दिनभर के के भयो देशभर ? (अडियोसहित) | Khabarhub Khabarhub

दिनभर के के भयो देशभर ? (अडियोसहित)


११ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : 7 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अडियो सुन्नुहोस् :

आसन्न स्थानीय चुनावका लागि उम्मेदवारी दर्ता आजदेखि सुरु
आसन्न स्थानीय तह निर्वाचन, २०७९ का लागि उम्मेदवारको मनोनयन आजबाट सुरु भएको छ । देशका ७५३ स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा भोलिसम्म मनोनयन गराउन सकिने निर्वाचन आयोगले जनाएको छ । विगतका स्थानीय तहको निर्वाचनमा उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम एक दिनको रहेकामा यस पटक दुई दिनको दिन छुट्टाइएको हो । कानूनबमोजिम स्थानीय तह सदस्यको निर्वाचनमा उम्मेदवार बन्न योग्यता पुगेका कुनै पनि व्यक्तिले कुनै पनि समयमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता गर्न सक्ने आयोगले जनाएको छ । स्थानीय तहको प्रमुख वा उपप्रमुखमा उम्मेदवार दिने व्यक्तिले धरौटीबापत रु एक हजार ५००, वडाध्यक्षले एक हजार र वडा सदस्यले ५०० धरौटी राख्नुपर्ने आयोगले जनाएको छ । महिला, दलित, विपन्न तथा अल्पसङ्ख्यक उम्मेदवारको हकमा धरौटी रकममा ५० प्रतिशत छुट हुनेछ । आज साँझ नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ ।

कांग्रेसको चुनावी घोषणापत्र सार्वजनिक 
नेपाली कांग्रेसले स्थानीय तह केन्द्रित घोषणापत्र सार्वजनिक गरेको छ । आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का तथा धनराज गुरुङ लगायतले उक्त घोषणापत्र सार्वजनिक गरेका हुन् । ‘नगर्ने काम नभन्ने, गर्ने कामलाई मात्रै प्राथमिकता’ मा राखेको कांग्रेसले घोषणापत्रलाई ‘सङ्कल्प’ को नाम दिइएको छ । घोषणापत्रमा कांग्रेसले विगतमा सरकारको नेतृत्व गर्दा वा प्रतिपक्षको भूमिकामा जानीनजानी भएका त्रुटि, कमजोरीहरूप्रति जनतासमक्ष क्षमा माग्दै त्यसबाट शिक्षा लिएर दोहोरिन नदिने प्रतिवद्धता व्यक्त गरेको छ । त्यस्तै जनताको करबाट उठेको राजस्वलाई भ्यूटावर, स्वागतद्वार जस्ता अनुत्पादक क्षेत्रमा लगानी नगर्ने, सरकारी सम्पत्तिको दुरुपयोग तथा प्राकृतिक स्रोत साधनको दोहन गर्न नदिने विषयलाई प्रमुख प्राथमिकतामा राखिएको छ । 

कांग्रेस केन्द्रीय समिति गठन 
नेपाली कांग्रेसले केन्द्रीय संसदीय समिति गठन गरेको छ । आज बसेको कार्यसम्पादन समितिको बैठकले १३ पदाधिकारी र वरिष्ठ नेता रामचन्द्र पौडेललाई राखेर संसदीय समिति गठन  गरेको हो ।सभापति शेरबहादुर देउवासहित १३ जना पदाधिकारी र वरिष्ठ नेता रामचन्द्र पौडेल केन्द्रीय संसदीय बोर्डमा सदस्य  रहेका छन् ।सभापति देउवाले आजै संसदीय बोर्ड पनि गठन गरेका छन् । संसदीय बोर्डमा पदाधिकारीसहित सभापतिले मनोनीत गरेका ११ केन्द्रीय सदस्य रहने व्यवस्था छ  । ११ जना मनोनीत गर्न सक्ने भए पनि देउवाले पौडेललाई मात्रै संसदीय बोर्ड सदस्य मनोनीत गरेका छन् । यसैबीच 
नेपाली कांग्रेसले महानगरपालिका र उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार चयन गर्ने अधिकार सभापति शेर बहादुर देउवालाई दिएको छ ।

पोखरा महानगरमा कांग्रेसको बागी उम्मेदवारी
पोखरा महानगरपालिकामा सत्तारुढ कांग्रेसको तर्फबाट बागी उम्मेदवारी परेको छ। पाँच दलीय गठबन्धनको तर्फबाट माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले भाग पाएको छ तर, कांग्रेस नेता विमलबहादुर कार्कीले महानगरको मेयरमा उम्मेदवारी दर्ता गराएका छन् । सभापति शेरबहादुर देउवाले पोखरा महानगर समाजवादीलाई दिएपछि कांग्रेसमा तीव्र असन्तुष्टि छ। उम्मेदवारी दिएपछि नेता कार्कीले पार्टी सिन्डिकेट लगाएपछि विद्रोह गर्न बाध्य भएको टिप्पणी गरेका छन् । दलीय व्यवस्थामा मिलेर जान नहुने उनको भनाइ छ ।

ललितपुरमा गठबन्धनबाट बाहिरिँदै एकीकृत समाजवादीको उम्मेदवारी
स्थानीय तह निर्वाचनका लागि ललितपुर महानगरपालिकामा सत्तारुढ गठबन्धनबाट बाहिरिँदै नेकपा एकीकृत समाजवादीले मेयर र उपमेयरमा उम्मेदवारी घोषणा गरेको छ ।नेकपा एकीकृत समाजवादीले ललितपुर महानगरपालिकाको मेयरमा हरिकृष्ण थापा र उप मेयरमा उषा बज्राचार्यलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । थापा ललितपुर जिल्लाका अध्यक्ष हुन् भने बज्राचार्य उपाध्यक्ष हुन् । गठबन्धबाट बाहिरिने निर्णय गरेको एकीकृत समाजवादीका जिल्ला सहइन्चार्ज अमृत तिमल्सिनाले जानकारी दिए । यसअघि समाजवादीले महाकाल गाउँपालिका र महालक्ष्मी नगरपालिकाका प्रमुख पाउनु पर्ने माग गर्दै आएको थियो । समाजवादीले दाबी गर्दै आएको महालक्ष्मी नगरपालिका कांग्रेस र महाकालको प्रमुख माओवादीले लिने दुई दलबीच सहमति भएपछि समाजवादीले आफ्नो उम्मेदवारी दिने भएको हो ।

गठबन्धनलाई फाइदा पुर्‍याउन खोजिएको भन्दै एमालेको आपत्ति
प्रमुख विपक्षी दल नेकपा एमालेले ६ वटा महानगरपालिका र भक्तपुरका ४ नगरपालिकाको मतपत्र छपाउँदा उम्मेदवारी परेकाबाहेक पदमा चुनाव चिन्ह हटाउने भनी आएको समाचारप्रति निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । एमालेका कार्यालय सचिव डा. भीष्म अधिकारीले आइतबार निर्वाचन आयोगलाई पत्र लेखेर अन्य पालिकाहरूको भन्दा भिन्न प्रकृतिको मतपत्र गठबन्धनका दलहरूलाई फाइदा पुग्ने आसयबाट प्रेरित रहेको भन्दै आयोगलाई यसबारे प्रस्ट पार्न आग्रह गरेका छन् । एमालेले निर्वाचन आयोगलाई कसैको दबाब र प्रभावमा नपरी मतपत्र छपाइमा मुलुकभर जुन तरिका अपनाइएको हो, सोहीबमोजिम नै मिलाउन आग्रह गरेको छ ।

जसपाको चुनावी घोषणापत्र सार्वजनिक 
समाजवादी पार्टी (जसपा) नेपालले भ्रष्टाचार मुक्त बनाआँै, विकास र समृद्धिको अभियान अघि बढाऔँ भन्ने नारा दिएर स्थानीय तह केन्द्रित घोषणापत्र सार्वजनिक गरेको छ । आज  काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जसपाले घोषणापत्र सार्वजनिक गरेको हो । निर्वाचनले स्थानीय लोकतन्त्र, स्वायत्तता, स्वशासनको प्रत्याभूति तथा प्रभावकारी सेवासुविधाप्रदान गर्न उल्लेखनीय योगदान गर्ने जसपाको विश्वास छ । जसपाले वडा र पालिका कार्यालयहरूलाई सेवाग्राहीमैत्री बनाइने, जनतालाई छिटो, छरितो सेवा सुविधा प्रदान गरिने भ्रष्टाचारमा शुन्यसहनशीलता कायम गर्ने र सरकारी कर्मचारी, राजनीतिक नेतृत्वले भ्रष्ट्राचार गरेमा, प्रमाण भेटिएमा तुरून्त कानुनी कार्वाही गरिने जनाएको छ ।

