दिनभर आज: बजेटभन्दा अघिल्लो दिनको सीसीटीभी फुटेज मेटियो, आईजीपी नियुक्तिविरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दैमा | Khabarhub Khabarhub

दिनभर आज: बजेटभन्दा अघिल्लो दिनको सीसीटीभी फुटेज मेटियो, आईजीपी नियुक्तिविरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दैमा


१९ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : 7 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज दिनभर अर्थ मन्त्रालयको सीसीटीभी फुटेज मेटिएको विषय, आईजीपी नियुक्तिविरुद्ध मुद्दा आज पनि हेर्दाहेर्दैमा, कांग्रेस सभापति देउवाले बोलाए पदाधिकारी बैठक लगायतका समाचार चर्चामा रहे ।

यी हुन् आज दिनभरका शीर्ष समाचारहरूः

बजेटभन्दा अघिल्लो दिनको सीसीटीभी फुटेज मेटियोः अर्थ मन्त्रालय

अर्थ मन्त्रालयले बजेटभन्दा अघिल्लो दिन (जेठ १४) गते रातिको सीसीटीभी फुटेज मेटिएको जनाएको छ ।

जेठ १४ गते राति अर्थमन्त्री जनार्दन शर्माले मन्त्रायलले बाहेकका व्यक्तिलाई प्रवेश गराई ती व्यक्तिको सुझावका आधारमा करका दर हेरफेर गरेको आरोप लागेका बेला मन्त्रालयले सीसीटीभी फुटेज मेटिएको भन्दै पन्छिएको हो ।

उपभोक्ता हित संरक्षण मञ्चका तर्फबाट जयप्रसाद पौडेलले जेठ १४ गते रातिको सीसीटीभी फुटेज उपलब्ध गराई सूचनाको हक प्रदान गर्न निवेदन दिएको थियो ।

सो निवेदनको जवाफ दिँदै अर्थ मन्त्रालय योजना, अनुगमन तथा मूल्यांकन महाशाखाले आज ‘मन्त्रालयमा जडान भएको सीसीटीभीको क्षमता र जडान भएको क्यामेराको आधारमा बढीमा १३ दिनसम्मको मात्रै सीसीटीभी फुटेज अभिलेखमा रहने र तत्पश्चात पहिलेको अभिलेख क्रमशः मेटिँदै जाने उल्लेख गरेको छ ।

एसपीपीमा सहभागी नहुने सरकारको निर्णय अमेरिका पठाउन अझै बाँकी

परराष्ट्र मन्त्रालयले अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने सरकारको निर्णय अमेरिकालाई पठाउन बाँकी नै रहेको जनाएको छ ।

परराष्ट्र मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले सरकारको निर्णयमाथि अध्ययन भइरहेको जानकारी दिएकी हुन् ।

सरकारले एसपीपीमा सहभागी नहुने भनी गरेको निर्णय अमेरिकालाई पठाउन परराष्ट्र मन्त्रालयमा पठाएको छ । परराष्ट्र मन्त्रालयले पनि सरकारको निर्णय प्राप्त भएको तर अमेरिका पठाइनसकेको प्रवक्ता लम्सालले बताइन् ।

जेठमा नेपाल एसपीपीमा सहभागी भएको विषय सार्वजनिक भएपछि चौतर्फी रुपमा आलोचना बढेको थियो भने ससंदमा पनि सो विषयले प्रवेश पाएको थियो ।

यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिका भ्रमणमा जाने लगभग निश्चित भएको छ । परराष्ट्र मन्त्रालयले प्रधानान्त्रीको भ्रमणको तयारी भइरहेको तर मिति तय भइनसकेको जानकारी दिएको हो ।

मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले भ्रमणका लागि विभिन्न चरणमा गृहकार्य गर्नुपर्ने भएकाले मिति तय हुन समय लाग्ने बताएकी हुन् ।

गौतमलाई निष्कासन गर्ने पाँच जनालाई पार्टीबाट निष्कासन

नेकपा एकता राष्ट्रिय अभियानले संयोजक वामदेव गौतमलाई निष्कासन गर्ने पाँच जनालाई साधारण सदस्यसमेत नरहनेगरी पार्टीबाट निष्कासन गरेको छ ।

गौतमको अध्यक्षतामा हिजो बसेको सचिवालय बैठकले युवराज सफल, कृष्णगोपाल वञ्जारा, निलकण्ठ पौडेल, मिननाथ देवकोटा र तेजबहादुर कार्कीलाई पार्टीबाट निष्कासन गरेको हो ।

अभियानका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले आज विज्ञप्ति जारी गर्दै पाँचै जनाले गरेका क्रियाकलाप आपत्तिजनक र अस्वीकार्य रहेको उल्लेख गरेका छन् ।

आईजीपी नियुक्तिविरुद्ध मुद्दा आज पनि हेर्दाहेर्दैमा

नेपाल प्रहरी महानिरीक्षक (आईजीपी) धिरज प्रताप सिहं नियुक्तिविरुद्ध मुद्दा आज पनि हेर्दाहेर्र्दैैमा राखिएको छ ।

आज पनि सो मुद्दालाई असार २६ गतेका लागि हेर्दाहेर्दैमा राखिएको छ । गत सोमबार प्रतिवादीका तर्फबाट महान्यायाधिवक्ता खम्मबहादुर खातीसहितका सरकारी वकिलहरूले बहस गरेका थिए । आज आईजीपी सिंहको पक्षबाट निजी वकिल डा. भीमार्जुन आचार्य लगायत १८ जना वकिलले बहस गरेका थिए ।

यसअघि गत असार १३ गते कायममुकायम प्रधानन्यायाधीश कार्की र न्यायाधीश चुडालको इजलासमा मुद्दाको बहस नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो ।

सरकारले सिंहलाई आईजीपीमा बढुवा गरेपछि एआईजी पोखरेलले वरिष्ठता मिचेर नियुक्त गरिएको भन्दै गत वैशाख १९ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

रिटमा जेठ ३० गतेबाट अन्तिम सुनुवाइ सुरु भएपनि बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिँदै आएको थियो ।

साउन २० गतेसम्ममा पोखरेलको पक्षमा आदेश नआए उनले अवकाश पाउनेछन् ।

नेपाल प्रहरीका १७ डीआईजीलाई दर्ज्यानी

नेपाल प्रहरीका १७ डीआईजीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

प्रहरी प्रधान कार्यालयमा आज आयोजित कार्यक्रममा आईजीपी धीरजप्रताप सिंहले १७ डीआईजीलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

बढुवा समितिले गत असार १७ गते एसएसपी वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, अशोक सिंह, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी, टेकबहादुर तामाङ, उमेशराज जोशी, भीमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह (चन्द) र किरण राणालाई डीआईजीमा बढुवा सिफारिस गरेको थियो ।

सिफारिस गरिएका सबैको बढुवा सदर भएसगैँ दर्ज्यानी चिह्न प्रदान गरिएको हो । अहिलेकै डीआईजीमध्येबाट १० महिनापछि प्रहरीको नयाँ नेतृत्व नियुक्त हुनेछ ।

एउटै कार्यदिशा भएका पार्टीहरुको मोर्चा निर्माण गर्ने प्रचण्डको प्रस्ताव

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले समाजवादी कार्यदिशा भएका पार्टी, शक्ति र व्यक्तिहरुको मोर्चा निर्माण गर्ने प्रस्ताव गरेका छन् ।

काठमाडौँथित प्रज्ञा भवन कमलादीमा आजदेखि सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा प्रस्तुत कराजनीतिक प्रतिवदेनमा अध्यक्ष दाहालले संविधानको रक्षा, शान्ति प्रक्रियाको पूर्णता र संघीयतासहितको लोकतन्त्रमा सहमत शक्तिसँग गठबन्धन गर्ने नीति लिने उल्लेख छ ।

यसअघि बैठकमा रिपोर्टिङ गर्दै अध्यक्षहरुले . पदाधिकारी टुंगो लगाउनुपर्ने बताएका थिए । बागमती प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलले बैठक लम्ब्याएर भए पनि पदाधिकारी टुंगो लगाउनु पर्नेमा जोड दिएका छन् ।

तीन दिनसम्म चल्ने बैठकमा बैठक सञ्चालन प्रक्रियाबारे अध्यक्षबाट जानकारी, प्रदेशहरुका तर्फबाट संक्षिप्त रिपोर्टिङ अध्यक्षबाट वर्तमान परिस्थितिबारे रिपोर्ट, संगठनात्मक विषयका बारेमा पनि छलफल हुने माओवादीले जनाएको छ ।

बैठकमा दाहालेले केन्द्रीय समितिका नयाँ सदस्यहरुको शपथ गराएका थिए ।

स्थानीय तह निर्वाचनमा अन्तर्घातको छानबिन गर्न एमालेले बनायो समिति

नेकपा एमालेले स्थानीय तहको निर्वाचनका भएको अन्तर्घातको छानविन गर्न समिति बनाएको छ ।

पार्टी कार्यालय च्यासलमा आज बसेको एमाले सचिवालय बैठकले स्थानीय तहमा भएको अन्तर्घातको उजुरीमाथि छानविन र आवश्यक कारवाही गर्न उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गर्ने निर्णय गरेको हो ।

समितिका सदस्यमा देवेन्द्र दाहाल र बिष्णु रिमाल रहेका छन् ।

समितिलाई चुनावमा भएका अनुशासनहीनता र अन्तर्घातका विषयमा छानविन गरी कारवाही गर्ने अधिकार दिइएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

बैठकले निर्वाचनको समिक्षा जिल्ला र प्रदेश कमिटीले असार महिनाभित्रै सकाएर केन्द्रीय कार्यालयमा पठाउन निर्देशन दिएको छ । त्यस्तै बैठकले सातै प्रदेश र जिल्लास्तरमा कार्यकर्ता प्रशिक्षण, निर्वाचन तयारीलगायतको काम गर्ने निर्णय गर्दै उपाध्यक्षहरुलाई प्रदेशमा खटाउने निर्णय गरेको गुरुङले बताए ।

बैठकले स्थानीय निर्वाचनको विस्तृत समीक्षा, विद्यमान शक्ति सन्तुलनको विश्लेषण गर्ने, आफ्नो सरकारका राम्रा कामका प्रचार र वर्तमान सरकारले जनतालाई असर पार्ने निर्णयकको भण्डाफोर गर्ने निर्णय पनि भएको गुरुङले बताए ।

त्यस्तै बैठकले विभिन्न केन्द्रीय विभागका सचिवमा मनोनयन र केही नयाँ विभागसमेत गठन गरेको छ भने चौतर्फी घेराबन्दीका बीचमा एमाले पहिलो शक्तिका रूपमा स्थापित भएको निष्कर्ष निकालेको गुरुङले बताए ।

कांग्रेस सभापति देउवाले बोलाए पदाधिकारी बैठक

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । असार २१ गते (मंगलबार) दिउँसो एक बजे बस्नेगरी देउवाले बैठक बोलाएका हुन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा भातृ र शुभेच्छुक संस्थाको विधान तय गरिने मुख्य सचिव कृष्ण प्रसाद पौडेलले बताए ।

पार्टीभित्रका अरू विषय र राजनीतिक विषयमा समसामयिक छलफल गर्ने गरी बैठक बोलाइएको उनले जानकारी दिए ।

नेपालमा पहिलो पटक विज्ञापनसम्बन्धी आचारसहिंता लागू

नेपालमा पहिलो पटक विज्ञापनसम्बन्धी आचारसहिंता लागू भएको छ ।

काठमाडौंमा विज्ञापन बोर्डले आज आयोजना गरेको कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारणसम्बन्धी आचारसंहिता सार्वजनिक गरेका हुन् ।

३८ पृष्ठको आचारसंहितालाई विज्ञापन क्षेत्रमा देखिएका विकृति र बिसंगतिलाई अन्त्य गर्ने विश्वास बोर्डले लिएको छ ।

सो क्रममा मन्त्री कार्कीले आचारसहिंतालाई प्रभावकारी रुपमा कार्यान्वयन गराउनुपर्ने बताए । उनले कुनै पनि नीति निर्माण गर्नुभन्दा कार्यान्वयनको पक्ष अझै महत्वपूर्ण रहेको उल्लेख गरे ।
आचारसंहिताले आगामी सातादेखि नतिजा दिन थाल्ने उनले बताए ।

विज्ञापन बोर्ड नेपालका अध्यक्ष लक्ष्मण हुमागाइँले विज्ञापनको क्षेत्रमा सरोकार राख्ने विज्ञापन व्यवसायी, मिडिया व्यवसायी, पत्रकारका सङ्घ संस्थालगायत सरोकार राख्नेसँग पटक–पटक छलफल गरिएको उल्लेख गरे ।

प्रहरी कर्मचारीका छोराछोरीलाई निःशुल्क शिक्षा प्रदान गर्ने

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसियशन नेपाल (एनप्याब्सन)ले अशक्त तथा आर्थिक रुपले विपन्न प्रहरी कर्मचारीका छोराछोरीलाई निःशुल्क शिक्षा प्रदान गर्ने भएको छ ।

सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत अशक्त तथा आर्थिक रुपले विपन्न प्रहरी कर्मचारीका छोराछोरीलाई निःशुल्क शिक्षा प्रदान गर्नेबारे आज एनप्याब्सनका सह–अध्यक्ष सुवास न्यौपाने र नेपाल प्रहरी श्रीमती सङ्घकी अध्यक्ष कुशुमलता सिंहबीच हस्ताक्षर भएको हो ।

एन प्याब्सनआबद्ध विद्यालयमा पढाउने विद्यार्थीलाई भने नेपाल प्रहरी श्रीमती सङ्घले सिफारिस गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

कार्यक्रममा एनप्याब्सनका सह–अध्यक्ष न्यौपानेले आर्थिक रुपमा विपन्न तथा अमर प्रहरीका छोराछोरीलाई छात्रवृत्ति प्रदान गर्नेबारे सम्झौतापत्रमा हस्ताक्षर गरिएको र श्रीमती सङ्घले सिफारिस गर्नुपर्ने बताए ।

सङ्घका अध्यक्ष सिंहले आर्थिक रुपले विपन्न तथा अमर प्रहरीका छोराछोरीमध्ये प्रत्येक वर्ष एक विद्यार्थीलाई निःशुल्क तथा अरु विद्यार्थीलाई भर्नामा मिनाहा गर्ने निर्णय सकारात्मक रहेको बताए ।

तल्लो दर्जामा कार्यरत प्रहरी कर्मचारीका परिवारलाई उक्त सेवामा प्राथमिकता दिने उनले जानकारी दिए ।

सङ्घले यसअघि स्वास्थ्य उपचारमा छुट पाउनेसम्बन्धी चितवन मेडिकल कलेजसँग सम्झौता गरिसकेको छ ।

काठमाण्डौंको बल्खुमा भ्यानको ठक्करले बालकको मृत्यु

काठमाण्डौंको बल्खुमा भ्यानले ठक्कर दिँदा एक जना बालककोे मृत्यु भएको छ भने अन्य एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा भारत घर भएकी योगिता बन्सुरका ५ वर्षीय छोरा आयुष रहेका छन् । गम्भीर घाइते भएका बालकको बल्खु स्थित वयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

बा १३ च ६४१९ नम्बरको भ्यानले आज बिहान पौने १२ बजे पैदल हिँडिरहेका आमाछोरालाई एकैसाथ ठक्कर दिएको हो ।

सवारी साधन सहित चालकलाई भने प्रहरी वृत्त कालिमाटीले नियन्त्रणमा लिएको छ ।

नेपालमा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार १ सय ६२ पीसीआर परीक्षणका क्रममा ३९ जना र ९ सय ५८ एन्टीजेन परीक्षणका क्रममा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै थप २० संक्रमित निको भएका छन् । हाल नेपालमा ३ सय ३३ सक्रिय संक्रमित आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोनाविरुद्धको करिब थप २३ लाख डोज खोप नेपाल आइपुग्यो

कोभ्याक्स सुविधा अन्र्तगत कोरोना भाइरसविरुद्धको करिब थप २३ लाख मात्रा फाइजर खोप आइपुगेको छ ।

५ देखि ११ वर्षसम्मका बालबालिकाका लागि २२ लाख ९९ हजार २ सय मात्रा पेडियाट्रिक डोज खोप आज आइपुगेको स्वास्थ्य सेवा विभाग आपूर्ति शाखाले जनाएको छ ।

२७ जिल्ला पहिलो मात्रा लगाउन छुटेका ५ देखि ११ वर्षसम्मका बालबालिकाका लागि सो खोप दिइने छ । यस्तै बाँकी खोप, पहिलो मात्र लगाएकालाई दोस्रो चरणका रुपमा सो उमेरसमुहका बालबालिकालाई खोप लगाइने छ ।

यसअघि कोभ्याक्स सुविधामार्फत २२ लाख ३ हजार २ सय मात्रा खोप नेपाल आइपुगेको थियो ।

५ देखि ११ बर्षसम्मका ३९ लाख बालबालिकालाई ८४ लाख डोज कोभ्याक्स सुविधामार्फत नेपाललाई चारपटक गरी उपलब्ध गराउने छ ।

अब १५ दिनमै जिल्लामा पासपोर्ट पुग्ने

राहदानी विभागले अब १५ दिनमै जिल्लामा राहदानी (पासपोर्ट) पुग्ने जनाएको छ ।

विभागले आज एक विज्ञप्ति जारी गर्दै जिल्लाबाट आवेदन दिएकाहरूले बढीमा १५ दिनमै पासपोर्ट पाउने व्यवस्था मिलाइएको जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयबाट आवेदन भएका राहदानीहरूलाई विभागले प्रत्येक हप्ता प्रिन्ट गरेर पठाउने व्यवस्था गरेकाले काठमाडौं उपत्यकाभित्रका जिल्ला र काभ्रेमा आवेदन गर्नेहरूले एक हप्ता भित्रमा र अन्य जिल्लाको हकमा १० देखि १५ दिन भित्र राहदानी प्राप्त गर्ने सुनिश्चितता मिलाइएको विभागको विज्ञप्तिमा उल्लेख गरेको छ ।

अहिले दैनिक रूपमा विभागमा आवेदन गर्नेको संख्या २ हजार ४ सय रहेको र राहदानी तयार भएपछि लिन आउनेको संख्या र अन्य आकस्मिक कार्यका लागि गरी दैनिक पाँच हजार भन्दा बढी सेवाग्राहीहरूलाई सेवा प्रदान गरिरहेको विभागको दाबी छ ।

यसैबीच राहदानी विभागमा दैनिक रूपमा हुनुपर्ने काममा समेत अत्यन्तै ढिलासुस्ती भएको भन्दै युवा संघले भने प्रदर्शन गरेका छन् ।

काठमाडौँको त्रिपुरेश्वरस्थित विभागमा ढिलासुस्ती अन्त्य हुनुपर्ने मागसहित नेकपा एमालेको भ्रातृ संगठन युवा संघले आज प्रदर्शन गरेका हुन् ।

उनीहरूले जनताको सहज तवरले राहदानी लिने अधिकार सुनिश्चित गर्, बिचौलियाको हालीमुहाली बन्द गर्, ढिलासुस्ती अन्त्य गर्, लगायतका प्लाकार्डसहित प्रर्दशन गरेका थिए ।

शेयर बजार बढ्यो

कारोबारको पहिलो दिन आज शेयर बजार नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ ।

नेप्से आज ५७ दशमलव ६५ अकंले बढेर २ हजार ८६ दशमलव ४२ विन्दुमा पुगेको हो । आज कारोबार रकम पनि बढेको छ । आज २ सय ३१ वटा कम्पनीको ६२ लाख २७ हजार ६ सय ९२ कित्ता शेयर कुल २ अर्ब ४८ करोड ४७ लाख ३९ हजार ९९ रुपैयाँमा कारोबार भएको छ ।

आज सबै उपसमूहका शेयर उकालो लागेको छ । त्यस्तै आज साल्ट ट्रेडिङ, हिमालय पावर पार्टनर, माथिल्लो तामाकोसी, सान्जेन, नेस्डो लघुवित्त र सीवाईसी लघुवित्तको शेयर मूल्य १० प्रतिशत बढ्को छ ।

त्यस्तै रसुवागढी र मध्यभोटेकोसीको मूल्य साढे ९ प्रतिशत भन्दा धेरैले बढेको छ । कारोबार रकमका आधारमा आज ङादी ग्रुप, हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट, एनआईसी एसिया र नेपाल पुनर्बीमा कम्पनी क्रमश अगाडि रहेका छन् ।

२ लाख ६७ हजार भन्दा बढी पर्यटक नेपाल भित्रिए

चालु आर्थिक वर्षको ६ महिनामा २ लाख ६७ हजार भन्दा बढी पर्यटक नेपाल भित्रिएका छन् ।

कोरोना भाइरस (कोभिड–१९) को महामारी घट्दै जानु र यात्रामाथिको प्रतिबन्धहरु फुकुवा हुँदै जाँदा पर्यटक आगमनमा उत्साहजनक सुधार देखिएको छ ।

सन् २०२२ को ६ महिना (जनवरी–जुन) मा २ लाख ३७ हजार ६९६ जना पर्यटक नेपाल भ्रमणमा आएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

बोर्डका अनुसार जुन महिनामा मात्र ४६ हजार ९५७ जना पर्यटक नेपाल आएका हुन् । यो सन् २०१९ को तुलनामा ६९ दशमलव ३ प्रतिशत हो ।

सो वर्ष जुनमा ६१ हजार ३५१ जना पर्यटक नेपाल आएका थिए । जुलाई २०२० मा ७६ ,र जुलाई २०२१ मा १ हजार १४३ जना पर्यटक नेपाल भित्रिएका थिए ।

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  ९ : २२ बजे

सबै दलको छलफलबाट राजनीतिक निकास आउँछ : मन्त्री अर्याल

नेपालगन्ज– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले सबै राजनीतिक

बढ्दै छ ‘साइलेन्ट किलर’ उच्च रक्तचाप जोखिम, कसरी जोगिने ?

काठमाडौं- आज (शुक्रबार) विश्व उच्च रक्तचाप दिवस विभिन्न कार्यक्रमसहित मनाइँदैछ

चालु आर्थिक वर्षमा सेवा क्षेत्र ४.५ प्रतिशतले वृद्धि हुने

काठमाडौं– नेपाल राष्ट्र बैंकले गरेको तेस्रो मौद्रिक नीतिको समीक्षामा चालु

दूरसञ्चार पूर्वाधारको लागत कम गर्न सहप्रयोगको नीति ल्याउछौँ : मन्त्री शर्मा 

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले दूरसञ्चार पूर्वाधारको

मौद्रिक नीतिको समीक्षाप्रति शेयर लगानीकर्ताको धारणा : ‘कागलाई बेल पाक्यो, हर्ष न बिस्मात’ 

काठमाडौं– नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको