नेपालमा आज : के-के भयो दिनभर ? | Khabarhub Khabarhub

नेपालमा आज : के-के भयो दिनभर ?


२० फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 6 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज फागुन २० गते तपाईंले थाहा पाउनुपर्ने देशभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन्:

राष्ट्रियसभाका २० सांसदको चारवर्षे कार्यकाल आजदेखि पूरा

राष्ट्रिय सभामा २० सांसदको पदावधि आजदेखि सकिएको छ । संसदीय समितिका तीन सभापति दिगो विकास तथा सुशासन समिति सभापति तारादेवी भट्ट, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति सभापति रामनारायण बिडारी र विधायन व्यवस्थापन समिति सभापति परशुराम मेघी गुरुङसहित २० सांसदको पदावधी सकिएको हो । यसैबीच निर्वाचित १९ सांसदहरूको शपथ ग्रहण कार्यक्रम भोलि विहान ११ बजे तय गरिएको छ । यस्तै राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिमा चार वर्षे कार्यकाल पूरा भएका राष्ट्रिय सभा सदस्यहरुलाई बिदाई गरिएको छ । आज बसेको बैठकमा चार वर्षे कार्यकाल पूरा गर्न लाग्नुभएका सभापति तारादेवी भट्ट लगायत समिति सदस्यलाई विदाई गरिएको हो ।

प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिद्धारा समितिको वार्षिक प्रतिवेदन २०७८ पारित

प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले समितिको वार्षिक प्रतिवेदन २०७८ पारित गरेको छ । सिंहदरबारमा आज बसेको समिति बैठकले एक्काइसौँ वार्षिक प्रतिवेदन २०७८ पारित गरेको हो । समितिको प्रतिवेदनमा सार्वजनिक लेखा समितिका निर्णय तथा निर्देशनहरू, महालेखापरीक्षकको विभिन्न वार्षिक प्रतिवेदनमा औँल्याइएका बेरुजुका सम्बन्धमा भएका काम कारबाहीहरूको विवरणहरू र विभिन्न समयमा समितिले गठन गरेका उपसमितिका प्रतिवेदन तथा भ्रमण प्रतिवेदनहरु समेटिएको समिति सचिव डा रोजनाथ पाण्डेले जानकारी दिए ।

कोरोना रोकथामका लागि लगाइएको सबै प्रतिबन्ध हटाउने काठमाडौँ प्रशासनको निर्णय 

जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोभिड–१९ को संक्रमण रोकथामका लागि लगाइको सबै प्रतिबन्ध हटाउने भएको छ । प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले आज एक विज्ञप्ति जारी गर्दै भोलिदेखि सबै प्रतिबन्ध हटाइने जानकारी दियो । कोभिड संक्रमण घट्दै  गएकाले भोलिदेखि लागु हुनेगरी राजनीतिक आर्थिक सामाजिक ,शैक्षिकलगायतका  क्रियाकलापहरु पस्वास्थ्य मापदण्ड पालना गरी नियमित रुपमा सञ्चालन गराउन सकिने सो विज्ञप्तिमा उल्लेख छ । कोरोना संक्रमित र ओमिक्रोन भेरियन्टको संख्या बढेपछि केही क्षेत्रमा  सरकारले प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आजबाट काठमाडौंमा सुरु

नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आजबाट काठमाडौंमा सुरु भएको छ । काठमाडौंमा सुरु बैठकमा बिभिन्न ६ वटा एजेण्डामाथि छलफल भएको छ । बैठकमा एमसीसीको बिषय, संगठनात्मक काम, नेताहरुको कार्यविभाजन, स्थानीय तह निर्वाचन लगाएतका बिषयमा छलफल सुरु भएको माओवादी नेता देव गुरुङले जानकारी दिए।माओवादीको केन्द्रीय समिति आइतबार पुन बस्ने गरि स्थगीत भएको माओवादि नेता देव गुरुङले जानकारी दिए। यस्तै आजबाट सुरु भएको माओवादी केन्द्रको बैठकमा चार नेताले एमसीसीबारे लिखित असहमति राखेका छन् ।

 एमसीसी सम्झौताविरुद्ध वामपन्थी दलद्धारा विरोध कार्यक्रमको आयोजना

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द बिप्लवले अमेरिकी सहायता परियोजना एमसीसी मुलुकका लागि निकै खतरनाक रहेको बताएका छन् । आज आठ राजनीतिक दलले काठमाडौंमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै महासचिव विप्लवले एमसीसी कुनै विकास अनुदान नभएर विकासको नाममा आएको साम्राज्यवादी हस्तक्षेप भएको समेत बताए । महासचिव विप्लवले एमसीसी कुनै पनि हालतमा लागू हुन नदिइने र खारेज गरेरै छाड्ने चेतावनी दिए । उनले आफूलाई प्रजातन्त्रवादी भन्नेहरु, अझ कम्युनिष्ट भन्नेहरु, हँसिया हतौडाको बिल्ला भिरेकाहरुले देशलाई घात गरेको आरोप लगाए । त्यस्तै उनले एमसीसी जनताको अधिकारसँग जोडिएको विषय भएको भन्दै फागुन १५ गते कालो दिन भएको बताए ।

१६ वटा युट्युव च्यानललाई अनुसन्धान गर्न प्रहरीको साइबर ब्यूरोमा सिफारिस

प्रेस काउन्सिल नेपालले १६ वटा युट्युव च्यानललाई अनुसन्धान गरी कारबाहीका लागि नेपाल प्रहरी साइबर व्युरोमा सिफारिस गरेको छ । आज प्रेस काउन्सिल नेपालका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालले विज्ञप्ति जारी गर्दै कुनै पनि मिडिया अन्तर्गत आवद्ध नभएका १६ वटा च्यानललाई कारबाहीका लागि नेपाल प्रहरी साइबर व्युरोमा सिफारिस गरेको जानकारी दिए । हालसम्म विभिन्न सञ्चार माध्यमबाट सम्प्रेषित सामग्री अध्ययन गर्दा सार्वजनिक अपराधसँग जोडिएका व्यक्ति तथा पीडितहरूको पक्ष÷विपक्ष हुने गरी सामग्री सम्प्रेषण हुँदा सत्यतथ्य छानबिनलगायत समग्र न्यायिक प्रक्रियामा असर पर्न जाने विज्ञप्तिमा जनाइएको छ । त्यस्तै प्रेस काउन्सिलले सुचीकरण नभएका १० वेव पोर्टललाई प्रतिवन्ध लगाएको छ ।

युट्यूवमा आफ्नो चरित्रहत्या गरिएको भन्दै साइबर ब्यूरोमा रेखा थापाको उजुरी

अभिनेत्री रेखा थापाले युट्यूवमार्फत आफ्नो चरित्रहत्या गरिएको भन्दै प्रहरीको साइबर ब्यूरोमा निवेदन दिएकी छन् । रेखाको तर्फबाट एक आफन्त निवेदन दिन आज ब्यूरोमा पुगेको जनाइएको छ । आफूलाई विद्युतीय माध्यमबाट आफ्नो मानमर्दन र गाली बेइज्यति गर्नेमाथि कारवाही गर्न निवेदकको माग छ । पल शाह प्रकरणमा नाबालिक किशोरीको पक्षमा सार्वजनिक अभिव्यक्ति दिएपश्चात रेखामाथि गालीगलौज सुरु भएको थियो । साइबर ब्यूरोका एसएसपी नबिन्द अर्यालले रेखाको तर्फबाट निवेदन आएको बताए । आजै साइबर ब्यूरोले एक विज्ञप्ति जारी गरी सामाजिक सञ्जालमार्फत् पीडितको गोपनियता हनन र प्रहरी अनुसन्धान प्रभावित तुल्याउने खालका पोष्ट नगर्न चेतावनी दिएको थियो ।

प्रेस काउन्सिलका अध्यक्षलाई नहटाउन सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

सर्वोच्च अदालतले प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतलाई पदबाट नहटाउन अल्पकालीन अन्तरिम आदेश दिएको छ । बस्नेतलाई सरकारले ‘पत्रकार महासंघको सदस्यता अवधी २० वर्ष प्रमाणित नभएकोले कारवाही नगर्नुपर्ने कारण सोधेको थियो । स्पष्टीकरण विरुद्ध सर्वोच्च पुगेका अध्यक्ष बस्नेतलाई तत्काल कारवाही नगर्न अल्पकालीन आदेश दिइएको हो । न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले बस्नेतलाई स्पष्टीकरण सोधिनुको कारण देखाउनसमेत सरकारका नाममा आदेश गरेको छ । त्यस्तै अन्तरिम आदेशबारे निर्णय गर्न दुवै पक्षलाई छलफलका लागि बोलाउन पनि आदेश दिइएको छ ।

 गंगालाल ह्द्धयरोग रोग केन्द्र

नेपालमा पनि ट्रान्सक्याथेटर इरोटिक भल्ब इम्प्लामेन्टसन (टिएभीआई) विधीबाट मुटुको भल्ब प्रत्यारोपण सुरु भएको छ । शहीद गंगालाल हृद्धय रोग केन्द्रमा शल्यक्रिया नगरीकनै मुटुको भल्ब प्रत्यारोपण गरिएको अस्पतालका निर्देशक डा.चन्द्रमणी अधिकारीले जानकारी दिए । उक्त पद्धतीबारे जानकारी दिन आज आयोजना गरिएको पत्रकार सम्मेलनमा अधिकारीले नेपालमै पहिलो पटक फागुन १६ गते ८० वर्षकी महिलाको टिएभीआई विधिबाट सफल उपचार गरिएको बताए। यो विधिबाट पहिलोपटक सन् २००२ मा फ्रान्समा उपचार गरिएको थियो । अन्य विकसित देशहरुमा पनि यो पद्धतीबाट नियमित रुपमा उपचार हुँदै आएपनि नेपालमा यो प्रविधि भित्रिएको थिएन ।

पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय २६ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ७ हजार ९१ पिसिआर परिक्षणका क्रममा १ सय ११ जना र १ हजार ८ सय ४२ एन्टीजेन परिक्षणका क्रममा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ४५ जनाको मृत्यु भएको छ । त्यस्तै थप ३ सय ८५ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ५८ हजार १ सय ९३ जना निको भएका छन् । हाल नेपालमा ७ हजार २ सय ४२ सक्रिय संक्रमित आइशोलेशन र १०६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

ललितपुर महानगरपालिकाद्धारा बिभिन्न क्षेत्रलाई धुम्रपान निषेधित घोषणा

ललितपुर महानगरपालिकाले विभिन्न क्षेत्रलाई धुम्रपान निषेधित घोषणा गरेको छ । महानगरले  आज  एक कार्यक्रमको आयोजना गर्दै ललितपुरको पाटन दरवार स्वायर, पुल्चोक गा हिटी पार्क र जावलाखेल चोक क्षेत्रलाई धुम्रपान निषेधित क्षेत्र घोषणा गरेको हो । धुम्रपान नगरौ स्वास्थ रहौ नाराका साथ महानगरले ती क्षेत्रलाई धुम्रपान निषेधित क्षेत्र घोषणा गरेको ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले जानकारी दिए । उनले यसअघि नै ललितपुरका केहि क्षेत्रलाइ धुम्रपान निषेधित घोषणा गर्ने तयारी गरेपनि कोरोना महामारीका कारण केहि ढिलाइ हुन गएको बताए । महानगरले निषेधित क्षेत्रमा धुम्रपान गरेमा सम्झाईबुझाई गर्ने र त्यसपटि भने कारवाही स्वरुप जरिवाना गर्ने जनाएको छ । धुम्रपान निषेधितमा निरन्तर ललितपुरका नगरप्रहरी परिचालित गरिने महानगरले जानकारी दिएको छ ।

कमिसन नबढाएको भन्दै पेट्रोलियम व्यवसायीद्वारा खरिद बन्द

पेट्रोलियम पदार्थ बिक्री गरेवापतको कमिसन वृद्धि नगरेको भन्दै विक्रेताहरुले खरिद र ढुवानी बन्द गरेका छन् । गएरातिबाट नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरे पनि आफूहरुको कमिसन नबढाएको भन्दै व्यवसायी आन्दोलित बनेका हुन् । इन्धन विक्रेताहरुले मूल्यवृद्धिको आधारमा ३.१४ प्रतिशत प्रतिलिटर कमिसन पाउने गरेका थिए । हिजो भएको मूल्य वृद्धिमा व्यवसायिक कमिसन रोकिएको छ । मूल्यवृद्धि अनुसार व्यवसायीलाई ०.१५ पैसा कमिसन थपिनुपर्नेमा निगमले पुरानै कमिनसन दरलाई निरन्तरता दिएको छ ।

 अवैध मोबाइल रोक्न वैशाखबाट ’एमडीएमएस’ प्रणाली

अवैध मोबाइल नियन्त्रणका लागि लागू गर्ने भनिएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) आउँदो वैशाख मसान्तबाट पूर्ण रूपमा सञ्चालनमा आउने भएको छ । आज नेपाल दूरसञ्चार प्राधिकरणको २४ औं वार्षिकोत्सवका अवसरका प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले एमडीएमएस प्रणाली कार्यान्वयनका लागि भइरहेको प्रगति विवरण पेश गरे । खनालका अनुसार एमडीएमएसका लागि सर्भिस प्रोभाइडर छनोट हुनुका साथै आवश्यक सफ्टवेयर आयात गरी जडानको काम सम्पन्न भएको छ ।

सप्तरीको राजविराजमा जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप

सप्तरीको राजविराजमा जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । जिल्ला निर्वाचन कार्यालय घेराउ गर्न पुगेका जनमतका कार्यकर्ता र प्रहरीबीच झडप भएको हो । झडपका क्रममा भिड नियन्त्रण गर्न प्रहरीले लाठी चार्ज गर्दा जनमतका आधा दर्जन कार्यकर्ता घाइते भएका छन् । उनीहरुले स्थानीय अस्पतालमा उपचार भइरहेको छ । स्थानीय तहको निर्वाचनअघि किसानहरुले उठाएका मागहरु सम्बोधन हुनुपर्ने र साना राजनीतिक दलहरुलाई चुनाव चिन्ह प्रदान गर्नुपर्ने लगायतका माग राखेर पूर्व घोषित कार्यक्रम अनुसार जनमतका कार्यकर्ता निर्वाचन कार्यालय धर्ना दिन पुगेका थिए ।

दैलेखमा आगोमा जलेर आमा–छोराको मृत्यु  

दैलेखको ठाँटीकाँधमा एक घरमा आगलागी हुँदा आमाछोराको जलेर मृत्यु भएको छ । जिल्लाको ठाटीकाँध गाउँपालिका–१ लकान्द्रास्थित बाबुलाल बादीको घरमा आगलागी हुँदा जलेर दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा बाबुलालकी श्रीमती ४० वर्षीया हरिकला बादी र छोरा १८ वर्षीय रमेश बादी छन् । चुलोबाट आगो सल्किएर आगलागी हुँदा घरभित्र सुतिरहेका उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 रौतहटमा विद्यालयमा आगजनी

रौतहटको गौरस्थित जुध्द माध्यमिक विद्यालयमा आगजनी भएको छ।माग सम्बोधन नभएको भन्दै विद्यार्थीहरुले आगजनी गरेका हुन् । जुध्द माध्यमिक विद्यालयमा माग सम्बोधन नभएको भन्दै विद्यार्थीहरुले आगजनी गरेका हुन् । आगजनीबाट विद्यालयको कागजात र केही फर्निचरहरुमा जलेर नष्ट भएको छ । विद्यार्थीहरुले आगजनी गरेपछि विद्यालय क्षेत्र तनावग्रस्त बनेको छ ।

नयाँबानेश्वरमा ‘प्रहरी हुँ’ भन्दै फार्मेसी लुट्ने ८ जना पक्राउ

काठमाडौं महानगरपालिका–१६ नयाँबजारस्थित समृध फार्मेसीबाट धनमाल लुटपाट गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ । उनिहरुले सो फार्मेसीका संचालकलाई फागुन १२ गते ‘हामी प्रहरी हौं’ भन्दै लुटपाट गरेको प्रहरीले जनाएको छ । उनीहरुले फार्मेसीबाट काउन्टरमा भएको नगद, एक थान मोबाइल, एक थान घडी, ई–सेवामा पठाएको नगद ११ हजार ७ सय रुपैयाँ र स्टार सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडको खातामा रहेको ३ हजार ५ सय रुपैयाँ गरी कूल ६५ हजार रुपैयाँ लुटपाट गरेका थिए । प्रहरीले उनीहरूको साथबाट ११ थान मोबाइल, १ थान घडी, १ थान नागरिकता प्रमाणपत्र, ५ थान एटिएम कार्ड र २ थान बैंक चेक बरामद गरको जनाएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  ९ : १६ बजे

आयोगले सुरु गर्‍यो जसपाका जनप्रतिनिधिको सनाखत

काठमाडौं- निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट निर्वाचित प्रदेशसभा

सुहाङले बुधबार बिहान सांसद पदको शपथ लिँदै

काठमाडौं- गत वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा

सुनिता विलियम्सको तेस्रो अन्तरिक्ष यात्रा स्थगित, यस्तो छ कारण

काठमाडौं– सुनिता विलियम्सको अन्तरिक्षमा तेस्रो मिसन प्रक्षेपण हुनु केही घण्टा

उपेन्द्र यादव र अशोक राईबीच भएन संवाद, नेताहरू भन्छन् : हामीले नयाँ यात्रा थालिसक्यौँ

काठमाडौं– उपप्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादव अमेरिका भ्रमण सकेर मंगलबार

सीप मेलाका प्रशिक्षार्थी भन्छन्- हाम्रा लागि ठूलो सहयोग भयो

काठमाडौं– माली तालिम लिन आएका प्रशिक्षार्थी भन्छन्, पैसा तिरेर तालिम