'माधव नेपालको पार्टीसँग एकता हुँदैन' | Khabarhub Khabarhub

‘माधव नेपालको पार्टीसँग एकता हुँदैन’

विचार मिल्ने वामपन्थीसँग चुनावी तालमेल हुनसक्छ


६ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले प्रदेश र संघीय निर्वाचनमा अहिलेको गठबन्धन अनुरूप नै जाने निर्णयसँगै प्रमुख प्रतिपक्ष दल नेकपा एमाले दबाबमा परेको छ । गठबन्धनकै कारण स्थानीय चुनावमा अपेक्षाकृत मत ल्याउन नसकेको एमालेलाई कांग्रेसको पछिल्लो निर्णयले झनै अप्ठ्यारोमा पारेको छ । आगामी निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने गरी चुनावी तयारी गर्न उसले तल्ला निकायलाई निर्देशन दिएको छ । तर, शर्तसहित तालमेलको ढोका पनि बन्द गरेको छैन । लोकतन्त्र र राष्ट्रियतालाई बलियो बनाउने उद्देश्यमा सहमत हुने जुन सुकै शक्तिसँग तालमेलका लागि छलफल गर्न र एक्लै गठबन्धनको सामना गर्ने गरी तयारी गरिरहेको एमालेको नयाँ र अर्को रणनीति के छ ? नेपाली कांग्रेस लगायत पाँच दलीय गठबन्धनसँग एक्लै लड्न के–कस्तो तयारी गरिरहेको छ । वाम गठबन्धनका लागि भएका छलफल निष्कर्षमा पुग्ने सम्भावना लगायतका विषयमा आधारित रहेर नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीसँग खबरहबका लागि धीरज बस्नेतले गरेको कुराकानीको सम्पादित अंश:

नेपाली कांग्रेसले पाँच दलीय गठबन्धनबीच नै तालमेल गरेर चुनाव लड्ने निर्णय गरेको छ। यसले एमालेलाई ठूलो दबाब सिर्जना गरिदियो होइन ?
हामीले स्थानीय तहको निर्वाचन पनि पाँच दलीय गठबन्धन भएको बेलामा नै लड्यौँ र त्यसमा पदको हिसाबले दोस्रो भयौँ। समग्र जनमतको हिसाबले ३४ प्रतिशत मत हाम्रो छ र त्यो कांग्रेसको भन्दा धेरै हो।

तपाईंहरु पहिला भन्दा झन् झन् पछाडि हुनुभएको छ, अब संघीय निर्वाचनमा उनीहरूले थप रणनीतिहरू बनाउलान्, तपाईंहरुलाई त पेलेरै भित्तामा पुर्‍याउने भए त ?
नेकपा एमाले संसदमा, जनमतको हिसाबले ठूलो पार्टी हो। स्थानीय तहको निर्वाचनमा पनि पदीय हिसाबले दोस्रो पार्टी छ। त्यसैले अब आउने संसदीय चुनावमा बहुमत ल्याउनका लागि हाम्रो आन्तरिक सुदृढीकरणमा जोड दिनका लागि हामीले ७ वटै प्रदेशमा कार्यक्रम गरेका छौँ। अब यो कार्यक्रमहरू वडावडा र टोल टोलमा जान्छ र अब आउने चुनावमा पार्टीलाई सशक्त ढङ्गले क्रियाशील बनाएर अगाडि बढाउने स्थानीय तहको कमी कमजोरीलाई हटाउने र आन्तरिक सुदृढीकरणमा प्रमुख रूपले लाग्ने हाम्रो निर्णय छ। अरू पार्टीमा निर्भर रहेर भन्दा पनि आफ्नो शक्ति, संगठन र जनाधारमा निर्भर भएर चुनाव जित्ने योजनामा हामी छौँ। अझै पनि चुनावको मिति घोषणा भएको छैन। त्यसैले आवश्यकता भयो भने विभिन्न शक्ति र पार्टीसँग तालमेलको लागि ढोका बन्द भएको छैन। हामी तालमेल गर्न पनि सक्छौँ।

नेकपा एमालेले जति नै ठूलो कुरा गरे पनि एक्लै लड्ने तागत त रहेनछ ?
अहिलेसम्म त हामी एक्लै नै आएका छौँ। तर, अब आउने चुनावमा स्थानीय चुनाव जस्तो हुँदैन। त्यसमा जनमत कतातिर हुन्छ, उसले नै विजय प्राप्त गर्दछ। त्यसैले हामी एकदम जिउँदो छौँ। कसैले भित्तामा पुर्‍याउने सम्भावना नै छैन। चुनावमा बहुमत र अल्पमत धेरै र थोरै भन्ने हुन सक्छ। तर हामीमा आत्मविश्वास छ, आवश्यकता पर्‍यो भने अरू पार्टीसँग पनि तालमेल हुनसक्छ।

