विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित) | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित)


१० असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अडियो सुन्नुहोस्ः

आज असार १०, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार जुन २४, २०२२। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् :

रुसमा सैनिक विमान दुर्घटना

रुसमा सैनिक मालवाहक विमान दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । रुसको राजधानी मस्कोबाट दक्षिण पश्चिममा पर्ने रियाजान भन्ने सहरमा सो जहाज दुर्घटनामा परेको हो । परीक्षण उडानका क्रममा रुसको सैनिक कार्गो विमान दुर्घटनामा परेको बताइएको छ ।

विमान कार्गो जहाज भएपनि कुनै सामान नराखी परीक्षण स्वरुप उडान गरिएको रुसी अधिकारीहरूले जनाएका छन् । त्यसैक्रममा विमान दुर्घटनामा परेको र त्यसमा रहेका चार जनाको ज्यान गएको सैनिक अधिकारीले जानकारी दिएका हुन् । सो दुर्घटनामा परेर घाइते भएका उडान दलका ५ जना सदस्यहरूलाई अस्पताल पुर्‍याइएको रुसी समाचार संस्था रियालाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

रुसको रक्षा मन्त्रालयले दिएको जानकारीअनुसार रियाजान सहरबाट उडेको केही समयमै जहाज बजार छेउको एक राजमार्गमा परेर दुर्घटना भएको थियो ।

अमेरिकी तोपखाना युक्रेन पुगे

अमेरिकाले प्रदान गरेको लामो दूरीसम्म मार हान्न सक्ने तोपखाना प्रणाली आफ्नो मुलुक आइपुगेको युक्रेनका एकजना मन्त्रीले बताएका छन् । युक्रेनी रक्षामन्त्री ओलेक्सी रेज्निकोभले सामाजिक सञ्जाल ट्विटरमार्फत् सन्देश जारी गर्दै अमेरिकी तोपखाना प्रणाली आफ्नो मुलुक आइपुगेको जानकारी दिएका हुन् ।

युक्रेनसम्म आइपुगेका नयाँ अमेरिकी तोपखाना प्रणालीमा ‘हाई मोबिलिटी, आर्टिलरी रकेट सिस्टम (हाइमार्स) समावेश रहेको अन्तराष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । ‘मेरा अमेरिकी सहकर्मी र साथी रक्षामन्त्री लोइड अस्टिनलाई यी शक्तिशाली औजारहरुका लागि धन्यवाद रुसी अतिक्रमणकारीका लागि यो गर्मी निकै तातो हुनेछ र केहीका लागि यो नै अन्तिम (गर्मी हुनेछ)’ युक्रेनी रक्षामन्त्रीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

युक्रेनी रक्षामन्त्रीले अमेरिकी हतियार युक्रेनसम्म आइपुगेको बताएपनि कति परिमाणमा हतियार आइपुगे भन्नेबारे केही खुलाएका छैनन् ।युक्रेनले लामो समयदेखि पश्चिमा मुलुकसमक्ष लामो दूरीको एवम् शक्तिशाली तोपखाना प्रणालीको माग गर्दै आएको थियो ।

चिसो मौसमका कारण अफगानिस्तानमा १२ जनाको मृत्यु

पूर्वी अफगानिस्तानमा हिमपात र चिसो मौसमका कारण १२ बालबालिकाको मृत्यु भएको छ । मुलुकको कुनार प्रान्तमा हिमपात र चिसो मौसमका कारण १२ बालबालिकाको मृत्यु भएको सरकारी समाचार संस्था बख्तरले जनाएको हो । चाउके जिल्लाको युगल क्षेत्रमा उक्त प्राकृतिक प्रकोप भएको समाचार एजेन्सीले जनाएको छ ।

नाम नखुलाउने शर्तमा गाउँलेहरूले केही दिनअघि घुमन्ते परिवारले आफ्नो गाईबस्तु चराउन पहाडमा लैजाँदा विपत्ति भएको बताएका छन् । पीडित सबै घुमन्ते परिवारका हुन् । युद्धग्रस्त अफगानिस्तानका केही भागहरू भर्खरै भारी वर्षाका कारण थप चिन्तित बनेका छन् ।अधिकारीहरूका अनुसार देशभर अचानक आएको बाढीमा परी ज्यान गुमाउँनेको सङ्ख्या बढ्दो छ ।मुसलधारे पानी र बाढीका साथै पूर्वी पक्तिकाखोस्त प्रान्तमा बुधबार बिहानै गएको भूकम्पमा एक हजारभन्दा बढी मानिसको मृत्यु भएको पुष्टि भएको छ ।

