‘मंकिपक्स छालाको सामान्य समस्या हो, आत्तिनु पर्दैन’ « Khabarhub

‘मंकिपक्स छालाको सामान्य समस्या हो, आत्तिनु पर्दैन’

‘बिफर विरुद्धको खोप ८५ प्रतिशत प्रभावकारी’



नेपालमा कोरोना भाइरसको संक्रमण केही कम भएजस्तो देखिए पनि अझै यसको जोखिम बाँकी नै छ। पछिल्लो समय मंकिपक्सको संक्रमण पनि उत्तिकै बढ्दो छ। यसले विश्वका कैयन् राष्ट्र प्रभावित बनेका छन्। नेपाल पनि मंकिपक्सबाट अछुतो छैन। यसबाट कसरी जोगिने, यसको संक्रमणले कस्तो असर पार्छ लगायतका विषयमा सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनसँग खबरहबकर्मी विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंशः

पछिल्लो समय नेपालमा पनि मंकिपक्सको जोखिम छ भनेर विज्ञले भनिरहेका छन्, यसलाई कसरी बुझ्ने ?

खासगरी मंकिपक्स अफ्रिकामा सीमित भएको भाइरस हो। तर, यो ५० वर्षपछि अफ्रिकी महादेशबाट विश्वभर फैलिरहेको छ। यो संक्रामक भाइरस पत्ता लाग्न थालेको धेरै समय भइसकेको छ। हामीले हाम्रो छिमेकी देश भारतमा संक्रमण बढेपछि खुला सीमाना भएका कारण यसले नेपालमा समेत थप जोखिम निम्त्याउने भएकाले थप शतर्क रहनुपर्छ भनिरहेका छौँ। नेपालमा पनि यो भाइरसको संक्रमण फैलिसकेपछि पनि थाहा पाइँदैन। किनभने मंकिपक्स कोरोना भाइरसजस्तो भित्रभित्रै फैलिने खालको हुन्छ।

युरोपेली देशमा यो जसरी फैलिरहेको छ, त्यो मंकिपक्सको बिरामीमा देखिने खटिरा घाउ या फोका खासगरी गुप्ताङगहरुमा देखिएको भन्ने कुरा आएको छ। त्यसैले पहिलाको जस्तो अनुहारमा हातमा खुट्टामा देखिने नभएर गुप्ताङगमा देखियो भने हाम्रो समाजमा लजाउने र यो समस्या लुकाउने हुनाले यो पुष्टि हुन समय लाग्छ।

मंकिपक्स भयो भनेर कसरी थाहा पाउने ?

पहिला अफ्रिका महादेशमा भएको हिसाबले हेर्ने हो भने संक्रमण भएको २१ दिन भित्रमा ज्वरो आउने जिउ दुख्ने, ग्रन्थीहरू सुनिने समस्या देखापर्छ। त्यसको एक दुई दिनपछि फोकाहरू आउने र फुट्ने हुन्छ। अहिले यो ५० वर्षपछि फैलिरहेको छ। पछिल्लो समयमा फोकाहरु कम देखिएका छन्। अधिकांशको गुप्ताङ्गमा बढी मात्रामा देखिने गरेका छन्। त्यसपछि मात्र यसको असर अनुहारमा देखिने गर्दछ। अनुहारमा देखिएपछि मात्र बिरामीहरु अस्पताल पुग्ने अवस्था छ।

युरोपमा झन्डै १३ प्रतिशतमा दुःखाई बढी भएपछि मात्र अस्पताल पुग्ने गरेका छन्। कतिपयमा यौन रोगको परीक्षण गर्दा शङ्का लाग्यो भने जाँच गर्दा मंकिपक्स देखिएको अवस्था छ। मंकिपक्स संक्रमण भएको ठाउँमा गएर आएका व्यक्तिमा पनि यो भाइरस हुनसक्ने शंका गरिएको छ।

मंकिपक्स एक व्यक्तिबाट अर्को व्यक्तिमा कसरी सर्छ  ?

युरोपेली देश र अफ्रिकी देशमा फरक तरिकाका लक्षण देखिएका छन्। मंकिपक्स भाइरस भएका व्यक्तिसँग नजिकै बसिरहँदा उसको मुखबाट निस्केको छिर्काबाट खुला भएको छालाबाट यो भाइरस सरेको पनि पाइएको छ। उक्त व्यक्तिले प्रयोग गरेको कपडा प्रयोग गर्दा पनि यो रोग सर्न सक्छ। यौन सम्पर्क पनि यसको कारण भनिएको छ। तर, यसलाई प्रमुख कारक मानिएको छैन।

अर्को कारण अफ्रिकी महादेशबाहिर यो भाइरसको संक्रमणबारे सबैभन्दा पहिले बेलायतमा पुष्टि भएको थियो। त्यहाँ  पुरुष समलिङ्गीहरूमा यो भाइरस बढी देखिएको थियो। सम्भवत सहवास हुँदा जुन घाउ खटिराको तरल पदार्थ हुन्छ। त्यो अर्को व्यक्तिको घाउमा परेर सरेको होला भन्ने अनुमान गर्न सकिन्छ।

पछिल्लो तथ्याङ्क अनुसार भारतमा यो भाइरस ९ जनामा फैलिएको विवरण पनि आएका छन्। एक जनामा मृत्यु भएको भन्ने छ। त्यसमा कतिपय त विदेश भ्रमण नै नगरेका पनि छन्। उनीहरू समलिङ्गी हुन् कि होनन् भन्ने पनि अहिलेसम्म बाहिर आएको छैन। त्यसैले यो कस्तो भाइरस हो भनेर यकिनका साथ भन्न सकिने अवस्था छैन। यद्यपि यस्तो खालको भाइरस हो भनेर थाहा पाउन सकियो भने त्यही अनुसार नै तयारी गर्न सहज हुन्छ।

यस्तो खालको भाइरस सन् १९७० मा पहिलोपटक देखिएको थियो, त्यतिबेला १० जनामध्ये एक जनाको मृत्यु भएको तथ्याङ्क देखिएको छ। त्यसलाई नै आधार मान्ने हो कि परिवर्तन भयो ?

फैलिने र मृत्यु हुने तरिकामा केही परिवर्तन भएको हो कि भन्ने छ। पहिले अफ्रिकामा धेरै नै मृत्यु भएको तथ्य सार्वजनिक भएको थियो। तर, अहिले त्यो अवस्था छैन। फाटफुट यस्ता घटना भने सार्वजनिक भइरहेका छन्। त्यसैले अनुसन्धानकर्ताले त्यति ठूलो चासो र कारण प्रमाणित गरेका छैनन्। अहिले अफ्रिकाभन्दा बाहिर त्यो घातकभन्दा पनि संक्रामक तरिकाले फैलिरहेको छ भनिएको छ।

कोही दीर्घ रोगी, ज्येष्ठ नागरिकमा  भाइरल इन्फेक्सनले कतै न कतै जोखिम अवस्था ल्याउन सक्छ। त्यसैले अहिले धेरै आत्तिनुपर्ने अवस्था छैन। यो फैलिरहेको र धेरै देशमा सङ्क्रमण बढेको हुनाले पब्लिक हेल्प इमर्जेन्सीमार्फत् विश्व स्वास्थ्य संगठनले राखेको हुनसक्छ। मैले त यसलाई एउटा छालाको समस्याका रूपमा हेरेको छु।

एउटा विज्ञ र अनुसन्धानकर्ता भएको नाताले तपाईंले अहिलेको अवस्थालाई कसरी हेर्नुभएको छ ?

दैनिकजस्तो विकसित देशमा भएका पछिल्ला अनुसन्धानहरू हेरिरहेको छु। त्यसलाई हेर्दा हामी सोच्छौँ, विश्व स्वास्थ्य संगठनले विश्वव्यापी आपतकाल घोषणा गरिदियो। त्यसले सबैजना झन् तरङ्गित भयौँ। कोभिड जस्तै हुने हो कि भन्ने मनमा लाग्न सक्छ। अहिलेसम्मको अवस्थालाई हेर्दा धेरै ठूलो समस्या र आत्तिनुपर्ने अवस्था छैन। तर, रोग लाग्न दिनु हुँदैन।

बिफरसँग मिल्दोजुल्दो भएकाले बिफरमा जुन भ्याक्सिन लगाउँथ्यौँ, त्यही लगाउन सकिन्छ भन्ने आएको छ यसको वास्तविकता के हो ?

बिफर विरुद्धको खोप अहिले पनि ८५ प्रतिशत प्रभावकारी रहेको विभिन्न तथ्याङ्कले देखाएको छ। तर, बिफर ८० को दशकतिर नै उन्मुलन भएको हुनाले यो सहज रूपमा पाउने कुरा भएन। त्यसैले यो रोग नौलो त होइन। अझ अहिले त मंकिपक्सविरुद्ध नै खोप नै निर्माण हुँदैछ भन्ने कुरा पनि आएको छ।

यो भाइरसबाट जोगिने प्रभावकारी उपाय के हो ?

मंकिपक्स फैलिएको ठाउँबाट फर्किएर आएपछि शरीरमा फोका उठ्ने, जिउ दुख्ने, ग्रन्थीहरू सुनिने समस्या देखियो भने मंकिपक्सको शंका गर्न सकिन्छ। मंकिपक्स भएको व्यक्तिसँग सम्पर्क भएको थियो भने पनि सजक हुनुपर्दछ। विशेषतः सरसफाइमा ध्यान दिने गर्नुपर्छ। यो रोग पुरुष समलिङ्गीमा धेरै देखिएको अध्ययनहरुमा भनिएको छ। त्यसैले उहाँहरूले विशेष शतर्कता अपनाउन जरुरी छ। प्रस्तुतिः पुष्पाञ्जली बस्नेत

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  ६ : ५६ बजे

युद्धको वेवास्ता गर्दै युक्रेनी कामदार खानीमा व्यस्त

काठमाडौँ– युक्रेनको निप्रोपेट्रोभ्स्क क्षेत्रको पाभ्लोग्राद शहर नजिकै ठूलो खानी छ

खोटेहाङमा दुई स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण

खोटाङ– खोटाङको खोटेहाङ गाउँपालिकामा तीन जनालाई कोरोना संक्रमण पुष्टि भएको

फेसबुकमै बालेन र हर्क सम्पाङबीच सवालजवाफ

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरका मेयर

अस्तित्व रक्षाका लागि गठबन्धन : मन्त्री चौधरी

काठमाडौँ– पार्टीको सिद्धान्त विचारभन्दा पनि आआफ्नो दलको अस्तित्व रक्षाका लागि

मोटरसाइकल चोरी गरेको आरोपमा एक युवा पक्राउ

काठमाडौँ– ट्राफिक प्रहरीले मोटरसाइकल चोरी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको