दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने मुख्य समाचारहरू (अडियाेसहित) | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने मुख्य समाचारहरू (अडियाेसहित)


२१ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज दिनभर  बाल यौनदुरुपयोगमा पल शाह दोषी ठहर,प्रधानमन्त्रीसँग भारतीय सेनाध्यक्षको शिष्टाचार भेट, प्रतिनिधिसभाबाट केही नेपाल ऐन संशोधन गर्ने विधेयक पारित, डेङ्गु नियन्त्रण गर्न सांसदहरुको ध्यानाकर्षण, भोलीसम्म सिट बाँडफाँट टुंगो लाग्ने प्रचण्डको दावी, साफ महिला च्याम्पियनशिपमा नेपालको विजयी सुरुवात लगायतका समाचारले प्रमुख स्थान पाए ।

यी हुन् आज दिनभरका मुख्य समाचारहरू:

बाल यौनदुरुपयोगमा पल शाह दोषी ठहर

नवलपुर जिल्ला अदालतले बाल यौनदुरुपयोग आरोपित पल शाहलाई अढाई वर्ष जेल सजाय तोकेको छ ।

न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले मंगलबार शाहलाई अढाई वर्ष जेल सजाय र १० लाख क्षतिपूर्ति दिनुपर्ने फैसला गरेका हुन् । अदालतले २५ हजार जरिवाना र १० लाख क्षतिपूर्तिको सजाय सुनाएको हो ।

एक नाबालिग गायिकाले बलात्कार सम्बन्धी उजुरी गरेपछि शाह मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका छन् । शाहविरुद्ध नवलपुर र तनहुँमा गरी दुई ठाउँमा उजुरी परेको थियो ।

प्रधानमन्त्रीसँग भारतीय सेनाध्यक्षको शिष्टाचार भेट
प्रधानमन्त्री शेरबहादुर देउवासँग भारतीयस्थल सेनाध्यक्ष जनरल मनोज पाण्डेले शिष्टाचार भेट गरेका छन् ।

प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा आइतबार नेपालको औपचारिक भ्रमणमा रहेका सेनाध्यक्ष जनरल मनोज पाण्डेले आज प्रधानमन्त्री देउवासँग सिंहदरबारमा शिष्टाचार भेटघाट गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए ।

यसअघि उनले आज शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गरी उक्त कलेजको वस्तुस्थितिलगायतका विविध पक्षबारे जानकारी दिएको जनाइएको छ । जनरल पाण्डेले भोली मुस्ताङमा मुक्तिनाथ मन्दिरको दर्शन गरी पोखरास्थित नेपाली सेनाको मध्य कमाण्ड हेर्डक्वाटरको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

प्रतिनिधिसभाबाट केही नेपाल ऐन संशोधन गर्ने विधेयक पारित

प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकालको व्यवस्थालाई हटाएर ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९’ पारित भएको छ । आज बसेको प्रतिनिधिसभा बैठकले बहुमतले उक्त विधेयकलाई पारित गरेको हो ।

बिधेयकमा रहेको कार्यकालसम्बन्धी प्रस्तावमा सांसदहरुले विरोध गर्दै संशोधन प्रस्ताव हालेका थिए । त्यसमा कानुन मन्त्री गोविन्द शर्मा कोइरालाले संशोधन प्रस्ताव स्वीकार गरेका थिए ।

त्यसअघि बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदै कानूनमन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले संविधानको व्यवस्थाअनुसार नै प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकालका सम्बन्धमा व्यवस्था गर्न खोजिएको बताए । उनले कार्यकालका सम्बन्धमा अनावश्यक राजनीति गरिएको भन्दै कानूनी रिक्तता र अभाव परिपूर्ति गर्ने सोचका साथ प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकालको प्रबन्ध गर्न खोजिएको धारणा राखे ।

कारागार विधेयक २०७९ पारित
राष्ट्रियसभा बैठकमा कारागार विधेयक २०७९ पारित भएको छ । आज बसेको बेठकमा गृहमन्त्री बालकृष्ण खाँणले प्रस्तुत गर्नुभएको प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त कारागार विधेयक २०७९ बहुमतले पारित भएको राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सेनाले घोषणा गरेका हुन् ।

त्यस्तै बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले प्रस्तुत गरेको शहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक २०७६ लाई प्रतिनिधिसभाबाट भएको संशोधन स्वीकार सहित पुन पारित गरियोस भन्ने प्रस्ताव पनि पारित भएको छ ।

त्यसैगरी, राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बीमा विधेयक, २०७५ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुभएको उक्त विधेयकलाई बैठकले सर्वसम्मत स्वीकृत गरेको हो ।

डेङ्गु नियन्त्रण गर्न सांसदहरुको ध्यानाकर्षण
राष्ट्रियसभाका सांसदहरुले मुलुकको समसामयिक विषयमाथि सरकारको ध्यानाकर्षण गराउदै डेङ्गु नियन्त्रण गर्नुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले आगामी निर्वाचनमा महिला उम्मेदवारको प्रतिनिधित्व बढाउन, डेङ्गु रोग नियन्त्रण, अव्यवस्थित अवस्थामा रहेका सवारी साधनको व्यवस्थापनलगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सांसद अनिता देवकोटाले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा संविधानको मर्म र भावनालाई ध्यानमा राखी प्रत्यक्षतर्फ महिलालाई उम्मेदवार बढाउन सम्बन्धित सबै राजनीतिक दललाई अनुरोध गरिन् ।

उनले डेङ्गु नियन्त्रणलाई लामखुट्टेको लार्भा नाश गर्ने कीटनाशक औषधि छर्कन र सचेतनाका लागि यथाशीघ्र प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराइन्। सांसद दिलकुमारी रावल थापाले देशभर करिब ३६ हजार सङ्ख्यामा सरकारी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारी विभिन्न माग राखी लामो समयदेखि सङ्घर्षरत रहेको भन्दै उनीहरुलाई तह अनुसारको पारिश्रमिक सुविधा मिलाउन सरकारको ध्यानाकर्षण गराइन् ।

भोलीसम्म सिट बाँडफाँट टुंगो लाग्ने प्रचण्डको दावी
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भोलीसम्ममा गठबन्धनभित्र सिट बाँडफाँट टुंगो लाग्ने दावी गरेका छन्।

आज धनगढी विमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै प्रचण्डले सिट संख्या, क्षेत्र र प्रदेश एकै चोटी टुंग्याउने गरि कार्यदलमा छलफल भइरहेको भन्दै भोलीसम्म सवै टुङ्गो लाग्ने बताए ।

गठबन्धनमा कांग्रेसले ८०, माओवादीले ६० र नेकपा एकीकृत समाजवादी र जसपाले २५–२५ सिटमा दावी गरिरहेको भन्दै त्यसको वरिपरि सहमति जुट्ने उनले बताए । त्यस्तै उनले आगामी निर्वाचनको मनोनयन दर्तापछि वर्तमान संसद् नरहेमा स्पष्ट रहेको पनि बताए ।

सिटको बाँडफाँट सकेसम्म सहमतिमा नै टुङ्गाउनेः नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सिटको बाँडफाँटलाई सकेसम्म सहमतिमा नै टुङ्गाउने कोशिस भइरहेको बताएका छन।

आज काठमाडौंमा नेपाल दलित मुक्ति संगठनको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले अहिले विभिन्न पार्टीहरुसँग चुनावको तालमेल गर्दै अगाडि बढिरहेको भन्दै सिटको बाँडफाँटलाई सकेसम्म सहमतिमा नै टुङ्गाउने कोशिस भइरहेको बताएका हुन् ।

उनले सिटको बाँडफाँटको बिषय कति सम्भव वा छैन भन्ने बारेमा पनि प्रश्न उठेको उल्लेख गरे । स्थानीय निर्वाचनमा आफ्नो पार्टीले नौ लाख जनताको समर्थन हासिल गरेको भन्दै उनले आगामी निर्वाचनमा समानुपातिक तर्फ सवै स्थानमा उम्मेदवारी दिने धारणा राखे।

असन र इन्द्रचोकमा महानगरको कडाई
काठमाडौं महानगरपालिकाले असन, इन्द्रचोकसहितका स्थानमा सडकमा राखिएका सामग्री हटाउन चेतावनी दिएको छ ।

यसअघि नै सडकमा राखिएको सामग्री हटाउन र अवैध संरचना हटाउन महानगरले आग्रह गरेको थियो । तर, महानगरको आग्रहलाई बेवास्ता गरेपछि आज सडकमा राखिएका केही सामग्री महानगर प्रहरीले उठाएको छ । साथै सडकमा कुनै पनि सामग्री नराख्न र अवैध संरचना भत्काउन पनि महानगरले निर्देशन दिएको छ ।