तालमेलका लागि एमालेले अहिलेसम्म कुन कुन दलसँग संवाद अगाडि बढाएको छ ?
अहिलेसम्म औपचारिक रूपमा तालमेल छैन। अनौपचारिक रूपमा आफ्नो व्यक्तिगत ढङ्गले विभिन्न नेताले चलाएका हुनसक्छन्। समग्रमा औपचारिक रूपमा तालमेल अगाडि बढेको छैन। एमाले र कांग्रेस नै मुख्य प्रतिस्पर्धी हुन्। त्यसैले मुख्य प्रतिस्पर्धीलाई हराउन सक्यो भने एमालेले जित्ने सम्भावना हुन्छ। त्यसकारण कुन कुनसँग तालमेल गर्ने भनेर त्यसको लागि जुन सुकै पाटीले पनि आफ्नो शक्तिलाई सुदृढ गर्नको लागि र आफूलाई फाइदा नै हुने किसिमले तालमेल गर्ने हो। यही पार्टी भन्ने छैन। मुलत हामी आन्तरिक सुदृढीकरणमा नै लागेका छौँ।

वाम गठबन्धनको तयारी र छलफल कसरी अगाडी बढेको छ ?
वाम गठबन्धनको सम्भावना अहिले नै इन्कार गर्न मिल्दैन र हुँदै हुँदैन भन्ने पनि छैन। त्यो हुँदा राम्रो कुरा हो। तर, अहिले आफूलाई वामपन्थी भन्नेले नेपाली कांग्रेसले एमालेलाई हराउने हो भनेर लाग्नु भएको छ। र, उहाँहरूले कांग्रेसको गठबन्धन छोड्ने हो भने वाम गठबन्धनको सम्भावना छ। तर, उता पनि गठबन्धन भन्ने र यता पनि गठबन्धन गर्ने भन्दा अहिले वाम गठबन्धनको स्थिति भने कुनै औपचारिक रूपमा भएको छैन।

माओवादीलाई पहिला गठबन्धन छोड अनि यता छलफल गरौँला भन्न खोज्नु भएको हो ?
हो, पहिला त उहाँहरू गठबन्धन छोड्न तयार हो कि होइन, त्यो थाहा पाउनु पर्दछ। वाम पार्टीहरूसँग अहिले पार्टी एकताको सम्भावना छैन। तर, चुनावको लागि तालमेल गर्ने सम्भावना छ।

माधव कुमार नेपाललाई पनि स्वागत गर्नुहुन्छ ?
अहिले पार्टी एकताको सम्भावना छैन। पछि भविष्यमा विचार मिल्ने वामपन्थीबीच एकता हुनु राम्रो हो। चुनावी तालमेल हुनसक्छ। तर, कांग्रेसलाई जिताउने र गठबन्धन गर्ने उहाँहरूको निर्णयले भने फेरि तालमेल गर्ने सम्भावना रहँदैन।

माधव कुमार नेपालसँग अहिले कत्तिको संवाद भएको छ ?
यो लामो समयको राजनीतिक जीवनका लागि केही क्षणको लागि नेतासँग एजेण्डा र विचार मिल्छ। विचार र एकता गरेर जाने अवस्था हुन सक्छ। तर, अन्तिम अवस्थामा आउँदा उहाँ जसरी पनि पार्टी फुटाल्नेतिर जानुभयो। त्यो गम्भीर गल्ती भयो। हिजोसम्म एजेण्डा मिल्दा साथ दिइयो। अहिले एजेण्डा नमिल्दा साथ दिइएन। फेरि नेकपा एमाले हामीले धेरै रगत पसिना बगाएर निर्माण भएको पार्टी हुनाले त्यसलाई विभाजन गर्नु पाप हुन्छ।

सत्तारुढ वामपन्थी दलहरूको तालमेलभित्र एउटा केन्द्र बनाउने भनेर बहस चलेको छ, त्यसलाई एमालेले कसरी हेरेको छ ?
कांग्रेससँग मोर्चाबन्दी गरेर एमाले हराउने काम वामपन्थी नेता र साथीबाट भएको छ। त्यसको हामी विरोध गर्दछौँ। एमाले हराउने उद्देश्यसँग हाम्रो सहमति हुँदैन। तर, नेपालको पुँजीवादी लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसलाई हराउने शर्तमा पछि तालमेल हुनसक्ने सम्भावना इन्कार गर्न सकिँदैन।

वाम गठबन्धनका कुराले एमाले आत्तिएको रहेछ है ?
नेकपा एमाले एउटा बलियो पार्टी भएको कारणले कांग्रेस एमाले सबै अत्तालिएका छन्। कांग्रेसले एमालेलाई हराउन सक्दैन। यो शक्तिशाली पार्टी हो भनेर त्यसलाई हराउनको लागि कांग्रेसले पनि एक्लै नसक्ने भएर अरू वामपन्थीको सहारा खोज्नु पर्ने भयो। एमालेसँग एक्लै लड्ने कुनै पनि पार्टीसँग तागत छैन। कांग्रेसको बैठकले पनि त्यो कुरा पुष्टि गरिसकेको छ। एमालेसँग एक्लै लड्न सक्ने तागत छ त्यसैले, अत्तालिने कुरा छैन।

हिजो सत्तोसराप गरेका मान्छेसँग पनि तालमेल गर्न तयार हुनुहुन्छ ?
राजनीतिका कुनै विषयमा एजेण्डा मिल्छ, कुनै विषयमा मिल्दैन। हिजो एजेण्डा नमिलेका पार्टीसँग भोलि मिल्न सक्छ। विश्वभरिका हरेक देशमा आफ्नो मुख्य प्रतिद्वन्द्वहरुलाई परास्त गर्नका लागि विभिन्न शक्तिसँग तालमेल गरेर अगाडि जानु लोकतान्त्रिक प्रणालीकै एउटा अभ्यास हो।

हाल भइरहेका सरकारको गतिविधिलाई एमालेको उपाध्यक्षको हैसियतले तपाईंले कसरी हेर्नु भएको छ ?
सरकार त पूर्ण रुपले असफल भइसकेको छ। जस्तो कुनै व्यक्तिले केही गर्छु भनेर बैँकमा लोन लिन जाँदा बैँकले दिन नसक्ने अवस्था छ। गम्भीर एउटा आर्थिक संकट देखा परेको छ। चौतर्फी रूपमा महंगी अचाक्ली बढेको छ। यसलाई नियन्त्रणमा लिन सरकारले धेरै प्रयास गरेको छ। तर, स्थिति निकै गम्भीर हुँदै गएको छ। त्यसैले वास्तवमा नै सरकार असफल भएको छ। विशेष त शान्ति सुरक्षा र आर्थिक रूपमा नै भद्रगोल भएको छ।

अर्थमन्त्री भए पनि राजीनामा दिएर छानबिनमा तानिएका जनार्दन शर्माको भूमिकालाई कसरी हेर्नुभयो ?
अर्थमन्त्रीले उहाँको कमजोरीका आधारमा राजीनामा दिनु भएको छ। अर्थमन्त्रीमात्र नभई सिङ्गो सरकार नै मूलभूत रूपमा असफल भएको छ।

तपाईंहरुको गभर्नरको नि ?
गभर्नरले म कुनै पनि पार्टीमा संलग्न छैन भनेर भन्नु भएको छ। त्यसेले सम्बन्धित व्यक्तिले नै सार्वजनिक रूपमा भने पछि कुनै अर्थ छैन। त्यसमा धेरै छलफल गरिरहनुपर्ने आवश्यकता छैन।

आफ्नै विभागमा सदस्य राखेको एम अधिकारी यो हो भनेर अहिलेसम्म किन सार्वजनिक गर्न सक्नु भएको छैन ?
यो नामका धेरै मान्छेहरू नेपालमा छन्। त्यसैले औपचारिक रूपले नै गभर्नर एम अधिकारी हाम्रो पार्टीको सदस्य हुनुहुन्न। त्यसैले यही नै हो भन्ने प्रमाण छैन।

२०७३ सालमा सुरेन्द्र पाण्डे संस्थापक रहँदा प्रष्ट रूपमा नाम ठेगाना छ त ?
त्यतिबेला हुनुहुन्थ्यो अहिले हुनुहुन्छ। पार्टीलाई पत्र लेखेर दिनु भइसक्यो। म त्यो छैन भनेर त्यसैले सम्बन्धित व्यक्तिले नै म यो होइन भनेपछि कुनै कुरा हुँदैन र प्रमाणहरू छैनन्।

आउँदो निर्वाचनको लागि तपाईंहरुले जुन खालको तयारी गर्नुभएको छ, त्यसमा २०७४ सालको निर्वाचनमा जस्तो झ्याप्पै एकता गरेर अगाडि बढ्न सक्ने सम्भावना पर्दा पछाडि चलेका छन् कि ?
राजनीति भनेको सम्भावनाको खेल हो। जुन कुरा असम्भव ठानिएका छन्। ती नै सम्भव हुन्छन्। असम्भव ठानिएका काम कुराहरू सम्भव हुन्छन्। त्यसैले भविष्यमा के हुन्छ, त्यो पहिला नै थाहा हुँदैन। तर, अन्त्यमा नेकपा एमाले आन्तरिक रूपमा आफूलाई सुदृढ गरेर एक्लै अगाडि बढ्छ। र, एक्लै चुनाव जित्छ। त्यो हैसियत नेकपा एमालेसँग छ। र, आवश्यक परेमा अन्य दलसँग एकता गर्न सम्भव रह्यो भने हाम्रो ढोका खुला छ। (प्रस्तुति : पुष्पाञ्जली बस्नेत)

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  ९ : १० बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

वेस्ट इन्डिज ‘ए’ संगको खेलका लागि उत्साहित छौं : रोहित पौडेल

काठमाडौं – नेपाल आईसीसी टी–२० विश्वकपको तयारीस्वरूप वेस्ट इन्डिजसँग शृंखला