दिनभर आज: एसपीपीबारे संसदीय समितिले माग्यो सरकारको निर्णय, पाल्पा–बुटवल सडकखण्डमा टिपर चलाउन रोक | Khabarhub Khabarhub

दिनभर आज: एसपीपीबारे संसदीय समितिले माग्यो सरकारको निर्णय, पाल्पा–बुटवल सडकखण्डमा टिपर चलाउन रोक


३ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 6 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा आज एसपीपी सम्झौताबारेको समाचार मुख्य चर्चामा रह्यो । यस्तै इन्जििनियरिङ लाइसेन्स लिन परीक्षा पास गर्नुपर्ने लगायतका विषय चर्चामा रहे । यी हुन् आजका मुख्य समाचारहरूः

एसपीपीबारे संसदीय समितिले माग्यो सरकारको निर्णय

संसदीय समितिले एसपिपीका सम्बन्धमा भएका पत्राचार वा सहमतिको कागजात सात दिनभित्र उपलव्ध गराउन सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा आज बसेको संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकले एसपीपीका सम्बन्धमा नेपालको रक्षा र परराष्ट्र मन्त्रालय तथा नेपाली सेनाका तर्फबाट अमेरिकासँग गरेका पत्रचार वा सहमति सात दिनभित्र समिति उपलब्ध गराउन पत्राचार गर्ने निर्णय गरेको हो ।

बैठकले एसपीपीका विषयमा तत्कालीन परराष्ट्र सचिवको नेतृत्वमा रक्षा र गृहसचिव प्रधानसेनापति सम्मिलित कार्यदलको निष्कर्षलाई समितिसमक्ष प्रस्तुत गर्न निर्देशन दिने निर्णय भएको सभापति पवित्रा निरौलाले जानकारी दिइन् ।

एसपीपी सम्झौता अघि नबढ्ने परराष्ट्रमन्त्री खड्काको जिकिर

परराष्ट्रमन्त्री डा नारायण खड्काले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अघि नबढ्ने स्पष्ट पारेका छन् ।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सरकारले नै एसपीपी सम्झौता नहुने भनेपछि यसको च्याप्टर क्लोज भइसकेको बताए । बैठकमा सेनाका प्रधानसेनापति प्रभुराम शर्माले नेपाल सरकार र रक्षा मन्त्रालयको स्वीकृतीमा एसपीपी सम्बन्धी पत्र पठाइएको बताए ।

तर सैन्य गठबन्धनका लागि नलेखिएको उनले बताए । बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एसपीपीका बिषयमा कन्फ्युजन पैदा भएको बताए । बैठकमा एमालेका नेता भीम रावलले एसपीपीमा कुरा नगरौँ भनेर परराष्ट्रमन्त्रीले भन्न नमिल्ने भन्दै यसबारेमा जनताले थाहा पाउनुपर्ने बताए ।

त्यस्तै बैठकमा एमालेका नेता प्रदीप ज्ञवालीले एसपीपीबारे सेना र रक्षा मन्त्रालयले गरेको प्रक्रियाका बारेमा स्पष्ट पार्नुपर्ने बताए । त्यस्तै कांग्रेसकी सचेतक पुष्पा भुसालले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणलाई सकारात्मक रुपमा लिनुपर्ने भन्दै विदेश नीतिमा टेकेर भ्रमण हुनुपर्नेमा जोड दिइन् ।

रक्षामन्त्रीको हैसियतले तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पत्र लेखेको ओलीको दाबी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एसपीपीका बिषयमा २०७२ सालमा नै रक्षामन्त्रीको हैसियतले तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पत्र लेखेको बताएका छन् ।

आज काठमाडौंमा जनप्रतिनिधिहरुको प्रशिक्षण कार्यक्रम समापन गर्दै अध्यक्ष ओलीले २०७२ साल असोज ६ गते संविधान जारी भएको ३ दिनपछि, आफू सरकारबाट हट्ने तय भइसकेपछि तत्कालीन प्रधानमन्त्री कोइरालाले एसपीपीमा पक्ष हुन पाओस् भनेर अमेरिकालाई आग्रह गर्ने निर्णय गरेको बताए ।

ओलीले आफू प्रधानमन्त्री भएको १५ दिनपछि तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले अमेरिकी राजदूतावासलाई पत्र लेखेको र आफूलाई जानकारी नदिइएको उल्लेख गरे । त्यस्तै ओलीले जनप्रभावकै हिसाबले पनि एमाले देशको पहिलो पार्टी रहेको बताए ।

एमसीसी जस्तो एसपीपीमा १२ बुँदे घोषणा हुँदैन, खारेज हुन्छ: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) खारेज हुने दाबी गरेका छन् ।

चितवनमा पत्रकारसँग कुराकानी गर्दै दाहालले एमसीसीजस्तो १२ बुँदे व्याख्यात्मक घोषणा गरेर अघि नबढ्ने प्रष्ट पारे ।

दाहालले एमसीसी र एसपीपी दुवै परियोजना एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारको समयमा आएको आरोपसमेत लगाए । उनले पाँच दलीय गठबन्धन कायमै रहने दाबी गर्दै एकदुई जनाले बोलेको विषयले फरक नपार्ने बताए ।

‘विनियोजन विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रियसभामा बहुमतले स्वीकृत

राष्ट्रियसभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधका बीच राष्ट्रियसभाको आजको तेस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले ‘विनियोजन विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विनियोजन विधेयक, २०७९ का विनियोजन शीर्षकमाथि यही असार ६, ७ र ८ गते छलफल हुने तथा असार ९ र १० गते सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यतालिका रहेको बताए । त्यसअघि बसेको दोस्रो बैठकमा एमाले राष्ट्रियसभाका मुख्य सचेतक खिमलाल भट्टराईले आगामी आवको बजेट निर्माणका क्रममा भएका गतिविधिले आशंका पैदा भएको बताए ।

राष्ट्रियसभाको अर्को बैठक यही असार ५ गते अपराह्न १ बजे बोलाइएको छ ।

प्रम देउवाद्वारा सुशासन कायम गर्न निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले आफू निर्वाचित भएको क्षेत्रका जनताको हितमा इमान्दार भई कामकाज गर्न जनप्रतिनिधिलाई निर्देशन दिएका छन् ।

नेपाली काँग्रेस कञ्चनपुर जिल्ला कार्यसमितिद्वारा स्थानीय पालिकाहरूमा निर्वाचित जनप्रतिनिधिका सम्मानमा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले सदैव जनताका पक्षमा समर्पित भई कामकाज गर्न आग्रह गरे ।

जनता रहे मात्र राजनीतिक पार्टी रहने बताउँदै प्रधानमन्त्री देउवाले जिल्लास्थित निर्वाचन क्षेत्र र पालिकाहरूमा सुशासन कायम गरी जनभावनानुसार काम जनप्रतिनिधिसँग अनुरोध गरे ।

अहिलेका दलहरु असफल भइसकेः कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले अहिलेका दलहरु असफल भइसकेको भन्दै आफ्नौ पार्टी वैकल्पिक शक्तिका साथ आएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमा उनले कांग्रेस एमाले र माओवादीको विकल्प राप्रपा नेपाल भएको समेत बताए ।

उनले राजालाई गाली गरेर अब केही नहुने र राजसंस्था पुनस्र्थापनाको सम्भावना पनि सकिएको जिकिर गरे । स्वतन्त्र उमेदवारको विजयीले दलहरुप्रति जनताको असन्तुष्टि स्पष्ट देखिएको भन्दै उनले नयाँ विकल्पका रुपमा जनतासमक्ष राप्रपा नेपाललाई प्रस्तुत गरेको तर्क गरे ।

चालु संसद् अधिवेशनमै विधेयक पारित गर्ने वातावरण मिलाउन सांसदको माग

सरोकारवालाहरुले नागरिकता ऐन (संशोधन) विधेयक चालु संसद् अधिवेशनमै विधेयक पारित गर्ने वातावरण मिलाउन सांसदले शीर्ष नेतृत्वसँग माग गरेका छन् ।

महिला, कानुन र विकास मञ्चले शुक्रबार गरेको एक कार्यक्रममा उनीहरुले अनागरिक भएर बाँचेकाको पीडा सम्बोधन गर्न पनि चालु अधिवेशनमै विधेयक पारित गरिनुपर्नेमा जोड दिएका हुन् । सांसद अनिता देवकोटाले गठबन्धन र विपक्षी दलसँग पनि सहमति जुटाएर नागरिकता ऐन (संशोधन) विधेयक पारित गराउन सरकारलाई निरन्तर अनुरोध गरिरहेको जानकारी गराइन् ।

सांसद यशोदा गुरुङ सुवेदीले हरेक विषयमा हुने दलीय राजनीति र स्वार्थी कर्मचारीतन्त्रका कारणले नागरिकता ऐन (संशोधन) विधेयक अघि बढ्न नसकेकाले सबै दलका शीर्ष नेतृत्वले सोच्ने बेला आएको बताइन् ।

नेपालमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६१० जनाको नमुना परीक्षण गर्दा ३४ जनामा संक्रमण पुष्टि भएको हो । सोही समयमा १५ जना संक्रमण मुक्त भएका छन् । आज थपिएकासँगै नेपालमा हाल कोरोनाका १०४ जना संक्रिय संक्रमित रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक लाख ५२ हजार ३३७ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

शिक्षण अस्पतालद्धारा विमा कार्यक्रम स्थगित गर्ने

त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य बीमा कार्यक्रम अन्तरगत दिँदै आएको सुविधा स्थगित गर्ने भएको छ । कार्यक्रम अन्तरगत बिमितहरुको उपचार गरे बापतको सरकारले दिनुपर्ने रकम भुक्तानी नभएपछि कार्यक्रम असार १५ गतेबाट गर्ने भएको हो । २०७७ मंसिर देखि सेवा लिएका बिरामीहरूको उपचार गरेबापत स्वास्थ्य बीमा बोर्डले रकम भुक्तानी नगरेको अस्पतालले जनाएको छ ।

अस्पतालले असार १५ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कार्यक्रम स्थगित गरिएको जनाएको छ । शिक्षण अस्पताल स्वास्थ्य बीमा अन्तरगत दैनिक ५ सय बिरामी उपचारका लागि आउने गरेका छन् ।

इन्जिनियरिङ लाइसेन्स लिन परीक्षा पास गर्नुपर्ने

इन्जिनियर बन्नका लागि लाइसेन्स परीक्षा उत्तिर्ण गर्नुपर्ने भएको छ । डाक्टर र नर्सले जस्तै इन्जिनियरहरुले पनि लाइसेन्स परीक्षा उत्तिर्ण गरेपछि बल्ल सरकारबाट इन्जिनियरको दर्जा पाउने छन् । त्यसका लागि नेपाल इन्जिनियरिङ परिषद्ले परीक्षा लिनेछ ।

नेपाल इन्जिनियरिङ परिषद् ऐन, ०५५ संशोधन गर्न बनेको विधेयकमा इन्जिनियरिङ व्यवसायीको रूपमा लाइसेन्स लिन नेपाल इन्जिनियरिङ परिषद्ले लिने परीक्षा पनि पास गर्नुपर्ने व्यवस्था छ । यो व्यवस्थासहितको विधेयकलाई बजेट लगत्तै पारित गर्ने सरकारको तयारी छ ।

पाल्पा–बुटवल सडकखण्डमा टिपर चलाउन रोक

सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा बुटवल सडकखण्डमा टिपर चलाउन रोक लगाइएको छ । डिभिजन सडक कार्यालयले सूचना जारी गर्दै यही असार १ गतेदेखि भदौ मसान्तसम्म राजमार्गमा टिपर सञ्चालनमा रोक लगाएको हो ।

राजमार्ग अन्तर्गत सिद्धबाबा दोभान क्षेत्रमा हालै कालोपत्रेको काम भएको र बर्सातको समयमा ठूला मालबाहक सवारी साधन सञ्चालन हुँदा कालोपत्रेको पटहोल निस्कन गई सडक जीर्ण बन्ने हुँदा ठूला सवारी सञ्चालनलमा रोक लगाइएको सडक डिभिजन कार्यालय पाल्पाका डिभिजन प्रमुख रामेश्वर लम्सालले जानकारी दिए ।

दुबईबाट आएका युवकमा मंकिपक्स नभएको पुष्टि, परीक्षणबाट कुष्ठरोग प्रमाणित

दुबईबाट आएका युवकमा मंकिपक्स भाइरस नभएको पुष्टि भएको छ । ती युवकको स्वास्थ्य परीक्षणका क्रममा कुष्ठरोगको किटाणु भेटिएका अस्पतालका प्रवक्ता डा. किजन महर्जनले जानकारी दिए ।

उनका अनुसार कुष्ठरोगको पुष्टि भएसँगै मंकिपक्स भाइरस नरहेको पुष्टि भएको हो । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा रहेको हेल्थ डेस्कले दुबईबाट नेपाल भित्रिएका एक युवकलाई ‘मंकीपक्स’ भाइरसको आशंका गरेर सरुवा रोग अस्पताल टेकुमा पठाएको थियो ।

नेपाल र ट्रिनिडाड एण्ड टोबागोबीच कूटनीतिक सम्बन्ध स्थापना

नेपाल र ट्रिनिडाड एण्ड टोबागोबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । योसँगै नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेको देशको संख्या १७७ पुगेको छ । कूटनीतिक सम्बन्ध स्थापना गर्ने संयुक्त विज्ञप्तिमा दुई देशका पदाधिकारीले अमेरिकाको न्यूयोर्कमा बुधबार बिहीबार हस्ताक्षर गरेका थिए ।

विज्ञप्तिमा नेपालको तर्फबाट न्यूयोर्कस्थित राष्ट्रसंघीय मिसनका लागि नेपाली स्थायी प्रतिनिधि तथा राजदूत अमृत बहादुर राई र ट्रिनिडाड एण्ड टोबागोको तर्फबाट राष्ट्रसंघका लागि ट्रिनिडाड एण्ड टोबागोका स्थानीय प्रतिनिधि तथा राजदूत डेनिस फ्रान्सिसले हस्ताक्षर गरेका थिए ।

दुवै देशका राजदूतले संयुक्त पत्र पठाई कूटनीतिक सम्बन्ध स्थापना गरेको सम्बन्धमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई जानकारी दिएका छन् ।

सेयर बजार ७.५७ अंकले घट्यो

शेयर बजार परीसूचक नेप्से आज ७.५७ अंकले घटेको छ । बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म कारोबार भएकोमा सेयर बजार ७.५७ अंकले घटेर १९७१.३६ बिन्दुमा आएर रोकिएको छ । यससँगै अब सेयर कारोबार साताको ६ दिन नै हुने भएको हो ।

शनिबार बन्द रहने कारोबार आइतबारदेखि बिहीबारसम्म भने अपरान्ह ११ बजेबाट तीन बजेसम्म चल्नेछ । शुक्रबार २२० कम्पनीको १५ हजार १६३ वटा कारोबारबाट २३ लाख ५५ हजार १ कित्ता शेयर किनबेच भएको छ । यस दिन ७३ करोड ६३ लाख १२ हजार १५७ रुपैयाँ बराबरको कारोबार भएको छ । शुक्रबार म्युचअल फन्डबाहेक सबै उपसमूहको मूल्य घटेको छ । जसमा सबैभन्दा धेरै जलविद्युतका लगानीकर्ताले गुमाएका छन् ।

गोंगबुबाट हिउँ चितुवाको छालासहित तीन जना पक्राउ

टोखा नगरपालिका–१० गोंगबुबाट संरक्षित वन्यजन्तु हिउँ चितुवाको छाला सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा धादिङ खानियाबास गाउँपालिका–२ झार्लुङका ४८ वर्षीय खार्पा तामाङ, गंगाजमुना गाउँपालिका–६ आरुबोटेका ३९ वर्षीय सुक बहादुर घले र सोही गाउँपालिका–६ का ४१ वर्षीय सूर्य बहादुर घले रहेका छन् ।

प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले जाँच तथा खानतलासी गर्दा खार्पाले बोकेको झोलाभित्र लुकाई राखेको अवस्थामा उक्त छाला फेला पारी पक्राउ गरेको हो ।

पहिरोले पुरिएर तीन जनाको मृत्यु

ताप्लेजुङ र धादिङमा पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको छ । ताप्लेजुङको श्रीजंघा गाउँपालिका–७ ट्याम्फुमा बिहीबार राति गएको पहिरोले सोही ठाउँ बस्ने उद्योग अधिकारीको घर र गोठ पुर्दा दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेहरूमा उद्योग अधिकारीकी श्रीमती ५७ वर्षीया तुलसा अधिकारी र बुहारी ३४ वर्षीया यसोधा अधिकारी रहेका छन् ।

पहिरोमा पुरिएर घाइते भएका ५७ वर्षीय बिष्णु अधिकारी घाइते भएका छन् । यता धादिङको गंगाजमुना गाउँपालिका–७ गाँउ बस्ने ८३ वर्षीया धन माया सार्कीको गएराति पहिरोले पुरिएर मृत्यु भएको छ ।

 

 

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ९ : २६ बजे

आइएसएसआर नीति बहस : बजेट आकारदेखि युवा पलायनसम्मका समस्या मन्थन

काठमाडौं – इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसिओ–इकोनोमिक रिसर्च (आइएसएसआर) र

औषधिको अवैध कारोबार गरेको आरोपमा मेडिकल सञ्चालक पक्राउ

लुम्बिनी – बुटवलमा मेडिकल पसल राखेर चिकित्सकको सिफारिसबिना अवैधरूपमा औषधिको

गण्डकीमा बर्सेनि बढ्दै सवारी दुर्घटना

गण्डकी – कास्कीमा आव २०७७/७८ मा ६४ सडक दुर्घटना भए

दुई क्विन्टल गाँजासहित एक जना पक्राउ

विराटनगर – मोरङ प्रहरीले दुई क्विन्टल गाँजासहित एक जनालाई पक्राउ

निर्माणाधीन धरान बसपार्कको काम अन्तिम चरणमा

धरान – धरान उपमहानगरपालिका–८ मा निर्माण भइरहेको धरान स्मार्ट बसपार्कको