उपत्यकाबाट लागु औषध सहित पन्ध्र पक्राउ
उपत्यकाबाट प्रतिबन्धित लागुऔषधसहित प्रहरीले पन्ध्र जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले उपत्यकाको विभिन्न स्थानबाट लागुऔषधसहित पक्राउ परेकालाई आज सार्वजनिक गरेको हो ।

विभिन्न व्यक्तिले लागुऔषध एम्पुल खरिदको लागि धरौटी राखेको विभिन्न कम्पनीको मोबाइल १७, घडी सात र गितार चार थानसमेत प्रहरीले बरामद गरेको छ ।

भदौ १६ गतेदेखि भदौ २० गतेको पाँच दिनभित्र ब्यूरोको टोलीले उपत्यकाबाट खैरो हेरोइन दुई सय ८७ ग्राम, दुई सय ५२ एम्पुल र दुई किलो गाँजासहित १५ जनालाई पक्राउ गरेको ब्यूरोका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक विकास खनालले बताए । प्रतिबन्धित लागुऔषधको बजार मूल्य २९ लाख ९९ हजार चार सय रहेको उनले बताए ।

अवैध लागुऔषधसहित कारोबारमा सङ्लग्न रहेको आधारमा पक्राउ पर्नेमा ललितपुर भोलाखेल च्यासलका ३२ वर्षीय सञ्जय कपाली, रामेछाप फुलासीका २७ वर्षीय कुमार तामाङ, ललितपुर दुपाटका २९ वर्षीय अनिस महर्जन, ललितपुर भैँसेपाटीका ३३ वर्षीय प्रताप कार्कीसहित १५ जना रहेको प्रहरीले जनाएको छ ।

चितवनमा जापनिज इन्सेफ्लाइटिसको महामारी
चितवन जापानीज इन्सेफ्लाइटिसको महामारी देखिएको छ । २२ जना शङ्कास्पदको नमूना परीक्षणका क्रममा नौ जनामा सङ्क्रमण पुष्टि भएको हो । विश्वस्वास्थ्य सङ्गठनको निर्देशिकाले यसरी जापानीज इन्सेपफ्लाइटिसको बिरामी देखिनुलाई महामारी भन्ने गर्दछ ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार भरतपुर महानगरपालिकामा– १२ जनाको परीक्षणमा चार जनामा, माडीमा पाँच जनाको परीक्षणमा दुई जनामा, राप्तीमा दुई जनाको परीक्षणमा एक जनामा, कालिका नगरपालिकामा एक जना र रत्ननगरमा एक जनामा सङ्क्रमण देखिएको हो ।

साउनको १५ गतेदेखि बिरामी देखिन थालेकोमा भदौ १८ गते यो सङ्ख्या बढेर नौ पुगेको स्वास्थ्य कार्यलयले जनाएको छ ।

भारतीय बाटो प्रयोग गनुपर्ने बाध्यता हट्यो
कञ्चनपुरको दोधारा चाँदनीका बासिन्दालाई भारतीय बाटो भएर महेन्द्रनगर आउनुपर्ने बाध्यता हटेको छ । भीमदत्त नगरपालिका –१२ स्थित महाकाली नदीमा चार लेनको पक्की पुल बनेपछि स्थानिय बासिन्दालाई भारतको शारदा ब्यारेज हुँदै महेन्द्रनगर आवतजावत गर्नुपर्ने बाध्यता हटेको हो । विसं २०७४ मा निर्माण सुरु गरिएको पुलको काम सम्पन्न भइसकेको छ, भने पुलसँगै पहुँच मार्ग पनि निर्माण भइरहेको छ ।

पुल सञ्चालनमा आएपछि हाल दोधारा चाँदनीका बासिन्दाले यही बाटो प्रयोग गरेर आवतजावत गर्ने गरेका छन् । यसअघि पैदलयात्रु र दुईपाङ्ग्रे सवारीसाधनको आवागमन झण्डै डेढ किलोमिटर लामो झोलुङ्गे पुलबाट हुने गरे पनि चारपाङ्ग्रे सवारीसाधन भारतको शारदा ब्यारेज प्रयोग गर्नुपर्ने बाध्यता रहेको थियो ।

दोधारा चाँदनी नगरपालिका–३ का अध्यक्ष हरि सिंह धनाडीले महाकाली नदीमा बनेको मोटरेवल पुलले दोधारावासीलाई धेरै राहत मिलेको बताउनुभयो ।

गाई संरक्षणलाई काफलडाँडामा गौशाला
स्याङ्जाको वालिङ– ८ काफलडाँडामा गाई संरक्षणका लागि गौशाला निर्माण गरिएको छ ।

वालिङ नगरपालिकाले गाई संरक्षणका लागि वालिङ–१० स्थित स्वर्गाश्रममा निर्माण गरेको गौशालालाई स्थानान्तरण गरी काफलडाँडास्थित शिवालय धुनीको गुठीमा गौशाला बनाएर सञ्चालन गरेको हो ।

शिवालय धुनीको गुठीमा व्यवस्थित तरिकाको गौशाला निर्माण गरी गाई स्थानान्तरण गरिएको वालिङ नगरपालिका–८ का पूर्ववडा सदस्य अनन्तराज शर्माले बताए ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ९८ प्रतिशत काम सम्पन्न
पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ९८ प्रतिशत काम सम्पन्न भएको छ । चिनियाँ निर्माण कम्पनीसँगको ठेक्का सम्झौताअनुसार विमानस्थलका प्रायःसबै काम सकिएका छन् ।

विमानस्थलको पूर्वाधार निर्माणका काम सकिएकाले नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान०ले अङ्ग्रेजी नयाँ वर्ष सन् २०२३ देखि विमानस्थल सञ्चालन गर्ने निर्णय गरिसकेको छ । क्यानले केही दिनअघि विमानस्थल छेउको रिठेपानी डाँडा कटानका लागि बोलपत्र आह्वान गरेसँगै प्रक्रिया सुरु भएको छ । अबका तीन महिनाभित्र कटानको काम सकिने बताइएको छ ।

डाँडा कटानका लागि ठेक्का आह्वान गरिएकाले विमानस्थल सञ्चालनको आशङ्का केही हटे पनि ल्याण्डफिल साइट स्थानान्तरणको चुनौती भने बाँकी नै रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाले जनाएको छ ।

जयनगर–बर्दिवास रेलमार्ग अन्तिम चरणमा
जयनगर–बर्दिवास रेलमार्गअन्तर्गत धनुषाको कुर्थादेखि महोत्तरीको बिजलपुरासम्म १७ किलोमिटर ब्रोडगेज रेलमार्ग निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

रेलमार्गको ट्रयाक निर्माणको मुख्य कार्य सम्पन्न भइसकेकाले आगामी बिहीबार रेल सञ्चालनको परीक्षण गर्ने नेपाल रेल्वे कम्पनीले तयारी गरेको छ ।

रेल्वे ट्रयाक निर्माणको मुख्य कार्य सम्पन्न भइसकेकाले पहिलो चरणमा कुर्थादेखि बिजलपुरासम्म रेल गुडाएर परीक्षण गर्ने तयारी भएको नेपाल रेल्वे कम्पनीका इञ्जिनीयर रवीन्द्र साहले जानकारी दिए।

साफ महिला च्याम्पियनशिपमा नेपालको विजयी सुरुवात

साफ महिला च्याम्पियनशिप फुटबलमा नेपालले सुखद सुरुवात गरेको छ । आज मंगलबार दशरथ रंगशालामा भएको उद्घाटन खेलमा भुटानलाई ४-० ले पराजित गर्दै सुखद सुरुवात गरेको छ ।

नेपालका लागि सावित्रा भण्डारी र अनिता बस्नेतले समान २(२ गोल गरे । सावित्राले खेलको १२औं र ६८औं मिनेटमा गोल गर्दा अनिताले ५३औं र ८५औं मिनेटमा गोल गरे ।

पहिलो जितसँगै समूह ुएु मा रहेको नेपालले तीन अङ्क जोडेको छ । नेपालले अब भदौ २७ गते सोमबार श्रीलङ्कासँग खेल्नेछ ।

 

 

प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलबार  ९ : १९ बजे

जसपा फुटिसकेपछि अमेरिकाबाट मध्यराति आइपुगे उपप्रधानमन्त्री यादव

काठमाडौं – अध्यक्ष उपेन्द्र यादवले देश छाड्दा सग्लो रहेको जनता समाजवादी

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन