दिनभर के के भयो देशभर ? (अडियोसहित) | Khabarhub Khabarhub

दिनभर के के भयो देशभर ? (अडियोसहित)


१ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 6 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अडियो सुन्नुहोस्ः

नयाँ वर्ष २०७९ सुरु
आजबाट नयाँ वर्ष २०७९ सुरु भएको छ । सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने संक्रान्तिलाई मेष अर्थात् वैशाख संक्रान्ति भनिन्छ ।नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाएका छन् । नयाँ वर्षमा सफलता मिल्ने शुभकामना एक अर्कामा व्यक्त गर्दै र मिष्ठान्न भोजन, भेटघाट गर्दै आज नयाँ वर्ष विशेष पर्वको रूपमा मनाइने गरिन्छ ।

सुदूरपश्चिम प्रदेशमा विसु पर्व मनाइयो
सुदूरपश्चिम प्रदेशमा आज विसु पर्व मनाइएको छ । हरेक नयाँ वर्षको पहिलो दिनलाई आज सुदूरपश्चिमेलीले विसुु पर्वका रुपमा मनाउने गरेका छन् । सुदूरपश्चिमका पहाडी जिल्ला डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, डोटी, अछाम र बाजुरामा आफ्नै मौलीकताअनुसार विसु पर्व मनाइने चलन छ । सुदूरपश्चिम प्रदेशमा सिस्नो लगाएर विसुु पर्व मनाउने गरिन्छ । देवर र भाउजु तथा साली र भिनाजु एकआपसमै सिस्नो लगाएर नयाँ वर्ष तथा विसु पर्व मनाउने गरेको स्थानीयको भनाइ छ । 

निर्वाचनप्रति अन्योलभाव सिर्जना गर्ने अभिव्यक्ति नदिन निर्वाचन आयोगको आग्रह
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनप्रति अन्योलता सिर्जना गर्ने अभिव्यक्ति नदिन राजनीतिक दलहरूसँग आग्रह गरेको छ । आज आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्धारित स्थानीय तहको निर्वाचनका सम्बन्धमा संशय व्यक्त गर्ने अभिव्यक्तिहरू राजनीतिक दलका जिम्मेवार नेता एवं कार्यकर्ताबाट आएकोप्रति आयोगको ध्यानाकर्षण भएको भन्दै निर्वाचनको विषयमा अन्योलता सिर्जना गर्ने खालका यस्ता अभिव्यक्ति नदिन आग्रह गरिएको बताए । त्यस्तै आयोगले  निर्वाचनका लागि आवश्यक पर्ने १ करोड ९४ लाख थान मध्ये ४९ जिल्लाका लागि ७० लाख ३३ हजार मतपत्र छपाइ भइरहेको जनाएको छ । 

कुलमान र गण्डकीका सभामुखलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
निर्वाचन आयोगले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र गण्डकी प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीलाई स्पष्टीकरण सोधेको छ । आयोगको आज बसेको बैठकले घिसिङ र अधिकारीलाई निर्वाचन आचारसंहिता मिचेकोबारे प्रष्टिकरण सोधेको आयोगले जनाएको छ । दुवैलाई पत्र पठाएर ७ दिनभित्र आयोगका प्रश्नको चित्तबुझ्दो जवाफ दिन भनिएको छ । नेकपा (माओवादी केन्द्र)ले घिसिङको तस्बिर निर्वाचन प्रचार सामग्रीमा प्रयोग गरेको थियो । त्यस्तै, गण्डकी प्रदेशसभाका सभामुख अधिकारीलाई २०७४ सालको प्रदेशसभा निर्वाचनमा भएको खर्चबारे दिएको भनिएको अभिव्यक्तिलाई लिएर आयोगले प्रस्ट पार्न भनेको हो ।

 माओवादीलाई घेरा हाल्ने क्रम रोकिएको छैन : दाहाल
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले अहिलेपनि माओवादीलाई घेरा हाल्ने क्रम नरोकिएको बताएका छन् । बिहीबार ललितपुरमा आयोजित पार्टी ध्रुविकरण कार्यक्रममा प्रचण्डले जनयुद्धका बेला पनि माओवादीलाई सखाप पार्न भ्रम छर्दै प्रतिक्रियावादीहरूले घेरा हाल्ने गरेको र त्यो क्रम अहिले पनि जारी रहेकाले माओवादी एक भएर प्रतिरोध गर्नुपर्ने बताए । प्रचण्डले नेकपाका नेताहरूसँग छलफल भइरहेको भन्दै नेकपाको सिंगो टिमलाई पार्टीमा एकताबद्ध गराउने वातावरण बन्दै गएको दावी गरे ।

विप्लव नेकपाका नेताद्वारा प्रचण्डसँग भेट
विप्लव नेकपाका नेताले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटेर पार्टीका बन्दीहरूलाई रिहाइ गरिदिन आग्रह गरेका गरेका छन् । आज पार्टी सचिवालय सदस्यद्वय हेमन्त प्रकाश ओली र धर्मेन्द्र बास्तोलाले प्रचण्डलाई भेटेर विप्लव समुहका बन्दी रिहाइका लागि सहयोग गरिदिन आग्रह गरेका हुन् । भेटमा बन्दी  रिहाइको आग्रह गर्दै माओवादी अध्यक्ष र उनकी बिरामी पत्नी सीता दाहाललाई स्वास्थ लाभको कामना गरेको नेकपाका सदस्य धर्मेन्द्र बास्तोलाले जानकारी दिए ।

गठबन्धनको तालमेल नेपालको राजनीतिक संस्कृतिका लागि हितकर छैन : गगन थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचनमा हुने गठबन्धनको तालमेल नेपालको राजनीतिक संस्कृतिको लागि हितकर नभएको बताएका छन् ।नयाँ वर्षको अवसरमा काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीको निर्णयमा यो विषयमा बहस गर्नुपर्ने बताए । संसदीय व्यवस्थामा दलहरूबीच गठबन्धन हुनसक्ने भए पनि यो संस्कृतिले नेपालको लोकतन्त्रको स्वास्थ्यलाई राम्रो नगर्ने उनको भनाई थियो । गठबन्धनले कांग्रेसलाई मात्र नभई अन्य दलहरूलाई पनि राम्रो नगर्ने थापाको भनाइ छ ।

राष्ट्रपतिद्वारा ख्याति प्राप्त व्यक्तिलाई मानपदवी वितरण
राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रका विभिन्न क्षेत्रमा ख्याति प्राप्त व्यक्तिलाई मानपदवी एवं विभूषण प्रदान गरेकी छन्। बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले विभूषण एवंं मानपदवी प्रदान गरेकी हुन्। समारोहमा पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका पूर्वसभापति कृष्णप्रसाद भट्टराईलाई मरणोपरान्त नेपाल रत्न, मन्त्रिपरिषद् पूर्वअध्यक्ष सुवर्णशमशेर राणालाई मरणोपरान्त राष्ट्र गौरव प्रदान गरिएको छ। पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई राष्ट्र गौरव प्रदान गरिएको छ। तुल्सीलाल अमात्य, मङ्गलादेवी सिंह, दुर्गानन्द झा, नारायणगोपाल गुरुवाचार्यलाई मरणोपरान्त तथा चोलेन्द्रशमशेर जबरा र मोहनचन्द्र अधिकारीलाई महाउज्ज्वल राष्ट्रदीप विभूषित गरिएको छ।

पूर्वप्रधानमन्त्री ओली विश्व स्काउटको ‘मेधावी योगदान’ पदकबाट विभूषित
पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विश्व स्काउट एशिया प्रशान्त क्षेत्रद्वारा प्रदान गरिने ‘मेधावी योगदान’ उच्च पदकबाट विभूषित भएका छन् । काठमाडौंमा आज आयोजित एक विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई पदकबाट विभूषित गरेकी हुन् । प्रत्येक वर्ष विश्व स्काउटको एशिया प्रशान्त क्षेत्रीय उच्च पदक विभिन्न देशका प्रतिष्ठित व्यक्तिलाई प्रदान गरिँदै आएकोमा यस वर्ष नेपालका पूर्व प्रधानमन्त्री ओलीलाई प्रदान गरिएको हो । 

ठूला भनिएका दलहरूको कारण मुलुक बेरोजगार उत्पादन गर्ने कारखाना बन्योः लिङ्देन
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला भनिएका दलहरूको कारण मुलुक बेरोजगार उत्पादन गर्ने कारखाना बनेको बताएका छन् । आज काठमाडौँमा आयोजित पार्टी प्रवेश कार्यक्रममा लिङ्देनले विभिन्न परितर्वन भएपनि ठूला दलहरूका कारण मुलुक असफलतर्फ जाने खतरा रहेको र मुलुक बेरोजगार उत्पादन गर्ने कारखाना बनेको आरोप लगाए । उनले देश असफल भए नेताहरूको केही नबिग्रने तर युवाहरूको भविष्य बिग्रने धारणा राखे । 

कमल थापालाई सूर्य चिन्ह दिएकोमा भीम रावलको आपत्ति
राप्रपा नेपाल र परिवार दललाई सूर्य चिन्हबाट चुनाव लड्न दिने एमाले नेतृत्वको निर्णयप्रति भीम रावलले आपत्ति जनाएका छन् । एमालेका पूर्वउपाध्यक्ष आज सामाजिक सञ्जालबाट आफ्नो धारणा सार्वजनिक गर्दै रावलले विपरीत सिद्धान्त भएका राप्रपा र परिवार दलका उम्मेदवारले एमालेको सूर्य चिन्हमा लड्ने तर एमाले हुनु नपर्ने कुरामा प्रश्न उठाएका छन् । उनले ठूलो ठेकेदारले सानो ठेकेदारलाई पेटी ठेक्का दिएजस्तो सूर्य चिन्ह दिन नमिल्ने जिकिर गरे ।

