक्स संक्रमण देखिएको हो । उनमा विदेश भ्रमण गरेको कुनै ट्राभल हिस्ट्री नभेटिएको जनाइएको छ । पश्चिमी दिल्लीका उनलाई अस्पताल भर्ना गरिएको छ । योसँगै भारतमा अहिलेसम्म मंकीपक्सका चार जना संक्रमित भेटिएका छन् ।

मंकीपक्स प्रकोपलाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ । संसारभरका ७५ देशमाफैलिएपछि डब्लूएचओले मंकीपक्सलाई विश्व स्वास्थ्य आपत्काल घोषणा गरेको हो ।

विश्व स्वास्थ्य संगठन महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयसले ७५ देशमा १६ हजारभन्दा धेरै केस रिपोर्ट गरिएको बताए । उनका अनुसार महामारीका कारण अहिलेसम्म पाँच जनाको मृत्यु भइसकेको छ ।

मंकीपक्सबाहेक अहिले कोभिड र पोलिओ उन्मुलनसम्बन्धी अन्य दुई प्रकारका विश्वव्यापी स्वास्थ्य आपत्काल लागू छन्। मंकीपक्स भाइरसका कारण यो रोग लाग्छ । यो भाइस पहिलो पटक सन् १९५० मा मध्यअफ्रिकामा देखा परेको थियो ।

जापानले आबेको राजकीय अन्त्येष्टिमा पुटिनलाई निम्तो नदिने

जापानको फुमियो किसिदा सरकारले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई पूर्व प्रधानमन्त्री शिन्जो आबेको राजकीय अन्त्येष्टिमा सहभागी नगराउने भएको छ । रुसले युक्रेनमा आक्रमण गरेपछि जापानले पुटिनलाई प्रतिबन्ध लगाएको छ । तसर्थ, पुटिनले आबेको अन्तिम संस्कारमा भाग लिने निर्णय गरे पनि उनलाई अनुमति नदिइने जापानी सञ्चार माध्यमहरूले जनाएका छन् ।

हत्यापछि आबेको पारिवारिक अन्त्येष्टि सम्पन्न भइसकेका छ । तर, सरकारले सेप्टेम्बर २७ मा सार्वजनिक र अन्य विशिष्ट व्यक्तिहरूको उपस्थितिमा औपचारिक राजकीय अन्त्येष्टि आयोजना गर्ने निर्णय गरेको छ ।

कार्यक्रम मध्य टोकियोको निप्पोन बुडोकानमा हुने अनुमान छ । सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) ले विश्वभरका सबै ठूला राजनीतिक नेताहरूलाई निमन्त्रणा दिने अपेक्षा गरिएको छ।

रुस–युक्रेन युद्धपछि जापान युक्रेनको पक्षमा उभिएको छ । अहिलेसम्म टोकियोले मस्कोमाथि विभिन्न प्रतिबन्ध लगाएको छ भने युक्रेनलाई सैन्य हतियार उपलब्ध गराएको छ ।

इजरायली कारवाहीमा दुई प्यालेस्टाइनीको मृत्यु

प्यालेस्टाइनको वेस्ट बैंकमा इजरायली सुरक्षा कारवाहीमा दुई जना प्यालेस्टाइनीको मृत्यु भएको छ ।

वेस्ट बैंकको नाब्लुस सहरमा इजरायली सेनाले गरेको कारवाहीमा दुईजना प्यालेस्टिनी मारिएका हुन् । प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयका अनुसार २५ वर्षीय मोहम्मद अजीजीको छातीमा र २८ वर्षीय अब्दुल रहमान जमाल सुलेमान सोभको टाउकोमा गोली लागेर मृत्यु भएको हो ।

इजरायली सेनाले शनिबार राती गरको उक्त कारबाहीमा अन्य छ जना घाइते भएका छन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ ।

इजरायली सेनाले उक्त कारवाहीबारे र कारवाहीमा भएको हताहतिबारे कुनै टिप्पणी नगरेको जनाइएको छ । यद्यपि इजयारली पक्षले नाब्लुसमा सशस्त्र संदिग्ध र सुरक्षाफौजबीच ‘गोली हानाहान’ भएको बताएको छ ।

सो क्षेत्रमा गत मार्चको अन्त्यदेखि गरिएको कारवाहीमा हालसम्म कम्तिमा ५२ जना प्यालेस्टिनी मारिएका छन् । मारिएकामा संदिग्ध लडाकु, सर्वसाधारणका साथै अल जजीराका पत्रकार शिरिन अबु अक्लेहसमेत छन् ।

इजरायली भूमिमा प्यालेष्टिनीले गरेका आक्रमणमा परी सोही अवधिमा १९ जना इजरायली सर्वसाधरणको मृत्यु भएको बताइएको छ ।

पछिल्ला महिनामा देशमा निरन्तर आक्रमण बढेपछि इजरायली सुरक्षा फौजले सो क्षेत्रमा दैनिकजसो सैन्य कारवाही गरिरहेको छ ।

सेल्फी खिच्ने क्रममा दुई जनाको मृत्यु

पाकिस्तानको खैबर पख्तुनख्वामा सेल्फी खिच्ने क्रममा दुई जनाको मृत्यु भएको छ । भारतीय समाचार संस्था एएनआईका अनुसार खैबर पख्तुनख्वाको स्वात जिल्लामा सेल्फी खिच्ने क्रममा भीरबाट खसेर दुई युवकको मृत्यु भएको हो ।

घुमफिरको क्रममा स्वातको अलिदाद जहाँगिर गाउँमा अवस्थित रमणीय झरनामा पुगेका तीन जना युवकमध्ये २७ वर्षीय सनाउल्लाह झरना नजिकैको भीरमा उभिएर सेल्फी खिचिरहेका बेला चिप्लिएर लडेको जनाइएको छ ।

साथै उनका २२ वर्षीय साथी अदनानले उनलाई बचाउन खोज्दा उनी पनि चिप्लिएर पोखरीमा बजारिएका थिए । दुबैजनाको घटनास्थलमा मृत्यु भएको प्रहरीलाई उद्धृत गर्दै पाकिस्तानी समाचारपत्र डनले जनाएको छ ।

उनीहरू दुई सय फिटको उचाइबाट खसेका थिए । दुर्घटनाका प्रत्यक्षदर्शी उमरले नजिकैको गाउँमा पुगेर घटनाबारे स्थानीयलाई जानकारी दिएका थिए ।

मोसादका सदस्यलाई पक्राउ गरेको इरानको दाबी

इरानले इजरायलको जासुसी सञ्जालका सदस्यलाई पक्राउ गरेको दाबी गरेको छ । इरानी सुरक्षा बलले देशमा रहेको इजरायली जासुसी सञ्जालका सबै सदस्यलाई पक्राउ गरेको सकारी समाचार निकाय इर्नाले जनाएको हो ।

इजरायली जासुसी सञ्जालका सदस्यहरूलाई इरानमा आतङ्कवादी कारवाही सञ्चालन गर्न पठाइएको भएपनि कुनै पनि आतङ्क वा विध्वंसात्मक गतिविधि गर्नुअघि नै उनीहरूलाई पक्राउ गरिएको इरानी गुप्तचर मन्त्रालयको एक विज्ञप्तिमा जनाइएको छ ।

इराकको कुर्दिस्तान क्षेत्रबाट इरान प्रवेश गरेका सञ्जाल सदस्यहरू छिमेकी राज्यमार्फत इजरायली गुप्तचर संस्था मोसादसँग सम्पर्कमा रहेका तथा उनीहरूले अत्याधुनिक उपकरण र शक्तिशाली विस्फोटक पदार्थ बोकेका विज्ञप्तिमा उल्लेख छ ।

मोसादका गतिविधिको निरीक्षण, निगरानी एवम् सञ्चालन गर्ने इजरायली प्रधानमन्त्रीको कार्यालयले आफ्ना सदस्य इरानमा पक्राउ परेका सम्बन्धमा टिप्पणी गर्न अस्वीकार गरेको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  ८ : १४ बजे

सियरा लियोनमा विषाक्त खानाको कारण १०४ जना अस्पताल भर्ना

फ्रिटाउन – सियरा लियोनको राजधानी फ्रिटाउनमा एउटा कुकरी पसलबाट दूषित

प्रधानमन्त्रीलाई अघिल्लो पटकभन्दा बढी विश्वासको मत प्राप्त हुन्छ : माधव सापकोटा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले

आजका समाचार : संसदमा रविकाे जवाफ, विश्वासको मत रोक्न सर्वोच्चमा रिट

कांग्रेसलाई रविको प्रश्न : मैले गृहमन्त्री हुँदा नैतिकताको प्रश्न उठाउनेले

प्रादेशिक चलचित्र विकास बोर्ड गठन गर्छौँ : मुख्यमन्त्री कार्की

झापा– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चलचित्र क्षेत्रको समृद्धिका लागि

चेम्बर अफ कर्मसको तीनवर्षे रणनीतिक कार्ययोजना : भन्सार दर खारेज, जीडीपी ७५ खर्ब

काठमाडौं– नेपाल चेम्बर अफ कर्मसको नयाँ कार्यसमितिले तीन वर्षे रणनीतिक