कहिले आउला बागलुङमा पानी ? | Khabarhub Khabarhub

कहिले आउला बागलुङमा पानी ?


१ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलेवा – कहिले आउँछ नगर क्षेत्रमा शुद्ध पानी ? जनताले धमिलो पानी कहिलेसम्म खाने ? नागरिकको स्वास्थ्यप्रति नगरपालिका कहिले संवेदनशील बन्छ ? यस्ता धेरै प्रश्न नगरवासीले पटकपटक उठाउँछन् । नगरका विकास निर्माणमा भन्दा खानेपानी, शिक्षा, स्वास्थ्य र आधारभूत आवश्यकतामा प्रश्न उठ्ने गरेका छन् ।

शनिबार बागलुङ नगरपालिकाले नयाँ जनप्रतिनिधि आएपछि गरेको पहिलो सार्वजनिक सुनुवाईमा पनि यस्तै प्रश्न उठे । बजेट किताब सार्वजनिक र श्वेतपत्र जारी गरेलगत्तै नगरपालिकाले सार्वजनिक सुनुवाइ गर्दा आधारभूत आवश्यकतामा बढी प्रश्न उठेका हुन् । नगर प्रमुख वसन्तकुमार श्रेष्ठले पनि अधिकांश जिज्ञासा र चिन्ता मौलिक हक पालना नभएको पाएकाले नगरपालिका सचेत बनेको बताए ।

सुनुवाइमा नयाँ जनप्रतिनिधिका थोरै चुनौती र सबैभन्दा बढी बागलुङको खानेपानी, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा प्रश्न उठेका थिए । सुनुवाइमा सहभागी अधिकांशले नगरको खानेपानीमा भएको समस्या तत्काल समाधान गर्न माग गरेका छन् । उनीहरूले नगरपालिकाले खानेपानीको अभिभावकत्व लिनुपर्नेसमेत सुझाए । धौलागिरि अस्पतालमा स्वास्थ्य सेवा प्रभावकारी नभएको, सयौँ सेवाग्राहीलाई सामान्य जानकारी दिने काम नभएको, खानेपानीको व्यवस्थापन नभएको र आवश्यक दक्ष चिकित्सक घटेकोसमेत बताए ।

नगरपालिकाले सञ्चालन गरेका पूर्वाधार गुणस्तरहीन भएको टिप्पणी सहभागीले गरेका थिए । सदरमुकामदेखि वडा तहमा जोड्ने सडक जीर्ण बन्दै गएकाले पर्यटन, कृषि तथा अन्य क्षेत्रमा पनि प्रभाव परेको गुनासो थियो । “भकुण्डे पर्यटनको आकर्षण केन्द्र हो, यहाँ पुग्न सयौँको मन छ, तर जाने सडक भएन”, बानपा–४ का प्रकाश जिसीले भने, “उक्त सडक स्तरीय बन्दा नगरपालिकाले लाखौँ कमाई गर्न सक्छ ।” पर्यटकको भीड लाग्दा स्थानीय बासिन्दाले रोजगारी पाउने र उत्पादनले बजार पाउने उनको तर्क थियो ।

त्यस्तै बलेवास्थित हवाई मैदान सञ्चालन, निर्माण सम्पन्न भएको बसपार्क व्यवस्थापन गर्नुपर्ने, अदालत चौपारीदेखि तित्याङ जाने सडकको सुरुआत खण्ड असहज भएको, खानेपानीको लिफ्ट योजना बनिरहेको भूगोलमा हुनसक्ने जोखिम घटाउन अहिलेबाटै पहल गरिनुपर्ने धारणा पनि आएका थिए । खानेपानीको मुहान भएका स्थानमा बङ्गुरपालन गरिँदा प्रदूषण बढेको, नदी दोहन रोक्न आवश्यक प्रक्रिया पूरा नभएको, काठेखोलामा जलचरको संरक्षणमा ध्यान नपुगेको जस्ता प्रश्नसमेत उठेका थिए ।

सहभागीको जिज्ञासामा नगरप्रमुख श्रेष्ठले प्रश्नको जवाफ दिए । उनले नगरवासीलाई आगामी पुस मसान्तसम्म स्वच्छ र नियमित खानेपानी खुवाउने प्रतिबद्धता जनाए। “निर्माणाधीन काम सक्न समय लाग्ने भएकाले केही ढिला हुन्छ, तर काम सक्न चाहिने उपकरणमा नगरपालिकाले सहजीकरण गर्नेछ”, उनले भने, “अप्ठ्याराहरू फुकाउने काम गर्छौँ, तर ठेकेदारले काम समयमा सक्नुपर्छ ।” साथै उनले लिफ्ट खानेपानीको विकल्पसमेत सोचिसकेको भन्दै कालीगण्डकीको पानीसमेत ल्याउन प्रारम्भिक सर्भे गर्ने बताए ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले अब समयमा योजना सम्झौता गर्ने, समयमा फरकफरक गर्ने पद्धति बसाल्ने बताए । उनले समयमा काम सक्दा भुक्तानीको समस्या नहुने, अनुगमन प्रभावकारी बन्ने र बेरुजुलगायतका अप्ठ्यारा समयमा फुकाउन सकिने बताए । “अब साउनबाटै योजना सम्झौता हुनेछन्, त्यसैले असारमै रातो किताब ल्यायौँ”, उनले बताए, “मङ्सिर मसान्तमा सम्झौता नभए पुसको नगर परिषद्ले रकमान्तरण गरेर अन्यत्र हाल्न सक्ने व्यवस्था छ ।” उनले रकमान्तरण भएका योजनामा पनि फागुन मसान्तभित्र सम्झौता गरिसक्ने लक्ष्य बनाएको बताए ।

कार्यक्रममा उपप्रमुख राजु खड्का, अस्पतालकी नर्स अधिकृत शान्ति खड्का र खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष हरिप्रसाद श्रेष्ठले जिज्ञासाको जवाफ दिएका थिए ।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  ५ : ३४ बजे

सबै दलको छलफलबाट राजनीतिक निकास आउँछ : मन्त्री अर्याल

नेपालगन्ज– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले सबै राजनीतिक

बढ्दै छ ‘साइलेन्ट किलर’ उच्च रक्तचाप जोखिम, कसरी जोगिने ?

काठमाडौं- आज (शुक्रबार) विश्व उच्च रक्तचाप दिवस विभिन्न कार्यक्रमसहित मनाइँदैछ

चालु आर्थिक वर्षमा सेवा क्षेत्र ४.५ प्रतिशतले वृद्धि हुने

काठमाडौं– नेपाल राष्ट्र बैंकले गरेको तेस्रो मौद्रिक नीतिको समीक्षामा चालु

दूरसञ्चार पूर्वाधारको लागत कम गर्न सहप्रयोगको नीति ल्याउछौँ : मन्त्री शर्मा 

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले दूरसञ्चार पूर्वाधारको

मौद्रिक नीतिको समीक्षाप्रति शेयर लगानीकर्ताको धारणा : ‘कागलाई बेल पाक्यो, हर्ष न बिस्मात’ 

काठमाडौं– नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको