दिनभर के के भयो देशभर ? (अडियोसहित) | Khabarhub Khabarhub

दिनभर के के भयो देशभर ? (अडियोसहित)


२ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 6 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अडियो सुन्नुहोस्ः

पाल्पाको रैनादेवी छहरामा बस दुर्घटना : २ जनाको मृत्यु, ३ जना घाइते
पाल्पाको रैनादेवी छहरा गाउँपालिका–६ बल्ढेङगढीमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । अन्य ६ जना  घाइते भएका छन् । मृत्यु हुनेमा ४० वर्षीय विजय सारु र ८ वर्षीय एक बालक रहेका छन् । पानीडाँडाबाट जुठातर्फ विद्यार्थी बोकेको जाँदै गरेकोे बस आज दिउँसो दुर्घटनामा परेको हो ।

महाअभियोग प्रस्तावसँग सम्बन्धित कागजात झिकाउन सर्वोच्चको आदेश
सर्वोच्च अदालतले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावसँग सम्बन्धित कागजातहरू झिकाउन आदेश दिएको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, प्रकाशमानसिंह राउत र तेजबहादुर केसीसहितको संवैधानिक इजलासले कागजात झिकाउन आदेश गरिएको हो । गत १ फाुगनमा जबराविरूद्ध प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव दर्ता गरिएको थियो । त्यसका विरुद्ध अधिवक्ताहरू डा. पुण्यप्रसाद खतिवडा र दीपकविक्रम मिश्रले ११ फागुनमा सर्वोच्चमा रिट दायर गरेका थिए ।

सरकारद्वारा विश्व बैंकको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय
सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट १५० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । चैत्र ३० गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने १५० मिलियन अमेरिकी डलर अर्थात करिव १८ अर्ब बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको जानकारी दिए । त्यस्तै मन्त्रिपरिषद् बैठकले संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकासका लागि सहयोग निकाय यूएसएआईडीबाट प्राप्त हुने अमेरिकी डलर ६ सय ५९ मिलियन अर्थात करिब ७९ अर्ब ७१ करोड रुपैयाँ अनुदान सहायता रकम पनि स्वीकार गर्ने निर्णय गरेको छ ।

आचारसंहिता उल्लंघन नगरेको एकीकृत समाजवादी र राप्रपाको दाबी
नेकपा एकीकृत समाजवादी र राप्रपाले निर्वाचन आचारसंहिता उल्लंघन नगरेको दाबी पेश गरेका छन् । निर्वाचन आयोगले सोधेको तीनदिने स्पष्टीकरण आज बुझाएको एकीकृत समाजवादीले आचारसंहिता उल्लंघन हुने गरि सभा नगरेको दाबी पेश गरेको हो । राजेन्द्र लिङदेन अध्यक्ष रहेको राप्रपाले पनि आजै आयोगमा स्पष्टीकरण बुझाएको आयोगले जनाएको छ । दुवै दलले बुझाएको स्पष्टीकरणको अध्ययन गरेर निर्णयमा पुग्ने आयोगले जनाएको छ ।

स्थानीय निर्वाचन तयारीका लागि कांग्रेसले सबै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने
नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनको तयारीका लागि मुलुकका सबै जिल्लामा पार्टीको केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको छ । पार्टी कार्यालय सानेपामा आज  बसेको कांग्रेस स्थानीय तह निर्वाचन परिचालन केन्द्रीय समितिको बैठकले गठबन्धनलाई बलियो बनाउँदै सम्पूर्ण भ्रातृसंगठन, शुभेच्छुक संस्था परिचालन गर्नका लागि ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको हो । वैशाख ३ देखि ५ गतेभित्र प्रदेशबाट सबै नाम सिफारिस गराउने र गठबन्धनमा समस्या देखिएका नाममा पछि छलफल गर्ने समितिले निर्णय गरेको छ । त्यस्तै बैठकले चूनावी सभालाई व्यवस्थीत गर्न र आचारसंहितालाई पालना गराउने बिषय पनि मापदण्ड तय गरेको कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले जानकारी दिए ।

संविधान मास्ने र परिवर्तन उल्ट्याउन खोज्नेविरुद्ध एकजुट हुनुपर्छ : दाहाल 
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संविधान मास्ने र परिवर्तन उल्ट्याउन खोज्नेविरुद्ध एकजुट हुनुपर्ने बताएका छन् । आज पार्टी कार्यालय पेरिसडाँडामा एमाले नुवाकोटका नेता माधव पाण्डे लगायतलाई माओवादी प्रवेश गराउँदै दाहालले यसअघि पनि संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने षडयन्त्र भएको भन्दै परिवर्तन उल्ट्याउन खोज्नेविरुद्ध एकजुट हुनुपर्ने बताएका हुन् ।

प्रस्तावित २० राजदूतविरुद्ध संसदीय सुनुवाइ विशेष समितिद्वारा उजुरी आह्वान
संसदीय सुनुवाइ विशेष समितिले बिभिन्न देशका लागि प्रस्तावित २० राजदूतविरुद्ध उजुरी आह्वान गरेको छ । सिंहदरबारमा आज बसेको समिति बैठकले प्रस्तावित राजदूतविरुद्ध संसदीय सुनुवाइ गर्नु अघि कुनै उजुरी भए १० दिनभित्र समितिमा पठाउन भनिएको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए । समितिको कार्यालय सिंहदरबार, इमेल, हुलाक तथा जिल्ला प्रशासन कार्यालयबाट समेत उजुरी दर्ता गर्न सकिनेछ । समितिमा उपस्थित नै भएर पनि उजुरी दिन सकिने व्यवस्था गरिएको सभापति कर्णले बताए । यसअघि चैत्र २४ गते बसेको मन्त्रिपरिषद्को बैठकले परराष्ट्र सेवाका ८ सहित २० जनालाई राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।

विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोससहितको टोली नेपाल भ्रमणमा आउने 
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक डाक्टर टेड्रोस एड्हानोम गेहब्रेयस तीन दिने भम्रणका क्रममा नेपाल आउने भएका छन् । गेहब्रेयससहितको टोली वैशाख ८ गते नेपाल आइपुग्ने कार्यक्रम तय भएको  स्वास्थ्य सचिव रोशन पोखरेलले जानकारी दिए । नेपालमा रहँदा डा टेड्रोससहितको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्का, स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

सीके राउत र गृहमन्त्री खाँणबीट भेटवार्ता
सीके राउत नेतृत्वको जनमत पार्टी र गृहमन्त्री बालकृष्ण खाँण नेतृत्वको सरकारी प्रतिनिधिमण्डलबीच आज भेटवार्ता भएको छ । गृहमन्त्रालयमा आज भएको  भेटवार्तामा जनमत पार्टीका अध्यक्ष राउतले सरकारले आफूहरूसँग गरेका पुराना सम्झौताहरूको स्मरण गराउँदै त्यसको कार्यान्वयनको माग गरेको बताइएको छ । जनमत पार्टीले विभिन्न आरोपमा थुनामा  रहेका पार्टीका नेता कार्यकर्तालाई रिहा गर्नुपर्ने, अभिव्यक्ति, स्वतन्त्रता र नागरिक हकको सम्मान हुनुपर्ने, कृषिसम्बन्धी आफूहरूका माग पूरा गर्नुपर्ने गृहमन्त्री खाँणसँग  भेटका क्रममा माग गरेको थियो । जवाफमा गृहमन्त्री खाँणले मूलधारको राजनीतिमा आएर निर्वाचनमा जाने तयारी गर्नु स्वागतयोग्य भएको प्रतिक्रिया दिएका छन् ।

२४ घण्टामा नेपालमा १४ जनामा कोरोना संक्रमण पुष्टि 
पछिल्लो २४ घण्टामा नेपालमा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ३ हजार ३० पीसीआर परीक्षणका क्रममा १४ जनामा कोरोना पुष्टि भएको हो । आज ५५ संक्रमित संक्रमणमुक्त भएका छन् । हाल नेपालमा ४ सय ३८ सक्रिय संक्रमित आइशालेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

सप्तरीमा आगलागीमा जलेर बालकको मृत्यु
सप्तरीको बोदेबर्साइन नगरपालिका–१० अमरैंया टोलमा आज आगलागी हुँदा एक बालकको मृत्यु भएको छ । स्थानीय एक जनाको फुसको घरबाट सल्केर आगलागी भई पक्की घरमा सल्किँदा स्थानीय शत्रुधन यादवका आठ वर्षीय छोरा शैलेशकुमार यादवको मृत्यु भएको हो ।
बालक घरभित्रै रहेको अवस्थामा शत्रुधनको चारकोठे घरमा एकाएक आगो सल्किएपछि बालक घरमा भएको थाहा नभएपछि जलेर बालकको मृत्यु भएको प्रत्यक्ष दर्शीले बताएका छन् । आगलागी नियन्त्रणमा ढिलाइ भएकोले घरभित्र रहेका बालकको ज्यान गएको बुझिएको छ।

कैलालीमा अर्जुन दाहस हत्यामा ४ जना पक्राउ
कैलालीमा अर्जुन दासको हत्यामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आज पत्रकार सम्मेलन गर्दै कैलालीको जानकी गाउँपालिका–९ अमरावतीस्थित सामुदायिक वनभित्र मृत भेटिएका २५ वर्षीय अर्जुन दासको हत्या आरोपमा फरार रहेका ४ जनालाई पक्राउ गरि सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा  जानकी गाउँपालिका ९ कै १९ वर्षीय युवाहरू सुमित साउद, मनोज भण्डारी, दिलीप दास र बमबहादुर बोहोरा रहेका छन् । उनीहरूको समूहले ’दासलाई मोबाइल चोरी गरेको आरोपमा लागूऔषध सेवन गरेको अवस्थामा हत्या गरेको अनुसन्धानबाट खुलेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोइरालाले जानकारी दिए ।

मोहन्याल गाउँपालिकाका तत्कालीन कार्यवाहक अध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
कैलालीको मोहन्याल गाउँपालिकाका कार्यवाहक अध्यक्षसहित १० जना जनप्रतिनिधिविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष पुजादेवी बुढामगरसहित ६ वडाध्यक्ष र तीन गाउँपालिका सदस्यविरुद्ध ५४ लाख १८ हजार ५६८ रुपैयाँ हिनामिना गरेको आरोपमा मुद्दा दायर गरेको हो  । गाउँपालिका भएर विभिन्न नदी बग्ने पथ्थरगढ, सेतो, सालघारी, गोडे, खण्डे, बादे, साउडे र कान्द्रा खोलाको नदीजन्य पदार्थको बिक्रीकर संकलनसम्बन्धी सूचनाको आधारमा बोलपत्र बिक्री भएकोमा मोहन्याल गाउँपालिकाका पदाधिकारी तथा कर्मचारी र न्यू बडिमालिका निर्माण सेवाका ठेकेदारबीच मिलेमतोमा सम्झौता भई भ्रष्टाचार भएको भन्ने उजुरीमा भनिएको छ ।

काठमाडौँमा आजबाट ललितकला प्रदर्शनी सुरु
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा आजबाट काठमाडौंमा राष्ट्रिय ललितकला प्रदर्शनी २०७९ सुरु भएको छ । प्रदर्शनीको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्नुभयो । सो क्रममा उपराष्ट्रपति पुनले राष्ट्रिय विभूति अरनिकोदेखिका कलाकारले कलाका माध्यमबाट विश्वमा नेपालको शिर उँचो बनाउने काम गरेको बताएका थिए । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले प्रदर्शनी एक महिनासम्म चल्ने जानकारी दिए । प्रदर्शनीमा ३६५ कलाकारका ४२६ चित्र समावेश गरिएको जानकारी छ ।

बिस्केट जात्रा : आज सुथः सिया मनाइयो
बिस्केट जात्राको अवसरमा शुक्रबार भक्तपुरको मध्यपुरथिमिका स्थानीयवासीले हर्षोल्लासका साथ सिन्दुर खेलेर सुथः सिया जात्रा मनाएका छन् । मध्यपुरथिमिको टोल टोलबाट विभिन्न देवताको मूर्तिलाई खटमा विराजमान गराई खट बोकेर सिन्दुर खेल्दै पूजाआजाका साथ यो जात्रा मनाइएको हो । थिमिमा मात्र मनाइने यो जात्रामा एकअर्कामा सिन्दुर दलेर धिमे लगायतका स्थानीय बाजामा नाच्दै हातहातमा चिराग बालेर खट बोकी बालकुमारीमा ३२ खट ल्याएर भव्य रुपमा मनाउने परम्परा छ ।

जिब्रो छेड्ने जात्रा : बुद्धकृष्णले नवौँ पटक छेडे जिब्रो
भक्तपुरको मध्यपुरथिमि नगरपालिका– ८ बोडेमा मनाइने जिब्रो छेड्ने जात्रामा स्थानीय बुद्धकृष्ण वागश्रेष्ठले नवौँ पटक जिब्रो छेडेका छन् । कर्मी र नाइकेहरूले विभिन्न देवगणको पूजा गरेपछि तेलमा डुबाइराखेको १० ईन्च लामो सुइरोले पाँचौ गणेशको प्राङ्गण रहेको पाटीमा मञ्चमा बुद्धकृष्णको जिब्रो छेडिएको हो ।चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि जिब्रो छेड्ने व्यक्तिले निराहार व्रत बसेर जिब्रो छेड्ने चलन छ । जिब्रो छेडेपछि चन्द्राकारको भ्वाय् अर्थात् महाद्वीप बोकेर टोल टोल घुम्ने र भाँगु टोलमा पुगेर पाँचो गणेश मन्दिरमा जिब्रो छेडेको सुइरो निकालेर महालक्ष्मी मन्दिरमा ठोकेपछि यो जात्रा सम्पन्न हुने परम्परा रहेको छ ।

दोलखा करेन्ट लागेर मृत्यु भएका व्यक्तिको शव परिवारले बुझ्यो
दोलखाको भीमेश्वर नगरपालिका–५ तामाकोसीमा करेन्ट लागेर मृत्यु भएका व्यक्तिको शव आफन्तले बुझेका छन् । हिजो दिउँसो तामाकोसी बजारमा तार मर्मत गर्ने क्रममा नेपाल विद्युत् प्राधिकरणमा कार्यरत कर्मचारी महोत्तरी जिल्ला डाँडागाउँ गाउँपालिका–२ का २० वर्षीय असल्ल अन्सारीको करेन्ट लागेर मृत्यु भएको थियो ।नेपाल विद्युत् प्राधिकरणको लापरवाहीका कारण प्राधिकरणमै कार्यरत कर्मचारीको ज्यान गएको भन्दै आफन्तले शव बुझ्न मानेका थिएनन् । निजको पशुपति चौलागाईं स्मृति अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

बैंकले ऋण नदिँदा वीरगन्ज नाकामा थुप्रिए सवारी साधन
वाणिज्य बैंकहरूले निजी सवारीसाधनमा ऋण लगानी बन्द गरेपछि वीरगन्जस्थित एकीकृत सुरक्षा जाँच चौकीमा ठूलो संख्यामा नयाँ सवारी साधन थन्किएका छन् । चौकीमा बिहीबारसम्म करिब ८ सयको संख्यामा जिप, कार, भ्यान, बस, ट्रक र टिपरका चेसिस थन्किएका हुन् ।  आईसीपी सञ्चालक इन्टर मोडल यातायात विकास समिति वीरगन्जका प्रमुख कमल ज्ञवालीका अनुसार दुई सातायता यो नाका भई भित्रिने नयाँ सवारी साधनको जाँचपास करिब बन्द छ । दैनिकजसो चौकीको यार्डमा नयाँ सवारी साधन थपिने क्रम जारी छ ।

आईसीटी अवार्डका लागि सरकारले माग्यो आवेदन
सूचना तथा सञ्चार प्रविधि पुरस्कार–२०२२ का लागि आवेदन दिन आग्रह गर्दै सरकारले आज सूचना प्रकाशित गरेको छ । यस क्षेत्रमा विशेष योगदान पु¥याउने व्यक्ति तथा संस्थाले आवदेन भर्न सक्ने छन् । हरेक वर्ष मे २ मा मनाइने राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको उपलक्ष्यमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आईसीटी अवार्ड प्रदान गर्दै आएको छ ।

नेपालले जिम्बाबेको ए टिमसँग तीन एकदिवसीय र तीन टी–२० खेलको शृंखला खेल्ने 
नेपालले टेष्ट मान्यताप्राप्त अफ्रिकी देश जिम्बाबेको ए टिमसँग तीन एकदिवसीय र तीन टी–२० खेलको शृंखला खेल्ने भएको छ ।नेपाल क्रिकेट संघले आज  दिएको जानकारीअनुसार त्रिवि क्रिकेट मैदानमा ३० अप्रिलदेखि ९ मे (वैशाख १७ देखि २६ गतेसम्म) दुई टोलीबीच दुई शृंखला आयोजना हुनेछ । जिम्बाबेको टोली १५ वैशाखमा नेपाल आइपुग्नेछ । १७ गतेदेखि एकदिवसीय शृंखला सुरु हुनेछ ।

एएफसी एसियन कप छनोटका लागि प्रशिक्षण आजबाट सुरु
एएफसी एसियन कप छनोटका लागि नेपाली राष्ट्रिय फुटबल टिम शुक्रबारबाट प्रशिक्षण सुरु गरेको छ । नेपाली टोलीले दशरथ रंगशालामा शुक्रबारबाट प्रशिक्षण सुरु गरेको हो । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले बन्द प्रशिक्षणका लागि २५ खेलाडी बोलाएका छन् । प्रशिक्षक अल्मुताईरीले अहिलेको स्तरले नेपालले एसिया कप खेल्नु भनेको एकदमै चुनौती रहेको बताए ।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  १० : ०३ बजे

सभामुखले दलका शीर्ष नेताहरुसँग छलफल गर्दै

काठमाडौं– सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल

प्रधानमन्त्री र कांग्रेस नेताहरुबीच छलफल जारी

काठमाडौं– संसदको गतिरोध समाधानका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख

गरिबीमा उध्याएको कलमले मच्चाएको तहल्का

प्रतिभाशाली योग्य र विद्वान हुन ठूलो कुल, वंश र धनी

‘नेकेड एक्सप्रेस’ : विश्वभर फैलाउन खोजिएको एउटा नेपाली ब्राण्ड !

काठमाडौं – बजारमा अहिले कपडाका अन्तर्राष्ट्रिय ब्राण्डबीच तीव्र प्रतिस्पर्धा छ

‘लागुऔषध नियन्त्रणमा आमाहरू’ कार्यक्रम सञ्चालन

झापा– जिल्ला प्रहरी कार्यालय झापाले ‘लागुऔषध नियन्त्रणमा आमाहरु’ कार्यक्रम सञ्चालन