विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने दिनभरका अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित) | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने दिनभरका अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित)


२७ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 6 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अडियोमा सुन्नुहोस्

आज फागुन २७, २०७८ या अंग्रेजी क्यालेन्डर अनुसार मार्च ११, २०२२। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यस प्रकार रहेका छन् :

रुसी युक्रेनी विदेशमन्त्रीबीच टर्कीमा भेटवार्ता

रुस र युक्रेन युद्धको निकासका लागि भएको दुई देशका विदेशमन्त्रीको भेट असफल भएको छ । टर्कीमा भएको पहिलो चरणको वार्ता बिना सहमति विफल भएको हो । युद्धविराम गर्ने अनुमान गरिए पनि सहमति हुन नसकेको हो ।

रुसी विदेशमन्त्री लाभ्रोभले सैन्य कारबाही योजना अनुसार अगाडि बढेको बताएका छन् । युक्रेनलाई हतियार देखाएर पश्चिमा राष्ट्रले डरलाग्दो व्यवहार गरेको उनको भनाइ छ ।

यता युक्रेनी विदेशमन्त्री दिमित्रो कुबेलाले भने मानवीय सहायतका मुद्दामा समाधान खोज्ने प्रयास भएको बताएका छन् । पुनः भेट गर्ने गरी पहिलो चरणको छलफल सकिएको उनलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

युक्रेनी विदेशमन्त्री कुबेलाले युद्ध अन्त्यका लागि यस्ता भेटलाई जारी राख्ने बताएका हुन् ।

इस्लामिक स्टेट नेता मारिएको संगठनद्वारा पुष्टि

आतङ्कवादी संगठन इस्लामिक स्टेटले आफ्ना नेता मारिएको पुष्टि गरेको छ । गएको महिना अमेरिकाले सिरियामा इस्लामिक स्टेटका नेता अबु इब्राहिम अल हाशिमी अल कुरेशी मारिएको दाबी गरेको थियो ।

आफूलाई इस्लामिक स्टेटका प्रवक्ता बताउने अबु ओमर अल मुहाजिरले अबु इब्राहिम अल कुरेशी र संगठनका प्रवक्ता अबु हम्जा अल कुरेशी ‘हालैका दिनहरुमा’ मारिएको पुष्टि गरेका हुन् ।

उनका संगठनले अनुसार अबु अल हसन अल हाशिमी अल कुरेशीलाई नयाँ नेता चुनेको छ । नयाँ नेताले संगठनको नेतृत्व गर्न स्वीकार गरिसकेको जनाइएको छ ।

इस्लामिक स्टेटका नयाँ नेता को हुन र उनको अरु पहिचान के हो भन्ने अझै स्पष्ट नभइसकेको अल जजिराले जनाएको छ । गत फेब्रुअरी ३ मा ५० सदस्यीय अमेरिकी विशेष सुरक्षा फौजले उत्तरपश्चिमी सिरियाको आट्मेह शहरमा कारवाही गर्दा अबु इब्राहिम मारिएको दाबी गरेको थियो ।

जो बाइडेन एर्दोगान टेलिफोन वार्ता

अमेरिकी राष्ट्रपति जो बाइडेन र टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानबीच टेलिफोन वार्ता भएको छ। सो वार्तामा युक्रेनमा रुसी आक्रमणबारे छलफल भएको जनाइएको छ।

‘राष्ट्रपति बाइडनले आज टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग टेलिफोन वार्ता गर्नुभयो । सो अवसरमा उहाँहरुले रूसको अव्यावहारिक र अनुचित आक्रमणको बारेमा साझा चिन्ता व्यक्त गर्नुभएको छ’ अमेरिकी विदेश मन्त्रालयको विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा दुबै देशले युक्रेनको सरकार र जनताको लागि आफ्नो बलियो समर्थन दोहो-याउँदै रुसी आक्रामणको तत्काल अन्त्यको आवश्यकतालाई जोड दिएका छन् ।