निर्वाचन मितव्ययी र भ्रष्टाचारमुक्त बनाउन माग गर्दै प्रदर्शन
मानव अधिकार तथा शान्ति समाजले निर्वाचनलाई मितव्ययी र भ्रष्टाचारमुक्त बनाउन माग गर्दै प्रदर्शन गरेको छ । १६ औँ लोकतन्त्र दिवसका अवसरमा समाजले बुटवलको बीपीचोकमा प्रदर्शन गरेको हो । प्रदर्शनपछि बोल्दै मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले ज्यादै खर्चिलो चुनावले भ्रष्टाचार र कुशासन बढाएको भन्दै लोकतन्त्रको रक्षा र स्थायीत्वका लागि भ्रष्टाचारमुक्त समाज र सुशासन अनिवार्य भएको बताए ।

कैलालीका मुक्त कमैया शिविरमा भीषण आगलागी
कैलालीको कैलारी गाउँपालिका ७ रामपुरको विपत्‌ मुक्त कमैया शिविरमा भीषण आगलागी भएको छ । आज दिउँसो भएको आगलागीबाट ५० भन्दा बढी घरहरू जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सोमेन्द्र सिंह राठौरले जानकारी  दिए । गहुँको नल जलाउन खेतमा लगाएको आगो हावाहुरीले उडाएर बस्तीमा पुर्‍याएपछि आगलागी सुरु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले  बताए ।

मेलम्चीको पानी काठमाडौँका धारामा वितरण सुरु
मेलम्चीबाट ल्याइएको पानी आजदेखि फेरि काठमाडौँका घरघरमा पठाउन सुरु गरिएको छ ।  आज खानेपानी मन्त्री उमाकान्त चौधरीले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) बानेश्वर शाखामा रहेको ट्यांकीको साँचो खोलेर पानी वितरणको उद्घाटन गरेसँगै आजदेखि घरघरमा पठाउन सुरु गरिएको हो । गत असारमा मेलम्चीमा आएको बाढीले आयोजनालाई क्षति पुगेको थियो ।  गत  चैत २९ मा मेलम्चीबाट पानी काठमाडौं पठाउन सुरु गरिएको थियो । मेलम्चीको पानी काठमाडौं आएपछि पानीको संकट समाधान हुने अपेक्षा गरिएको छ । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौँ आउनेछ ।

अख्तियारद्वारा १०९ विरुद्ध विशेष अदालतमा मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन महेन्द्रनगर नगर विकास समितिको जग्गा अनियमितता प्रकरणमा १०९ जनामाथि विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । तत्कालीन नगर विकास समितिले सरकारी सार्वजनिक सम्पतिको गैरकानूनी रुपमा व्यक्तिका नाममा दर्ता र भोगचलन गरेको भन्दै आयोगले विशेष अदालतमा तीनवटा मुद्धा दर्ता गरेको हो । २०६४ पुष ६ गतको निर्णयबाट ९ जना कर्मचारीलाई १० कठ्ठा चार धुर जग्गा बितरण गरिएको भन्दै आयोगले २९ लाख ७४ हजार बिगो दाबीसहित समितिका तत्कालीन अध्यक्ष कान्तुराम पनेरु, मालपोत कार्यालय कन्चनपुरका तत्कालीन कार्यालय प्रमुख विशन सिंह थापासमेत २२ जना उपर मुद्दा दायर गरेको अदालतका शाखा अधिकृत यज्ञराज रेग्मीले जानकारी दिए ।

नेपालमा कोरोना अपडेट
पछिल्लो २४ घण्टामा नेपालमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ३ हजार १ सय ४४ पीसीआर परीक्षणका क्रममा ११ जना र १ हजार १ सय ११ एन्टीजेन परीक्षणका क्रममा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज २५ संक्रमित संक्रमणमुक्त भएका छन् । हाल नेपालमा २ सय ६९ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

बुटवलको जंगलमा दम्पतीको शव फेला
बुटवलको शिवनगर सामुदायिक वनको जंगलमा एक दम्पती मृत अवस्थामा फेला परेका छन् ।मृतक दम्पती बुटवल उपमहानगरपालिका वडा नं. ११ का ६० वर्षीय काजीमान श्रेष्ठ र उनकी श्रीमती ५५ वर्षीया कमला श्रेष्ठ रहेका इलाका प्रहरी कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए । उनीहरू गत वैशाख ६ गते आफन्त भेट्न भन्दै घरबाट हिँडेका तर घर नफर्किएपछि खोजी गर्दै जाँदा जंगलमा मृत अवस्थामा भेटिएको केसीले बताए । शव नजिकै शिशाका बोत्तल, रक्सीलगायतका वस्तु फेला परेकोले घटनाबारे थप अनुसन्धान सुरु गरिएको  प्रहरीले जनाएको छ । मृतकका छोराहरू वैदेशिक रोजगारीमा रहेको र मृतक दम्पती घरमा छोरी तथा बुहारीसँग बस्दै आएको प्रहरीको भनाइ  छ ।

नेपाललाई स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने डब्ल्यूएचओको प्रतिबद्धता
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले नेपालको स्वास्थ्य आपतकालीन तयारीलाई सुदृढ बनाउन तथा स्वास्थ्य क्षेत्रका प्राथमिकतामा सघाउने प्रतिबद्धता व्यक्त गरेको छ । आज  काठमाडौंमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले पत्रकार सम्मेलन गर्दै डब्ल्यूएचओका महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससको नेपाल भ्रमणका क्रममा स्वास्थ्य क्षेत्रका प्राथमिकतामा सघाउने प्रतिबद्धता व्यक्त भएको जानकारी दिए । त्यस्तै भ्रमणका क्रममा नेपालमा बाल तथा स्त्रीरोग ओन्कोलोजीमा केन्द्रित मातृ र बाल स्वास्थ्य सहकार्य केन्द्र स्थापना, कीटजन्य रोगको तालिम तथा अनुसन्धान केन्द्रलाई डब्ल्यूएचओको दक्षिणपूर्वी एशियाली क्षेत्रीय केन्द्रका रुपमा विकास गर्न सहयोग गर्ने प्रतिवद्धता पनि प्राप्त भएको उनले बताए । मन्त्री खतिवडाले अत्यावश्यक औषधि उत्पादन र शल्यचिकित्सासम्बन्धी स्वास्थ्य उद्योग स्थापनाका साथै नेपाली विज्ञहरूलाई अवसर एवं क्षमता विकासमा सहयोग गर्ने प्रतिबद्धता महानिर्देशकले व्यक्त गरे ।

प्रधानसेनापति शर्माले गरे सबै सुरक्षा निकायका प्रमुखसँग छलफल
नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले सबै सुरक्षा निकायका प्रमुखसँग सैनिक मुख्यालय जंगीअड्डामा छलफल गरेका छन् । स्थानीय तहको निर्वाचन सम्बन्धमा उनले सबै सुरक्षा निकायका प्रमुखसँग आज छलफल गरेका हुन् । सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयका अनुसार छलफलमा नेपाल प्रहरीका प्रमुख शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका प्रमुख पुष्पराम केसी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेल लगायतको उपस्थिति थियो । सैनिक उच्च अधिकृतहरूसमेत सहभागी छलफलमा सेनाका तर्फबाट निर्वाचनका सन्दर्भमा भएका तयारी र भविष्यमा हुनु पर्ने सहकार्यबारे प्रस्तुतीकरण दिइएको थियो ।

काठमाडौँका विभिन्न फर्मबाट १८ करोडभन्दा बढी राजस्व चुहावट
नक्कली भ्याटबिल बनाएर कर छली गर्ने ५ जना विरुद्ध राजस्व अनुसन्धान विभागले ३६ करोड ११ लाख रुपैयाँ बराबरको मुद्दा दायर गरेको छ । विभागले आइतबार उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको हो । मुद्दा दायर गरिएका व्यक्तिहरूमा काठमाडौं बाफल बस्ने शुभलक्ष्मी इन्टरनेसनलका सञ्चालक मनिष कुमार अग्रवाल तथा एचबी ट्रेड एन्ड सप्लायर्सका सञ्चालक हितेष कुमार अग्रवाल तथा साझेदार विमल अग्रवाल, एम के इन्टरनेसनलका सञ्चालक प्रमित महर्जन र गणपति ट्रेड लिंकका सञ्चालक दिपेन्द्र कुमार अग्रवाल छन् । उनीहरूविरुद्ध १८ करोड ५ लाख ६८ हजार ६ सय ४३ रुपैयाँ बराबर बिगो तथा सोही बराबर जरिवाना गरी कुल ३६ करोड ११ लाख, ३७ हजार २ सय ८६ रुपैयाँ बराबर असुलउपर गरिनुपर्ने मुद्दामा उल्लेख छ ।

ताप्लेजुङ मालपोतका अधिकृत पक्राउ
मालपोत कार्यालय ताप्लेजुङका मालपोत अधिकृत लेखा पनेरु महत घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ लाख ५० हजार घुससहित पक्राउ गरेको हो । जग्गा दर्ता गर्ने सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा फुङलिङ नगरपालिका वडा नं. ४, कोप्चेबाट उनलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए ।

काठमाडौँ प्रहरीद्वारा लागूऔषध बरामद
काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध  सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषा जनकनन्दनी गाउँपालिका–२ बस्ने २३ वर्षीय हेमन्त यादव रहेका छन् । उनको साथबाट ४ सय एम्पुल डाईजेपाम, ४ सय एम्पुल नुर्फिन र ४ सय एम्पुल फेनारगन  बरामद गरेको प्रहरीले जनाएको छ । जनकपुरबाट काठमाडौंतर्फ आउँदै गरेको बा.१ प १२३२ नम्बरको बसलाई नागढुंङ्गास्थित चेक प्वाइन्टमा प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार हेमन्तलाई सो लागूऔषध सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

सितापाइलामा बसले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु
काठमाण्डौको सितापाइला चोकमा आज बिहान बसको ठक्करबाट एक जना पैदलयात्री मृत्यु भएको छ । मृत्यु हुनेमा नार्गाजुन नगरपालिका–४ का ६५ वर्षीय दुर्गाराज लौडारी रहेका छन् ।  बसको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा शुभेच्छा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । सीतापाइलाबाट भिमढुङगा चल्ने बा २ ख २३०५ नम्बरको बसले आज बिहान साढे ७ बजे पैदल हिँडिरहेका उनलाई ठक्कर दिएको थियो ।  बस सहित चालकलाई प्रहरी वृत्त स्वयम्भुले नियन्त्रणमा लिएको छ ।

नवलपरासीमा दुर्घटना एक जनाको मृत्यु
नवलपरासीको बर्दघाट नगरपालिका–३ बुटहास्थित सडकमा ट्याक्टरले मोटरसाइकलले  ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मोटरसाइकलमा सवार सोही नगरपालिका–११ गैडाहवा बस्ने ४५ वर्षीय बाबुलाल चौधरीको मृत्यु भएको हो । ना.७ त २०४८ नम्बरको ट्याक्टरले लु.२१ प ७५२१ नम्बरको मोटरसाइकललाई आज बिहान ठक्कर दिँदा गम्भीर घाइते भएका  चौधरीको चिसापानी सामुदायिक अस्पताल बर्दघाटमा उपचारको क्रममा मृत्यु भएको हो । यता कपिलवस्तुमा  पनि ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नगरपालिका–५ श्रीरामपुरका अस्लाम धुनियाकी छोरी ३ वर्षीया मरेम धुनिया रहेकी छन् । 

बजेटबारे स्वास्थ्य र शिक्षा मन्त्रालयसँग अर्थको छलफल 
अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष ०७९/८० को बजेट निर्माणका लागि आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग छुट्टाछुट्टै छलफल गरेको छ । दुबै मन्त्रालयसँग आगामी आर्थिक वर्षका लागि बिनियोजित बजेटको सिलिङ र त्यसभित्र राखिएका कार्यक्रमबारे छलफल गर्न अर्थ मन्त्रालयमा बैठक राखिएको थियो । बिहान शिक्षा मन्त्रालयसँग भएको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले विद्यालय छाड्ने प्रवृत्तिलाई रोक्नेगरी कार्यक्रम बनाउनुपर्ने बताएका थिए ।

शेयर बजारमा उत्साह
कारोबारको पहिलो दिन आज शेयर बजारमा उत्साह देखिएको छ । नेप्से आज ९५ दशमलव ४६ अकंले बढेर २ हजार ४ सय  २० दशमलव  ९१ विन्दुमा पुगेको हो । आज कारोबार रकममा पनि वृद्धि  भएको छ । आज कुल ६६ लाख ३९ हजार  ५०४ कित्ता शेयर  २ अर्ब ५३ करोड  १२ लाख ७५ हजार ५ सय  ९ ३ रुपैँयामा कारोबार भएको छ । आज सबै उपसमुह उकालो लागेको छ । 

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ९ : ४६ बजे

इलाममा सुहाङले लिए ७ सय ८० मतको अग्रता

इलाम– इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका १, २,

लागूऔषधसहित टिकापुरबाट दुई जना पक्राउ

धनगढी– कैलालीको टीकापुरबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। टीकापुर

आईपीएलमा बैंगलुरुको लगातार दोस्रो जित, प्लेअफको आशा जीवितै

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत आइतबार दिउँसो भएको पहिलो खेलमा

इलाममा खोई माओवादीको भोट ?

काठमाडौं- इलामको उपचुनावमा सत्तारुढ दल नेकपा माओवादी केन्द्रले एमाले उम्मेदवार

सहकारी सुशानका लागि दुई दिने कार्यक्रम गर्दै नेफ्स्कून

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को