सातपटक मृत्युलाई जित्ने एक ‘भाग्मानी’! | Khabarhub Khabarhub

सातपटक मृत्युलाई जित्ने एक ‘भाग्मानी’!



सन् १९७१ को घटना हो। जूलियन कोएप्के नाम गरेका एक युवा विमानमा यात्रा गरिरहेका थिए। अचानक विमान दुर्घटना भयो। पेरुको जंगलमा खसेर ध्वस्त भएको ‘लान्सा फ्लाइट ५०८’का कूल ९२ यात्रु र चालक दलका सदस्यमध्ये एकजना जूलियन मात्र बाँचे। ९ दिनसम्म जंगलमा भौंतारिएका जूलियनको सकुशल उद्धार गरियो।

सन् १९९९ मा अस्ट्रेलियाका बिल मर्गनलाई हृदयघात भयो र उनको मृत्यु भयो। अर्थात् चिकित्सकीय भाषामा उनको मृत्यु भइसकेको थियो। तर, एकाएक चमत्कार भयो। मरेको १४ मिनटपछि बिलको हृदयको धडकन पुनः चल्न थाल्यो।

१४ मिनटसम्म मुटुको धडकन बन्द हुँदा मानिसलाई मस्तिष्कघात हुनसक्थ्यो। त्यस्तो केही भएन। बिलको मुटु त चल्यो, तर उनी सघन कोमामा पुगेका थिए। त्यसैले चिकित्सकले फेरि पनि आश मारिसकेका थिए। बिललाई बचाउने कोशीसमा कुनै खर्च नगर्न परिवारलाई सल्लाह दिइएको थियो।

परिवारले बिल जीवितै हुने आशा मारेनन्। उनीहरुले बचाउने प्रयास गरिरहे। १२ दिनपछि बिल कोमाबाट बाहिर आए। उनले परिवारजनलाई भने, ‘म एउटा जंगली राज्यमा पुगेको थिएँ, जहाँका शासक जनताप्रति निकै क्रूर र अनुत्तरदायी थिए।’

कोमबाट बाहिर आउँदा उनी बिलकुल तन्दुरुस्त थिए। उनले उपचारका कुनै पनि जटिल प्रकृयाबाट गुज्रनु परेन। एउटा भाग्यमानी मानिस, जो मरेर बाँच्यो। आफ्नो भाग्य परीक्षणका लागि बिलले एउटा चिठ्ठाको टिकट खरिद गरे। टिकट स्क्रयाच गरेर हेर्दा उनले एउटा कार जितेका रहेछन्, जसको मूल्य २५ हजार डलर बराबर थियो।

दुर्भाग्यसँगै खप्टिएर आउने सौभाग्यका यस्ता अनेकौं आश्चर्यजनक घटना छन्। अमेरिकाका सातौं राष्ट्रपति एन्ड्रयू ज्याक्सन पनि यस्तै भाग्यमानी मानिन्छन्। सन् १८२९ देखि १८३७ सम्म अमेरिकाको राष्ट्रपति भएका ज्याक्सनको हत्याको प्रयास भएको थियो।

आक्रमणकारीले उनीमाथि पेस्तोलबाट गोली प्रहार गर्दा पहिलो पटक निशाना चुक्यो। कसोकसो ज्याक्सनले आफूलाई बचाए। हत्याराले पुनः दोश्रो पटक गोली हाने, त्यो पनि चुक्यो। आखिर काल नआइ मरिदैन भन्ने उक्ती उनीमाथि चरितार्थ भयो।

दुर्भाग्यपछिको शौभाग्यको अर्को घटना भारतका मोहम्मद बशिर अब्दुल खाडाको जीवनमा भएको छ। उनी चढेको विमान दुबईबाट युनाइटेड अबर अमीरातका लागि उडने क्रममा थियो। उडनुअगावै दुबई विमानस्थलमा जहाज दुर्घटनाग्रस्त भयो, जसमा अब्दुल खाडा बाँच्न सफल भए। दुबई विमानस्थलबाट बाहिर निस्कनेक्रममा उनले ‘दुबई डयूटी फ्री मिलेनियम चिठ्ठा’को टिकट किने। अन्ततः चिठ्ठा उनैलाई पर्यो, उनी करोडपति भए।

फ्रेन सेलकजस्तो कोही भएन
प्रकृतिमा हुने हरेक घटनाका पछाडि कार्य कारणको लामो श्रृंखला भएको बताइन्छ। अर्थात् अस्तित्वमा हुने जुनसुकै घटनाको पछाडि केही न केही कारण हुन्छ। आकाशमा एक्कासी पानी पर्दैन। समुद्रको पानी तातेर आकाशमा बादल बन्छ। बादल उड्दैउड्दै एउटा परिपक्व अवस्थामा पुगेपछि मात्र वर्षन्छ।

अकारण केही हुँदैन। तैपनि हामी संयोग र सौभाग्यका कुरा गर्छौं। जस्तै क्रिकेटर विराट कोहली कुनै म्याचमा शतक नै हान्छन् भने कहिलेकाँही पहिलो ओभरमै शून्य रनमा आउट हुन्छन्। क्षमता त उस्तै हो, तैपनि संयोगले नै यी सबै कुरा हुन्छन् भनिन्छ।

संयोगका पछाडि पनि कारण त पक्कै हुन्छ। तर, एउटै मानिसमा एउटै प्रकृतिको घटनाको संयोग बारम्बार हुनु चाहिँ महासंयोग नै मान्नुपर्छ। भाग्य र दुर्भाग्यको दुश्चक्रमा फँसेका एकजना यस्तो मानिसको चर्चा यो लेखमा गरिदैछ, जसले धेरै विद्वान र दार्शनीककै मथिंगल हल्लाएको छ।

विश्वमा उनलाई ‘अभागी भाग्यमानी’को संज्ञा दिइएको छ। अभागी अनि भाग्यमानी पनि कसरी हुनसक्छ ? भन्ने प्रश्न उठनसक्छ। क्रोएशियाका फ्रेन सेलक नामक व्यक्तिको जीवनमा भयो नै त्यस्तै, जसले उनलाई भाग्य र दुर्भाग्यबाट पनि माथि धकेलिदियो। तपाई हामी उनलाई भाग्यमानी पनि भन्नसक्छौं, अभागी पनि भन्नसक्छौं। या, संयोगको भूमरीमा फँसेको एउटा अद्वितिय मान्छे।

जहाज र रेल दुर्घटनामा बाँचे
सेलक खासमा सँगीतका शिक्षक हुन्। सन् १९२९ जून १४ मा जन्मिएका उनले जीवनमा सात पटक मृत्युलाई जिते। भयानक दुर्घटनाबाट उनी यसरी बचे, जुन अपत्यारिलो थियो।

पहिलो दुर्भाग्य सन् १९६२ जनवरीमा घटित भयो। फ्रेन सेलक सर्जियोबाट डब्रोवनी भन्ने ठाउँतर्फ रेलमा यात्रा गरिरहेका थिए। जाडो मौसम थियो। अचानक रेल लिकबाट पल्टियो र हिउँ हिउँले भरिएको नदीमा गएर खस्यो।

रेल दुर्घटनामा १७ यात्रुको मृत्यु भयो। सौभाग्यले सेलकलाई कसैले डुबेको रेलबाट बाहिर निकाल्यो। उनी हाइपोथर्मियाको सिकार भएका थिए। एउटा गोडा भाँचिएको थियो। तैपनि उनी बाँचे। दुर्घटना उनका लागि दुर्भाग्य थियो, जीवितै रहनु सौभाग्य।

दुर्भाग्य र सौभाग्यको सिलसिला सेलकको जीवनमा जारी रह्यो। एक वर्षपछि सन् १९६३ मा उनकी आमा बिरामी भएको खबर आउँछ। तत्काल आमालाई भेटन जानुपर्ने भयो। पहिलो पटक उनले विमानमा यात्रा गर्ने निधो गरे।

विमानका टिकट सबै बुक भइसकेका थिए। उनले एयरलाइन्स कम्पनीलाई बल्लबल्ल मनाए। आमा बिरामी भएकाले जानैपर्ने भन्दै हारगुहार गरेका थिए। अन्ततः फ्लाइट अटेन्डेन्टका साथ विमानको सबैभन्दा पछाडिको भागमा बस्न पाउने भए।

उडान थियो, जगरेबदेखि रिजेसम्मको। उडेको केही समयपछि विमानका दुबै इन्जिन फेल भए। क्याबिनको दबाब कम हुन थाल्यो। यसैक्रममा एक क्रू मेम्बरले फ्रेन सेलकको ज्यानमा प्यारासुट बाँधिदिए र विमानको भाँचिएको ढोकाबाट बाहिर धकेलीदिए।

विमान दुर्घटनाग्रस्त भइसकेको थियो। विमानमा सवार १७ यात्रु र दुई जना चालक दलका सदस्य मारिएका थिए। तर, सेलक भने त्यत्रो भयंकर दुर्घटनाबाट पनि संयोग या सौभाग्यले बाँचे। सो घटनापछि उनले जीवनभर कुनै हवाई यात्रा गरेनन्।

विमान दुर्घटनाको तीन वर्षपछि सन् १९९६ मा फ्रेन बसमा यात्रा गरेर कतै गइरहेका थिए। अचानक उनी चढेको बस चिप्लीएर नदीमा खस्यो। यो दुर्घटनामा चार यात्रु डुबेर मरे। तर, फ्रेन भने कसो कसो पौडीएर नदी किनारमा आएर बाँचे। उनलाई सामान्य चोटपटक मात्र लागेको थियो।

कार दुर्घटनाको कथा
रेल, जहाज र बस दुर्घटनामा परेपछि फ्रेनलाई लाग्यो, पक्कै सार्वजनिक सवारी साधनमा चढनु उनका लागि अशुभ हुनसक्छ। त्यसैले उनले सार्वजनिक सवारी नचढने र निजी कारबाटै यात्रा गर्ने निधो गरे। तर, उनको जीवनमा दुश्चक्रको सिलसिला रोकिएन।

सन् १९७० मा कार चलाएर कतै गइरहेकै बेला अचानक उनको कारमा आगलागी भयो। धन्न, सही समयमा उनी कारबाट बाहिर हाम्फाल्न सफल भए। कारबाट बाहिर निस्किएको केही सेकेन्डमै कारको इन्धन टयांकमा भयानक विष्फोट भएको उनले देखे। उनी बालबाल बचे।

यो ‘बालबाल बच्ने’ भन्नुको अर्थ जीवन र मृत्युबीचको दुरी रौंको आकारजति सूक्ष्म भएको हो। कारमा आगो लाग्नासाथ इन्धन ट्यांक विष्फोट भइहालेको थियो। सेलक कारबाट बाहिर निस्कनु र विष्फोट हुनुबीच समयको निकै छोटो दुरी थियो। यो सयोग नै सौभाग्य हो त ? भन्ने प्रश्न खडा हुन्छ। अनि कारमा आगो लाग्नु त दुर्भाग्य नै हो।
दुर्घटनाको सिलसिलाले उनलाई छाडेन। सन् १९७३ मा फेरि अर्को कार दुर्घटना भयो। उनको कारको इन्धन पम्प फुट्यो र इन्जिनमा आगो लाग्यो। इन्धन टयांकमै आगो लागेपछि आगोका ठूला लप्का निस्किन थाले। यो घटनामा उनको कपाल पूर्ण रुपमा जल्यो, तर मृत्युको नजिक नजिक पुगेर उनी फेरि एक पटक बाँचे।

यो घटनाको करीब १२ वर्षसम्म फ्रेनको जीवनमा कुनै दुर्घटना भएन। उनलाई लाग्यो, पक्कै अशुभ दिनहरु अब पाखा लागे। तर, सन् १९९५ मा उनी कुनै सवारी साधनमा यात्रा नगरेकै अवस्थामा दुर्घटनामा परे। उनी जेरेबमा बाटोमा हिंडिरहेका थिए, एउटा बसले आएर उनलाई ठक्कर दियो। आखिर भाग्य बलियो भएका उनी फेरि बाँचे, सामान्य चोट मात्र लाग्यो।

यो घटनाको एक वर्ष नबित्दै सन् १९९६ मा उनी क्रोएशियाको पहाडी सडकमा कार ड्राइभिङ गरिरहेका थिए। संयुक्त राष्ट्र संघको एउटा ट्रकसँग ठोक्किने अवस्था आयो। ट्रकसँग सोझै टक्करबाट बचाउने क्रममा उनको कार रेलिङमा गएर ठोक्कियो र दुर्घटनाग्रस्त भयो। कार पहाडबाट ३ सय मिटर गहिरो गल्छीमा गएर खस्यो।

यो दुर्घटनामा त दृश्य चलचित्रकै जस्तो देखियो। कुनै चलचित्रको नायक झैं फ्रेन गल्छीमा खस्दै गरेको कारबाट एउटा रुखमा हामफाले। रुखको हाँगा समातेर झुण्डीए। कार तल गहिरो खोल्सामा खसे पनि उनी चाहिँ रुखमै झुण्डीएर बाँचे।

जीवन एक चिठ्ठा
यो नै फ्रेनको अन्तिम घातक दुर्घटना थियो। यसपछि उनले कुनै दुर्घटनाको सिकार हुनु परेन। बरु, उनको जीवनमा एउटा यस्तो घटना भयो, जसले उनलाई मालामाल बनायो। ७ पटक मृत्युलाई जितेका फ्रेनले सन् २००३ मा ७३ वर्षको उमेरमा एउटा चिठ्ठा जिते, जसको रकम करीब १२ करोड रुपैयाँ थियो।

फ्रेनले जीवनमै पहिलो पटक चिठ्ठाको एउटा टिकट किनेका थिए। उनैलाई पर्यो। यसरी बुढेशकालमा हात परेको अथाह रकमबाट उनले दुइवटा घर र एउटा डुंगा किने। डुंगामा चढेर माछा मार्नु उनको रहर थियो। आफूभन्दा २० वर्ष कम उमेरकी महिलासँग पाँचौ पटक विवाह गरेर समुद्री टापुमा रहेको घरमा आनन्दका साथ बिताउन थाले।

विवाह उत्सवमा उनले घोषणा गरेका थिए ‘अब म जीवनको आनन्द लिनेछु। मलाई पुनर्जन्मको पनि अनुभव छ। मलाई थाहा छ, ईश्वरले मलाई हरेक दुर्घटनामा साथ दिएका छन्।’ केही वर्षपछि उनलाई लाग्यो, पैसाले खुशी र आनन्द किन्न नसकिदोरहेछ।

सन् २०१० मा सादा र मितव्ययी जीवन बिताउने सोचका साथ आफ्नो अधिकांश धन दौलत नातेदार र मित्रहरुलाई बाँडने घोषणा गरे। निजी टापुमा रहेको आफ्नो घर बेचे र उनी जगरेबाट दक्षिणस्थित पेन्ट्रीजामा रहेको आफ्नो पहिलाको सामान्य घरमा फर्किए।(विभिन्न एजेन्सीको सहयोगमा)

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  १० : ४५ बजे

संविधानलाई पूर्ण बनाएर सफल कार्यान्वयन गर्नुपर्छ : मन्त्री शर्मा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले संविधानलाई पूर्ण

उपनिर्वाचनको दिन मतदान केन्द्रसम्म सार्वजनिक गाडी चलाउन पाइने 

काठमाडौं– निर्वाचन आयोगले शनिबार हुने इलाम र बझाङको उपनिर्वाचनको मतदानको

ओलीसँग नेपाल आक्रोशित, सत्ताको घमण्ड बढ्दै गए सिद्धिने चेतावनी

काठमाडौं – सत्ता साझेदार नेकपा एकीकृत समाजवादी पार्टीका अध्ययक्ष माधवकुमार

भयावह बन्दै आगलागी : ५० जिल्लाका वन प्रभावित

गण्डकी– वन तथा भू–संरक्षण विभागका अनुसार बिहीबारसम्ममा ५० जिल्लाका वन

लक्ष्मी बर्देवा : ‘ब्याकग्राउन्ड डान्सर’देखि अभिनय र निर्देशनसम्मको यात्रा !

काठमाडौं– लक्ष्मी बर्देवा केवल नायिका मात्रै होइनन् । धेरैले नजरअन्दाज