सुपरस्टारले खेल्ने धनाढ्य क्लबको आधा शताब्दी | Khabarhub Khabarhub

५२ वर्षमा पीएसजी

सुपरस्टारले खेल्ने धनाढ्य क्लबको आधा शताब्दी

‘जहाँ मेस्सी, नेयमार र एमबाप्पेको स्वर्णिम सपना बाँकी नै छ’



काठमाडौँ : युरोपका धेरै खेलाडीको बढ्दो उमेर र क्लबले सम्झौता तोड्न चाहेपछिको पीडा धेरैका लागि पीडादायी हुन्छ । खेलाडी स्वयंमका लागि त्यो पल जति पीडादायी हुन्छ, त्योभन्दा धेरै उनीहरुका प्रसंशकका लागि हुन्छ ।

त्यसमा देखिने मुख्य दुई वटा डर हुन्छन् । एउटा खेलाडी विस्तारै मूख्य युरोपियन लिगबाट बाहिरिने चिन्ता । दोस्रो प्रशसंक र चर्चा परिचर्चाबाट बाहिरिने खतरा ।

तर यी दुवै समस्याको समाधान बनिरहेको धनाढ्य क्लब हो, पीएसजी । फ्रान्सको आइफल टावरलाई लोगो बनाएर राजधानीको पेरिसलाई चर्चामा ल्याइरहने यो क्लब पछिल्लो समय फुटबलका सुपरस्टारको एउटै र अनिवार्य गन्तव्य बनेको छ ।

लिग वान क्लब पीएसजी फ्रान्सको नम्बर एक क्लब त हो नै । वर्तमान विश्व फुटबल र खेलाडीको रोजाईको क्लब पनि बन्दै गएको छ । यदि कोही खेलाडी महंगो मूल्यमा प्रिमियर लिग, ला लिगा छाडेर बाहिर जान चाहन्छ भने त्यसका लागि पीएसजी उपयुक्त मानिन्छ ।

जसको प्रमाण नेयमार हुन् । उनी सन् २०१७ मा २२२ मिलियन अमेरिकी डलरमा बार्सिलोनाबाट पीएसजी पुगेका थिए । जहाँ उनले किलियन एमबाप्पेसँग मिलेर सयौँ गोल गरिसकेका छन् ।

बढ्दो उमेर र खस्किदो प्रदर्शनका कारण बार्सिलोनामा भविष्य खुम्च्याइरहेका सुपरस्टार लियोनल मेस्सी पनि अहिले पीएसजीमा छन् । मेस्सी त झन् जबर्जस्ती पीएसजी पुगेका हुन् । उनलाई नेयमारले नै क्लबमा ल्याउने वातावरण बनाएका हुन् ।

अनि हालै मात्र एमबाप्पेले रियल मड्रिडजस्तो विश्वकै सर्वाधिक धनी र सफल क्लबको माया मारेर पीएसजीका लागि तीन वर्षे नयाँ सम्झौता नवीकरण गरेका छन् । मेस्सी, नेयमार र एमबाप्पेका कारण पीएसजी अहिले विश्वकै सबैभन्दा सफल सुपरस्टारको गन्तव्य बनेको छ ।

म्यान्चेष्टर युनाईटेडमा च्याम्पियन्स लिग खेल्न नपाएपछि अर्का सुपरस्टार क्रिष्टियानो रोनाल्डो पनि पीएसजी जाने हल्ला थियो । तर रोनाल्डो र मेस्सी एउटै टिमबाट खेल्न असम्भव देखिने सम्भव कुरा स्वयंम पीएसजी व्यवस्थापकबाट देखिएन ।

विगतका दिनमा आफ्नो समयका उत्कृष्ट खेलाडी रोनाल्डिनो, डेभिड बेकह्याम, एडिसन काभानी, जाल्टान इब्राहिम जस्ता खेलाडीले पनि पीएसजीबाट खेलेका थिए । फूटबलका सुपरस्टारलाई महंगो मूल्यमा किनेर धनाढ्य क्लबको छवि बनाएको कतारी लगानीको पीएसजीले अहिलेसम्म च्याम्पियन्स लिग भने जित्न सकेको छैन ।

नेयमार र एमबाप्पे जस्ता खेलाडीको उत्कृष्ट प्रदर्शनमा पीएसजी सन् २०२० को च्याम्पियन्स लिगमा फाइनलसम्म पुग्यो । तर उपाधि उचाल्न भने सकेन । पोर्चुगलको लिस्बोनमा बुन्डेसलिगा च्याम्पियन बार्यन म्युनिकले पीएसजीलाई हराउँदै च्याम्पियन्स लिगको उपाधि उचालेको थियो ।

फुटबलका सुपरस्टारलाई किन्ने र खेलाउने संसारकै धनाढ्य क्लब पीएसजीको विगत र आगतमा धेरै फरक छ । जसका लागि पीएसजीले आधा शताब्दी गुजारेको छ । यसबीचमा साच्चै केही लोभलाग्दो सफलता पनि हात पारेको छ ।

पीएसजीको स्थापना
फ्रान्सको धनाढ्य क्लब पेरिस सेन्ट जर्मेन पीएसजीले शुक्रबार मात्रै आफ्नो ५२ औँ जन्मदिन मनायो । पीएजीले शुक्रबार आफ्नो सामाजिक संजालमार्फत क्लबको जन्मदिनको बारे जानकारी गराएको हो ।

सन् १९७० अगस्ट १२ मा पीएसजी फुटबल क्लबको स्थापना भएको थियो । विश्व फुटबलमा स्थापित क्लबहरुमाझ पीएसजीलाई कान्छो क्लबको सूचिमा गणना गरिन्छ । यद्यपि, छोटो समयमा नै लिग वान, फ्रेन्च कप र लिग कपको उपाधी उचाल्दै पीएसजीले फ्रेन्च फुटबलमा आफ्नै ख्याति बनाएको छ ।

तर पछिल्ला केही वर्ष खासगरि नेयमारलाई भित्र्याएपछि पीएसजीले फ्रेन्च लिग बाहिर पनि धेरै चर्चा, सफलता र युरोपकै एक उत्कृष्ट क्लबको परिचयसमेत बनाइरहेको छ ।

पीएसजीको इतिहास
सन् १९०४ मा स्थापना भएको ‘स्टेड सेन्ट–जमानोइस’ र पीएसजीको स्थापना पूर्व स्थापित भएको ‘पेरिस फुटबल क्लब’ को एकतासँगै पीएसजीले मूर्त रुप लिएको थियो ।

फ्रान्सको राजधानी पेरिसमा ‘रेसिङ क्लब दे फ्रान्स’ र ‘स्टेड फ्रान्साइ’ बन्द भएपश्चात कुनै फुटबल क्लब थिएन । सन् १९७२ मा पीएसजी फुटेको थियो । एक क्लब पेरिस एफसीले प्रो स्टेट्स सम्हालदैँ ‘पार्क देस प्रीन्सेस’को दर्जा प्राप्त ग¥यो ।

अर्को क्लब, अहिलेको पीएसजी भने अमेच्यर डिभिजन ३ मा रेलिगेट भयो । तर, दूई वर्षपश्चात पेरिस एफसी दोस्रो तहमा खस्किएसँगै पीएसजीले शीर्ष स्थानको उडान भर्दै आफ्नो नयाँ र सफल परिचय स्थापित गर्दै इतिहास बनाएको हो ।

पीएसजीको पहिलो सफलता
पीएसजीलाई आफ्नो पहिलो सफलताको लागि भने निकै संघर्ष गर्नुपरेको थियो । करिब १० वर्षको कडा परिश्रमपश्चात पीएसजीले सबैको ध्यान आफुतिर आकर्षित गर्ने गरि उत्कृष्ट खेल्दै पहिलो उपाधि जितेको थियो ।

सन् १९८२ मा पीएसीजीले लगातार ‘कुप्स दे फ्रान्स’ को उपाधीलाई जित्दै ‘यूईएफए कप विनर्स कप’ को क्वाटर फाइनलमा स्थान पक्का गरेको थियो । यो सफलता दिलाउन पीएसजीका त्यतिबेलाका खेलाडीले वर्षौ मेहनत गरेका थिए ।

निकै संघर्षबाट स्थापित यो क्लबले जुन सफलता त्यतिबेला पायो, त्यसैको उपलब्धी आजको पीएसजी हो । त्यतिबेला पेरिसकै केही सम्पन्न व्यक्तिको शोखमा पीएसजी स्थापित भएपनि आजको दिनसम्म आइपुग्दा संसारका धेरै धनाढ्यको नजरमा परेको क्लब पनि बनेको छ ।

पीएसजीको टर्निङ प्वाइन्ट
सन् १९९१ मा ‘क्यानल प्लस’ टेलिभिजन च्यानलले पीएसजीको हिस्सेदार भएसँगै पीएसजीको छवीमा परिवर्तन आउन थालेको हो ।

मुलत पूर्व फ्रान्सेली फुटबलर डेभिड जिनोला, फुटबल प्रशिक्षक बर्नाड लामा र पूर्व फुटबलर तथा अहिलेको लिबेरियाका राजनीतिज्ञ जर्ज वीको पीएसजीसँगको सम्बन्धले पीएसजीको सफलता सम्भव भएको मानिन्छ ।

सन् १९९२–९३ मा पीएसजीले ‘कुप दे फ्रान्स’को उपाधी जित्यो । अर्को सिजनमा पनि पीएसजीले सो इतिहास दोहो¥याएको थियो । ब्राजिलियन प्लेमेकर राईको अनुबन्धनपश्चात पीएसजी ‘कप विनर्स कपको सेमिफाईनल’ मा दोस्रो पटक पुगेको थियो ।

यही समयबाट पीएसजी युरोपका क्लबमध्ये एक उत्कृष्ट क्लबका रुपमा गनिन थालेको हो ।

यूरोपियन ट्रफी जित्ने दोस्रो फ्रेन्च क्लब
फ्रान्समा पीएसी यूरोपियन ट्रफी जित्ने दोस्रो क्लब हो । सन् १९९५–९६ सिजनमा यूईएफए कपको उपाधी जित्ने पीएसजी दोस्रो क्लब बन्यो । सन् १९९६ ‘कप विन्नर्स कप’ को उपाधी जितेसँगै पीएसजीले यूरोपियन लिग खेल्ने अवसर पाएको थियो ।

यसअघि भने सन् १९९३ यूईएफ च्याम्पिन्यस लिगको उपाधी मार्सेलीले जितेको थियो । मार्सेली पीएसजीको चीर प्रतिद्धन्दी क्लब हो । फ्रान्सेली फुटबलमा यी दुई क्लबको डर्बी ‘ले क्लासिक’ को रुपमा परिचित छ ।

पीएसजीको लोगोको इतिहास
पीएसजीको लोगोमा फ्रान्सको चर्चित पर्यटकीय गन्तव्य र चिनारी आइफल टावरको फोटो अंकित छ । सन् १९७२ देखि सो टावर लोगोमा समावेश गरिएको थियो ।

सन् १९९२–१९९६ मा लोगोमा परिमार्जनको आवश्यकता भएसँगै टावरलाई लोगोबाट हटाइएको थियो । सन् १९९६ देखि मात्र टावरलाई लोगोमा समावेश गरिएको थियो । सन् २००२ मा पुन परिमार्जन गरिएको थियो ।

अहिलेको लोगो भने सन् २०१३ मा डिजाइन गरिएको थियो । टवरको मुनि एउटा सानो ‘फ्लेयर दी लिस’ पनि अंकित छ ।

आधुनिक पीएसजीको स्वर्णिम यात्रा
स्वीडिस सुपरस्टार जाल्टान इब्राहिमोभिचका अनुसार फुटबलमा पीएसजीको यात्रा सन् २०११ बाट सुरु भएको देखिन्छ । सन् २०११ मा कतार स्पोटर््स इन्भेस्ट्मेन्ट क्युएसआईले पीएसजीलाई खरिद गरेसँगै क्लबको नयाँ अध्यायको शुरुवात भयो ।

पूर्व पीएसजी खेलाडी लियोनार्दो स्पोर्टिङ डिरेक्टर भएसँगै पीएसजीको टोली निर्माणमा आमुल परिवर्तन आएको थियो ।

यसपश्चात इब्राहिमोभिच, थियागो सिल्भा, म्याक्सवेल, मार्को भेराट्टी र हाभियर प्यासतोरेको नियुक्तिसँगै पीएसजीको नयाँ अध्यायको सुरुवात मानिन्छ । यसका लागि त्यतिबेला ४२ मिलियन युरोको लगानी भएको थियो । साथसाथै कार्लो एन्सेलोटी जस्ता सफल व्यक्तिले प्रशिक्षण सम्हालेपछि पीएसजीको आधुनिक स्वर्णिम यात्रा सुरु भएको मानिन्छ ।

एन्सोलेट्टीले क्लबलाई आधुनिक फूटबल र चर्चासँग जोडेका थिए । कतारी पैँसामा खेलाडीलाई सेवा सुविधा दिने र गोल गर्ने क्लब बनाउन एन्सोलेट्टीले धेरै मेहनत गरेका थिए ।

गत सिजन रियल मड्रिडमा ला लिगा र च्यम्पियन्स लिग जितेर एन्सोलेट्टीले युरोपका सबै पाँच लिग उपाधि र सर्वाधिक चार पटक च्याम्पियन्स लिग जित्ने प्रशिक्षकको सफल कीर्तिमान आफ्नो नाममा लेखाएका थिए । जसमध्ये एउटा प्र्रmेन्च लिग वान पनि हो ।

डेभिड बेकह्यामको फाइनल क्लब
विश्व फुटबलका बहुचर्चित खेलाडीमध्ये एक हुन्, डेभिड बेकह्याम । जसको इंग्ल्याण्डमा ठूलो नाम छ । अहिले पनि बेकह्याम वायन रुनीभन्दा ठूला सुपरस्टार मानिन्छन् । युरोपका आधुनिक फुटबलमा बेकह्याम एक विशेष खेलाडी थिए ।

जसले म्यानचेष्टर युनाईटेड, रियल मड्रिड जस्ता सफल क्लबबाट खेले । केही उपाधि पनि जिते । जर्सी नम्बर ७ का उत्कृष्ट खेलाडी बेकह्याम युरोपियन फुटबलबाट बिदा हुनुअघि पीएसजी पुगेका थिए ।

आफ्नो खेल जीवनको अन्तिम ६ महिना उनले पीएसजीसँग बिताएका थिए । डेभिडको उपस्थितिसँगै पीएसजीले सन् २०१२–१३ को लिग उपाधि जितेको थियो ।

सो उपाधी पीएसजीको तेस्रो उपाधी थियो । सन् १९९४ पश्चात पीएसजीले उपाधि खडेरी तोड्दै बेकह्यामको उत्कृष्ट प्रदर्शनको बलमा ट्रफी जितेको थियो । बेकह्यामजस्ता त्यतिबेलाका सफल र सुपरस्टार भित्र्याउँदै पीएसजीले ठूला सुपरस्टालाई भित्र्याउन सुरु गरेको हो ।

नेयमार, एमबाप्पे र मेस्सीको आधुनिक घर
सन् २०११ मा क्वीएसआईले पीएसजी किन्दा एउटा सपना भएको उल्लेख गरेको थियो । जुन सपना हो, च्याम्पियन्स लिग जित्ने । सोहि सपना साकार पार्न पीएसजीले सन् २०१७ मा नेयमार किन्यो ।

बर्सिलोनामा मेस्सीको छायामा परेको भन्दै नेयमार महंगो खेलाडी बन्न र फरक क्लबबाट च्याम्पियन्स लिग जित्न पेरिस पुगेका थिए । नेयमारलाई २ सय २२ मिलियन युरोमा पीएसजीमा आबद्ध गरिएको थियो । जुन त्यतिबेलाको सर्वाधिक हो । जुन रेकर्ड आजसम्म पनि सुरक्षित छ ।

सोहि वर्ष किलियन एमबाप्पेलाई टोलीमा जोडेसँगै पीएसजी च्याम्पियन्स लिग जित्न सक्षम देखिएको थियो । जसअनुसार सन् २०२० को च्याम्पियन्स लिग फाइनल पनि पुग्यो । तर उपाधि उचाल्न भने सकेन ।

च्याम्पियन्स लिग जित्नैका लागि पीएसजीले गएको वर्ष बार्सिलोनाबाट लियोनल मेस्सीलाई किनेको छ । बार्सिलोनाले जबर्जस्ती मेस्सीलाई बेचेपछि पीएसजी सुपरस्टार खेलाडीको आधुनिक घर बनाउन सफल देखिएको हो । यसका लागि नेयमारले उत्कृष्ट मध्यस्तता गरेका थिए ।

पीएसजीको ५२ औँ जन्मदिनसम्म आइपुग्दा मेस्सी, एम्बाप्पे र नेयमार जस्ता सुपरस्टार एकसाथ छन् । यी तीन खेलाडीको तालमेल अहिले युरोपकै सर्वाधिक बलियो फरवार्ड लाइन हो । गत वर्ष मेस्सी फर्ममा देखिएका थिएनन् । तर अहिले मेस्सी उत्कृष्ट फर्ममा छन् । नेयमार र एमबाप्पे त अहिलेका युवापुस्ताकै एक ढुकढुकी हुन् ।

च्याम्पियन्स लिग जित्ने स्वर्णिम सपना बाँकी नै छ
विश्व फुटबलका उत्कृष्ट सुपरस्टार किनेर धनाढ्य क्लब बनाएको पीएसजीले सजाएको एउटै स्वर्णिम सपना हो, च्याम्पियन्स लिग उपाधि । जसका लागि सन् २०२० एक उत्कृष्ट अवसर थियो ।

तर त्यो उपाधि पेरिस भित्र्याउन सम्भव समय भएन । नेयमार र एमबाप्पे जस्ता युवा सुपरस्टार हुँदा पनि च्याम्पियन्स लिग जित्न नसकेको पीएसजीले अहिले विश्व फुटबलकै सबैभन्दा सफल सुपरस्टार मेस्सीलाई किनेको छ ।

गत वर्ष मेस्सी फर्ममा नहुँदा पीएसजी क्वार्टरफाइनलबाट अगाडि बढ्न सकेन । त्यसअघि सेमिफाइनल हुँदै फाइनलसम्मको यात्रा तय गरेको पीएसजीले अब एउटै सपना फाइनल जितेर च्याम्पियन्स लिग जित्ने छ ।

जसका लागि पीएसजीले पैँसाको खोलो बगाएको छ । फेरि युरोपमा च्याम्पियन्स लिग नजितेसम्म त्यो क्लबलाई सफल र उत्कृष्ट मानिदैन । च्याम्पियन्स लिग युरोपियन क्लबको पनि सबैभन्दा ठूलो सफलता मानक हो । त्यसैले फ्रेन्च लिग वानमा अधिपत्य जमाएको पीएसजीका लागि आधुनिक फूटबलको सबैभन्दा ठूलो र स्वर्णिम सपना भनेकै च्याम्पियन्स लिग जित्नु हो ।

जुन पीएसजीका लागि सम्भव छ । तर कहिलेसम्म ? त्यो पीएसजी व्यवस्थापक र फुटबलका सुपरस्टारको इच्छाशक्ति र प्रदर्शनमा भर पर्नेछ । च्याम्पियन्स लिग जित्न सके मात्रै पनि पीएसजी आफ्नो शताब्दीसम्मको यात्रालाई सार्थक ठान्नेछ ।

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार  ७ : ०५ बजे

कीर्तिपुर मैदानमा नेपाल र वेस्ट इन्डिजको ऐतिहासिक सिरिज आजदेखि

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित

इलाम र बझाङमा आज उपनिर्वाचन हुँदै

काठमाडौं – आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ। इलाम-२ मा

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख १५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान