विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


३२ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज असार ३२, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार जुलाई १६, २०२२। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् :

इन्धन खरिदका लागि श्रीलङ्काद्वारा रुससँग छलफल

ऊर्जा सङ्कट बढिरहेको समय इन्धन खरिदका लागि आफ्नो सरकारले रुससँग छलफल गरिरहेको श्रीलङ्काले जनाएको छ ।

मुलुकमा भइरहेको इन्धन अभाव टार्न रूसी सरकार र इन्धन उत्पादक कम्पनीसँग छलफल भइरहेको विद्युत तथा ऊर्जा मन्त्री कञ्चन विजेसेकेराले शनिबार बताए ।

पत्रकार सम्मेलन बोल्दै विजेसेकेराले आर्थिक संकटले दुई करोड श्रीलङ्काली प्रभावित भएका समय इन्धन खरिदका लागि क्रेडिट लाइन दिएकोमा भारत सरकारको प्रशंसा गरे ।

“हामीले विभिन्न देशहरूमा इन्धनको आपूर्तिका लागि अनुरोध गरेका छौं । हामीलाई मदत गर्न आउने जुनसुकै देश भए पनि हामी त्यसको मूल्यांकन गर्छौं । अहिले, भारत सरकारले मात्र हामीलाई क्रेडिट लाइन प्रदान गरेको छ,” विजेसेकेराले भने ।

“हामी रुस सरकारसँग पनि छलफलमा छौं । सुरुको इन्धनका लागि भएको बैठक रूसमा सम्पन्न भएको छ । हामीले आफ्नो आवश्यकता पूरा गरेका छौं र त्यसैअनुसार काम गरिरहेका छौं । श्रीलङ्कामा कस्तो प्रकारको सुविधा हुनेछ भन्ने कुरा सुन्न हामी पर्खिरहेका छौं,” उनले थपे ।

विजेकाराले आज राष्ट्रिय इन्धन पास’ योजना शीर्षकमा इन्धन वितरण योजना ल्याएको छ । नयाँ पासले साप्ताहिक आधारमा इन्धनको कोटा बाँडफाँडको ग्यारेन्टी गर्नेछ । सवारी साधन नम्बर र अन्य विवरण पुष्टि भएपछि राष्ट्रिय परिचय पत्र नम्बर अनुसार आवश्यक व्यक्तिलाई ‘क्यूआर कोड’ दिइनेछ ।

दर्ता भएका सवारीसाधन भएका व्यक्तिहरूले आफ्नो दर्ता नम्बरको अन्तिम अङ्कको आधारमा पालो पाउनेछन् । जारी इन्धन संकटबीच कोलम्बोमा सवारी साधनमा इन्धन भर्न पर्यटक र विदेशीलाई प्राथमिकता दिइनेछ ।

टापु राष्ट्र श्रीलङ्का ठूलो आर्थिक संकटको चपेटामा परेका कारण खाद्यान्न, इन्धन, चिकित्सा आपूर्तिको तीव्र अभाव झेलिरहेको छ ।

मेक्सिकोमा हेलिकप्टर दुर्घटना हुँदा १४ जना सैनिकको मृत्यु

मेक्सिकोमा हेलिकप्टर दुर्घटना हुँदा १४ जना सैनिकको मृत्यु भएको छ । देशको उत्तरी भागमा भएको उक्त दुर्घटनामा उनीहरूको ज्यान गएको हो ।

लागूऔषध तस्करी एवम् ओसारपसारमा संलग्नहरूलाई पक्राउ गर्न खटिएका सैनिक हेलिकप्टर दुर्घटनामा मारिएको मेक्सिकोको नौसेनाले आज जनाएको छ । दुर्घटनामा एकजना भने बाँचेका छन् ।

नौसेनाको स्वामित्वमा रहेको ब्ल्याक हक हेलिकप्टरले उत्तरी राज्य सिनालोआमा एकदिन अघि पक्राउ परेका गुआडालाजारा कार्टेलका संस्थापक राफेल कारो क्विन्टेरो बोकेको अर्को विमानको सुरक्षा गरिरहेको थियो ।

दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति नौसेनाले शोक व्यक्त गरेको छ । दुर्घटनाको कारण अज्ञात छ । कथित लागूऔषध तस्करको गिरफ्तारीका कारण उक्त दुर्घटना नभएको नौसेनाले जनाएको छ ।

राफेललाई संयुक्त राज्य अमेरिकाले आफ्ना अधिकारी एनरिक क्यामरेना सालाजारको हत्या गरेकाले निजलाई अमेरिकासमक्ष सुपुर्दगी गर्नुपर्ने माग गर्दै आएको छ । यसै विषयलाई लिएर मेक्सिको र अमेरिकाबीचको सम्बन्ध केही समय तनावपूर्ण भएको थियो ।

सुडानमा भएको जातिय दङ्गाका क्रममा ३१ जनाको मृत्यु

सुडानमा भएको जातीय दङ्गाका क्रममा कम्तीमा पनि ३१ जनाको मृत्यु भएको छ । देशको ब्लु नाइल प्रदेशमा घटना भएको सरकारी अधिकारीहरूले जनाएका छन् ।

‘देशका केही ठाउँमा जातीय दङ्गा भएका छन्, ती घटनामा परी कम्तीमा ३१ जनाको मृत्यु भएको छ भने अरु ३९ जना घाइते भएका छन्’, सुरक्षा समितिले जारी गरेको वक्तव्यमा लेखिएको छ ।

झडपका क्रममा १६ पसल क्षतिग्रस्त भएको पनि अधिकारीहरूले जानकारी दिएका छन् । सुरक्षाकर्मीहरूले परिस्थिति नियन्त्रणमा लिइसकेको र केही शंकास्पद व्यक्तिहरूलाई पक्राउ गरेको जनाएका छन् ।

सुरक्षा समितिले घटनास्थलमा कफ्र्यु आदेश जारी गरेको छ । कफ्र्यु लगाइएको क्षेत्रमा हिँड्डुल गर्न, भिडभाड गर्न निषेध गरिएको छ ।

ब्लु नाइल प्रदेश अन्तर्गत पर्ने अल डामाजिन र अल रुसाइरिजमा स्थानीय समय अनुसार बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म कफ्र्यु आदेश जारी गरिएको हो ।

स्थानीय बेर्टी र हौसा जातीय समूहका बीचमा झडप भएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । उनीहरूले विभिन्न हतियारको प्रयोग गरेका थिए ।

अफ्रिकी मुलुक सुडानको पूर्वी क्षेत्रमा पर्ने ब्लु नाइल प्रदेश इथियोपियाको सिमा क्षेत्र हो । सुडानमा लामो समयदेखि विभिन्न आन्तरिक द्वन्द्व तथा राजनीतिक सङ्कट छ ।

बाइडेनद्वारा साउदी अरबका नेताहरूसँग भेटवार्ता

अमेरिकी राष्ट्रपति जो बाइडेनले साउदी अरबका नेताहरूसँग भेटवार्ता गरेका छन् ।

साउदी अरबको जेद्दा सहरमा उनीहरूका बीचमा दुई पक्षीय हितका बारेमा कुराकानी भएको साउदी प्रेस एजेन्सीले जनाएको छ ।

दुई दिने राजकीय भ्रमणका लागि साउदी अरब आएका अमेरिकी राष्ट्रपति बाइडेनलाई राजा सलमान बिन अब्दुलाजिज अल साउदले जेद्दा स्थित अल सलाम दरबारमा स्वागत गरेका थिए ।

उनीहरूसँगको भेटवार्तामा साउदी अरबका राजकुमार मोहम्मद बिन सलमान अल साउद पनि सहभागी रहेका थिए ।

बैठकका क्रममा राजा सलमान र राष्ट्रपति बाइडेनले दुई देशको सम्बन्धको समीक्षा गर्दै यसलाई थप बलियो, फराकिलो र राम्रो बनाउने बारेमा छलफल गरेका थिए ।

भेटवार्ताका क्रममा रियाद र वासिङ्टनबीचको सहकार्य र सम्बन्धलाई बलियो बनाउने उपाय र आधारका बारेमा उनीहरूले विचार विमर्श गरेको समेत जनाइएको छ ।

मध्य पूर्वको आफ्नो पहिलो भ्रमण राष्ट्रपति बाइडेनले साउदी अरबबाट अन्त्य गर्न लाग्नु भएको छ । बुधबार सुरु भएको उनको भ्रमण शनिबार सकिने बताइएको छ । उनी यस अघि इजरायल र प्यालेस्टाइनको वेस्ट व्यङ्क पुगेका थिए ।

पोर्चुगलमा भएको विमान दुर्घटनामा परी विमान चालकको मृत्यु

पोर्चुगलमा भएको विमान दुर्घटनामा परी विमान चालकको मृत्यु भएको छ ।

देशको भिला नोभा डे फोज कोय नगरपालिकामा दुर्घटना भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।

राष्ट्रिय आपतकालीन स्वास्थ्य सेवा संस्थाका चिकित्सकहरूको टोलीले ती चालकको घटनास्थलमै मृत्यु भएको पुष्टि गरेका छन् ।

“दुर्घटनाग्रस्त विमानमा आगलागी समेत भएकाले विमान पुरै क्षतिग्रस्त भएको छ,” एक स्थानीय अधिकारीले भने ।

देशको हवाई तथा रेलमार्ग दुर्घटना न्यूनिकरण तथा अनुसन्धान कार्यालयले घटनाको छानविनका लागि टोली परिचालन गरेको छ ।

दुर्घटनाप्रति प्रधानमन्त्री मार्सेलो रिवेलो डे सौसाले दुःख व्यक्त गर्दै दुर्घटनामा परी निधन भएका विमान चालकप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

पोर्चुगलमा अहिले अत्यन्त गर्मी रहेको र गर्मीका कारण यस्ता दुर्घटना धेरै हुने गरेको पाइएको छ । त्यसैगरी गर्मीको समयमा आगलागी सम्बन्धी घटना पनि धेरै हुने गरेका छन् ।

इन्डोनेसियामा पृथकतावादीको आक्रमणमा १० मारिए

इन्डोनेसियाको पूर्वी पपुवा प्रान्तको नुगा जिल्लामा शनिबार पृथकतावादी समूहले गरेको छुट्टाछुट्टै चार वटा आक्रमणमा कम्तीमा १० सर्वसाधारणको मृत्यु भएको छ ।

उक्त घटनामा अन्य दुई जना घाइते भएका छन् ।

प्रहरी प्रवक्ता अहमद मुस्ताफा कमलले आक्रमण देशको एक पृथकतावादी समूहले गराएको दाबी गर्दै भने, “आक्रमणमा १० जनाको मृत्यु हुनुका साथै अन्य दुई जना गम्भीर घाइते भएका छन् ।’’

प्रान्तीय प्रहरी प्रवक्ता कमलका अनुसार इन्डोनेशिया सरकारले ‘आपराधिक सशस्त्र समूह (केकेबी) ले जिल्लाका चार स्थलमा छुट्टाछुट्टै आक्रमण गरेको थियो ।

आक्रमणमध्ये एउटा ट्रकमा सवार रहेका स्थानीयलाई करिब २० जनाको सशस्त्र हतियारधारी जत्थाले गोली हानी केही व्यक्तिको हत्या गरेको हो भने अन्य दुई आक्रमणमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ ।

एक करोड २० लाख डलर लिलाम गर्ने अफगान केन्द्रीय बैंकको तयारी

अफगानिस्तानको केन्द्रीय बैंकले राष्ट्रिय मुद्रा स्थिर राख्ने प्रयासस्वरूप एक करोड २० लाख अमेरिकी डलर लिलामी गर्ने जनाएको छ ।

द अफगानिस्तान बैंकलाई उद्धृत गर्दै राज्य संचालित बख्तर न्यूज एजेन्सीले जनाएअनुसार मनी चेन्जर्स र निजी बैंकलगायतका बोलकबोलकर्ताहरूले लिलामी सुरु हुनु पूर्व केन्द्रीय बैंकमा ग्यारेन्टीको रूपमा अफगानीमा आवश्यक पैसा जम्मा गर्नुपर्नेछ ।

अफगानिस्तानको राष्ट्रिय मुद्रा, द अफगानी विदेशी मुद्रासँग कमजोर बनेका समय बैंकको यो निर्णय आएको हो ।

तालिवान समूहको नेतृत्वमा सरकार गठन भएसँगै अफगानी मुद्रा अमेरिकी डलरलगायत अन्य विदेशी मुद्रासँग कमजोर बनेको छ ।

गत साता एक डलर बराबर ८८.१० रहेको अफगानी मुद्राको विनिमय दर बढेर शनिबार ८८.४० भएको छ ।

यसअघि केन्द्रीय बैंकले जून २० मा एक करोड २० लाख र जुन २७ मा एक करोड २० लाख अमेरिकी डलर लिलामी गरी विदेशी मुद्राको तुलनामा राष्ट्रिय मुद्राको मूल्यलाई स्थिर राख्ने प्रयास गरेको थियो ।

महामारीले युवामा ‘अनलाइन’ जुवाको लत बढायो

कोभिड–१९ को महामारीका बेला अष्टे«लियाली युवामा ‘अनलाइन’ जुवाको लत लागेको पाइएको छ । सङ्क्रमण नियन्त्रणका निम्ति सरकारले जारी गरेको बन्दाबन्दी आदेशको पालना गर्ने सिलसिलामा युवावर्ग अनलाईन बाजी थाप्ने, जुवातास खेल्नेलगायत गतिविधि बढेको नयाँ सर्वेक्षणले देखाएको हो ।

नेशनल लाइब्रेरी अफ मेडिशिनले शुक्रबार सार्वजनिक गरेको सर्वेक्षणअनुसार १९ वर्षमुनिका एक हजार किशोरकिशोरीमध्ये ३० जनामा मानसिकरूपमा इन्टरनेट गेमिङ डिसअर्डर पाइएको छ ।

विकासात्मक मनोवैज्ञानिक एवम् म्याक्वेरी विश्वविद्यालयका एशोशिएट प्रफेसर वेन वारबर्टनले इन्टरनेट गेमिङ डिसअर्डरका कारण उनीहरूमा विद्यालयले दिएका गृहकार्य, पारिवारिक सम्बन्ध र मानसिक स्वास्थ्यलगायत दैनिक जीवनमा गम्भीर असर पर्नसक्ने बताएका छन् ।

इन्टरनेट गेमिङ डिसअर्डरबाट प्रभावितहरूमा चिडचिडापन, विगतका आमोद प्रमोद एवम् मनोरञ्जनका कुरामा अरूची र वेवास्ता गर्ने तथा गेमिङबाट उनीहरूलाई रोक्न खोज्दा उनीहरूबाट आक्रमणसमेत हुनसक्ने मनोवैज्ञानिक वारबर्टनले सर्वेक्षणमा उल्लेख गरेका छन् ।

सामाजिक रूपमा साथीभाइसँग घुलमिल हुनेभन्दा पनि इन्टरनेटमा उपलब्ध मनोरञ्जनात्मक गतिविधिमा उनीहरू अधिकमात्रामा व्यस्त रहेका पाइएको छ ।

प्राध्यापक वारबर्टनले अमेरिकी तथ्याङ्लाई पनि सर्वेक्षणमा उद्धृृत गरेका छन् । सन् २०२१ मा दैनिक औसत पाँचसय २० मिनेट मनोरञ्जन स्क्रिनमा बिताएका किशोरकिशोरीहरूको त्यो समय कोरोना महामारीअघि औसत दैनिक चारसय मिनेटमा सीमित थियो ।

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  ८ : २१ बजे

मनोज तिवारीको ‘धनकुटाको सल्लेरी वनै’मा सार्वजनिक

काठमाडौं – गायक मनोज तिवारीको नयाँ गीत सार्वजनिक भएको छ।

बागलुङका बालबालिकालाई आईपीभी खोप लगाइँदै

बागलुङ– बागलुङमा यस वर्ष ११ हजार सात सय ७१ जना

लोमान्थाङको नाम्डोक खोलामा पक्की पुल निर्माण

म्याग्दी– गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको उत्तर–दक्षिण जोड्ने कालीगण्डकी

चर्चामा विश्वका सुन्दर एयरपोर्ट

यात्रा धेरैको सोख हुनसक्छ। धेरैलाई यसमा रमाइलो लाग्छ। घुम्न सौखिनका

भङ्गहा–जनकपुर–जयनगर रेल सेवा पुनः सञ्चालन

महोत्तरी– भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आज बिहानदेखि पुनः सञ्चालन भएको छ