दिनभर आज: नागरिकता विधेयक फिर्ता गर्ने सरकारको निर्णय‌‌, रामेछापमा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु | Khabarhub Khabarhub

दिनभर आज: नागरिकता विधेयक फिर्ता गर्ने सरकारको निर्णय‌‌, रामेछापमा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु


२१ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 7 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज दिनभर नेपालमा नागरिकता विधेयक फिर्ता गर्ने सरकारको निर्णय‌‌, रामेछापको सुनापातीमा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु, नेपाल रेडक्रस सोसाइटीमा विवाद, प्रहरीको हस्तक्षेप लगायतका समाचार चर्चामा रहे ।

यी हुन् आजका शीर्ष समाचारहरूः

नागरिकता विधेयक फिर्ता लिने सरकारको निर्णय

सरकारले प्रतिनिधिसभामा रहेको नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको हो ।

सत्तारुढ गठबन्धनमा रहेका सबै राजनीतिक दलहरूबीच सहमति भएपछि नागरिकता विधेयक फिर्ता लिने निर्णय भएको एक मन्त्रीले जानकारी दिएका हुन् ।

विधेयक बुधबार बस्ने प्रतिनिधिसभा बैठकबाट फिर्ता लिने सरकारको तयारी रहेको छ । प्रतिनिधिसभामा विचाराधीन नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता लिने निर्णय भएको ती मन्त्रीले जानकारी दिए ।
तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ साउन २२ मा प्रतिनिधिसभामा नागरिकता विधेयक दर्ता गरेको थियो ।

सो विधेयकमा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले छलफल सकेर बहुमतले प्रतिवेदन पारित गरी प्रतिनिधिसभा बैठकमा पेश गरिसकेको छ ।

यद्यपि नेपाली नागरिकसँग बैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले नेपालको अंगीकृत नागरिकता लिन चाहेमा वैवाहिक सम्बन्ध कायम भई नेपालमा निरन्तर सात वर्षसम्म स्थायी बसोबास गरेको हुनुपर्ने प्रावधान राखिए पनि सो विषय विवादमा छ ।

नागरिकता विधेयक पारित नहुँदा जन्मका आधारमा नेपाली नागरिकता पाएकाका सन्तानले नागरिकता पाउन सकेका छैनन् ।

यस्तै बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्षको राष्ट्र संघमा जाने भ्रमण स्वीकृत गरेको छ ।

त्यस्तै गृहमन्त्रीको सिफारिसमा विभिन्न व्यक्तिलाई आर्थिक सहायता प्रदान गर्ने निर्णय पनि गरेको मन्त्रिपरिषद् स्रोतले बताएको छ ।

यस्तै मन्त्रिपरिषद् बैठक सकिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग अर्थमन्त्रीको राजीनामाका बिषयमा छलफल गर्न लागेको स्रोतले जनाएको छ ।

सुरक्षा व्यवस्था केन्द्र कै मातहतमा राख्न सुझाव

सांसदहरुले काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था केन्द्रकै मातहतमा राख्न सुझाव दिएका छन् ।

सिंहदरबारमा आज बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन सुपरिवेक्षण र समन्वय ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल गर्दै अधिकांश सांसदहरुले यस्तो सुझाव दिएका हुन् ।

सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै उपत्यकाको सुरक्षा व्यवस्था केन्द्रकै मातहतमा राख्नुपर्ने उनीहरुको भनाइ छ ।

बैठकमा माओवादीका केही सांसदहरुले भने मुलुक सङ्घीयतामा गइसकेकोले उपत्यकाको सुरक्षा पनि प्रदेशलाई नै दिँदा उपयुक्त हुने धारणा राखेका थिए ।

बैठकमा कांग्रेस सांसद डिला संग्रौलाले ललितपुर र भक्तपुरको सुरक्षाको जिम्मा संघले राख्ने व्यवस्था उचित रहेको बताइन् ।

उनले मुलुकको राजधानी काठमाडौँ उपत्यका भएकाले सुरक्षा संवेदनशीलतालाई संघीयतासंग जोडेर प्रदेशको अधिकार खोसियो भन्न नमिल्ने धारणा राखिन् ।

एमाले सांसद खगराज अधिकारीले विदेशी अपराधको सम्भावनालाई समेत ख्याल गरेर राजधानीको सुरक्षाको जिम्मा केन्द्रले लिनुपर्ने बताए ।

त्यस्तै माओवादी सांसद यशोदा सुवेदी गुरुङले प्रदेश प्रहरीको अधिकार क्षेत्रलाई हस्तक्षेप गर्न नहुने बताइन् ।

उपत्यकाको सुरक्षाको विषय भनेर प्रदेशको अधिकार कटौती गर्न नहुने उनको तर्क छ ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर उपत्यकाको सुरक्षा जिम्मा संघीय प्रहरीलाई दिन लागेको जानकारी दिए ।

उनले अन्तर्राष्ट्रिय परिदृश्यलाई मध्यनजर र भीभीआईपीको आगमनले पनि केन्द्रको सुरक्षा मजबुद बनाउनुपर्ने धारणा राखे । त्यस्तै बैठकमा सांसदहरुले अध्यागमनको विषयमा गम्भीर हुनुपर्ने र यस क्षेत्रको सुरक्षा प्रहरीलाई दिनुपर्ने धारणा राखेका थिए ।

गठबन्धनबीचको समस्यालाई सामान्य रुपमा लिनुपर्छः प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनबीचको समस्यालाई सामान्य रुपमा लिनुपर्ने बताएका छन् ।

गिरिजाप्रसाद कोइराला श्रमिक स्मृति भवन अनामनगरमा निर्माण गरिएको कोइरालाकोे आज शालिक अनावरण गर्दै प्रधानमन्त्री देउवाले आफ्नै पार्टीभित्र पनि समस्या हुने गरेको भन्दै विभिन्न पार्टी मिलेर बनेको गठबन्धनभित्रको समस्या हुनु स्वभाविक भएको बताएका हुन् ।

त्यस्तै प्रधानमन्त्री देउवाले हतियार उठाएर सशस्त्र विद्रोह सुरु गरेको माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन गिरिजाप्रसाद कोइरालाले खेलेको भूमिकाको स्मरण गरे ।

कठिन राजनीतिक आरोह, अवरोह पार गरेका कोइरालाले नेपालमा लोकतन्त्र स्थापना गर्न महत्वपूर्ण भूमिका खेलेको उनले बताए ।

प्रधानमन्त्री देउवाले कोइरालाले मजदूर आन्दोलन सुरु गरेको विराटनगरस्थित जुटमिलमा ऐतिहासिक सङ्ग्रहालय बनाउन सरकार सकारात्मक रहेको बताए । कार्यक्रममा कांग्रेस उपसभापति धनराज गुरुङले संविधानको रक्षाका लागि आजका दिनमा गठबन्धनलाई सही ढङ्गले अगाडि बढाउनुपर्ने उल्लेख गरे ।

उपसभापति गुरुङले स्वर्गीय कोइराला कुशल सङ्गठनकर्ता भएको स्मरण गरे । त्यस्तै नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यले मजदूरको हक, अधिकार रक्षाका लागि नेपाल ट्रेड युनियन कांग्रेसले महत्वपूर्ण भूमिका खेलेको बताए ।

प्रतिष्ठानको १२ औँ प्रज्ञा सभाको उद्घाटन

प्रधानमन्त्री शेरबहादुर देउवाले भाषा तथा संस्कृतिको हकलाई मौलिक हकको रुपमा स्थापित गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

काठमाडौंमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको १२ औँ प्रज्ञा सभा आज उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई आफ्नो भाषा, लिपि, संस्कृति, सांस्कृतिक सभ्यता र सम्पदाको संवर्धन र संरक्षण गर्ने हक हुने विषयलाई संविधानले सुनिश्चित गरेको भन्दै त्यसको पूर्ण कार्यान्वयन हुने बताएका हुन् ।

उनले सङ्गीत नाट्यजस्ता कला आफैँमा राष्ट्रका अमूल्य सिर्जना भएको र तिनले राष्ट्रको गौरव बढाउनुका साथै आम जीवनमा सिर्जनशीलताको सञ्चार गर्ने गरेको जिकिर गरे ।

नाट्य प्रज्ञा–प्रतिष्ठानले नाट्य, नृत्य, सङ्गीतका माध्यमबाट राष्ट्रको उत्थानका निमित्त खेल्ने हरेक भूमिकामा सरकारको सधैँ साथ र सहयोग रहने उनको भनाइ थियो ।

प्रधानमन्त्री देउवाले लोकतन्त्रको स्थापना र संवद्र्धनमासमेत कलाकार र साहित्यकारको अमूल्य योगदान रहेको धारणा राखे ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपालको कला, साहित्य, नाट्य क्षेत्र, संस्कृतिको विकास र प्रवद्र्धनको निम्ति आफूले सक्दो पहल गर्ने बताए ।

त्यस्तै नेपाल ललितकता प्रज्ञा–प्रतिष्ठानका कुलपति केके कर्मचार्यले नेपाली साहित्य क्षेत्रको विकासमा सबै लाग्नुपर्ने जिकिर गरे ।

हत्या आरोपमा मुछिएकी मेयर चलाउनेमाथि मुद्दा नचल्ने

अछाममो पञ्चदेवल विनायक नगरपालिका–४ का १६ वर्षीय विनोद शाहीको हत्या आरोपमा मुछिएकी मेयर अम्बिका चलाउने माथि मुद्दा नचल्ने भएको छ ।

पन्चदेवल विनायक नगरपालिकाकी मेयर अम्बिका चलाउनेसहित तीन जनामाथि मुद्दा नचल्ने भएको हो ।

विनोद शाहीको हत्या आरोपमा कांग्रेसबाट निर्वाचित मेयर चलाउने सहित १२ जनाको नाममा किटानी जाहेरी दर्ता भएको थियो । यद्यपि चलाउनेसहित ७ जनालाई हत्या प्रकरणमा छानबिन गर्न पक्राउ गरेको थियो ।

प्रहरीले गरेको अनुसन्धानमा मेयर अम्बिका, नेत्रबहादुर शाही र रामबहादुर शाही हत्यामा संलग्न भएको कुनै पनि प्रमाण नभएको पाइएपछि मुद्दा नचल्ने निर्णय भएको सरकारी वकिल कौशल ढुंगानाले जानकारी दिए ।

स्थायी कमिटी र पदाधिकारीको प्रस्ताव ल्याउने जिम्मा प्रचण्डलाई

नेकपा माओवादी केन्द्रको पूर्वस्थायी कमिटी र इन्चार्जहरूको बैठकले पार्टीको पोलिटब्यूरो, स्थायी कमिटी र पदाधिकारीको प्रस्ताव ल्याउने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल’लाई दिएको छ ।

दाहाल निवास खुमलटारमा आज बसेको बैठकले भोलिको केन्द्रीय कमिटी बैठकमा कमिटी र पदाधिकारीको प्रस्ताव गर्ने जिम्मेवारी दिएको नेता गणेश साहले जानकारी दिए ।

भोलिको बैठकमा पोलिट्ब्यूरो, स्थायी कमिटी गठन गर्ने र पदाधिकारी चयन गर्ने निर्णय भएको उनले बताए ।

आजका लागि बोलाइएको बैठक भोलिसम्मलाई स्थगित गरेर नेताहरू आन्तरिक छलफलमा जुटेका थिए । दाहालकोे प्रस्तावाई सबैले स्वीकार गर्ने सहमति पनि जुटेको छ ।

नेपाल रेडक्रस सोसाइटीमा विवाद, प्रहरीको हस्तक्षेप

नेपाल रेडक्रस सोसाइटीमा दुई पक्षबीच विवाद भएपछि प्रहरीले हस्तक्षेप गरेको छ । केपी शर्मा ओली नेतृत्वको सरकारले गठन गरेको डा. नेत्र तिम्सिनाको नेतृत्वको तदर्थ समिति र शेरबहादुर देउवा नेतृत्वको सरकारले गठन गरेको सुदर्शन नेपाल नेतृत्वको तदर्थ समितिका पदाधिकारी कार्यालय प्रवेश गरेपछि प्रहरीले हस्तक्षेप गरेको हो ।

सो क्रममा दुई पक्षबीच विवाद बढ्दै जाँदा प्रहरीले बाहिर निकालेको थियो । देउवा सरकारले तदर्थ समिति भंग गरिदिएपछि तिम्सिना पक्ष सर्वोच्च गएको थियो ।

सर्वोच्चले दुवै पक्षलाई असार २७ मा अदालतमा उपस्थित हुन आदेश दिएको छ । अदालतको अल्पकालीन आदेशसँगै तिम्सिना पक्षले काम गर्न पाउनुपर्ने भन्दै कार्यालय प्रवेश गर्न खोजेको थियो ।

दुई पक्षबीच थप तनाव उत्पन्न हुन नदिन आज रेडक्रसमा ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको थियो ।

अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै विरोध प्रदर्शन

अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै युवा संघ नेपालले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

अर्थमन्त्री शर्माले बजेट निर्माणको क्रममा मन्त्रालयमै विचौलिया प्रवेश गराएको र पछि सीसीटीभी फुटेज गरेको आरोप लगाउँदै युवासंघले काठमाडौंका सिंहदरबारमा नजिक हनुमानस्थानमा विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरुले अर्थमन्त्रीले व्यापारी व्यवसायीलाई पोस्ने काम गरेको भन्दै राजीनामा दिनुपर्ने माग गरेका छन् । प्रदर्शनमा सहभागीहरुले सीसीटीभी फुटेज खाने अर्थपूर्ण मुसा, गठबन्धनको डेटिङ्मा बजेट आयो सेटिङमा लगायत लेखिएको प्लाकार्ड प्रदर्शन गरेका थिए ।

युवा संघ नेपालका किरण पौडेलले अर्थमन्त्रीलाई कारवाहीस्वरुप बर्खास्त नै गर्नुपर्ने बताए । उनले छानविन समिति बनाएर अर्थमन्त्रीलाई नै चोख्याउने काम हुने भएकाले समितिको कुनै औचित्य नभएको धारणा राखे ।
युवा संघले अर्थमन्त्रीको राजीनामा नआएसम्म आन्दोलन जारी रहने चेतावनी दिएको छ ।

रामेछापको सुनापातीमा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु

रामेछापको सुनापाती गाउँपालिकामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

मृत्यु भएकामध्ये १२ जनाको सनाखत भएको छ । मृत्यु हुनेमा सुनापति गाउँपालिका–५ खनियापनीका ४० वर्षीय ठूला तामाङ, सोही वडाका वर्ष ३६ का खड्गबहादुर विक, सुनापति गाउँपालिका–४ बेथानका समृता तामाङ, काभ्रे पाँचखाल नगरपालिका–८ का २५ बर्षीय कमल तामाङ, सोही वडाका वर्ष १८ का सुदीप बजगाईं, सुनापति गाउँपालिका–५ कै २२ वर्षीय विपना तामाङ, काभ्रे मण्डनदेउपुर गाउँपालिका–९ का शिवलक्ष्मी मानन्धर, सुनापति गाउँपालिका–५ का वर्ष ३६ की सन्जु आलेमगर, काभ्रे पाँचखाल नगरपालिका–८ का ४० बर्षीय तुलबहादुर विक रहेका छन् ।

यस्तै उपचारका क्रममा सुनापति गाउँपालिका–५ का ४५ बर्षीय रामबहादुर श्रेष्ठ, सोही वडाका २४ बर्षीय बृद्ध तामाङ र बर्ष ६० का नेमा तामाङको निधन भएको प्रहरीले जनाएको छ ।

अस्पतालमा मृत्यु भएका एक जनाको भने सनाखत हुन बाँकी रहेको छ । मृतकहरुको पोष्टमार्टमका लागि प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । बस ब्रेक फेल भएका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

रामेछापबाट काठमाडौँ आउँदै गरेको बा३ ख ८३९६ नंको यात्रुवाहक बस जिल्लाको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ स्थित सिमानामा आज बिहान करीब साढे १० बजे दुर्घटना भएको हो । .

भक्तपुरको गठ्ठाघरमा बसले मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

भक्तपुरको गठ्ठाघरमा बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रामेछाप घर भई काठमाडौंको जडिबुटीस्थित बर्गर हाउसमा कार्यरत २४ वर्षीया रेजिना तामाङ रहेकी छन् । यस्तै स्कुटी चालक रामेछापको दोरम्बा गाउँपालिका–५ घर भई जडिबुटीमा बस्ने १८ वर्षीय सिद्धार्थ मगर भने घाइते भएका छन् ।

उनको भक्तपुर इन्टरनेशनल अस्पताल कौशलटारमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

भक्तपुर मध्यपुर थिमी नगरपालिका–३ गठ्ठाघरस्थित ट्राफिक कार्यालय अगाडि आज दिउँसो करीब १ बजे बस र स्कुटी दुर्घटना हुँदा युवतीको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
प्रहरीले बस चालकलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।

धनुषामा स्रोत नखुलेको ८३ लाखभन्दा रकम बरामद

धनुषाबाट स्रोत नखुलेको ८३ लाखभन्दा बढी रकमसहित सशस्त्र प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नकनन्दिनी गाउँपालिका ५ बस्ने ३६ बर्षीय इश्वर मण्डल र सोही ठाउँका १९ बर्षीय राजेश मण्डल रहेका छन् । पक्राउ परेका दुवैलाई रकम र मोटरसाइकलसहित आवश्यक कारवाहीका लागि भन्सार कार्यालय जनकपुरधाममा बुझाउने तयारी भइरहेको छ ।

जिल्लाको जनकन्दिनी गाउँपालिका १ मा आलुको बोरा बोकेर आउँदै गरेको ज.७ प ५००७ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा ८३ लाख ६४ हजार ५ सयसहित दुई जनालाई पक्राउ गरिएको सशस्त्र प्रहरी निरीक्षक शम्भु कटुवालले जानकारी दिए ।

कोरोना संक्रमणको दर उकालो

पछिल्लो केही दिन यता कोरोना संक्रमणको दर उकालो लागेको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ९ सय ४४ पीसीआर परीक्षणका क्रममा ७३ जना र १ हजार १ सय ६८ एन्टीजेन परीक्षणका क्रममा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै थप २० संक्रमित निको भएका छन् ।

हाल नेपालमा ४ सय १ सक्रिय संक्रमित आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतीय आयल कर्पोरेसनलाई तिनुपर्ने बक्यौता ३० अर्ब पुग्यो

नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसन (आईओसी)लाई भुक्तानी गर्नुपर्ने बक्यौता रकम ३० अर्ब पुगेको छ ।

असार २४ गतेसम्म तेल आयात हुँदा आईओसीलाई भुक्तानी गर्नुपर्ने रकम ३० अर्ब पुग्ने निगमले विज्ञप्तिमार्फत जानकारी दिएको हो ।

सो दिन निगमले केही रकम भुक्तानी गर्नेछ । निगमले आईओसीलाई रकम भुक्तानीका लागि राष्ट्रिय वाणिज्य बैंकबाट ३ अर्ब रुपैयाँ ऋण लिने प्रक्रिया अघि बढाइरहेको छ । हाल पेट्रोलमा करसहित प्रतिलिटर लागत २११ रुपैयाँ ११ पैसा रहेको तर बजारमा १८१ रुपैयाँमा बिक्री गरिएको निगमले जनाएको छ ।

निगमका अनुसार करसहित डिजेलको लागत प्रतिलिटर २१० रुपैयाँ ६१ पैसा छ भने बजारमा १७२ रुपैयाँमा बिक्री गरिएको छ । मट्टितेलको लागत प्रतिलिटर १६८ रुपैयाँ ९७ पैसा, हवाई इन्धनको (आन्तरिक) १७६ रुपैयाँ १७ पैसा र ग्यास प्रतिसिलिण्डर लागत २३७१ रुपैयाँ ७८ पैसा रहेको निगमको भनाइ छ ।

गए राति १२ बजेबाट लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा ९ रुपैयाँ मूल्य बढाएको थियो ।

नेप्से परिसूचक भारी अंकले गिरावट

शेयर बजार परिसूचक नेप्से आज भारी अकंले गिरावट आएको छ ।

नेप्से आज २ हजार ३० दशमलव ५९ अकंले घटेर ४६ दशमलव ५९ अंकमा विन्दुमा पुगेको हो ।

हिजोभन्दा आज कारोवार रकममा कमी आएको छ । दुई सय २९ वटा कम्पनीका ८६ लाख १३ हजार ४ सय ४९ कित्ता शेयर २ अर्ब ९६ करोड ८४ लाख ८५ हजार २ सय २४ रुपैयाँमा कारोबार भएको छ ।
सबैभन्दा धेरै सानिमा बैंकको प्रमोटर शेयर ३० करोड २० लाख रुपैयाँमा कारोबार भएको छ ।

आज सबैभन्दा धेरै घलेम्दी हाइड्रोको शेयर साढे ६ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार राताम्मे हुँदा पनि सीवाईसी नेपाल लघुवित्त र ङादी ग्रुप पावरको शेयर १० प्रतिशत तथा आँधीखोला लघुवित्तको शेयर साढे नौ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  १० : २४ बजे

युवतीलाई ‘आँखा झिम्क्याएको’ निहुँमा ट्राफिक प्रहरी जवानको हत्या

काठमाडौं : ट्राफिक प्रहरी प्रभाग दरबारमार्गमा कार्यरत प्रहरी जवान युवराज

रुसले युक्रेनमा आक्रमण बढाउन सक्ने जेलेन्स्कीको आकलन

काठमाडौं– युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की रुसले युक्रेनको उत्तरपूर्वी क्षेत्रमा आक्रमण

राष्ट्रिय सभाको बैठक पनि सर्‍यो

काठमाडौं– प्रतिनिधि सभा बैठक स्थगित भए लगत्तै बसेको राष्ट्रिय सभाको

गौशालामा अतिक्रमण गरी बनाइएका घरमा काठमाडौं महानगरले चलायो डोजर (तस्बिरसहित)

काठमाडौं– काठमाडौं महानगरपालिकाले गौशाला चोकमा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका

प्रिमियर लिग : अन्तिम खेल निर्णायक, सिटी र आर्सनलमा कसले जित्ला उपाधि ?

काठमाडौं- जारी सिजनमा स्पेनिस ला लिगा, इटालियन सिरि ए र