नेपालमा आज : के-के भयो दिनभर ? | Khabarhub Khabarhub

नेपालमा आज : के-के भयो दिनभर ?


२२ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्रतिनिधिसभा बैठक:  महाअभियोग सिफारिस समिति

प्रतिनिधिसभाले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध परेको महाअभियोग प्रस्ताव सम्बन्धमा ’महाभियोग सिफारिस समिति’ गठन गरेको छ । प्रतिनिधिसभाको आजको बैठकले महाभियोग सिफारिस समिति गठन गर्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको हो । समितिमा संसद् अवरोध गरिरहेको प्रमुख प्रतिपक्षी दल एमालेका पनि ४ प्रतिनिधि समेटिएका छन् । प्रधानन्यायाधीश जबराविरुद्ध फागुन १ मा महाभियोग प्रस्ताव दर्ता भएको थियो ।

अनलाइन टिभी चलाउन इजाजत पत्र

सरकारले अनलाइन टिभीहरूले पनि अब इजाजतपत्र लिनुपर्ने गरी राष्ट्रिय प्रशारण नियमावलीमा संशोधन गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय प्रशारण (एघारौं संशाेधन) नियमावली २०७८ ले पहिलोपटक अनलाइन टिभीलाई नियमनको दायरामा ल्याएको हो । संशोधित नियमावलीअनुसार इन्टरनेटको माध्यमबाट प्रशारण गर्ने गरी इजाजतपत्र प्राप्त गरेको अनलाइन टेलिभिजनले अन्य वितरण प्रणालीको माध्यमबाट टेलिभिजन कार्यक्रम प्रसारण गर्नुअघि यस नियमावलीबमोजिम अनुमति लिनुपर्ने छ ।

नेपाल वायु सेवा निगमले साउदी अरेबियाको रियादमा उडान गर्ने

नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) ले साउदी अरेबियाको रियादमा उडान गर्ने भएको छ । नेपाल वायु सेवा निगमलाई साउदी अरेबियाको नागरिक उड्डयन प्राधिकरणले उडान भर्न आज अनुमति दिएको हो । उडान अनुमतिअनुसार नेपाल वायु सेवा निगमले साउदी अरेबियाको रियाद, दमाम तथा जेद्दामा उडान भर्न पाउने  छ ।

पल शाहलाई थप १२ दिन थुनामा राख्न अनुमति

नाबालिग गायिकामाथि जबरजस्ती करणी गरेको अभियोग लागेका अभिनेता पल शाहलाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत तनहुँले अनुमति दिएको छ । यसअघि उनलाई सात दिन थुनामा राखेर अनुसन्धान गरेको प्रहरीले थप अनुसन्धानका लागि समय मागेको थियो ।

संसद विघटन गरेर चुनावमा जानुपर्ने माधव नेपालको भनाइ

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटन गरेर चुनावमा जानुपर्ने बताएका छन्। आज संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले लगातार सदन अवरुद्ध भइरहेको अवस्थामा संसद भंग गरेर तीनै तहको निर्वाचन प्याकेजमा गर्नेबारे छलफल गरिरहेकोसमेत बताए । उनले एमालेले संसद् पनि चल्न नदिने, संसदमा गञ्जागोल कायम राख्ने, पंगु बनाउने काम गरिरहेको बताए । यस्तो अवस्थामा संसद् विघटन गरेर अर्ली निर्वाचनमा जानु नै उत्तम बिकल्प हुने उनको भनाइ छ ।

संसद अवरोध छोडेर एमाले संसदीय प्रक्रियामा आउने: मन्त्री बडु

कानुन मन्त्री दिलेन्द्रप्रसाद बडुले संसद अवरोध छोडेर एमाले संसदीय प्रक्रियामा आउने दाबी गर्नुभएको छ । आज संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री बडुले महाभियोग समितिमा सदस्य पठाएर एमालेले संसदीय प्रक्रिया स्वीकारेको भन्दै संसद अवरोध पनि हट्ने दावी गर्नुभएको हो ।

नेकपा एमालेका सांसद बानियाँ निलम्वित

नेकपा एमालेका सांसद मोहन बानियाँ निलम्बित भएका छन् । आज बसेको प्रतिनिधिसभाले बानियाँलाई सांसद पदबाट निलम्बन गर्ने  निर्णय गरेको हो । बलात्कार आरोपमा सांसद बानियाँलाई नेपालगन्ज विमानस्थलबाट गत फागुन १६ गते  जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले पक्राउ गरेको थियो । उनलाई अदालतबाट म्याद थप गरी अनुसन्धानका लागि हिरासतमा राखिएको छ ।

सुर्खेतमा मृत्यु भएका युवा: प्रहरी किटानी जाहेरी

सुर्खेतमा मृत्यु भएका कालीकोटका युवक कृष्ण हमाल ‘मिनी’का बाबु हिराचन्द्रले सुब्बाकुना प्रहरी पोस्टका इन्चार्ज असई शेरसिंह धामीविरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी  दिएका छन् । तिलागुफा नगरपालिका–३ का ५४ वर्षीय मृतकका बुवा हिराचन्द्रले आज असई धामीविरुद्ध जिल्ला प्रहरी कार्यालय सुर्खेतमा कर्तव्य ज्यानसम्बन्धी कसूरमा जाहेरी दर्ता दिएका  हो । हमालको मृत्यु प्रहरीको कुटाइबाट भएको भन्दै आफन्त र स्थानीय वासिन्दाले वीरेन्द्रनगरमा प्रर्दशन गर्दै आएका थिए। आज दिउँसो सुर्खेत जिल्ला प्रशासन कार्यालयसँगको चार बुँदे सहमतिपछि मृतकका आफन्तले आन्दोलन स्थगित गरेका छन् ।

बारामा नेतृत्व चयनको प्रक्रिया स्थगित

मतदानमा अनियमितता भएपछि नेपाली कांग्रेस बारा जिल्ला अधिवेशनबाट नेतृत्व चयनको प्रक्रिया स्थगित गरिएको छ । नेपाली काँग्रेस बारा जिल्ला निर्वाचन कार्यालयले विज्ञप्ति निकालेर मतदानमा व्यापक अनियमितता र अमर्यादित स्थिति सिर्जना भएकाले मतदानको सम्पूर्ण प्रक्रिया अर्को सूचना नआउन्जेलसम्मका लागि रद्द गरिएको जनाएको हो । बारा काँग्रेस अधिवेशनमा दुई हजार चार सय ८१ जना मतदाता छन् । हिजो एक हजार तीन सय मत खसेपछि बिवाद भएको थियो ।

गणेश शेरचनको निधन

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नेता गणेश शेरचनको निधन भएको छ । मधुमेह र मिर्गौलाको समस्याबाट पीडित शेरचनको आज बिहान ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । शेरचन राप्रपाको संस्थापक नेता एवम् तत्कालीन राप्रपा नेपालको महामन्त्री थिए  ।

भाडादर आजदेखि लागू

निजी क्षेत्रका सबै एयरलाइन्सहरुले बढाएको आन्तरिक उडानको नयाँ भाडादर आजदेखि लागू भएको छ । एयरलाइन्स अपरेटर्स एसोसियसन अफ नेपाल आयोनले हवाइ इन्धनको मूल्यबृद्धिसँगै भाडा बढाएको थियो । नेपाल आयल निगमले हवाइ इन्धन प्रतिलिटर १३६ रुपैया पुर्‍याउँदा १० रुपैयाँ प्रतिलिटर बढेको आयोनले जनाएको छ । आयोनले आन्तरिक उडानतर्फ कम्तिमा ९० रुपैयाँदेखि बढीमा ५४० रुपैयाँसम्म बृद्धि गरेको छ । 

दुई महिनापछि पोखरा–जोमसोम उडान सुरु

जोमसोम उडान ७१ दिनपछि आजदेखि सुरु भएको छ । तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार आज पोखरा जोमसोम ५ वटा उडान भएका छन् । जोमसोम– पोखरा मुक्तिनाथ दर्शन गर्न जाने भारतीय तिर्थयात्री तथा पर्यटकका लागि उपयुक्त रुट हो ।

तनहुँको हार्डवेयरमा आगलागी

तनहुँको दमौलीस्थित एक हार्डवेयर पसलमा आज आगलागी  भएको छ । आगलागी करिब ३ घण्टापछि नियन्त्रणमा आएको छ । बिहान १० बजेदेखि लागेको आगो निभाउन हेलिकप्टरका समेत प्रयोग गरिएको थियो । त्यस्तै आगो निभाउन व्यास नगरपालिकाको दमकल, मुग्लिङ–पोखरा सडक आयोजनाको ट्याङ्करसँगै निजी ट्याङ्कर पनि प्रयोग गरिएको थियो । दमौलीको भुपाल हार्डवेयरमा आगलागी भएको हो ।

बनस्थलीमा तरकारी तथा फलफूलका ७० वटा स्टलहरू जलेर नष्ट

काठमाडौँ महानगरपालिका–१६ बनस्थली ढुङ्गेधारास्थित तकदिर रत्न शाक्यद्वारा सञ्चालित तरकारी तथा फलफुल टहराहरूमा गएराति आगलागी हुँदा ७० वटा स्टलहरू जलेर नष्ट भएका छन् । आगलागीको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले ५ वटा दमकल तथा स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा लिएको थियो ।

सुन आयात कोटा घट्यो, दैनिक १० किलो मात्र

नेपालमा दैनिक २० केजी सुन आयात हुँदै आएकोमा सुन आयातको कोटा घटाइएको छ ।

अब दैनिक १० केजी मात्र सुन आयात गर्न पाइने भएको छ । राष्ट्र बैंकले आज विदेशी मुद्रा सञ्चितिमा चाप परेको भन्दै सुन आयातको कोटा १० किलोग्रामले घटाएको हो ।

नेकपा माओवादी केन्द्रको बैठक स्थगित

नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक भोलिसम्मका लागि स्थगित भएको छ । आज बस्ने भनिएको बैठक तयारी नपुगेका कारण सोमबारका लागि सारिएको नेताहरूले जनाएका छन् ।

सबै प्रकारका हिंसाको अन्त्य गर्दै राज्यका हरेक संरचनामा महिलाको समान अधिकारको हुनुपर्ने माग

सरोकारवालाहरूले महिलामाथि हुने सबै प्रकारका हिंसाको अन्त्य गर्दै राज्यका हरेक संरचनामा उनीहरूको समान अधिकारको सुनिश्चितता बढाउनुपर्ने बताएका छन् । ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा महिला सुरक्षा दवाव समूले आइतबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उनीहरूले लैंगिक समानताका लागि कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकालगायत राज्यका हरेक संरचनामा न्यायपूर्ण सहभागिता हुनुपर्ने बताएका हुन् ।

कास्कीमा लागूऔषधसहित एक जना पक्राउ

कास्कीमा लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका–१३ काहुँखोलाबाट सोही महानगरपालिका–२६ बुढीबजारबस्ने २८ वर्षीय दिपक परियारलाई  लागूऔषध ९४ एम्पुल बुप्रिनुर्फिन, ९४ एम्पुल फेनारगन र ९४ एम्पुल डाईजेपाम सहित प्रहरीले आज  पक्राउ गरेको हो ।

ओखलढुंगामा जीप दुर्घटनाः एक जनाको मृत्यु, सात जना घाइते

ओखलढुङगाको सिद्धिचरण नगरपालिका–५ सिस्नेखोलामा जीप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा ७ जना घाइते भएका छन् । दुर्घटना परी जीपमा सवार ओखलढुङगाको चिसङखुगढी गाउँपालिका–३ बस्ने ३८ वर्षीया कुमारी श्रेष्ठको मृत्यु भएको हो ।

नेप्सेमा ३.६६ अंकको गिरावट, १०१ कम्पनीको सेयर मूल्य घट्यो

शेयर कारोबार मापक नेप्से परिसूचक आज करिब ३.६६ अंकले घटेर २ हजार ५ सय ४३.३९ बिन्दुमा ओर्लेको छ । अघिल्लो दिनको तुलनामा यो ०.१४ प्रतिशतले कम हो । उक्त दिन कारोबारमा आएकामध्ये १ सय १ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ७८ वटा कम्पनीको बढेको छ ।

कार्य सम्पादन मूल्याङ्कनमा बागमती प्रदेश पहिलो

वार्षिक कार्यसम्पादन मूल्याङ्कनमा प्रदेशहरूको अवस्था नाजुक देखिएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले विभिन्न ११ वटा सूचकलाई आधार बनाएर प्रदेश र स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन गर्दै आएको छ । आयोगका अनुसार प्रदेशहरुले यस वर्ष औसत ५५.११ अंक पाएका छन् । प्रदेश र स्थानीय तहले सङ्घीय सरकारबाट पाउने समानीकरण अनुदान यही कार्य सम्पादन मूल्याङ्कनका आधारमा पाउँछन् ।

खप्तड गोल्डकप फुटबलमा फ्रेन्ड्स सेमिफाइनलमा

फ्रेन्ड्स क्लब सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा आज भएको खेलमा क्यामरुनको एभेनिर फुटबल क्लबलाई २–० गोल अन्तरले हराउँदै फ्रेन्ड्स अन्तिम चारमा पुगेको हो ।

नेपाली राष्ट्रिय टिमले घरेलु मैदानमा एकदिवसीय र त्रिदेशीय टी–ट्वान्टी सिरिज खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टिमले घरेलु मैदानमा एकदिवसीय र त्रिदेशीय टी–ट्वान्टी सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आज  पीएनजीसँग एकदिवसीय अन्तराष्ट्रिय सिरिज खेल्ने भएको  जनाएको हो । नेपालले पीएनजीसँग मार्चमा दुई खेलको एकदिवसीय सिरिज खेल्ने छ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा हुने सिरिज मार्च २५ र २६  गते हुनेछ । यस्तै नेपालले टियुमै पीएनजी र मलेसियासँग त्रिदेशीय टी–ट्वान्टी सिरिज खेल्नेछ । त्रिदेशीय सिरिज मार्च २८ देखि अप्रिल ४ सम्म हुने क्यानले जनाएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  ९ : २१ बजे

संरक्षण थालिएको ताल नै सुकेपछि…

बागलुङ– बागलुङको काठेखोला गाउँपालिका–४ तङ्ग्रामस्थित खोरताल पाँच वर्ष अगाडिसम्म पानीले

खडेरीले सुक्न थाले मकैका बोट

झापा– झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका किसान

आईपीएल : आज मुम्बई र सनराइजर्स भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इण्डियन्स र

युवतीलाई गोंगबुको होटलमा बोलाएर कुटपिट, मध्यरातमा मृत्यु

काठमाडौं- गोंगबुको मित्रनगरमा रहेको स्टार जोन होटलमा शुक्रबार राति एक

नेपालीको आम समस्या बन्दै मिर्गौलाको पत्थरी

काठमाडौं – मिर्गौलाको पत्थरी नेपालमा आम समस्या बन्दै गएको छ।