निर्वाचन लैङ्गिक तथा समावेशी हुनुपर्नेमा आयोगको धारणा स्पष्ट छ : निर्वाचन आयुक्त
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी स्थानीय तह निर्वाचन लैङ्गिक तथा समावेशी दृष्टिकोणले उल्लेखनीय हुनुपर्छ भन्ने आयोगको स्पष्ट धारणा रहेको बताएका छन् ।नयाँ वर्षको अवसरमा शुभकामना दिँदै उनले निर्वाचनको महोत्सवमा सहभागी हुन सबैलाई आग्रह गरेका छन् । प्रमुख आयुक्त थपलियाले राजनीतिक दलले स्थानीय तहको प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षको पदमध्ये कुनै एक पदमा मात्र उम्मेदवारी दिँदा महिला उम्मेदवारलाई  मनोनयनमा प्राथमिकता दिनुपर्ने भनी कानूनको पालनामा जोड दिइएको भन्दै पुनःस्मरण गराउन चाहेको उल्लेख गरे। 

बागमतीमा सार्वजनिक सवारीमा बढेको भाडा आजदेखि लागू
काठमाडौँ उपत्यकासहित बागमती प्रदेशमा आजदेखि सार्वजनिक सवारीको बढेको छ । बागमती प्रदेश सरकारले समायोजन गरेको नयाँ भाडादर आजदेखि लागू भएको हो । श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले आजदेखि लागू हुने गरी गत चैत २४ गते नै भाडा वृद्धि गरेको थियो । समायोजनपछि सार्वजनिक सवारी साधनको पाँचदेखि २० किलोमिटरसम्मको भाडादर २ देखि ३ रुपैयाँसम्म बढेको छ । नयाँ भाडादर अनुसार पाँच किलोमिटरसम्म २० रुपैयाँ, १० किलोमिटरको २५ रुपैयाँ, १५ किलोमिटरको ३० रुपैयाँ, २० किलोमिटरसम्मको ३३ र २० भन्दा माथि ३८ रुपैयाँ तिर्नुपर्ने छ । यस्तै, ट्याक्सीको प्रति दुई सय मिटरको भाडा १० रुपैयाँ बनाइएको छ ।

पशुपतिमा दर्शनार्थी घुइँचो
नयाँ वर्षका अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शनका लागि भक्तजनको घुइँचो लाग्यो । नयाँ वर्षका अवसरमा बिहान ४ बजेदेखि नै पशुपतिका चार ढोका खुला गरिएको थियो । नयाँ वर्षका अवसरमा आज पशुपतिनाथ आउने भक्तजनलाई उत्तर, पश्चिम र दक्षिण मूल ढोकाबाट दर्शन गर्न जान सक्ने गरी व्यवस्था गरिएको थियो । पछिल्ला केही वर्षदेखि नयाँ वर्षका अवसरमा पशुपतिनाथको दर्शनमा आउने भक्तजन बढ्न थालेपछि कोषले विशेष व्यवस्था गरेको हो । नयाँ वर्षका अवसरमा आज सरकारी कार्यालय, सार्वजनिक संस्थान एवं शिक्षण संस्थामा सार्वजनिक बिदा दिइएको थियो ।

पछिल्लो २४ घण्टामा नेपालमा चार जनामा कोरोना संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा नेपालमा चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार २ सय ६२ पीसीआर परीक्षणका क्रममा ३ जना र १ हजार ८० एन्टीजेन परीक्षणका क्रममा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज ४४ संक्रमित संक्रमण मुक्त भएका छन् । हाल नेपालमा ४ सय ७९ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । 

भोलिदेखि देशभर नयाँ भर्ना अभियान सुरु, जेठ १ बाट पठनपाठन
सरकारले भोलि भोलिदेखि देशभरका विद्यालयमा नयाँ भर्ना अभियान सुरु हुने भएको छ । नयाँ भर्ना अभियान थाल्न स्थानीय तह र सबै विद्यालयलाई निर्देशन दिइसकिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ । विकास केन्द्रका प्रवक्ता डिल्ली लुइँटेलका अनुसार भोलिदेखि वैशाख ३१ गतेसम्म सामुदायिक तथा निजी विद्यालयहरूले नयाँ भर्ना लिनेछन् । यसका लागि गत चैत्र २१ गते नै सूचना जारी गरेर स्थानीय तह र विद्यालयलाई जानकारी गराएको उनले बताए ।

कुहिने र नकुहिने फोहर छुट्याउन महानगरको आग्रह
काठमाडौँ महानगरपालिकाले कुहिने र नकुहिने फोहर छुट्याउन नगरवासीलाई आग्रह गरेको छ । फोहर पृथकीकरणबारे सूचना निकालेर महानगरले आजदेखि जैविक र अजैविक फोहर छुट्याउन अनुरोध गरेको हो । महानगरको वातावरण तथा कृषि विभागले कुहिने र नकुहिने फोहर छुट्टाछुट्टै सङ्कलन हुने जनाएको छ । महानगरले फोहरमैला व्यवस्थापन ऐन–२०६८ अनुसार स्रोतमा नै फोहरको पृथकीकरण गर्न लागिएको पनि स्पष्ट पारेको छ । कुहिने फोहोर सङ्कलन गर्न आउने दिन कुहिने र नकुहिने फोहर सङ्कलन गर्न आउने दिन नकुहिने फोहर उठाउने महानगरले जनाएको छ ।

गतवर्ष २०७८ मा विपदका घटनामा ५०७ को मृत्यु
गतवर्ष २०७८ मा विपद्का विभिन्न घटनामा परी नेपालमा ५०७ जनाले ज्यान गुमाएका छन् । गत वर्ष विपद्का घटनाबाट देशभर ५०७ जनाले ज्यान गुमाएको गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपत्कालिन कार्यसञ्चालन केन्द्रले जनाएको हो । केन्द्रका अनुसार पहिरो, बाढी, भारी वर्षा, चट्याङ, सर्पको टोकाई, आगलागी, हावाहुरी, जनावरको आक्रमण दुर्घटना जस्ता विपद्का घटनामा परी उनीहरुको ज्यान गएको हो । गतवर्ष विपद्का घटनामा परी ७७ जना बेपत्ता र १ हजार ७८१ जना घाइते भएको केन्द्रले जनाएको छ ।

नेपालगञ्जमा क्षतिपूर्तिको माग गर्दै प्रदर्शन
नेपालगञ्जमा कारको ठक्करबाट तीनजनाको मृत्यु भएको घटनाको दोषीमाथि कारबाहीको माग गर्दै पीडितका आफन्त तथा स्थानीयवासीले प्रदर्शन गरेका छन् । कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिएपनि उनीहरूले कारवाही र उचित क्षतिपूर्ति माग्दै टायर बालेर वीपी चोकमा प्रदर्शन गरेका हुन् । उनीहरूले प्रदर्शन गर्दै चक्का जाम गरेका छन् । चैत २७ गते एक कारले नेपालगन्जको बीपीचोक नजिक बाटोमा हिँडिरहेका तीनजनालाई ठक्कर दिएको थियो ।

बारामा भरुवा बन्दुक पड्किएर मृत्यु 
बारामा भरुवा बन्दुक पड्किएर एक युवकको मृत्यु भएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१६ डकाहा टोल बस्ने २८ वर्षीय सागर सिंजाली मगरको मृत्यु भएको हो । दुधौरा खोलामा माछा मारेर फर्कने क्रममा जंगली जनवारको शिकारको लागि थापेको भरुवा बन्दुकको पासोमा परेर घटना भएको प्रारम्भिक सूचना पाएको प्रहरीले जनाएको छ ।

बारामा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, १३ जना घाइते
बारामा आज बिहान स्कार्पियो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । १३ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत जीतपुरसमिरा उपमहानगरपालिका–२१ आधारभार जंगलमा जीप दुर्घटना हुँदा सोही स्थानका चालक २५ वर्षीय लोकनाथ सेढाइको मृत्यु भएको हो । दुर्घटनामा जीपमा सवार १३ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए । 

गोदावरीमा तास खेलिरहेको अवस्थामा ११ जना पक्राउ
गोदावरी नगरपालिका–१४ ठैव बस्ने राजेश महर्जनको घरमा तास खेलिरहेको अवस्थामा ११ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८ लाख  ४३ हजार ६ सय ९० रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

 

 

प्रकाशित मिति : १ बैशाख २०७९, बिहीबार  १० : ०५ बजे

बुलबुले तालमा चल्यो मोटरबोट

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा मोटरबोटको परीक्षण सेवा सुरु

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन आदेश

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले

विरोध प्रदर्शन ‘लोकतन्त्र’ को पहिचान हो : अमेरिकी विदेश मन्त्री

बेइजिङ – अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले मध्यपूर्वलाई लिएर संयुक्त

१६औं योजनामा सुशासन सोच : झस्किए नेता !

काठमाडौं – १६औं योजनाको मस्यौदाको सोचमा ‘सुशासन’ शब्द प्राथमिकतामा राखिँदा

बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम

सर्लाही । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाही र रौतहट जोड्ने बागमती नदीमाथिको