विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने दिनभरका अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित) | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने दिनभरका अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित)


२५ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अडियो सुन्नुहोस्:

 आज चैत्र २५, २०७८ या अंग्रेजी क्यालेन्डर अनुसार अप्रिल ८, २०२२। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् :

पूर्वी युक्रेनमा रुसी क्षेप्यास्त्र हमलामा ३० जनाभन्दा धेरैको मृत्यु

पूर्वी युक्रेनको क्रामातोस्रक शहरमा रुसी फौजले क्षेप्यास्त्र आक्रमण गर्दा ३० जनाभन्दा धेरैको मृत्यु भएको छ । युक्रेनको राज्य सञ्चालित रेल कम्पनीले दिएको जानकारी अनुसार आक्रमणमा अरु १ सय भन्दा धेरै घाइते भएका छन् ।

रुसी फौजले रेल स्टेशनलाई लक्षित गरी दुई क्षेप्यास्त्र प्रहार गरेको युक्रेनी रेल सेवाका प्रमुख ओलेक्सान्डर कामिशिनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । क्रामातोस्र्क रेल स्टेशन पूर्वी युक्रेनमा अझै पनि सञ्चालित थोरै स्टेशन मध्येको एक रहेको जनाइएको छ ।

युक्रेनको डोनेत्स्क क्षेत्रका गभर्नर पाभ्लो किरिलेन्कोले सामाजिक सञ्जाल टेलिग्राम मार्फत् आक्रमणबारे जानकारी दिँदै शहरबाट भागेर सुरक्षित स्थानमा जानका लागि हजारौँ मानिसहरु भेला भएको बेलामा आक्रमण भएको जनाएका छन् ।

युक्रेनमा रुसी फौजले उल्लेखनीय हताहती व्यहोरेको रुसको स्वीकारोक्ति

युक्रेनमा जारी आक्रमणका क्रममा रुसी फौजले उल्लेखनीय हताहति व्यहोरेको रुसी प्रशासन क्रेमलिनले स्वीकार गरेको छ ।

बेलायती टेलिभिजन स्काई न्युजलाई दिएको अन्तरवार्तामा क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले युक्रेनमा जारी रुसी आक्रमणमा ‘उल्लेखनीय मात्रामा सैनिक गुमाएको’ स्वीकार गरेका हुन् ।

उनले यो क्षति ‘हाम्रा लागि ठूलो दुःखद घटना’ रहेको समेत बताए । आगामी दिनहरूमा रुसले युक्रेनमा सैनिक उद्देश्य प्राप्त गरेरै छाड्ने पनि उनको दृढता छ ।

उनले रुसी फौज पछि हटेसँगै युक्रेनी राजधानी किभ नजिकै रहेको बुचा शहरमा फेला परेका गैर सैनिकको आम हत्या तथा युद्ध अपराध घटनामा रुसी सैनिक जिम्मेवार नरहेको समेत बताए ।

सो क्षेत्रमा मारिएका गैरसैनिकका भिडियो र तस्वीरहरू मञ्चन गरिएको भन्दै उनले भने, ‘हामी दुष्प्रचार र झूठका दिनहरूमा बाँचिरहेका छौँ ।’ क्रेमलिनले रुसले भन्ने गरेको ‘युक्रेनमा विशेष सैनिक कारवाही’ मा आफ्नो तर्फबाट न्यून मात्रै क्षति भएको बताउने गरेको थियो ।

यद्यपि पेस्कोभको पछिल्लो स्वीकारोक्तिले युक्रेनमा जारी आक्रमणका कारण रुसी फौजले भारी मात्रामा क्षति व्यहोरेको युक्रेनी दाबीलाई बल पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

अष्ट्रेलियाद्वारा युक्रेनलाई बख्तरबन्द गाडी सहयोग

रुसी आक्रमणको सामना गरिरहेको युक्रेनलाई अष्ट्रेलियाले सैनिक बख्तरबन्द गाडी प्रदान गरेको छ । गत साता युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सैनिक सहयोग गर्न आग्रह गरेको जवाफमा अष्ट्रेलियाले २० बख्तरबन्द गाडी सहयोग गर्न लागेको हो ।

३० मध्ये ३ बुशमास्टर गाडी युक्रेन जाने क्रममा रहेको बीबीसीले जनाएको छ । यी सैनिक सवारी साधनलाई युरोपको अज्ञात स्थलबाट युक्रेनतर्फ आपूर्ति गरिने जनाइएको छ ।

युद्धमैदानमा सैनिक एवम् गैरसैनिक सर्वसाधारणलाई यताउता लैजान उच्च सुरक्षा व्यवस्था भएको बुशमास्टर गाडीले सहयोग गर्ने बीबीसीले जनाएको छ ।

हालसम्म अष्ट्रेलियाले युक्रेनका लागि १९ करोड अष्ट्रेलियन डलर बराबरका सैनिक एवम् मानवीय सहायताको घोषणा गरेको छ भने धेरै रुसी नागरिकमाथि प्रतिबन्धको घोषणा गरेको छ । त्यस्तै, रुसी तेल आयातमा पनि अष्ट्रेलियाले कटौती गर्ने घोषणा गरेको छ ।

गत साता जेलेन्स्कीले अष्ट्रेलियाको संसद्लाई सम्बोधन गर्दै अष्ट्रेलियालाई सहयोगका लागि धन्यवाद दिएका थिए । जवाफमा अष्ट्रेलियन प्रधानमन्त्री स्कट मोरिसनले रुसी आक्रमणविरुद्ध अष्ट्रेलियन जनता युक्रेनको साथमा रहेको बताएका थिए ।

श्रीलंकामा सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने विपक्षीको चेतावनी

चरम आर्थिक संकट एवम् अत्यावश्यक वस्तुको अभावसँगै हिंसात्मक प्रदर्शन खेपिरहेको श्रीलंकामा विपक्षी दलले सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने चेतावनी दिएका छन् ।

श्रीलंकाको मुख्य विपक्षी दल समागी जन बलवेगया पार्टीका प्रमुख सजिथ प्रेमदासाले सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने चेतावनी दिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

उनले सरकारले मुलुकमा जारी संकट समाधान गर्नका लागि उपयुक्त कदम नचालेको खण्डमा सरकारविरुद्ध संसद्मा अविश्वासको प्रस्ताव ल्याउने बताएका हुन् ।

केही दिन अघिमात्रै श्रीलंकाको सरकारलाई समर्थन गर्ने ४१ जना सांसदले सत्तारुढ गठबन्धन परित्याग गरेसँगै त्यहाँ सरकारको बहुमत गुमेको बताइएको छ ।

श्रीलंकामा जारी संकटका क्रममा हिंसात्मक सरकार विरोधी प्रदर्शन भइरहेका छन् । विपक्षीहरुले राष्ट्रपति गोताबाया राजपाक्षेलाई राजीनामा दिन आह्वान गर्दै आएका छन् । यद्यपि राष्ट्रपति राजपाक्षेले भने आफूले कुनै पनि हालतमा राजीनामा नदिने अडान लिँदै आएका छन् ।

केही दिनअघिमात्रै त्यहाँ २६ मन्त्रीहरुले सामूहिक राजीनामा दिएका थिए ।

अमेरिकी सर्वोच्चमा प्रथम अश्वेत महिला न्यायाधीश नियुक्त

केटान्जी ब्राउन ज्याक्सन अमेरिकी सर्वोच्च अदालतमा सेवा गर्ने प्रथम अश्वेत महिला बनेकी छिन् ।

अमेरिकाको माथिल्लो सदन सिनेटले उनलाई सर्वोच्च अदालतमा नियुक्त गर्ने राष्ट्रपति जो बाइडेनको प्रस्ताव पारित गरेसँगै उनी अमेरिकी इतिहासमै सर्वोच्च अदालतमा सेवा गर्ने प्रथम अश्वेत महिला बनेकी हुन् ।

उनलाई न्यायाधीश बनाउने प्रस्तावमा भएको ऐतिहासिक मतदानमा ५३ सिनेटरले उनको पक्षमा तथा ४७ सिनेटरले उनको विपक्षमा मतदान गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

अधिकांश रिपब्लिकन सिनेटरले उनको विपक्षमा मतदान गरेपनि मेइन राज्यको प्रतिनिधित्व गर्ने सिनेटर सुजन कोलिन्स, अलास्का राज्यकी रिपब्लिकन सिनेटर लिसा मुर्कोवोस्की र उटा राज्यका सिनेटर मिट रोम्नीले उनको पक्षमा मत दिएको न्यू योर्क टाइम्सले जनाएको छ ।

यससँगै ५१ वर्षीया ज्याक्सन सर्वोच्च अदालतमा सेवा गर्ने प्रथम अश्वेत महिला मात्रै नभएर समग्रमा तेश्रो अश्वेत अमेरिकी बन्न पुगेको जनाइएको छ ।

कंगोको रेष्टुरेन्टमा विस्फोट हुँदा ८ जनाको मृत्यु

प्रजातान्त्रिक गणतन्त्र कंगोको एक रेष्टुरेन्टमा भएको विस्फोटमा ८ जनाको मृत्यु भएको छ ।

कंगोको उत्तरी किभु प्रान्तको एक रेष्टुरेन्टको बारमा सो विस्फोट भएको थियो । सैनिक क्याम्प छेउमा रहेको रेष्टुरेन्टमा विस्फोट भएकाले आक्रमणको निशानामा सैनिकहरु रहेको हुनसक्ने जनाइएको छ ।

सो विस्फोटमा परेर अरु १५ जना घाइते भएको समाचार संस्था एएफपीले जनाएको छ । घाइतेहरुमध्ये अधिकांशको अवस्था गम्भीर रहेको पनि बताइएको छ । सो विस्फोटका कारण रेष्टुरेन्टमा पनि ठूलो क्षति पुगेको छ ।

कंगोका सञ्चार तथा मिडिया मन्त्री प्याट्रिक मुइयाले सो जानकारी दिएका छन् । उनले भने– ‘घाइतेहरुको अवस्था गम्भीर छ, विस्फोटका बारेमा हामीले अनुसन्धान गरिरहेका छौँ ।’

सो विस्फोट कसले र किन गराएको हो भन्ने बारेमा अहिले नै केही पत्ता नलागेको उनले बताए ।

इजरायलमा भएको गोलीकाण्डमा दुई जनाको मृत्यु

इजरायलमा भएको गोलीकाण्डमा कम्तीमा दुई जनाको मृत्यु भएको छ । इजरायलको तेल अभिभ शहरमा भएको गोलीकाण्डमा अरु १२ जना घाइते भएका छन् ।

एकजना बन्दुकधारीले तेल अभिभ शहरको व्यस्त दिजेङ्गोफ सडकमा रहेको एउटा बारमा आक्रमण गरेका थिए । जथाभावी गोली प्रहार गरी फरार भएका उनलाई खोज्न १ हजार सुरक्षाकर्मी परिचालन गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

बीबीसीका अनुसार उनलाई पछि सुरक्षाकर्मीले घटनास्थलबाट ६ किलोमिटर टाढा एउटा मस्जिदमा लुकेर बसेको अवस्थामा फेला पारेका थिए । सुरक्षाकर्मीको कारवाहीमा बन्दुकधारी मारिएको बीबीसीले जनाएको छ ।

बन्दुकधारी इजरायली अधिनस्थ प्यालेस्टाइनको जेनिन शहरका बासिन्दा २९ वर्षे राद हाजेम रहेको इजरायली प्रहरीले जनाएको छ ।

पछिल्ला केही समययता इजरायलमा यस्ता आक्रमणको घटनामा वृद्धि भएको बीबीसीले जनाएको छ । पछिल्ला केही सातायता जारी यस्ता आक्रमणमा हालसम्म १३ जनाको मृत्यु भइसकेको छ ।

युक्रेनमा रुसी आक्रमणका कारण विश्वभर मूल्य वृद्धि भएको एफएओको भनाइ

रुसले युक्रेनमा आक्रमण गरेपछि सुरु भएको युद्धका कारण विश्व बजारमा खाद्य पदार्थको मूल्य बढेर अहिलेसम्मकै सबैभन्दा धेरै भएको छ ।

संयुक्त राष्ट्रसंघ अन्तर्गतको खाद्य तथा कृषि संगठन एफएओले शुक्रबार दिएको जानकारीअनुसार अन्न, तरकारी, इन्धनलगायतका पदार्थको मूल्य अत्यधिक धेरै भएको हो ।

रुसले गत फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण सुरु गरेको र अहिले पनि युद्ध भइरहेकोले मार्च महिनामा त्यसको असर अत्यन्त धेरै देखिएको राष्ट्रसंघीय अधिकारीहरूले जनाएका छन् ।

अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीका अनुसार युद्धका कारण अन्तर्राष्ट्रिय क्षेत्रमै पेट्रोलियम पदार्थको मूल्यमा असर परेकाले त्यसको असर खाद्य पदार्थमा पनि परेको बताइएको छ । 

युद्ध नरोकिएमा यो क्रम निरन्तर बढ्दै जाने र सबैभन्दा बढी मर्का न्यून आय भएका मानिसलाई पर्ने भन्दै राष्ट्रसंघले चिन्ता पनि व्यक्त गरेको छ । राष्ट्रसंघले तत्काल युद्ध अन्त्य गरी वार्तामार्फत विवाद समाधान गर्न दुवै पक्षलाई पटक पटक आग्रह पनि गर्दै आएको छ ।

कुख्यात जापानी आपराधिक गिरोहका नाइके पक्राउ

कुख्यात जापानी आपराधिक गिरोह याकुजाका नाइकेलाई पक्राउ गरेको छ । हेरोइन र मेथाम्फेटामाइन लागूऔषधको तस्करी एवम् श्रीलंका र म्यानमारमा सक्रिय विद्रोहीलाई अमेरिकामा निर्मित विमानभेदी क्षेप्यास्त्र आपूर्ति गर्न लागेको आरोपमा ताकेशी एबिसावालाई अमेरिकाको न्यूयोर्क शहरबाट पक्राउ गरिएको अमेरिकी न्याय मन्त्रालयले जनाएको छ ।

उनसँगै तीन थाई नागरिकलाई पनि पक्राउ गरिएको जनाइएको छ । पक्राउ पर्ने थाई नागरिकमा सोम्पक रुक्रसरानी, सोम्फोब सिंघसिरी र सुक्सन जुल्लानन रहेको बताइएको छ । उनीहरूमाथि लागू औषध तथा हतियार तस्करी र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरिएको अमेरिकी सञ्चार माध्यमले जनाएका छन् ।

‘लागूऔषध न्यूयोर्कका सडकमा ल्याउन लागिएको थियो भने हतियारको आपूर्ति अस्थिर मुलुकहरूका लागि थियो ।’ न्यू योर्कको दक्षिणी जिल्लाका अभियोजनकर्ता डामियन विलियम्सले विज्ञप्तिमार्फत जानकारी दिए, ‘यो आपराधिक गिरोहका सदस्यहरूले अब मानिसहरूको जीवन खतरामा पार्न सक्ने छैनन् ।’

उनीहरूमाथि सन् २०१९ यता अमेरिकी लागूऔषध कार्यान्वयन प्रशासन (डीईए) ले थाइल्याण्डमा अनुसन्धान गरिरहेका थिए । उनीहरूले चीनसँग सीमा जोडिएको म्यान्मारका युनाइटेड वा स्टेट आर्मी नामक समूहबाट लागूऔषध खरिद गरी डीईएका जासुसलाई बेच्ने प्रयास गरेको जनाइएको छ ।

एबिसावाले म्यान्मारकै युनाइटेड वा स्टेट आर्मी, करेन नेशनल युनियन र शान स्टेट आर्मीलाई जमिनबाट आकाशमा मार हान्ने सक्ने हतियार बेच्ने योजना बनाएको अमेरिकी टेलिभिजन च्यानल सीएनएनले जनाएको छ ।

उनले श्रीलंकाका लिबरेसन टाइगर्स अफ तालिम एलम (लिट्टे) का लागि पनि हतियार खरिद गर्ने योजनामा रहेको बताइएको छ ।

मुरातोभमाथि रातो रङ्ग प्रहार

रुसमा नोबेल शान्ति पुरस्कार विजेता सम्पादकलाई लक्षित गरी रातो रङ्ग प्रहार गरिएको छ ।

रुसी प्रशासन क्रेमलिनको आलोचक रुसी उदारवादी पत्रिका नोभाया गजेटाका सम्पादक एवम् अघिल्लो वर्ष नोबेल शान्ति पुरस्कार जितेका दिमित्री मुरातोभलाई लक्षित गरी रातो रङ्ग छ्यापिएको हो ।

उनीमाथि छ्यापिएको रङ्गमा एसिटोन नामक प्रज्वलनशील पदार्थ समेत मिसाइएको बीबीसीले जनाएको छ ।

राजधानी मस्को र सामरा शहरबीचको रेलमार्गमा घटना भएको हो । ‘मेरो आँखा बेस्सरी पोलिरहेको छ ।’ मुरातोभलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । आक्रमण गर्ने क्रममा एकजना पुरुष आक्रमणकारीले ‘मुरातोभ, यो हाम्रा केटाहरूको तर्फबाट’ भनेर चिच्याएको सम्पादकले जनाएका छन् ।

रङ्ग आक्रमणपछिका तस्वीरहरू उक्त अखबारले सामाजिक सञ्जाल टेलिग्राममार्फत सार्वजानिक गरेको छ । गत महिनामात्र उक्त अखबारले छापा र अनलाइन गतिविधि ‘युक्रेनमा रुसी विशेष सैनिक कारवाही नसकिँदासम्म’ बन्द गरिने जनाएको थियो ।

रुसी मिडिया नियामक रोस्कोम्नाद्जोरले युक्रेनमा जारी रुसी सैनिक गतिविधिलाई ‘युद्ध’ वा ‘आक्रमण’ भनी पुकार्न प्रतिबन्ध लगाइएका कारण त्यहाँका मिडियाहरूले यसलाई ‘विशेष सैनिक कारवाही’ भन्दै आएका छन् ।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  ८ : ०५ बजे

बस दुर्घटनामा घाइते भएका सहचालकको मृत्यु

गुल्मी – गुल्मीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको

नेपालद्वारा भोलक्यानोजलाई १८० रनको लक्ष्य

काठमाडौं – विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो

संसद्को तनावले झन् बढ्यो सत्तापक्ष र प्रतिपक्षबीच दूरी

काठमाडाैं-  सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोप लागेका उपप्रधान तथा

जयनगर–जनकपुर–भङ्गहा रेल सेवा तीन दिन बन्द हुने

जलेश्वर – भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि

राष्ट्रिय खुल्ला हाफ म्याराथनको उपाधि राजन रोक्कालाई

काठमाडौं – राष्ट्रिय खुल्ला हाफ म्याराथन तथा रोड रेस प्रतियोगिताको