राष्ट्रपति बाइडेनले द्वन्द्वको कूटनीतिक समाधानलाई समर्थन गर्ने टर्कीको प्रयासको साथै शान्ति र स्थायित्वलाई प्रवर्द्धन गर्न मद्दत गर्ने क्षेत्रीय नेताहरूसँग टर्कीको हालैको संलग्नताको लागि प्रशंसा व्यक्त गरेको जनाइएको छ ।

रुस किभमा आक्रमण गर्ने तयारीमा

रुसले युक्रेनको राजधानी किभमा भारी आक्रमण गर्नका लागि हतियार तथा सैनिक उपकरण पुन तैनाथ गरेको खुलेको छ । भू उपग्रहमार्फत् लिइएका तस्बीरको विश्लेषणबाट नयाँ तथ्य पत्ता लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

पछिल्ला २४ घण्टामा भू उपग्रहमार्फत् लिइएका तस्बीरमा रुसले किभको नजिकै रकेट, ट्यांक र अन्य हतियारलाई आक्रमण गर्न तयार अवस्थामा राखेको जनाइएको छ ।

पछिल्लो २४ घण्टामा रुसी फौज उत्तरी दिशाबाट राजधानी किभ भन्दा केबल ५ किलोमिटरको दूरीमा रहेको बिहीबार मात्रै अमेरिकी सैनिक अधिकारीले बताएका थिए । यसबाहेक उत्तरपूर्वी दिशाबाट पनि रुसी फौज किभतर्फ बढिरहेका छन् । यो दिशाबाट हाल रुसका हतियार एवम् सैनिक उपकरण किभभन्दा ४० किलोमिटर टाढा रहेको बीबीसीले जनाएको छ ।

यसअघि रुसी हतियार र बख्तरबन्द गाडीको लस्कर राजधानी नजिकै रोकिन पुगेको थियो । सो लस्करलाई युक्रेनी फौजले एन्टी ट्यांक हतियारद्वारा आक्रमण गरेको थियो । बिहीबार नै सार्वजनिक भिडियोमा किभ नजिकैको ब्रोभारी शहरमा युक्रेनी फौजले रुसी सैनिक लस्करमाथी आक्रमण गरेको देखिएको थियो ।

अहिले भने किभको उत्तरी क्षेत्रमा रुसी सैनिक आक्रमणका लागि तयार अवस्थामा रहेको बताइएको छ । यद्यपि आक्रमण गर्न तयारी अवस्थामा रहेका हतियार र सैनिक उपकरणको परिमाणबारे केही खुलाइएको छैन ।

भूकम्प र सुनामीमा मारिएकाहरुको सम्झनामा जापानमा प्रार्थाना

फुकुसिमा दाइची आणविक केन्द्रमै क्षति पु¥याउने गरी जापानमा सुनामी आएको ११ वर्ष पूरा भएको छ । यो अवसरमा जापानको उत्तरपूर्वी क्षेत्रमा मानिसहरुले प्रार्थाना गरेका छन् ।

उत्तरपूर्वी जापानमा ११ मार्च, २०११ मा गएको ९ म्याग्निच्युडको भूकम्प अहिलेसम्म रेकर्ड गरिएका सबैभन्दा शक्तिशाली मध्ये एक थियो । स्थानीय समयानुसार शुक्रबार २ः४६ अपराह्नमा सो विनासकारी भूकम्प र सुनामीमा ज्यान गुमाएका व्यक्तिहरुप्रति सम्झना स्वरुपमा एक मिनेटको मौन धारण गरिएको हो ।

जापानका टेलिभिजन च्यानलहरुले विशाल समुद्री पर्खालहरूको छेउमा उभिएका विद्यार्थीहरूले आशाको सन्देशसहित चङ्गा उडाउँदै मानिसहरूले समुद्रतिर फर्केर प्रार्थना गरिरहेको प्रत्यक्ष प्रसारण गरेका छन् ।

उक्त भूकम्प र सुनामीका कारण १८ हजार ५०० जना मारिएको वा बेपत्ता भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सुनामीले ध्वस्त पारेको तोहोकु क्षेत्रमा, मानिसहरु बिहानै तटमा प्रार्थना गर्न भेला भएका थिए । स्थानीय टिभीले फुकुशिमाको नामी क्षेत्रमा अझै हराइरहेका मानिसहरूको वार्षिक खोजी गरिरहेको देखाएको छ ।

सुनामीमा आफ्नी बहिनी, ज्वाई र भतिजा गुमाएका माछा मार्ने सदाओ कोनले यो दिन मनाउनबाट बच्न प्रयास गरेको बताए । ‘मेरो आफन्त मात्र मारिएनन्, मैले फायर ब्रिगेडमा काम गर्ने क्रममा धेरै पीडितहरू पनि देखें’ उनले भने ।

सुडानको राजनीतिक अवस्थाप्रति राष्ट्रसंघ र अफ्रिकी युनियनको चिन्ता

संयुक्त राष्ट्रसंघ र अफ्रिकी युनियनले सुडानमा विकसित परिस्थितिप्रति ध्यानाकर्षण भएको भन्दै यसका लागि सबै संयमित हुनुपर्ने बताएका छन् ।

संयुक्त राष्ट्रसंघ र अफ्रिकी युनियनले सुडानमा पछिल्ला दिनमा विकसित हुँदै गएको राजनीतिक विकासक्रमले कसैलाई पनि फाइदा नपुग्ने भन्दै त्यहाँका राजनीतिक दलहरुले शान्तिपूर्ण माध्यमबाट सबै समस्याको समाधान खोज्न आग्रह गरेका छन् ।

ती दुई संगठनले सुडानका सबै राजनीतिक दल तथा द्वन्द्वरत सबै पक्षलाई वार्ता थाल्न आग्रह गरेका हुन् । सुडानको खार्तुममा संयुक्त पत्रकार सम्मेलन गरेर संयुक्त राष्ट्रसंघ र अफ्रिकी युनियन सुडानका विशेष दूतले सुडानलाई सो आग्रह गरेका हुन् ।

उनीहरुले पछिल्लो समयमा सुडानमा राजनीतिक हिंसा बढ्दै गएको र यसको समाधानका लागि द्वन्द्वत सबै पक्ष वार्ताका बसेर निकास निकाल्नुपर्ने भन्दै आग्रह गरेका हुन् ।

पश्चिमी युक्रेनमा रुसको हमला

रुसले युक्रेनको पश्चिमी क्षेत्रमा आक्रमण गरेको छ । रुसले पश्चिमी युक्रेनका शहरहरू इभानोफ्राङ्किभ्स्क र लुत्स्कका विमानस्थललाई लक्षित गरी हवाई आक्रमण गरेको स्थानीय अधिकारीले जनाएका छन् ।

इभानोफ्राङ्किभ्स शहरका मेयर रुस्लान मात्र्सिनकिभले शहरका बासिन्दाहरूलाई हवाई आक्रमणबाट बच्न सुरक्षित स्थानमा जान निर्देशन दिएका छन् । त्यस्तै, लुत्स्क शहरका मेयरले पनि त्यहाँ रहेको विमानस्थलमा रुसी फौजले आक्रमण गरेको जनाएका छन् ।

यी शहरहरु रुसी फौजले हाल आक्रमण गरिरहेको क्षेत्रभन्दा धेरै टाढा पश्चिमी दिशामा रहेको समाचार संस्था एपीले जनाएको छ । यससँगै रुसले युद्धमा नयाँ दिशामा मोर्चा खोल्न लागेको हुनसक्ने जनाइएको छ ।

युक्रेनमाथि आक्रमण गरेपछि विभिन्न मुलुकहरुले नाकाबन्दी लगाएसँगै रुसमाथि आर्थिक दबाब बढ्दै गइरहेको छ । यद्यपि आर्थिक दबाबको बेवास्ता गर्दै रुसले युक्रेनमा आक्रमण जारी नै राखेको छ ।

भारतीय क्षेप्यास्त्र पाकिस्तानमा खस्यो

पाकिस्तानी सेनाले आफ्नो भूमिमा भारतीय क्षेप्यास्त्र खसेको दाबी गरेको छ । पाकिस्तानी सेनाको इन्टर सर्भिस पब्लिक रिलेसन आईएसपीआरका निर्देशक मेजर जनरल बाबर इफ्तेकारले साँझ ‘तीब्र गतिमा उडिरहेको वस्तु’ पाकिस्तानी भूमिमा खसेको जनाएका हुन् ।
उनले यसबाट कुनै मानवीय वा भौतिक क्षति नभएको बताए ।

यद्यपि यसबाट एउटा पर्खालमा भने सामान्य क्षति पुगेको उनको भनाइ छ ।रुसी समाचार एजेन्सीले पाकिस्तानी सशस्त्र सेनाका प्रवक्तालाई उद्धृत गर्दै बताएअनुसार सो क्षेप्यास्त्रले आफ्नो प्रारम्भिक मार्गबाट अचानक पाकिस्तानी क्षेत्र तर्फ उडेको र पाकिस्तानको एयर स्पेस उल्लङ्घन गरेको थियो ।

स्पुतनिक समाचार एजेन्सीले भारतको हरियाणा राज्यको सिरसा शहर नजिकको इलाकाबाट प्रक्षेपण गरिएको सो क्षेप्यास्त्र पाकिस्तानको पञ्जाब प्रान्तको मियाँ चान्नु शहर नजिकै पाकिस्तानी वायुसेनाले भेटेको बताएको छ।

यस क्षेप्यास्त्र ४० हजार फिटको उचाइमा उडान लिएको र नागरिक उड्यनलाई खतरामा पारेको पाकिस्तानी पक्षको आरोप छ । यद्यपि भारतीय रक्षा मन्त्रालय वा सेनाले भने घटनाबारे कुनै टिप्पणी गरेको छैन ।

फेसबुकले पुटिनविरुद्ध हिंसात्मक कमेन्टलाई बन्द नगर्ने

फेसबुक र इन्स्टाग्रामको माउ कम्पनी मेटाले केही देशका प्रयोगकर्तालाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र रुसी फौजबारे हिंसात्मक टिप्पणी गर्न छुट दिने भएको छ । मेटाका प्रवक्तालाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार फेसबुकमा आइन्दा ‘भ्लादिमिर पुटिन मुर्दावाद’ वा ‘रुसी सेना मुर्दावाद’ जस्ता टिप्पणी गर्न छुट दिइनेछ ।

युक्रेनमा जारी आक्रमणलाई मध्यनजर गर्दै युद्धबाट प्रभावितहरुलाई हामीले हिंसात्मक भावना व्यक्त गर्ने अस्थायी छुट दिएका छौं’ मेटाका प्रवक्तलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ ।

प्रायः यस्ता टिप्पणीलाई फेसबुकले आफ्नो कम्युनिटी पोलिसीविरुद्ध जाने भन्दै हटाउँदै आएको थियो । यसअघि समाचार संस्था रोयटर्सले कम्पनीले पठाएको गोप्य इमेललाई उद्धृत गर्दै फेसबुकको कमेन्ट पोलिसीमा परिवर्तन आउन लागेको जनाएको थियो ।

यद्यपि सर्वसाधारण रुसी जनतालाई लक्षित गरी यस्तो किसिमका कमेन्ट गर्न नपाइने जनाइएको छ । यता रुसले भने अमेरिकालाई फेसबुकको ‘अतिवादी गतिविधि’ बन्द गर्न चेतावनी दिएको थियो ।

गत सातामात्रै रुसले आफ्नो मुलुकमाथि भेदभाव गरेको भन्दै फेसबुकलाई प्रतिबन्ध लगाएको घोषणा गरेको थियो ।

उत्तर कोरियाली ब्यालेष्टिक क्षेप्यास्त्र परीक्षण गरेको अमेरिकी दाबी

उत्तर कोरियाले अन्तरमहादेशीय ब्लालेस्टिक क्षेप्यास्त्र प्रणाली परीक्षण गरेको अमेरिकाले दाबी गरेको छ । अमेरिकी रक्षामन्त्रालय पेन्टागनका प्रवक्ता जोन किरबीले उत्तर कोरियाले हालै उत्तर कोरियाले परीक्षण गरेका दुई हतियारमा नयाँ अन्तरमहादेशीय ब्यालेष्टिक क्षेप्यास्त्र प्रणालीको भाग’ पनि समावेश रहेको जनाएका हुन् ।

उत्तर कोरियाले गत फेब्रुअरी २६ र मार्च ४ मा परीक्षण गरेको थियो । उत्तर कोरियाले जासुसी भू उपग्रहका लागि ती परीक्षण गरिएको दाबी गरेको थियो ।

यद्यपि पेन्टागनले भने पूर्णस्तरको अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षण गर्नुपूर्व उत्तर कोरियाले उक्त क्षेप्यास्त्र प्रणालीको केही भाग परीक्षण गरेको जनाएको छ ।

दुबै परीक्षणले कुनै किसिमको अन्तरमहादेशीय क्षेप्यास्त्रजस्तो क्षमता नदेखाएपनि पूर्णस्तरको क्षेप्यास्त्र परीक्षण गर्नु अघि क्षेप्यास्त्र प्रणालीको मूल्यांकन गर्न ती परीक्षण गरिएको पेन्टागनको दाबी छ ।

रुसले युक्रेनी आक्रमणमा विदेशी स्वयंसेवी लडाकुलाई पनि परिचालन गर्ने

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा जारी रुसी आक्रमणमा युक्रेनी फौजविरुद्ध रुसको पक्षमा विदेशी स्वयंसेवी खटाउन आह्वान गरेका छन् । रुसको सुरक्षा समितिको बैठकमा बोल्दै राष्ट्रपति पुटिनले रुसको पक्षमा लड्न चाहने विदेशी स्वयंसेवीलाई त्यसो गर्न दिइनुपर्ने जनाएका हुन् ।

‘पैसाका लागि नभई आफ्नै स्वेच्छाले डोनबासका जनतालाई सहयोग गर्न चाहनेलाई त्यसो गर्न दिइनुपर्छ र द्वन्द्वग्रस्त क्षेत्रमा आउन दिनुपर्छ ।’ पुटिनको भनाइ उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

रुसी रक्षामन्त्री सर्गेई सोइगुले मध्यपूर्वी मुलुकहरुमा रुसको पक्षमा लड्न १६ हजार स्वयंसेवी तयार रहेको बताएका छन् । अमेरिकी अधिकारीहरुले भने सोइगुले भनेका स्वयंसेवीहरुमा सिरियामा शहरी युद्धमा निपुण केही लडाकुहरु पनि रहेको बताएका छन् ।

सोइगुले रुसी फौजले युक्रेनी फौजबाट बरामद गरेको अत्याधुनिक एन्टी ट्यांक क्षेप्यास्त्रहरु डोनबास क्षेत्रमा सक्रिय लडाकुलाई उपलब्ध गराउने प्रस्ताव पनि गरेको जनाइएको छ । सोइगुको यो प्रस्ताव पनि पुटिनले स्वीकार गरेको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  ८ : ०४ बजे

गिरीबन्धु प्रकरण : बालेन्द्रले सूची सार्वजनिक गर्दै भने- ५० खर्बको खेलोफड्को छ

बालेन्द्र शाह फाइल फाेटाे काठमाडौं- महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले झापाको

प्रधानमन्त्री प्रचण्डले पाए चौथो पटक विश्वासको मत

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चौथो पटक विश्वासको मत पाएका

नयाँ शक्तिको भ्रष्ट चरित्र नाङ्गियो : चित्रबहादुर केसी

काठमाडौं- राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सहकारी ठगी प्रकरणमा गृहमन्त्री

मकैमा फौजी कीरा र फलफूलमा औँसाको संक्रमण, किसान चिन्तित 

गलेश्वर– लामो समयको खडेरीपछि परेको लगातारको वर्षाका कारण म्याग्दीमा लगाइएको

कांग्रेसको आरोप : सरकार सहकारी ठगहरू जोगाउन लाग्यो, सभामुख मतियार बने

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकार सहकारीका ठगहरू जोगाउन संसदीय