नेपालमा आज के के भयो दिनभर ? (अडियोसहित) | Khabarhub Khabarhub

नेपालमा आज के के भयो दिनभर ? (अडियोसहित)


२ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अडियो सुन्नुहोस्ः

सुरक्षा नीतिको प्रभावकारी कार्यान्वयन गर्न प्रधानमन्त्री देउवाको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सुरक्षा नीतिको प्रभावकारी कार्यान्वयनका लागि एकीकृत कार्ययोजना सम्बन्धित मन्त्रालयमा पठाइसकेको बताएका छन् । राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको २१ औं वार्षिकोत्सवका अवसरमा आज सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले राष्ट्रिय सुरक्षा नीतिको प्रभावकारी कार्यान्वयन गर्नु आवश्यक रहेको भन्दै यससम्बन्धी कार्ययोजना सम्बन्धित मन्त्रालयमा पठाइसकेको बताए । उनले सो कार्ययोजना कार्यान्वयन अनुगमनको जिम्मेवारीसमेत परिषद् सचिवालयलाई रहेकाले यस गहन जिम्मेवारीलाई प्राथमिकताका साथ पुरा गर्ने अपेक्षा रहेको उल्लेख गरे । उनले मुलुकको आन्तरिक र बाह्य सुरक्षा चुनौतीको वस्तुनिष्ठ विश्लेषणमा राष्ट्रिय सुरक्षा परिषद्ले अग्रणी भूमिका निर्वाह गरेको भन्दै प्रशंसा गरे । 

नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता विश्वकर्मा र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्ग विश्वकर्मा र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटवार्तामा केपी ओली नेतृत्वमा सरकारसँग भएको तीनबुँदे सहमति कार्यान्वयनसम्बन्धी बन्दी रिहा गर्ने र नेता कार्यकर्ताको मुद्दा खारेजीको विषयमा छलफल भएको नेता विश्वकर्माले जानकारी दिए ।

नागरिकता अध्यादेशविरुद्ध परेको रिट संवैधानिक इजलासद्धारा खारेज

सर्वोच्च अदालतको संवैधानिक इजलासले नागरिकता अध्यारोविरुद्ध परेको रिट खारेज गरेको छ । कामु प्रधानन्यायाधीश दीपकुमार कार्की, न्यायाधीशहरू मिरा खड्का, हरिकृष्ण कार्की, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले रिट खारेज गर्ने फैसला गरेको हो । ओली सरकारले २०७८  जेठ ९ मा नागरिकता अध्यादेश ल्याएको थियो । तर सर्वोच्चले जेठ २७ मा अध्यादेश कार्यान्वयनमा रोक लगाएको थियो । नागरिकता अध्यारोविरुद्ध वरिष्ठ अधिवक्ता वोर्णबहादुर कार्की, अधिवक्ताहरू विष्णु गिरी, रामबहादुर शाही, कुलबहादुर बोगटी, मौलिक जरोकिलो पार्टीको तर्फबाट र आफ्नो हकको समेत गरी जरोकिलो पार्टीका उपमहासचिव लक्ष्मण पोखरेलले प्रधानमन्त्री ,मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रपतिको कार्यालयलाई विपक्षी बनाइ रिट दायर गरेका थिए ।

आगामी निर्वाचनको तयारीमा जुट्न सांसदहरूलाई एमाले अध्यक्ष ओलीको निर्देशन

प्रमुख प्रतिपक्षी नेकपा एमालेले आगामी स्थानीय तहको निर्वाचनको तयारीमा केन्द्रित हुन सांसदहरूलाई निर्देशन दिएका छन् । संसद् भवन नयाँ बानेश्वरमा आज बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले एमालेको एजेण्डाका साथ निर्वाचन केन्द्रीय भएर गाँउ गाँउमा जान निर्देशन दिए । बैठकमा ओलीले स्थानीय तहको चुनावमा ६५ देखि ७० प्रतिशत सिटमा जित हासिल हुने दाबी गरेका थिए । एमाले देशभर एक्लै चुनावी प्रतिस्पर्धामा जाने र अत्यधिक स्थानमा जित निकाल्ने अध्यक्ष ओलीले बताउनुभएको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

पार्टीभित्र अराजकता, गुटबन्दी हाबी- माओवादी अध्यक्ष दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्र अराजकता, गुटबन्दी हावी भएको बताएका छन् । आज काठमाडौँमा माओवादी उपत्यका विशेष प्रदेश समितिको आयोजनामा वैचारिक राजनीतिक प्रशिक्षणका क्रममा अध्यक्ष दाहालले पार्टीभित्र वैचारिक अस्पष्टता बढ्दै गएको र अराजकता, गुटबन्दी बढ्दै गएको बताए । त्यस्तै उनले नेता कार्यकर्तामा देखिएको अवसरवादी प्रवृत्तिलाई सच्चाउन जरुरी रहेको उल्लेख गरे । संगठनको स्थिति र नेता कार्यकर्ताको वैचारिक स्तर तथा आचरण हेर्दा दिनप्रतिदिन कम्युनिस्ट आन्दोलनबाट विचलनतर्फ गएको महसुस भएको दाहालको भनाई थियो ।

सक्रियताको आधारमा निर्वाचन आयोगद्धारा साना दललाई चुनाव चिह्न दिइने

राष्ट्रिय दलको मान्यता नपाएका साना दलले आगामी चुनावमा आफ्नो दलको चिन्ह पाउने भएका छन् । आज निर्वाचन आयोगमा बसेको बैठकले चुनाव चिन्ह दिने प्रयोजनका लागि ती दलहरूको कुन–कुन जिल्लाका संगठनको कस्तो अवस्था छ, त्यसको विवरण माग्ने निर्णय गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २६ मा यसअघि भएको चुनावमा बाहेक आगामी चुनावहरूमा राष्ट्रिय मान्यता नपाएको दलले आफ्नो दलको चिन्ह नपाउने व्यवस्था रहेको थियो ।

चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौँ पुग्ने गरी काम गर्न मन्त्री चौधरीको निर्देशन

खानेपानीमन्त्री उमाकान्त चौधरीले चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौं पुग्ने गरी काम गर्न मेलम्ची खानेपानी विकास समितिलाई निर्देशन दिएका छन् । उनले जनशक्ति तथा अन्य प्राविधिक सहयोग आवश्यक परे सरकारले सहयोग गर्ने भन्दै चैत मसान्तसम्ममा पानी काठमाडौं पुर्‍याउने सरकारी लक्ष्य पूरा गर्न निर्देशन दिए । केही दिनअघि ठेकेदारले केही समय काम रोकेको भन्दै मन्त्री चौधरीले भुक्तानी समयमै गर्न सरकार तयार रहेको तर कुनै पनि बहानामा काम ढिलो हुन नहुने बताए ।

फागु पूर्णिमा (होली) लाई व्यवस्थित बनाउन काठमाडौँ उपत्यकाका तीनै जिल्लामा कडाई

महानगरीय ट्राफिक प्रहरी महाशाखाले फागु पूर्णिमा पर्व (होली) लाई व्यवस्थित बनाउन काठमाडौँ उपत्यकाको तीनै जिल्लामा १ हजार तीन सयभन्दा बढि ट्राफिक प्रहरी खटाई ट्राफिक व्यवस्थापनमा कडाइ गरिने भएको छ । होली मनाउँदा सवारी नियम तोड्ने खालका गतिविधि नियन्त्रण गर्न तथा दुर्घटना रहित होली पर्व बनाउनका लागी महाशाखाले ट्राफिक व्यवस्थापनको योजना तयार गरि आफ्नो जनशक्ति परिचालन गर्ने भएको हो । यसैबीच  होलीलाई लक्षित गरेर काठमाडौं उपत्यकामा ३५ सय भन्दा बढी प्रहरी परिचालन गरिने भएको छ ।

मिथिला संस्कृति समाज नेपालले काठमाडौँमा फागुवा उत्सव मनायो

मिथिला संस्कृति समाज नेपालले काठमाडौँमा फागुवा उत्सव मनाएको छ । मिथिला क्षेत्रबाट काठमाडौँ आइ बसोबास गरेकाहरूले माइतीघरमा मौलिक रूपमा फागुवा उत्सव मनाएका हुन् । सो क्रममा उनीहरूले मौलिक सांस्कृतिक बाजागाजा सहित नाचगान गर्दै रंगहरुको पर्व फागुवा मनाएका थिए । यसवर्षको होली पहाडी क्षेत्रमा  भोलि र तराई क्षेत्रमा पर्सि मनाइँदै छ ।

कानुनविपरीत नेपालीलाई यूएई ल्याउने कार्यमा संलग्नलाई कारवाही गररै छाड्छु श्रममन्त्री श्रेष्ठ

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले प्रचलित कानुनले तोकेको प्रकृयाभन्दा बाहिरबाट नेपालीलाई युएई ल्याउने कार्यमा संलग्न व्यक्तिलाई कारवाही गररै छाड्ने प्रतिबद्धता जनाएका छन् । संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा क्रममा आबुधावीस्थित नेपाली दूतावासद्वारा आयोजित कार्यक्रममा नेपाली समुदायसँग अन्तरक्रिया गर्दै मन्त्री श्रेष्ठले नक्कली मागपत्र बनाउने, झुटो आश्वासन र रोजगारीको प्रलोभन देखाएर प्रचलित कानुनले तोकेको प्रकृयाभन्दा बाहिरबाट नेपालीलाई यूएई ल्याउने कार्यमा संलग्न व्यक्तिलाई कारवाही गररै छाड्ने प्रतिवद्धता जनाए ।

विश्वविद्यालयमा हड्ताल बन्द गर्न प्राध्यापकहरूलाई शिक्षामन्त्री पौडलको आग्रह

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयमा हडताल बन्द गर्न प्राध्यापकहरुलाई आग्रह गरेका छन् । आज बिहान नेपाल प्राध्यापक संघका पदाधिकारीसँग मन्त्रालयमा छलफल गर्दै मन्त्री पौडेलले स–साना कुरालाई लिएर विश्वविद्यालयमा हडताल गर्नु गलत भएको प्रतिक्रिया दिए । लामो समयसम्म पढाइ अवरूद्ध हुने गरी विश्वविद्यालयमा गरिएको हडताल रोक्न उहाँले सम्बधित सबैमा आग्रह गरे ।

वीरगञ्ज महानगर–१४ का वडाध्यक्ष र वडासचिवसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको वीरगञ्ज महानगरपालिका–१४ का वडाध्यक्ष भरतप्रसाद कुर्मी र वडासचिव राज कुमार सिंहसहित ६ जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । घरबाटो सिफारिस, चौहद्दी सिफारिस लगायतका अन्य सिफारिस वापतको राजस्व रकमको रसिद नकाटी, कुनै पनि राजस्व रकम चलानी नराखी राजश्व रकम हिनामिना गरेको आरोपमा कुर्मीसहित महानगरका वडासचिव राज कुमार सिंह, तत्कालीन वडासचिव अनामिका रौनियार, वडा सदस्यद्वय रफिक अंसारी, संजय कुमार पटेल र कार्यालय सहयोगी जितेन्द्र कुमार कुर्मीविरुद्ध अख्तियारले आज मुद्दा दायर गरेको हो । उनीहरुविरुद्ध १ लाख २ हजार ५८५ रुपैयाँ मागदावी लिई विशेष अदालतमा मुद्दा दायर गरेको आयोगले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ८२ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ४ हजार ७ सय ९० पिसिआर परिक्षणका क्रममा ४१ जना र १ हजार ३ सय ८५ एन्टीजेन परिक्षणका क्रममा ४१ जनामा नै कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।त्यस्तै हालसम्म नेपालमा ९ लाख ६१ हजार ५ सय ६१ जना संक्रमण मुक्त भएका छन् । हाल नेपालमा ४ हजार ५ सय ७४ सक्रिय संक्रमित आइशोलेशन र १०६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

सुर्खेतको भेरी नदीमा बेपत्ता भएको एक बालकको शव फेला

सुर्खेतको भेरी नदीमा बेपत्ता भएका तीन बालबालिकामध्ये एक जना बालकको शव भेटिएको छ । मृत भेटिएका बालक लेकवेंशी नगरपालिका–२ का ८ वर्षीय दिनेश बुढा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । भेरीगंगा नगरपालिका–२ स्थित भेरी पुलनजिकै  बुढाको शव आज दिउँसो भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका  प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए । गत शनिबार  भेरिगंगा नगरपालिका–११ रामघाटस्थित नजिक भेरी नदीमा नुहाउने क्रममा दिनेशसहित भेरीगंगा नगरपालिका–११ का १० वर्षीया गंगा खड्का, ८ वर्षीय कृष्णा सिंजाली पनि बेपत्ता भएका थिए ।

 नक्कली भ्याट बिल प्रकरणमा १६ करोड बढी बिगो माग्दै मुद्दा दायर 

राजश्व अनुसन्धान विभागले नक्कली भ्याट बिल प्रकरणमा  १६ करोड बढी बिगो माग्दै तीन जनाविरूद्ध मुद्दा दायर गरेको छ । कर छलेको आरोपमा विभागले सौगात इन्टरनेशनलका प्रोप्राइटर दीपककुमार देउजा, खाता सञ्चालक मोहनप्रसाद भट्टराई र लेखापरीक्षक सुनिलमान शाक्यविरूद्ध  आज उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो । उनीहरूमाथि बिगो र बराबरको जरिवाना गरी १६ करोड ४३ लाख ४५ हजार २८२ मागदाबी लिएर मुद्दा दायर गरिएको विभागका महानिर्देशक प्रकाश पौडेलले  जानकारी दिनुभयो । उनीहरूले  ८ करोड २१ लाख ७२ हजार ४४१ रुपैयाँ बराबरको राजश्व छलेको विभागले जनाएको  छ ।

सरकारी छाप किर्ते गरेको आरोपमा काठमाडौँबाट १२ जना पक्राउ

सरकारी छाप किर्ते गरेको आरोपमा काठमाडौँबाट १२ जना पक्राउ परेका छन् । त्रिपुरेश्वरस्थित राहदानी विभागमा किर्ते सरकारी छाप प्रयोग गरी छिटो पासपोर्ट बनाइदिने प्रलोभन देखाई ठगी गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् । महानगरीय प्रहरी कार्यालय कालीमाटीबाट खटिएको विशेष प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा काठमाडौँको गोंगबु, मिलन टोल बस्ने अमृत थापा, सोही ठाउँ बस्ने प्रज्ज्वल खड्का, जीवनकुमार श्रेष्ठ, सामाखुसी बस्ने रञ्जित कार्की, बालाजु बस्ने रामजी परियार र नयाँ बसपार्क बस्ने गोमा बजगाईं रहेका छन् ।

 

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  १० : २७ बजे

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको

प्लेअफमा पुग्न चेन्नईले पायो २१९ रनको लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरू

टीओआरका संयोजक गिरी भन्छन् : कार्यदलमा कानूनका जानकार हुनुहुन्छ, न्यायोचित सुझाव दिन्छौँ

काठमाडौं– सत्ता पक्षका दल र प्रतिपक्षका दलबीच सहकारी प्रकरणबारे छानबिन