भारतमा कोरोना भाइरसबाट १७ हजार भन्दा धेरै सङ्क्रमित

भारतमा कोरोना भाइरसबाट थप १७ हजार ३३६ सङ्क्रमित भएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार मध्यरातिदेखि शुक्रबारसम्म सो सङ्ख्याका संक्रमित थपिएका शुक्रबार जानकारी दिएको छ । एक दिन अगाडि भारतमा १३ हजार ३१३ जना कोरोना सङ्क्रमित भएका थिए ।

हाल भारतमा सक्रिय सङ्क्रमितको संख्या ८८ हजार २८४ रहेको छ । सक्रिय सङ्क्रमितको यो सङ्ख्या कुल सङ्क्रमितको ०.२० प्रतिशत हो । पछिल्लो एक दिनमा १३ हजार २९ जना कोरोनामुक्त भएका छन् । योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त हुनेको कुल सङ्ख्या ४ करोड २७ लाख ४९ हजार ५६ पुगेको छ । कोरोना भाइरस निको भएको यो दर ९८.५९ प्रतिशत रहेको छ ।

कोरोना शुरु भएबाट हालसम्म यस महामाहरीको कारण पाँच लाख २४ हजार ९०० भन्दाबढीको मृत्यु भएको समाचारमा जनाइएको छ । भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ९६ करोड ७७ लाख डोज खोप लगाइएको समाचारमा जनाइएको छ । कोरोना सङ्क्रमण शुरु भएबाट हालसम्म ८५ करोड ९८ लाखभन्दा बढीको कोरोना भाइरस परीक्षण भएको बताइएको छ ।

अमेरिकामा बन्दुक नियन्त्रणसम्बन्धी विधेयक पारित

अमेरिकामा अन्ततः बन्दुक नियन्त्रणसम्बन्धी विधेयक पारित भएको छ । अमेरिकी कांग्रेसको माथिल्लो सदन सिनेटले उक्त विधेयका पारित गरेको हो । सिनेटमा भएको मतदानमा विधेयकको पक्षमा ६५ र विपक्षमा ३३ मत परेको थियो । पन्ध्र जना रिपब्लिकन विधायकले पनि विधेयकको पक्षमा मतदान गरेका थिए । तीन दशकपछि बन्दुक हिंसा नियन्त्रणसम्बन्धी विधेयक पारित भएकामा खुशी व्यक्त गर्दै राष्ट्रपति जो बाइडनले विद्यालयमा बालबालिकाको सुरक्षा सुनिश्चित गर्न समुदायलाई सुरक्षित बनाउन मद्दत पुग्ने बताए ।

अब उक्त विधेयक तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभमा प्रस्तुत हुनेछ । हाउस अफ रिप्रेजेन्टेटिभबाट अनुमोदन भएपछि राष्ट्रपतिले सदर गर्नुपर्ने प्रावधान रहेको छ । राष्ट्रपतिबाट विधेयक स्वीकृत भएपछि विधेयक कानुनमा रूपान्तरण हुनेछ । राष्ट्रपतिले विधेयकमा शीघ्र मतदान हुनुपर्ने बताएका छन् । टेक्सासको उभल्देस्थित एक प्राथमिक विद्यालयमा १९ जना बालबालिका र दुई जना शिक्षक बन्दुको हिंसामा मारिएको ठ्याक्कै एक महिना पछि १३ अर्ब डलरको प्याकेज समेटिएको उक्त विधेयक मतदानका निम्ति प्रतिनिधिसभामा प्रस्तुत हुनेछ ।

मानसिक स्वास्थ्य, विद्यालय सुरक्षा, तत्कालीन अवस्थामा तत्काल हस्तक्षेप गर्ने अधिकारसहितका कार्यक्रम, आपराधिक पृष्ठभूमि जाँच प्रणालीमा किशोरकिशोरीका अभिलेख समावेशलगायत प्रावधान प्याकेजमा समावेश गरिएको छ । उनन्चालीस करोड अमेरिकीसँग बन्दुक रहेको तथा सन् २०२० मा मात्र बन्दुकसम्बन्धी हिंसामा परी ४५ हजारभन्दा बढी अमेरिकी नागरिकको मृत्यु भएको बताइन्छ । बन्दुक हिंसाको प्रकोप नियन्त्रण गर्ने विधेयकको धेरैले स्वागत गरेका छन् ।

अफगानिस्तानका भूकम्प पीडितलाई संयुक्त राष्ट्रसंघीय एजेन्सीको सहयोग

अफगानिस्तानका भूकम्प पीडितहरूका लागि संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरूले सहयोग गरिरहेका राष्ट्रसङ्घीय प्रवक्ताले जानकारी दिएका छन्। राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसका प्रवक्ता स्टेफान डुजारिकले दिएको जानकारीअनुसार संयुक्त राष्ट्रसङ्घीय निकायहरूले अफगानिस्तानका भूकम्पपीडितहरुलाई खाद्यान्न तथा अन्य आवश्यक सहयोग गरिरहेका छन् ।

राष्ट्रसङ्घीय शरणार्थीसम्बन्धी निकाय युएनएचसिआरले यहाँका भूकम्प पीडितहरूका लागि आवश्यक लत्ता कपडा उपलब्ध गराएको बताइएको छ । त्यसैगरी विश्व खाद्य कार्यक्रमले खाद्यान्न तथा विश्व स्वास्थ्य सङ्गठनले पीडित तथा घाइतेहरुका लागि आवश्यक औषधिको प्रबन्ध गरिरहेको पनि प्रवक्ता डुजारिकले जानकारी दिए ।

अन्य विदेशी निकाय तथा पाकिस्तानले पनि यहाँका पीडितहरूका लागि टेन्ट, लत्ताकपडा, खाद्यान्न र औषधि सहयोग गरिरहेका बताइएको छ । अफगानिस्तानको दक्षिण पूर्वी क्षेत्रमा पर्ने खोस्ट सहरनजिकै बुधबार बिहान आएको ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी एक हजार जना भन्दा बढीको मृत्यु भएको छ भने हजारौँ व्यक्ति प्रभावित भएका छन् ।

भूकम्पका कारण धेरै ठाउँका हजारौँ भवन तथा भौतिक संरचना क्षतिग्रस्त भएका छन् । स्थानीय समयानुसार विहान १।३० बजेतिर भूकम्प आएको हो । घटनास्थलबाट गम्भीर अवस्थामा घाइते रहेकाहरुको उद्धार गरिएको र तथा पुरिएका वा थुनिएकाहरूलाई उद्धार गरेर हेलिकोप्टरबाट उद्धार गरिएको छ । घटनास्थलमा खोजी तथा उद्धारका लागि दर्जनौँ उद्धारकर्ता पनि परिचालित छन् ।

तालिवान सरकारका प्रवक्ता जाबिउल्लाह मुजाहिदले भूकम्पबाट पिडीतहरूलाई राहत तथा क्षतिपूर्ति र व्यवस्थापनका लागि सरकारले गृहकार्य गरिरहेको जानकारी दिए ।

युक्रेनमा जारी रुसी आक्रमण पाचौँ महिनामा प्रवेश

युक्रेनमा जारी युद्ध पाँचौ महिनामा प्रवेश गरेको छ । युक्रेनमा आक्रमण जारी रूसले आपूर्ति मार्गहरू अबरूद्ध गर्ने योजना बनाएको छ । युद्धले अनिश्चित बनेको युक्रेनको राजनीतिक भविष्यमा आशाका केही किरण देखिएका छन् । औपचारिक रूपमा युरोपेली सङ्घको सदस्य बन्ने युक्रेनको चाहना स्वीकृत भएको छ । यद्यपि उसलाई सङ्घको पूर्ण सदस्यता हासिल गर्न एक दशकभन्दा बढी समय लाग्नेछ । सङ्घमा युक्रेनको उम्मेदवारी स्वीकृत भएसँगै युद्धग्रस्त राष्ट्रको मनोबल पनि बढेको छ ।

रूसी आक्रमणले पूर्वी डोनबास क्षेत्रका शहरको प्रतिरक्षामा जुटेकाहरूलाई कमजोर बनायो भने लुहान्स्क प्रान्तको करिब ९५ प्रतिशत र छिमेकी डोनेस्क प्रान्तको करिब आधा भागमा रूसी सेनाले कब्जा जमाएको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि पाँच महिनाअघि आजकै दिन शुरू गरेको ‘विशेष सैन्य कारबाही’ युक्रेनी भूमि कब्जाका निम्ति नभएको बताएका छन् ।

सत्ताइस सदस्यीय सङ्घमा युक्रेनको प्रवेशलाई लिएर युरोपेली नेताहरूले युक्रेनी जनता युरोपेली परिवारको सदस्य भएका बताएका छन् । हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले युरोपलाई आर्थिक समस्याबाट जोगाउन रूसमाथि अब थप प्रतिबन्ध आवश्यक नभएको बताएका छन् । रूसबाट ग्यास आपूर्तिमा कटौती हुँदा धेरै युरोपेली देश प्रभावित भएका छन् ।

रुसले युक्रेनी अन्न चारेको आरोपबारे टर्कीको छानबिन

टर्कीका विदेशमन्त्री मेल्भत चाभुसोग्लुले रुसले युक्रेनबाट अन्न चोरी गरेको विषयमा आफ्नो मुलुकले छानबिन गरेको जनाएका छन् । रुसले युक्रेनबाट अन्न चोरेर टर्की लगायतका तेस्रो मुलुकमा बिक्री गर्ने गरेको आरोप लागेपछि यसबारे छानबिन सुरु गरिएको चाभुसोग्लुले जनाएका हुन् । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार आफ्नो छानबिनको प्रगतिबारे युक्रेनलाई जानकारी गराइएको समेत बताए ।

‘हामीले हरेक दाबीलाई गम्भीरतापूर्वक लियौँ र यही दाबीका आधारमा अनुसन्धान गर्यौँ । हामीले पानीजहाजको प्रस्थान बन्दरगाह र सामानको उत्पत्ति रुसमा भएको देख्यौँ ।’ चाभुसोग्लुलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । यद्यपि हालसम्मको छानबिनबाट यसबारे कुनै प्रमाण फेला नपरेको स्पष्ट पारेका छन् । यसअघि टर्कीका लागि युक्रेनी राजदूतले यही महिनाको सुरुमा रुसले युक्रेनबाट अन्न चोरी गरेर टर्की र अन्य मुलुकका बिक्रेतालाई बेच्दै आएको आरोप लगाएका थिए ।

साथै टर्कीका लागि युक्रेनी राजदूत भासिल बोद्नारले यसबारे छानबिन गर्न समेत टर्कीस सरकारसमक्ष आग्रह गरेका थिए । रुसले यस्तो गतिविधिमा आफ्नो सहभागिता नरहेको दाबी गर्दै आएको छ । बिहीबारमात्रै रुसी प्रशासन क्रेमलिनले युक्रेनबाट कुनै अन्न चोरी नगरेको प्रष्टीकरण दिएको थियो । युक्रेनको विदेश मन्त्रालयले टर्किस विदेशमन्त्रीको टिप्पणीबारे कुनै प्रतिक्रिया नजनाएको रोयटर्सले जनाएको छ ।

रुसी फौजले युक्रेनी फोटो पत्रकारको विभत्स हत्या गरेको प्रतिवेदन सार्वजनिक

रुसी फौजले युक्रेनी फोटोपत्रकार माक्सिम लेभिनको ‘विभत्स’ हत्या गरेको प्रतिवेदन सार्वजनिक भएको छ ।सञ्चारकर्मीको अधिकारका लागि स्थापित अन्तर्राष्ट्रिय संस्था रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ) द्वारा जारी १६ पृष्ठ लामो प्रतिवेदनमा आक्रमणकारी रुसी सेनाले लेभिनलाई मार्च १३ मा गोली हानी हत्या गरेको उल्लेख छ ।

रुसी फौजले उनीसँगै उनका साथी ओलेक्सेई चेर्निसोभको पनि हत्या गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । उनीहरु १३ मार्चबाट नै बेपत्ता थिए । उनीहरूको शव अप्रिल १ मा राजधानी किभको उत्तरी क्षेत्रमा फेला परेको थियो । ‘रुसी फौजविरुद्ध प्रमाणहरू प्रचुर छन् ।’ प्रतिवेदनलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  ८ : ०८ बजे

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

आज २०८१ साल वैशाख २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको