दिनभर आज: पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, बालबालिकाले लगाउने पोशाकको टाँकभित्र सुन राखेर तस्करी | Khabarhub Khabarhub

दिनभर आज: पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, बालबालिकाले लगाउने पोशाकको टाँकभित्र सुन राखेर तस्करी


२० असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : 7 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज दिनभर प्रधानमन्त्री देउवाद्वारा मन्त्रिपरिषद् पुनर्गठन, भारतीय दूतावासमा कार्यरत एक आफैलाई गोली हाने, बालबालिकाले लगाउने कपडाको टाँकभित्र राखेर तस्करी लगायतका समाचार चर्चामा रहे ।

यी हुन् आज दिनभरका मुख्य समाचारहरूः

प्रधानमन्त्री देउवाद्वारा मन्त्रिपरिषद् पुनर्गठन

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।

प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम मौजुदा मन्त्रिपरिषद् पुनर्गठन गरेकी हुन् ।

पुनर्गठनसँगै जसपाबाट कृषि, तथा पशुपक्षी विकास मन्त्रीमा मृगेन्द्रकुमार सिंह यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा मोहम्मद इश्तियाक राई र वन तथा वातावरण मन्त्रीमा प्रदीप यादव नियुक्त भएका छन् ।

राष्ट्रपति भण्डारीले आज साँझ नव नियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको सपथ गराएकी थिइन् । सपथपछि नवनियुक्त मन्त्रीहरुले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्ने क्रममा कृषि मन्त्रीमा मृगेन्द्रकुमार सिंहले मलखादको समस्यालाई समाधान गर्न ध्यान केन्द्रित गर्ने बताए ।

त्यस्तै मन्त्रालयमा पदभार ग्रहण गर्दै वन तथा वातावरणमन्त्री प्रदीप यादवले मन्त्रालयलाई राम्रोसंग बुझेर सुधारका काम गर्ने बताए । उनले १ सय ५ स्थानीय तहमा खोलानाला, सडक पोखरी नजिक बृक्षारोपण गर्ने निर्णय गरेको जानकारी दिए । उनले पार्टीभित्र रहेको फरक मतलाई स्वभाविक रुपमा बुझ्नुपर्ने बताए ।

राष्ट्रपति भण्डारीले यसअघि यही असार १२ गते मौजुदा मन्त्रिपरिषद हेरफेर गरेकी थिइन् ।

यसअघि कृषि मन्त्री महिन्द्रराय यादव, भौतिक पूर्वाधार मन्त्री रेणु यादव र वन मन्त्री राम सहाय यादवलाई जसपाले सरकारबाट फिर्ता बोलाइएको थियो । जसपाबाट सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठलाई भने कायमै राखेका छन् ।
जसपाले केही दिनअघि हाल सरकारमा रहेका मन्त्रीहरुको ठाउँमा नयाँ मन्त्री पठाउने निर्णय गरेको थियो ।

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मटितेल र हवाई इन्धनको मूल्य बढाएको हो ।

भारतीय आयल कर्पोरेसन्सले पठाएको नयाँ मूल्यसूची अनुसार इन्धनको मूल्य बढेपछि आफूहरुले पनि मूल्य बढाउनुपरेको निगमले जनाएको छ ।

निगमले सार्वजनिक गरेको नयाँ मूल्यसूची अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ९–९ रुपैयाँ र हवाई इन्धन आन्तरिकतर्फ ५ रुपैयाँ बढेको छ ।

यससँगै पेट्रोलको मूल्य प्रतिलिटर १ सय ८१ रुपैयाँ, डिजेल र मट्टितेल समान १ सय ७२ रुपैयाँ र आन्तिरिकतर्फ हवाई इन्धन १ सय ९० रुपैयाँ पुगेको छ ।

डा. बाबुराम भट्टराई पक्षले बोलायो विस्तारित बैठक

फुटको संघारमा पुगेको जनता समाजवादी पार्टीका डा. बाबुराम भट्टराई पक्षले विस्तारित बैठक बोलाएको छ ।

आगामी असार २९ र ३० गतेका लागि काठमाडौंमा विस्तारित बैठक बोलाइएको नेता गंगा नारायण श्रेष्ठले जानकारी दिए ।

अध्यक्ष उपेन्द्र यादवले भने २७–२८ गतेका लागि वीरगञ्जमा केन्द्रीय समितिको बैठक बोलाएका छन् ।

सो बैठकमा भट्टराई पक्ष भने सहभागी हुने छैन ।

मन्त्री हेरफेरको विषयमा अध्यक्ष यादवले एकलौटी ढंगले निर्णय गरेको भन्दै भट्टराई पक्षले असन्तृष्ट जनाएका थिए ।

चोलेन्द्र जबराको महाअभियोग प्रस्तावमाथि छिट्टै छलफल हुन्छः कानुन मन्त्री

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द्रप्रसाद शर्मा कोइरालाले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि लगाएको महाअभियोग प्रस्तावमाथि छिट्टै संसदमा छलफल हुने बताएका छन् ।

संसद भवनमा आज सञ्चारकर्मीसंग कुरा गर्दै उनले महाअभियोगलाई छिटै संसदमा छलफल चलाइने बताएका हुन् ।

उनले यस विषयमा कार्यव्यवस्था परामर्श समितिमा छलफल भइरहेको र संसदको चालू अधिवेशनमा नै छलफल हुने जिकिर गरे । प्रधानन्यायाधीश जबरामाथिको सत्तारुढ गठबन्धनका सांसदहरुले महाअभियोग प्रस्ताव दर्ता गरेका थिए ।

तर त्यसको थप प्रक्रिया भने अघि बढ्न सकेको छैन । महाअभियोग प्रस्ताव दर्ता भएसँगै जबरा निलम्बनमा छन् ।

अर्थमन्त्रीको विषयमा प्रधानमन्त्रीले तत्काल एक्सन लिनुपर्छः गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अर्थमन्त्रालयको सीसीटीभी फुजेट नराख्नेमाथि तत्काल प्रधानमन्त्रीले एक्सन लिनुपर्ने बताएका छन् ।

संसद भवनमा आज सञ्चारकर्मीसंग कुरा गर्दै थापाले करको दायरामाथि हेरफेर गर्दा अनधिकृत व्यक्तिलाई प्रवेश गराइएको विषयमा गम्भीर चर्चा हुँदा पनि सीसीटीभी फुजेट १३ दिनको मात्रै रहने अर्थमन्त्रालयको जवाफमाथि प्रधानमन्त्री तत्काल एक्सनमा जानुपर्ने बताएका हुन् ।

उनले करको दायरा हेरफेरको विषय उठेपछि अर्थमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने वा प्रधानमन्त्रीले अर्थमन्त्रीलाई हटाएर छानविन गर्नुपर्ने धारणा राखे । संसदले पारित गरेको बजेटको करको विषय सामान्य कुरा नभएको भन्दै उनm यसलाई छानविनबाटै निष्कर्षमा पुराउनुपर्ने जिकिर गरे ।

त्यस्तै उनले तीन महिनाको सीसीटीभी फुजेट राख्नुपर्नेमा १३ दिनको मात्रै रहने अर्थ मन्त्रालयको भनाइले अनेक प्रश्न उठ्न थालेको बताए ।

अर्थमन्त्रीसँग नैतिकताको अपेक्षा छैनः विशाल भट्टराई

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईले अर्थमन्त्री जनार्दन शर्मासँग नैतिकताको अपेक्षा नराखेको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा भट्टराईले अर्थ मन्त्रालयका बारेमा विभिन्न विषयमा कुरा उठ्दा पनि पदमा रहिरहने कुरा व्यक्तिको एउटा नैतिकतासँग पनि सम्बन्धित रहेको तर अर्थमन्त्रीसँग नैतिकताको अपेक्षा नरहेको बताएका हुन् ।

उनले करका विषयमा छानविन गर्न एमालेले माग गर्दा पनि १३ दिनमै सीसीटिभी फुटेज डिलिट गर्नु नियोजित भएको जिकिर गरे । उनले गृह मन्त्रालयले यसअघि जारी गरेको एउटा निर्देशिकामा कुनै पनि सरकारी अड्डाको सीसीटिभी फुटेजहरु ३ महिनासम्म सुरक्षित गर्नुपर्ने प्रावधान अनिवार्य गरेको भन्दै १३ दिनमै हटाइएको कारणबारे समेत जवाफ दिनुपर्ने धारणा राखे ।

यस्तै उनले सो विषयमा संसदीय छानविन समिति गठन गर्न सभामुखको समेत ध्यानाकर्षण गराएका थिए ।

प्रधानमन्त्रीको ध्यान गठबन्धन जोगाउनेमा मात्र छः केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको ध्यान गठबन्धन जोगाउनेमा मात्र केन्द्रीत रहेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै ओलीले मुलुक बेथितिको बाटोतर्फ अघि बढ्दा समेत प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धन जोगाउन मात्रै केन्द्रित भएको आरोप लगाएका हुन् ।

उनले गठबन्धन जोगाउनै लागि सरकारले राज्यका विभिन्न अंगमा हमला बढेको र स्वेच्छाचारिता बढेको तर्क गरे ।

यस्तो अवस्थामा संसद् निरीह भएर बस्न नमिल्ने उनको भनाइ थियो । ओलीले देश र जनताको हितको रक्षा गर्न सदनले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने जिकिर गरे ।

साथै उनले बजेट निर्माणका क्रममा बिचौलियाको हस्तक्षेप भएको भन्दै यसको संसदीय छानविन हुनुपर्ने माग गरे ।

सो प्रकरणबारे सरकारले छानबिन गराउन सक्नुपर्ने र यसमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने उनले बताए । ओलीले अर्थ मन्त्रालयले सीसीटीभी फुटेज नै नरहेको भन्ने सार्वजनिक गरिरहेको र अर्थमन्त्रीले एमालेले भन्दैमा फुटेज देखाइन्न भन्नु गैरजिम्मेवार जवाफ भएको तर्क गरे ।

उनले सरकारले राष्ट्रको अर्थतन्त्र ध्वस्त पार्ने तमासा सरकारले गरेको टिप्पणी गरे ।

अध्यक्ष ओलीले मुलुकको परराष्ट्र सम्बन्धलगायतका सवालमा सरकारका कार्य उचित नभएको दावी गरे । उनले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) बारे कहिले के भएको हो ? सो विषयमा पनि सरकारले स्पष्ट पार्नुपर्ने बताए ।

साथै उनले एसपीपीसम्बन्धी पत्राचारमा तत्कालीन प्रधानमन्त्री तथा रक्षामन्त्री आफू रहेको र त्यसबारे आफूलाई अवगत नगराइएको धारणा राखे ।

ओलीले एसपीपी सम्झौतामा आफूलाई अनावश्यक रुपमा मुछ्न खोजिएको भन्दै आपत्ति जनाए ।

आगामी निर्वाचनमा गठबन्धनको मात्रै भर पर्न नहुने माओवादी केन्द्रको धारणा

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरुले आगामी निर्वाचनमा गठबन्धनसँग मात्रै भर नपरेर पार्टीलाई पनि थप बलियो बनाउनुपर्ने धारणा राखेका छन् ।

आज काठमाडौंमा बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रस्तावमाथि धारणा राख्ने सदस्यहरुले यसअघिको स्थानीय निर्वाचनमा प्रभावकारी रुपमा तालमेल हुन नसकेको भन्दै आगामी निर्वाचनमा गठबन्धनभन्दा पनि पार्टीलाई बलियो बनाउनुपर्ने धारणा राखेका हुन् ।

गठबन्धनमा जोड गर्दा पार्टी सङ्गठन कमजोर भएको भन्दै उनीहरुले यस विषयमा पार्टी नेतृत्व गम्भीर हुनुपर्ने समेत बताएका छन् । बैठकको दोश्रो दिन ४१ जना सदस्यहरुले पार्टी अध्यक्ष दाहालको प्रतिवेदनमाथि धारणा राखेको माओवादी नेता कृष्ण बहादुर महराले जानकारी दिए ।

उनले केन्द्रीय पदाधिकारीदेखि प्रदेशलगायत सबै तहका कमिटीलाई पूर्णता दिनुपर्ने माग समेत बैठकमा उठेको बताए ।

भोलि बस्ने बैठकमा प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ पार्टी अध्यक्षले दिने उनको भनाइ छ । यसअघि बैठकमा नेताहरूले तीव्र असन्तुष्टि पोखेका थिए ।
केन्द्रीय सदस्य ओम शर्माले पार्टी नेतृत्वप्रति तीव्र असन्तुष्टि जनाएका थिए ।

बैठकमा शर्माले सार्वजनिक महत्त्वका विषयमा उठेका एजेण्डा र प्रश्नहरू १५ बुँदे प्रस्ताव पेश गर्दै आफ्नो पार्टीको बारेमा गम्भीर समीक्षा गर्नुपर्नेमा नेतृत्वलाई जोड दिएका छन् ।

वि.सं. २०६३ सालयता चारपटक संसद विघटनबारे समीक्षा गरेर युवा पुस्तालाई संसदमा प्रवेश गर्ने बाटो खुला गर्न उनले माग गरे ।

माओवादी बैठक भोलि बिहान ११ बजे पुन बस्ने र भोलि नै सम्पन्न गर्ने तयारी रहेको माओवादीले जनाएको छ ।

राष्ट्रियसभा बैठकमा उठ्यो रासायनिक मलको अभावबारे प्रश्न

सांसदहरुले रासायनिक मलको चरम अभाव हुँदा पनि सरकारको ध्यान जान नसकेको भन्दै आपत्ति जनाएका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा उनीहरुले किसानले भोग्दै आएको मलखादको समस्या समाधानका गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

बैठकको विशेष समयमा सांसद अनिता देवकोटाले किसानका लागि अभाव भएको मलको व्यवस्थापन गर्नुपर्ने बताइन् ।

समयमा नै मल नपाएको किसानहरु चिन्तित हुँदा सरकार मौन बसेको उनको तर्क छ ।

उनले यसअघि भारतसँग गरिएको जिटुजी सम्झौतामार्फत मल ल्याउन सरकार असफल भएको जिकिर गरिन् ।

त्यस्तै सांसद भैरवसुन्दर श्रेष्ठले जतिसक्दो चाँडो मल व्यवस्थापनमा लाग्न सरकारको ध्यानाकर्षण गराए । रासायनिक मल बाहेक अन्य कुनै मलले नेपालको कृषि उत्पादन बढ्न नसक्ने भन्दै उनले आगामी हप्तासम्म किसानलाई प्रयाप्त मल दिने प्रत्याभूति सरकारले गराउनुपर्ने बताए ।

बैठकमा अन्य सांसदहरुले वर्षा र बाढीका कारण भएको क्षतिका बारेमा सरकारको ध्यानाकर्षण गराएका थिए । त्यस्तै बैठकले “कोभिड–१९ सङ्कट व्यवस्थापन विधेयक, २०७८ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन सर्वसम्मतिले स्वीकृत गरेको छ । राष्ट्रियसभाको अर्को बैठक यही असार २३ गते बिहीबार विहान ११ बजेका लागि बोलाइएको छ ।

कैलालीको नगरसभामा बैठकमा तनाव

कैलालीको धनगढी उपमहानगरको नगरसभामा बैठकमा तनावको स्थिति सिर्जना भएको छ । आठौं नगरसभाको तेस्रो बैठकमा उपमेयर कन्दकला रानाले आफ्नो सल्लाहविना नै बजेट पुस्तिका प्रकाशित गरेको भन्दै विरोध जनाएपछि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का जनप्रतिनिधिले कुर्सी फालाफाल गरेका हुन् ।

बैठकस्थलमा कुर्सी फालाफालसँगै हो–हल्ला भएपछि बैठक अवरुद्ध भएको थियो । यसबारेमा मेयर हमाल र प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले जवाफ दिए पनि आफूलाई चित्त नबुझेको उपमेयर रानाले बताइन् ।

नेपाली कांग्रेसका जनप्रतिनिधिले भने मेयर गोपाल हमालले ल्याएको बजेट पुस्तिको समर्थन गरेका छन् ।

शाहीको मृत्यु प्रकरणमा प्रदर्शन, १२ भन्दा बढी घाइते

अछामको पञ्चदेवल विनायक–४ का विनोद शाहीको मृत्यु प्रकरणमा आरोपीलाई बचाउन सरकारी वकिल कार्यालयले भूमिका खेलेको भन्दै स्थानीयले गरेको प्रर्दशनमा १२ जनाभन्दा बढी घाइते भएका छन् ।

उनीहरुले नाराबाजीसहित जिल्ला सरकारी वकिलको कार्यालय र अदालत घेराउ गर्न खोज्दा अछाम सदरमुकाम मंगलसेन क्षेत्र तनावग्रस्त बनेको छ ।

पञ्चदेवल विनायकका मेयर अम्बिका चलाउनेसहित ७ जना घटनामा संलग रहेको आरोपमा पक्राउ परेका छन् । किटानी जाहेरी दर्ता भएकामध्ये ६ जना अझै फरार छन् ।

सो मुद्दामा प्रहरीले मेयर चलाउनेसहित सात जनालाई अदालतबाट २ दिनको म्याद थप गरी हिरासतमा राखेको छ । बाँकीको पनि खोजी कार्य जारी रहेको बताइएको छ ।

गत वैशाख १७ गते बेपत्ता भएका शाहीको शव वैशाख २१ गते शनिबार घर नजिकैको भीरमा मृत अवस्थामा फेला परेको थियो ।

बच्चाले लगाउने पोशाकको टाँकभित्र सुन राखेर तस्करी

दुबईबाट काठमाडौं आएका एक यात्रुले बच्चाले लगाउने पोशाकको टाँकभित्र सुन राखेर नेपाल भित्र्याएको पाइएको छ ।

दुबईबाट आज बिहान करिब ११ बजे काठमाडौं आएका सुमन दमाइको लगेज चेकजाँच गर्ने क्रममा टाँकभित्र सुन राखेर तस्करी गरेको पाइएको हो । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका अनुसार सुमनले ल्याएको लगेज चेकजाँच गर्ने क्रममा नाबालकले लगाउने सिंगल पिस पोशाक ५ थानको टाँकभित्र सुन रहेको पाइएको हो ।

लगेजभित्र राखिएको नाबालकले लगाउने सिंगल ५ थान पोशाकमा स्टिलको टाँकभित्र लुकाइछिपाइ राखिएको ६० वटा सुनका रिङ् फेला परेको भन्सार कार्यालयले जनाएको छ ।

भन्सार कार्यालयका अनुसार बरामद सुनसहित उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको छ ।

बरामद सुनको तौल करिब १२५ ग्राम रहेको छ । पक्राउ परेका सुमनमाथि थप अनुसन्धान भइरहेको विभागले जनाएको छ ।

धादिङमा ट्याक्टर दुर्घटना हुँदा ४ जना घाइते

धादिङको नीलकण्ठ नगरपालिका वडा नं ९ तिनघरे स्थित भित्री सडक खण्डमा ट्याक्टर दुर्घटना हुँदा ४ जना घाइते भएका छन् ।

ज्यामिरे सल्लाघारीबाट सल्यान्टार तर्फ जादै गरेको लु ३ त ३८६८ नम्बरको ट्याक्टर आज दिउसो करिब साढे २ बजे अनियन्त्रित भई सडकमा पल्टिँदा ४ जना घाइते भएको प्रहरी जनाएको छ ।
घाइतेहरुको थप विवरण आउन बाँकी रहेको र घाइतेहरुको उपचारका लागि धादिङ अस्पताल ल्याइएको प्रहरीले जनाएको छ।

नेपालमा थप ४० जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ८ सय ४७ पीसीआर परीक्षणका क्रममा ३४ जना र १ हजार १ सय ६३ एन्टीजेन परिक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै थप १९ संक्रमित निको भएका छन् ।

हाल नेपालमा ३ सय ४८ सक्रिय संक्रमित आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतीय दूतावासमा कार्यरत सुरक्षागार्डले आफैलाई गोली हाने

काठमाडौंको लैनचौरस्थित भारतीय दूतावासमा कार्यरत भारतीय सुरक्षागार्डले ड्युटी समयमै आफैंलाई गोली हनी आत्महत्या गरेका छन् ।

दूतावास सुरक्षार्थ तैनाथ निजी सुरक्षा गार्ड ३२ वर्षीय दीपक सिंहले आफूसँग रहेको इन्सास राइफलले आफैंलाई गोली हानेको र उनको मृत्यु भएको दुतावास स्रोतले जनाएको छ । ।

घटनास्थल दूतावासभित्रै भएका कारण भारतीय पक्षले नै त्यसको अनुसन्धान गरी शव व्यवस्थापन गर्ने तयारी गरेको बताइएको छ ।

उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।

 

प्रकाशित मिति : २० असार २०७९, सोमबार  १० : ११ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न